भर्खरै :

दिल्ली दङ्गा पछाडिको विचारधारात्मक रणनीति

 दीपक सेठ्ठी
पछिल्लो गणनाअनुसार दुःखद दिल्ली दङ्गाका कारण ४९ जनाको निधन भयो, सयौँजना घाइते भए र असङ्ख्य सवारीसाधन र सम्पतिहरू आगजनी गरिए ।
दुईदिनसम्म जब उत्तेजित भीडले निर्दयीतापूर्वक मानिस मारिरहेको थियो र सम्पत्ति जलाइरहेको थियो दिल्ली पुलिस मूकदर्शकमात्र बनिरह्यो । त्यसको अनपेक्षित पक्षपातपूर्ण व्यवहारले जामिया, जेएनयू र गार्गी कलेज घटना स्मरण गरायो तर यहाँ साम्प्रदायिक दङ्गा र लाखौँ मानिसको सुरक्षाको प्रश्न थियो । दङ्गाकारीहरूको नृशंसता, अमानवीयता, पुलिसको जटिलता, कृतघ्नता र राजनीतिक संरक्षण देख्दा यो दङ्गा पनि १९८४ र २००२ कै कार्यक्रमको निरन्तरता हो भन्न बाध्य बनायो ।
दङ्गाकारीहरूको साझा भनाइ थियो, “तिनीहरूलाई पाठ सिकाउनुपर्छ ।” भाजपाका नेता कपिल मिश्राको आगो लगाउनेखाले भाषण नै हिंसा सुरु गराउने ट्रिगर थियो । भाजपाको स्तुतिकर्ता र प्रचारकर्ताका रूपमा काम गरिरहेका सञ्चारमाध्यमहरूले वारिश पठानको भाषण पटक–पटक दोहो¥याएर देखाई हिन्दू–मुस्लिमको दोहोरो चेतावनी देखाई हिंसालाई दुईपक्षीय दङ्गाका भनी प्रचार गर्न कुनै कसर बाँकी राखेनन् । त्यो विडम्बनापूर्ण प्रचारबाजीमा जबकि पठानले महिनौँ अगाडि धेरै टाढा हैदरावादमा गरेको असम्बन्धित भाषण थियो भने कपिल मिश्राको एक दिनअघि गरिएको भाषणमा उत्तेजनापूर्ण आह्वान थियो ।
त्यसो त दिल्ली निर्वाचनको अवधिमा अमित शाह र अरू भाजपा नेताहरूको असङ्ख्य गैरजिम्मेवारीपूर्ण भाषणहरूले नै दिल्लीको समाजमा तनाव उत्पन्न गरिसकेको थियो ।
के यो दङ्गा गैरनियोजित एकाएक भएको घटना थियो ? या यो दीर्घकालीन रणनीतिसित जोडिएको नियोजित घटना थियो ?
