लक्ष्मण जोशी
यो जेलको स्थापना कथा रोचक भएकोले प्रस्तुत गर्दा अन्यथा नहोला–
सन् १८२३ मा बेलायतका थोमस यार्डले लोवेस (Thomas Yardley Lowes)रक्सी भट्टी (Distillery) खोल्ने उद्देश्यले अस्ट्रेलियाको तास्मेनिया पुगे । २००० पाउन्ड र भट्टीको लागि आवश्यक सामान लिएर गएका थोमसले २३ एकड जमिन किने । त्यसबेला भान डीमेन्स्लान्टमा एउटा पनि वैध भट्टी थिएन । सन् १८२४ मा उसको भट्टीको उद्घाटन भयो तर त्यसबेलासम्ममा १६ वटा भट्टी सञ्चालनमा आइसकेको थियो । थोमसको योजना सफल हुन सकेन । त्यही ठाउँको होबार्ट जेल र उसको भट्टी पर्खालले छुट्टिएको थियो । त्यसबेलाको लेफ्टिनेन्ट गभर्नर जर्ज आर्थरले महिलाहरूको निम्ति नयाँ जेल बनाउने योजना गरे । त्यसको निम्ति ४०–५० जना कैदी अटाउने भवन किन्ने या भाडामा लिन सन् १८२६ मा विज्ञापन गरे । थोमसले यसलाई अवसर ठाने र तीन एकड जमिनसहितको संरचना २,५०० पाउन्डमा बेच्ने जनाउ दिए । अन्तमा सन् १८२७ मा २००० पाउन्डमा बेचे । भट्टीको संरचनालाई महिला जेलमा परिणत गरियो । सन् १८२८ डिसेम्बरदेखि महिला कैदी सारियो र सञ्चालनमा आयो । यसरी भट्टी जेल बन्यो र नाम दिइयो Cascade Female Factory ।

चित्र ६– क्यास्केड जेलको बाहिरी पर्खाल र प्रवेशद्वार
यो ठाउँ वेलिङटन पहाडको फेदीमा अवस्थित छ र ओसिलो छ । त्यसैले अनुपयुक्त भएको कुरा धेरै उठेको थियो । यद्यपि यो जेल एउटा चोक (yard) बाट पाँचवटासम्म चोक विस्तार भयो । साथै बन्दीपाल (Jailor) र अन्यको लागि आवश्यक भवनहरू बनाइए । यो जेलका कैदीहरू अन्यत्र सारी सन् १८७७ मा बन्द गरियो ।
जेल खाली भएपछि जमिन सरकारले सन् १९०५ मा निजीक्षेत्रलाई बेच्यो । जेलको स्वरूपमा खरिदकर्ताको आवश्यकता र इच्छाअनुसार भत्काउने र बनाउने गरियो । तर, ७० को दसकमा मतदाता महिला समूहले पार्कलगायत बनाउन माग गरेपछि फेरि सरकारले एक–एक चोक गर्दै सन् २००८ सम्ममा सबै किन्यो । यसरी भट्टी जेलमा परिणत गरिएको र पछि निजी क्षेत्रलाई बेचिसकेको जमिन तास्मेनिया राज्य सरकारले किनेर ऐतिहासिक स्थल बनायो ।
संरक्षण
यो जेल पहिले पाँच खण्ड (yard) मा विभाजित थियो । ती खण्ड सन् १८२८ देखि १८५२ सम्ममा बनाइएका हुन् । अहिले सबै जेलखण्ड एउटा सफा ठूलो चोकमा परिणत भएको छ । पहिले खण्ड छुट्याउन बनाइएका ढुङ्गाका भित्ताका केही फिटका पर्खालहरू बाहेक अरू देखिएन । त्यसलाई तार जालीले मोडेर संरक्षण गरिएको छ । एक छेउमा दुईतले फलामे एउटा घर अलि सग्लो देखिन्छ । चोकका केही ठाउँमा कैदीको छोटो विवरणसहितका तस्वीरहरू आदि बाकस बनाएर राखिएका छन् ।
