कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
राकस्था
उत्पीडनमा महिला
गाईवस्तु फुकाएर जङ्गल चर्न लान्छु,
घाँस काट्न थाल्छु, दाउराहरू बटुल्छु,
गोधूलीमा गाईवस्तुसँगै घर फिर्छु ।
साँझ बत्ती बाल्छु, भान्सा जोर्न थाल्छु,
खाइवरी उभ्रिएको अन्नले ज्यान पाल्छु,
मध्यरात टरेपछि ओछ्यानतिर लाग्छु,
यति काम गर्दा पनि मानिसहरू भन्छन्,
हाम्रो काम कामै होइन रे,
बरै हाम्रो ज्यान ज्यानै होइन रे !
यही माघको पहिलो साताको एक बिहान । दैलेख जिल्लाको लोहरेखोला र पराजुलखोलाको सङ्गमस्थल डुङ्गेश्वर बजारबाट पराजुलखोलाको तीरैतीर हिँड्दैगर्दा घाँसको भारी बोकी घरतिर फर्किँदै गरेका केही महिलासँग पङ्क्तिकारको जम्काभेट भयो । बिहानको करिब ११ बजेको थियो । बिहान ६ बजे घरबाट हिँडेका ती महिलाले घर पुग्न अझै २ घण्टा हिँड्नुपथ्र्यो । खाना खान घर पुग्ने ती महिलाले गायक रामेश श्रेष्ठको रचना–सङ्गीतमा लोचन भट्टराईले गाएको माथि उल्लिखित गीतको अंश स्मरण गराए पङ्क्तिकारलाई । गीतले कर्णालीका महिलाको मन बोलेको आभाष हुन्छ ।
यतिबेला दैलेखका महिला वर्षामासको निम्ति गाईभैँसीको खान्की सुकेको खर काट्न व्यस्त छन् । उनीहरू माघको पहिलो साताबाट सुकेको खर काट्न सामुदायिक वन उपभोक्ता समितिको अनुमति पाएपछि छिमेकी गौरी गाउँपालिकादेखिका महिला डुङ्गेश्वर गाउँपालिकाका भिरपाखा र जङ्गल छिचोल्दै छन् । उच्च हिमाली क्षेत्रमा पर्ने जुम्ला, मुगुतिर भने असोजमा हरियो खर काटेर राखिँदो रहेछ । अबको चारपाँच महिना महाभारत पहाडवासी यी दैलेखी महिलाको दैनिक काम वर्षभरलाई पुग्ने खर काट्ने हो ।
पराजुलखोलाको तीरमा सञ्चालित पानीघट्टमा मकै पिस्न आएका अरू महिलाको हालत पनि घाँसको भारी बोक्ने महिलाकै जस्तो थियो । बिहान उठ्नेबित्तिकै लेकाली डाँडोबाट पाँच पाथी मकैको थैलो बोकेर घट्ट आएकी एक महिला पिसिवरी घर पुग्दा दिनको १ बज्छ । त्यतिञ्जेल न खानु न पिउनु ¤ पाँच पाथी मकै पिस्न ६ घण्टा ! सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नाराले यी महिलालाई गिज्याइरहेको हुन्छ । गाउँमा मिल त पुगेको छ तर घट्टमा पिसेको पिठोको जस्तो स्वाद नहुने अनुभूति पनि रहेछ यहाँको जनमानसमा ।
नेपाली महिलाको यी प्रतिनिधि चित्र हुन् । रामेशको गीतमा भनिएझैँ यहाँका महिला झिसमिसेमै उठ्छन्, घरआँगन बढार्छन्, पिँढीदैलो पोत्छन्, पानी लिन पँधेरो जान्छन्, ढिकीजाँतो भ्याउँछन्, चुलोचौका गर्छन्, जहानपरिवारलाई खुवाउँछन्, जुठो भाँडा माझ्छन् । दाउराघाँस, मेलापर्म, कुटानीपिसानी आदि तिनको जीवनपद्धति नै बनेको छ ।
समस्याको जरो
जङ्गली युगको मानव समाजमा पुरुष सिकार गर्न हिँड्थे, महिला केटाकेटी स्याहार, भातभान्सा, सरसफाइ आदि काम गर्थे । कर्णालीका पुरुष कमाउनको निम्ति भारतका कालापहाड जान्छन्, खेतीपातीको समयमा फर्किन्छन् । गोरु जोत्नेलगायतका केही गा¥हो मानिएका काम पुरुष गर्छन्, घरव्यवहारका कामदेखि बाँकी खेतीपातीको सम्पूर्ण जिम्मेवारी महिलाकै थाप्लोमा हुन्छ । सुत्केरी र महिनावारी हुँदासमेत राम्रोसँग खान र आराम गर्न पाउँदैनन् । जति काम गर्दा पनि सुखका दिन नभेटाउने गाउँका गरिब महिलाले सुख कस्तो हुन्छ, त्यसको महसुस गर्न पाउने कुरै भएन ।