प्रस्टै छ, भाजपाले मोदीको प्रतिष्ठासित जोडेर ठूलो तयारी र तामझामका साथ लडेको दिल्लीको निर्वाचनमा ब्यहारेको लज्जास्पद हारलाई पचाउन सकिरहेको छैन । शाहीन बाग किसिमको देशव्यापीरूपमा भइरहेका विरोध प्रदर्शनहरूले पनि भाजपाको मुखौटा नराम्ररी च्यातिरहेको थियो । स्वतन्त्र जनमानसको मत भाजपाको विपक्षमा धु्रवीकृत गर्नमा यी प्रदर्शनहरूको ठूलो भूमिका रह्यो । तसर्थ यस्ता गान्धीवादी शान्तिपूर्ण आन्दोलनहरूलाई बदनाम गर्नलाई नै दङ्गाको पहिलो शिकार ती प्रदर्शनहरूलाई बनाइयो ।
भाजपाको साम्प्रदायिक विभाजनको रणनीति त्यसको मूल सङ्गठन आरएसएसमा १९३० देखि नै हिन्दूराष्ट्रको अवधारणाको रूपमा रहेको छ । भारतका बहुसङ्ख्यक जनता हिन्दू छन् तर, अधिकांश हिन्दू भारतीयहरूले गान्धीले नेतृत्व गरेको धर्म निरपेक्ष आन्दोलनमा आफूूलाई समर्पित गरे । यो स्थिति नपचेका भाजपाका पूर्वजहरू स्वतन्त्रता सङ्ग्रामबाटै टाढा बसे र ब्रिटिशहरूसित घाँटी जोड्न पुगेका थिए ।
तरै पनि आरएसएस र मुस्लिम लिगले फैलाएको साम्प्रदायिक विषका कारण देश विभाजनको हृदयविदारक स्थिति सिर्जना भयो र त्यस क्रममा भएको साम्प्रदायिक दङ्गामा दसौँ लाख मानिस मारिए भने करोडौँ मानिसहरू बेघरवार बने ।
हाम्रा संस्थापक पिताहरूले भारतको बृहत् धार्मिक, भाषिक र सांस्कृतिक विविधताको कारण धर्मनिरपेक्ष राज्यको नीति तय गरे । परिणामतः भारतको लोकतन्त्र स्थायीमात्र बनेन यसले कतिपय क्षेत्रमा ठूला उपलब्धि र विकास पनि ल्यायो । तर विडम्बना नेताहरूको स्वार्थी चरित्रका कारण बढ्दै गएको राजनीतिक अस्थिरताका कारण १९८० को दसकको अन्ततिर आरएसएस र भाजपालाई हिन्दुत्वको विषय पुनः भारतीय समाजमा फैलाउने अवसर मिल्न गयो ।
सन् १९८४ भन्दा अगाडि साम्प्रदायिक दङ्गाहरू धेरै कम भएका थिए, ती स्थानीय भिडन्तमा सीमित भएका थिए तर १९८४ को शिख समुदायको नरसंहार र १९८९ को भाजपाको रथयात्रा, बाबरी मस्जिद भत्काउने विध्वंस, मुम्बइ बम काण्ड र २००२ को गुजरात नरसंहारले देशलाई धार्मिक दङ्गाको देशमा बदलिदियो । ती दङ्गाहरू दीर्घकालीन राजनीतिक स्वार्थले निर्देशित, योजनाबद्ध, व्यापक र नृशंस थिए ।
आरएसएस र भाजपाले अहिले पनि अनुभव गरिरहेका छन् कि अधिकांश भारतीयहरू हिन्दू धर्मका भएर पनि धर्मनिरपेक्ष छन् र हिन्दू राष्ट्रको एजेन्डालाई समर्थन गर्दैनन् । तिनीहरूको ठूलो कोसिसपछि पनि सन् २०१९ को निर्वाचनमा भाजपाले मात्र कुल खसेको मतको ३७.४ प्रतिशत मतमात्र प्राप्त गरेको छ । पछि कैयौँ राज्यमा विधानसभा चुनावमा भाजपाको पराजय भयो र सरकार छोड्नुप¥यो । केन्द्रमा भाजपाको सरकार छ तर आर्थिक मन्दी, बढ्दो बेरोजगारी र किसान र कृषि क्षेत्रको निराशाले भाजपाप्रतिको जनसमर्थनमा क्षति पु¥याइरहेको छ । धर्मको आधारमा हुने विभाजनले मात्र हिन्दू मत भाजपालाई प्राप्त हुनसक्ने तिनीहरूको आकलन रह्यो ।