तार जालीले मोडेर सुरक्षित गरिएको जेलको ढुङ्गे पर्खालको चौघेराभित्र केही घरहरू सुरक्षित रहेका छन् । ती स–साना घरहरू (Quarters) जेलका पदाधिकारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरूका थिए । ती घरभित्र बस्ने, सुत्ने कोठा, भान्छा आदि कतै बिग्रेको र कतै सग्लो अवस्थामा देखिन्छ । त्यहाँ पहिलेका जेलर आदि ठूला पदाधिकारीका तस्बिरहरू, कुर्सी–टेबल, कार्पेट सजाइएका छन् । तर, भान्छा कोठाहरू फोहोर अवस्थामै राखिएका छन् ।

चित्र ९ – यस विवरणमा सुसारे काम गर्ने १५ वर्षकी चार फीट सवा ११ इन्च अग्ली लाल वर्णकी, निलो आँखा, कालो कपाल भएकी, काउन्टी कर्ककी वासिन्दा मेरी हिक्कीलाई मैनबत्ती ठड्याउने भाँडो चोरेकोले सात वर्षको जेल सजायमा जोन विलियम डेर जहाजबाट सन् १८५२ मई २२ मा अस्ट्रेलिया ल्याएको लेखिएको छ ।
यहाँ अहिले हेर्न लायक खासै नभए पनि कैदीहरूलाई जबर्जस्ती जेलसार गरिएको, कठोर श्रम गराइएको र क्रुर व्यवहार गरिएको इतिहास छ । यसले कैदीलाई दिइने सजाय र सुधारको मात्र होइन जेलसारको माध्यमबाट बेलायतले प्रभाव क्षेत्र बढाएको र अस्ट्रेलिया बनाउनमा कैदीहरूको भूमिका र योगदानको पनि जानकारी दिन्छ ।
अष्ट्रेलिया सरकारले यो जेललाई पुरानै स्वरूपमा पुनःनिर्माण गर्न सक्थ्यो तर गरिएको छैन । जे जुन अवस्थामा थियो त्यसैलाई संरक्षण गरिएको छ ।
पोर्ट आर्थर जेल
तास्मेनियाको अर्को जेल पोर्ट आर्थरमा छ । यो ठाउँको नाम भान डीमेन्स्लान्ट (तास्मेनिया) का तत्कालीन गभर्नर जर्ज आर्थरको नामबाट राखिएको छ ।
तास्मेनियाको दक्षिण–पूर्वी प्रायःद्वीप पोर्ट आर्थरमा सन् १८३० मा कैदीहरूलाई काम गराउन एउटा टिम्बर स्टेशनको स्थापना भएको थियो । यो निकै ठूलो क्षेत्रमा फैलिएको छ । त्यहाँ जहाज निर्माण, जुत्ता बनाउने, फलामको काम गर्ने, टिम्बर र इँटा बनाउने गरिन्थ्यो । अस्ट्रेलियाका अन्य जेलहरूबाट पनि काम गराउन र थप सजाय गर्न कैदीहरू यहाँ ल्याइन्थ्यो ।
भौगोलिक हिसाबले यो जेल सुरक्षित थियो । यो प्रायःद्वीप तास्मेनियाको बाँकी भूमि ४०० मिटर (१३०० फिट) लामो र साँघुरोमा ३० मिटर (९८ फिट) भन्दा कम चौडाको स्थलसंयोजक (Isthmus) ले जोडिएको छ । जसलाई इगलहक नेक (Eaglehawk Neck) भनिन्छ । त्यसैले त्यो बाटोको सुरक्षा गरे कैदी समुद्रबाट बाहेक भाग्न सकिन्दैनथ्यो । त्यो साङ्घुरो बाटोमा सुरक्षाकर्मीको कडा पालो पहराका साथै डरलाग्दा हिंस्रक कुकुरको ‘Dog-line’ (कुकुरहरूको पहरा रेखा) पनि थियो । ती आधा भोका कुकुरलाई सिक्रीले बाँधेर राखिन्थ्यो । त्यो प्रायःद्वीपको क्षेत्रफल १४६ हेक्टर छ भने जेल क्षेत्र ४० हेक्टरमा फैलिएको छ ।
चित्र १०– इगलहक नेकको साँघुरो स्थलसंयोजक