शासक पार्टीहरूमा इमान नहुँदा र विकास योजनामा स्वार्थको लुछाचुँडी हुँदा जनता झन् प्रताडित भएका छन् । कर्णाली प्रदेशका शासक दलका नेताहरूको ध्यान काठमाडौँमा घरघडेरी किन्ने, छोराछोरीलाई वैदेशिक छात्रवृत्ति मिलाउनेजस्ता काममा केन्द्रित छ । शासक दलका कार्यकर्तामा जनताको निःस्वार्थ सेवा गर्नुपर्छ भन्ने भावना छैन । विकासको नाममा आफ्नै डोजर चलाउने र भागबन्डा गर्ने थिति बसालिएको छ । गरिब वर्गमध्येमा पनि अझ पिल्सिएका महिला झनै सीमान्तकृत बनेका छन् । समस्याको जरो यही हो ।
गाउँका गरिब महिला बिरामी हुँदा राम्रा अस्पताल जान पाउँदैनन् । गर्भवती, सुत्केरी र महिनावारीको अवस्थामा पनि जोखिमपूर्ण काम गर्नुपर्दा अकाल मृत्युवरण गर्ने सिलसिला रोकिएको छैन । महिनावारी र सुत्केरी हुँदा भान्साका हल्का कामको साटो खेतबारीका कठिन काम गर्नुपर्दा असमयमै बुढो देखिएको पीडा सुनाउँछन् महिला । सुत्केरी भएको १२–१३ दिनदेखि नै घाँसदाउरा बोक्नुपर्दा पाठेघर खस्नेलगायतका प्रजननसम्बन्धी रोग लाग्ने गरेको सुनिन्छ । कामको सिलसिलामा भिरबाट लडेर महिला घाइते हुने र कतिपयको अकाल मृत्यु हुने क्रम रोकिएको छैन । उच्च रक्तश्राव हुने, ढाड दुख्ने रोग त दुर्गम बस्तीका महिलाको साधारण समस्या भयो । गाईभैँसी पाल्नैप¥यो किनभने खेतीको निम्ति मल नभइहुन्न । रसायनिक मल पाउन मुस्किल पर्छ । खानको निम्ति खेती गर्नैपर्ने बाध्यताको चक्रमा पुस्तौँदेखि घुमेकोघुम्यै छन् पहाडका महिला । कम उमेरमा विवाह गर्दा धेरै महिलाले पढाइ पूरा गर्न सक्दैनन् र अनेक शारीरिक तथा मानसिक समस्याबाट ग्रस्त हुनपुग्छन् ।
सङ्घीयता लागू भयो, करिब ३ वर्ष भैसक्यो । कर्णालीकै मानिस मुख्यमन्त्री र मन्त्री भएका छन् । तर कामदार महिलाको दुःख कत्ति कम भएन । शासक दलहरूलाई कामदारवर्गको दुःख हेर्ने फुर्सत पनि त छैन ¤ सामन्ती तथा पुँजीवादी सत्तामात्र होइन, पितृसत्ताको थिचोमिचोमा परेका महिला आफै सचेत हुनुपर्ने एकातिर छ भने पुराना विचारविरुद्ध सचेत र सामूहिक अभियानको आवश्यकता पनि छ । महिलाको पनि चेतनाको द्वार खोल्ने पहिलो साँचो शिक्षा नै हो । आर्थिकरूपमा स्वावलम्बी हुन सिप र शिक्षाको आवश्यकता हुन्छ, यसैबाट स्वतन्त्रताको मार्ग खुला हुन्छ ।
शासक पार्टीहरूमा इमान नहुँदा र विकास योजनामा स्वार्थको लुछाचुँडी हुँदा जनता झन् प्रताडित भएका छन् । कर्णाली प्रदेशका शासक दलका नेताहरूको ध्यान काठमाडौँमा घरघडेरी किन्ने, छोराछोरीलाई वैदेशिक छात्रवृत्ति मिलाउनेजस्ता काममा केन्द्रित छ । शासक दलका कार्यकर्तामा जनताको निःस्वार्थ सेवा गर्नुपर्छ भन्ने भावना छैन । विकासको नाममा आफ्नै डोजर चलाउने र भागबन्डा गर्ने थिति बसालिएको छ । गरिब वर्गमध्येमा पनि अझ पिल्सिएका महिला झनै सीमान्तकृत बनेका छन् । समस्याको जरो यही हो ।
कहिले लाग्छ घैँटामा घाम ?
