भर्खरै :

भ्रष्टाचार घटेको मान्न सकिएला ?

देशमा भ्रष्टाचार वृद्धि भइरहेको कुरा अधिकांश जनताले भनिरहेका छन् । सरकार भने देशमा विगतमा भन्दा भ्रष्टाचार बढेको होइन, भ्रष्टाचारका घटना बढी सङ्ख्यामा प्रकाशमा आएको मात्र हो भनिरहेको छ । सारमा देशमा भ्रष्टाचार व्याप्त छ र भ्रष्टाचारले गर्दा देशको प्रगतिमा अवरोध सिर्जना भइरहेको छ भन्ने तथ्यमा कसैको विमति रहेन । नेपालका कर्मचारीहरूलाई सरकारले दिइआएको तलब–सुविधा–भत्ता कम भएकैले भ्रष्टाचार भइरहेको तर्कका आधारमा भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले नै पनि सरकारी कर्मचारीहरूको तलब–सुविधा–भत्ता हरेक वर्षजस्तो बढ्दै आएको छ । बढेको तलब–सुविधा–भत्तामा आधाआधी कर्मचारी सन्तुष्ट छन् र आफ्नो आचरणलाई बिगारेका छैनन् । बाँकी आधाआधी कर्मचारी मौका पायो कि भ्रष्टाचारमा संलग्न भइहाल्छन् । त्यस्ता भ्रष्ट कर्मचारीहरूमा कहिल्यै नअघाउने द्रव्यमोह देखिन्छ । तसर्थ देशको बजेटले धान्नै नसक्नेगरी कर्मचारीको तलब–सुविधा–भत्ता बढाए पनि भ्रष्टाचार रोकिने देखिँदैन ।
अर्कोतर्फ अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकाय प्रभावकारी भएपछि भ्रष्टाचार आफ्सेआफ घटिहाल्छ र निर्मूलसमेत हुनसक्छ भन्ने तर्क पनि छ । अख्तियारमात्र होइन अहिले राष्ट्रिय सतर्कता केन्द्र, सम्पति शुद्धीकरण छानबिन विभाग, राजस्व छानबिन विभागलगायत थुप्रै निकाय सक्रिय छन् तर पनि भ्रष्टाचार घटेको छैन, बढिरहेकै छ । अख्तियारजस्ता निकायले सानो तहका कर्मचारीहरूले गरिरहेको घूसखोरी र भ्रष्टाचार कम गर्न भूमिका खेले पनि मन्त्रिमण्डल, मन्त्रीस्तरीय र मन्त्रालय तहबाट हुने राजनीतिक वा नीतिगत भ्रष्टाचार रोक्न सकेको छैन । अर्को शब्दमा भन्दा देशमा स–साना भ्रष्टाचारका घटना नियन्त्रण गर्ने कार्य केही हदसम्म अघि बढेको छ तर ठूल्ठूला भ्रष्टाचारका काण्डहरू रोकिन सकेको छैन । त्यसैले त बालुवाटार जग्गा काण्ड, गोकर्ण रिसोर्ट काण्डजस्ता नयाँ नयाँ भ्रष्टाचारका घटना भइरहेका छन् । ठूला भ्रष्टाचारका घटना भइरहेसम्म देशमा भ्रष्टाचार घटेको मान्न कसरी सकिएला र ? – सुरजसिंह

Leave a Reply

Your email address will not be published. Required fields are marked *