त्यो क्षेत्रलाई जेलमा परिणत गरेपछि हजारौं हजार वर्षदेखि बसेका यहाँका रैथानेहरूलाई धपाउँदै अन्यत्र पठाइयो ।
चित्र ११– ‘कुकुर रेखा’ मा बाँधिएका कुकुरको नमुना
यहाँ ३० भन्दा बढी भवनहरू छन् । तीमध्ये केही सग्ला छन् भने धेरै खण्डहरमा परिणत भइसकेका छन् । तीमध्ये मुख्य जेल अहिले भग्नावशेषमा परिणत भएको छ । कुनैबेला छिँडीमा पीठो मिल रहेको भवनको बाँकी छिँडी र माथिल्लो तलामा जेलका कोठाहरू ( ‘Cell’) थिए । पानीले चल्ने त्यो मिल पानी नहुँदा कैदीहरूलाई घट्ट घुमाउन लगाइन्थ्यो ।
त्यो भवन सन् १८९७ मा ठूलो आगलागी भई प्रायःध्वस्त भयो । यद्यपि यसका अग्ला भित्ताहरू कतै ४ तला अग्ला फलामे खम्बाहरूले टेको दिएर जोगाएका छन् भने होचा भित्ताहरू काठका खम्बाले अड्याइएको छ । ढोकाका खापाहरू पारदर्शी प्लास्टिकका पाटाले मोडेर राखिएको छ । बाहिरबाट हेर्दा झ्याल–ढोका देखिए पनि भित्र कुनै तला बाँकी छैनन्– आकाश देखिन्छ । पर्यटकहरूको आवत–जावतबाट बाटोमा विछ्याइएका पुराना काठ, इँटा, ढुङ्गा आदि जोगाउन केही ठाउँमा माथिबाट कृत्रिम बाटो बनाइएको छ ।
चित्र १२ – पोर्ट आर्थर जेलको पुरानो चित्र
यो जेलको पनि रक्ताम्य कथा छ । यहाँ बेलायती बन्दीपालहरूले कैदीहरूको गरेका हत्या, कोर्रा लगाइएका, गोलघरमा राखिएका आदि थुप्रै कथा छन् । त्यसमा पुरुष, महिला र केटाकेटी कोही बचेका थिएनन् ।
सन् १८७७ मा यो जेल बन्द गरिएको थियो । त्यसपछि भवनहरू बाहेकका जमिन खेती र बगैंचाको लागि छुट्याइयो र बिक्री ग¥यो । त्यहाँ नयाँ बस्ती पनि विकास गरियो र १८८९ मा कर्नारभोन ( Carnarvon नाम दिइयो । तर, यसको ऐतिहासिकताको कारण जमिन निखनेर राष्ट्रिय सम्पदा बनाइयो ।
चित्र १३ – पानी नआएको बेला मिलको पाङ्ग्रा घुमाउँदै कैदीहरू
पोर्ट आर्थर जेलक्षेत्रमा पहरा दिने टावर, जेलर, सुरक्षाकर्मी, चिकित्सक आदि बस्ने घरहरू, चर्च वरपर बनेका छन् । त्यहाँ एउटा अदालत ( (Law Court) को भवन पनि छ । त्यो अदालत कैदीहरूलाई जेलको नियम पालना नगर्नेहरूलाई थप सजाय दिन, कैदीहरूको आपसी झै–झगडाको छिनोफानो गर्न प्रयोग गरिन्थ्यो ।
चित्र १४ – पोर्ट आर्थर जेलको वर्तमान विहंगम दृश्य
अदालतको बीचभागमा अग्लो मञ्च जस्तो बनाइएको छ । त्यहाँ कैदीहरूलाई सजाय तोक्ने अधिकारी वा कर्मचारी बस्छ । त्यस मञ्चको अगाडि केही खाली ठाउँ छ र सामुन्ने तह–तह गरी कैदीहरू बस्ने खण्डहरू छन् । कैदी राखिने ठाउँमा कुर्सी छैनन्, सबै उठेर बस्छन् । उठेर बस्दा घाँटी रहने ठाउँमा खाली पारिएको काठका फल्याक राखिएका छन् जसले कैदी बन्धनमा पर्छ । टाउको मात्र घुमाउन सक्छन्, सुरक्षाकर्मीले फल्याक खोलिनदिएसम्म निस्कन सक्दैनन् ।