छाउगोठ भत्काउन लागेका छन्, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका प्रहरी तथा सरकारी नेताहरू । तर, दिनभर अर्काको छाउगोठ भत्काउने शासक दलका नेताहरूकै घरमा छुई बार्ने प्रचलन कायम छ । गरिबलाई अन्धविश्वासको बिल्ला भिराएर पानीमाथि ओभानो हुने द्वैध चरित्र बोकेका शासक पार्टीका स्थानीय नेता तथा कार्यकर्ताकै कारण छुई बार्ने अन्धविश्वास कायम भएको हो । गरिब महिला स्याउलाको छाप्रो ठड्याएर चिसो भुईंमा सुतेर रात काट्छन्, धनी महिला घरभित्र छुट्टै कोठामा आरामपूर्वक निदाउँछन् । सारमा कुरो उही हो, परिणाममात्र फरक हो ।
‘न महिलाले घरभित्र बस्नसक्छु भन्न सकिन् न त कसैले बाहिर नजाऊ भन्न सक्यो ।’ ‘भित्र बसे देउताको डर, बाहिर बसे चिसोले ज्यान लिने अवस्था भयो ।’ ‘मान्छेको दिमागमा गडेको छाउप्रथा नहटाउँदासम्म गोठ भत्काएर मात्रै सुधार नहुने देखियो ।’ महिलाहरूका भनाइ यस्तो छ ।
सङ्घीयमन्त्री वर्षमान पुनबारेको एक समाचार उद्धृत गर्दै एक महिलाले तर्क गरिन् । रोल्पाको सदरमुकाममा बन्न लागेको एक भवन शिलान्यास गर्ने क्रममा मन्त्री पुनले पण्डितले तयार गरेको कुशको औँठी दाहिने हातको औँलोमा लगाए, विधिपूर्वक मन्त्र उच्चारण गर्दै जग खनेको खाडलमा पूजा गरे । महिलाहरू नेकपाकै नेता प्रचण्डले भैँसी पूजा गर्न मिल्ने, एमालेका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले कालो बोका काटेर प्रम पद सम्हाल्न मिल्ने, हामीले देउता मान्दा अन्धविश्वास हुने भनी प्रतिप्रश्न गर्छन् । ‘राष्ट्रपति विद्या भण्डारी विभिन्न देवीदेवता तथा शक्तिपीठ पुगी पूजाअर्चना गर्नु के अन्धविश्वास होइन ?’ गाउँका अगुवा महिलाको यस्तो तर्क छ ।
कर्णाली प्रदेशको सरकारले नीति तथा कार्यक्रममा छुई हुँदा गरिने निकृष्ट व्यवहारलाई दण्डित गर्ने कुरा उल्लेख गरेको छ । दण्डले मात्र सामाजिक सुधार हुने भए नेपाल धेरै अगाडि बढिसक्थ्यो । हिजो धर्मको नाममा शासन गर्नेहरू आफै साखुल्ले भएर जनतालाई अन्धविश्वासीको आरोप लगाउनु चमेरे प्रवृत्तिको उपज नै हो । देउताको डर देखाएर कमाउने सामन्ती शासक मनोवृत्ति आज पनि कायम नै छ । देउताकै डर देखाएर छुवाछूतको प्रणाली ल्याइयो । महिला, दलित, सीमान्तकृत, गरिबमाथि शासन गर्न अनेक सामाजिक कुरीति अगाडि ल्याउने आजका शासक पार्टीका पितापुर्खा नै हुन् ।
यद्यपि, चाँदीको घेरा भने टक्लक्क देखिएको छ । कर्णाली प्रदेशमा सबभन्दा पहिले क्रान्तिकारी झन्डा गाड्ने नेमकिपाका जिम्मेवार नेता तथा कार्यकर्ताका महिलाले छुई हुँदा अलग्ग बसी अपमानित हुनु नपरेको र क्रमशः पुराना डरहरू हट्दै गएको बताए, यो पङ्क्तिकारलाई । वैज्ञानिक एवम् भौतिकवादी चिन्तनको विकासको निम्ति महिलाबीच सांस्कृतिक क्रान्ति नै ल्याउनु आवश्यक छ । गीत, नाटक, प्रहशनलगायतका साहित्यमार्फत जनचेतना अभिवृद्धिमा ध्यान नदिई जनताको धारणा जबरजस्ती परिवर्तन गर्न खोज्नु अव्यावहारिक छ । कर्णाली प्रदेशमा क्रियाशील डाक्टरलगायत अन्य स्वास्थ्यकर्मीबाट महिलामा हुने मासिकस्रावका कारण र स्राव व्यवस्थापनबारे तालिम तथा कक्षा सञ्चालन गर्नु व्यावहारिक उपाय हुन्छ । शासक पार्टीहरूको घैँटामा कहिले पो घाम लाग्ने होला !
Leave a Reply