गोलघर
पोर्ट आर्थरमा छुट्टै जेल ( Seperate Prison) पनि छ । यसलाई गोलघर भन्न सकिन्छ ।
जेलहरूमा छुट्टै जेल वा गोलघरको सुरुआत सन् १७७९ देखि भएको मानिन्छ । बेलायती जोन हवार्ड (सन् १७२६–१७९०) एक जेल सुधारका अभियन्ता थिए । उनले युरोपका विभिन्न जेलहरूको भ्रमण गरेपछि ‘The State of the Prisons’ पुस्तक लेखे । त्यसमा उनले कैदीहरूलाई सुधार गर्न गोलघरको बन्दोबस्त गर्नुपर्ने वकालत गरेका थिए । पछि बेलायतमा १७७९ कारावास सुधार ऐन (Penintentiary Act 1779) संसदबाट पारित ग¥यो जसको मसौदा हवार्डसहितले गरेका थिए । त्यसैको आधारमा अमेरिका, बेलायत र अस्ट्रेलियामा गोलघर स्थापना गरिएको थियो ।
तर, गोलघर बन्दोबस्तको विरोध र आलोचना गर्ने पनि धेरै थिए । तीमध्ये एक विश्वप्रख्यात अङ्ग्रेज उपन्यासकार चाल्र्स डिकेन्स (सन् १८१२–१८७०) थिए । उनले सन् १८४२ मा संरा अमेरिकाको फिलाडेल्फियाका जेलको भ्रमण गरेका थिए । त्यहाँ गोलघरमा राखिएका कैदीहरूको अवस्था देखेका थिए । उनले कैदीलाई गोलघर अर्थात एक्लै राख्नु ‘क्रुर र गलत’ भन्दै त्यसले कैदीमा मानसिक असन्तुलन र समाजविरोधी भावना विकास गर्छ भनी आलोचना गरे । तर, अरूले ‘त्यसैलाई रोकथाम र उपचार गर्न’ गोलघर आवश्यक ठान्दथे ।

चित्र ७ – बाहिरी पर्खालमात्र बाँकी रहेको ठूलो चोकको एक छेउमा रहेको दुईतले फलामे घर र बाकसभित्र केही कैदीको विवरण राखिएको छ ।
माथि सानो एउटा झ्याल, अग्लो भित्ता भएको गोलघरको कोठामा कैदीलाई २३ घण्टासम्म एक्लै राखिन्थ्यो, दिनको एक घण्टामात्र शारीरिक अभ्यासको लागि कम्पाउन्ड भित्रको चौरमा ल्याइन्थ्यो । यहाँका कैदीलाई बोल्ने पटक्कै अनुमति थिएन शारीरिक अभ्यासको बेलामा पनि । विनाअनुमति पहरेदारहरूले पनि बोल्न पाउँदैनथे । पहरेदारहरू आपसमा साङ्केतिक भाषामा संवाद गर्थे । त्यसैले गोलघर क्षेत्रलाई आज पनि ‘शान्त ठाउँ’ को सूचना पाटी राखेर पर्यटकलाई हल्ला नगर्न अनुरोध गरिएको छ । कुनै गोलघरमा झ्याल पनि थिएन, चौपट्ट अँध्यारो थियो । बाटामा ढुङ्गा विछ्याइएका छन् भने कोठाहरूमा एउटा सानो टेबल, स्टुल, कुचो, सिलाबरको एउटा बाटा, पोको पारिएको ओछ्यान आदि थिए । कोठाहरू नम्बरले सङ्केत गरिएको छ ।
छुट्टै जेल अर्थात गोलघरमा प्रवेश गरेपछि कैदीहरूको अभिलेख राखिएको एउटा ढड्डा सीसाको बाकसभित्र राखेर प्रदर्शन गरिएको देख्न सकिन्छ ।
पोर्ट आर्थर घुम्न आउनेले ४० डलरको टिकट लिएपछि सानो पानी जहाज (Cruise) बाट किशोरहरूको जेल रहेको टापू (Pointpuer Boys Prison) र चिहान टापू (Isle of the Dead) को पनि भ्रमण गराइन्छ ।
Leave a Reply