त्यसैले भाजपाले मुसलमानहरूविरुद्ध मनपरी कानुन बनाइरहेको छ र अदालतका निर्णय र निर्देशहरू पन्छाइरहेको छ । त्यस पार्टीका अधिकांश नेताहरूका सार्वजनिक भाषणहरू आक्रामक खालका छन् र हिन्दुत्वको सङ्कीर्ण आह्वान र हिंसाले भरिएका छन् । तिनको लक्ष्य भनेकै मुसलमानहरूलाई अपमानित गरेर उनीहरूलाई आक्रोशित पार्नु र हिंसाका निम्ति तयार पार्छ । हरेक दङ्गाले साम्प्रदायिक विभाजनलाई फराकिलो पार्ने र युगौँ पुरानो सम्बन्धलाई अविश्वास र घृणाले प्रतिस्थापन गर्दछ । दङ्गाले सबै समुदायमा उस्तै उस्तै क्षति र पीडा पु¥याउने भएकोले धर्मनिरपेक्ष भारतीयहरू दङ्गामा भाग लिँदैनन् न त हिन्दुत्वको नारा उचाल्नुप्रति नै विश्वास गर्छन् ।
तर, यी आरएसएस–भाजपाहरूका लागि साम्प्रदायिक भिडन्त भड्काउनु र गञ्जागोलको स्थिति उत्पन्न गर्नुमा तर्कसङ्गत फाइदा छ । त्यसो होइन भने देशको नेतृत्व गरिरहेको पार्टी किन आर्थिक पुनरुत्थानको कार्य छाडेर किन आफ्नै जनताप्रति विभेद गर्नतिर लाग्छ ? तिनीहरूको हिसाब छ, यस्ता दङ्गाबाट पीडित बनेका हिन्दू जनमानस आफ्नो समर्थनमा आउने छन् । त्यसबाहेक तिनीहरू सुस्त अर्थतन्त्र, आन्तरिक स्थायित्वको कमी र भारतप्रति नकारात्मक विश्व जनमतजस्तो अहिलेको जल्दोबल्दो समस्यालाई हिन्दू राष्ट्रको नाराले छोप्न चाहन्छन् ।
तिनीहरूको रणनीति आजका विज्ञ, उच्चपदस्थहरू, न्यायाधीशहरू, शिक्षाविद्हरूदेखि लिएर समग्र प्रशासन र नीति निर्माणका अङ्गहरूमा आफ्नो विचारधारात्मक घूसपैठ गराउनु हो । सञ्चारमाध्यमहरूमाथि कडा नियन्त्रण र सामाजिक सञ्जालहरूमा आक्रामक प्रचारयुद्धको गलत सूचना र पीत प्रचारको माध्यमले धर्मनिरपेक्षहरूलाई बगाएर पठाउने तिनीहरूको योजना छ । राज्ययन्त्रको मुख्य ज्यावल हात पारेको भाजपाले भाजपा शासित राज्यहरूमा पुलिसलाई हिन्दुत्वकरण गरिसकेको छ ।
आरएसएसको पोशाकमा रहेका र नरहेका पूर्व र वर्तमान अधिकारीहरू तथा तिनीहरूको सुगारटाइ गर्ने सामाजिक मिडियाहरूले हाम्रो देशको धर्मनिरपेक्ष सशस्त्र बलहरूमाथि हमला गरिरहेका छन् । सन् २००८ मा महाराष्ट्र सैनिक प्रतिष्ठानका अवकाश प्राप्त कर्णेल चितालेले वरिष्ठ पत्रकार सैकत दत्तसित कर्णेल पुरोहित र अरू एक हजार विद्यार्थीहरूलाई तालिम दिएको खुलासा गरेका थिए । पछि तिनीहरू सबै सशस्त्र बलहरूमा भर्ती गरिएका थिए । आरएसएसले बुलन्दसहरमा सैनिक विद्यालय पनि खोलेको छ र त्यसको उद्देश्य भनेको सैनिक प्रतिष्ठानहरूका निम्ति विद्यार्थी तयार गर्नु रहेको छ । यो अवैध हो, जब हिन्दूत्व दिमागमा भरेर पठाएकाहरू देशको सुरक्षा फौजमा छिर्छन्, हिन्दुत्वलाई नै देशको राष्ट्रियता मान्ने भूल गर्नेछन् ।
जनगणनाको तथ्याङ्कअनुसार भारतमा १७ करोड ७० लाख मुस्लिमहरू छन्, भारतले मुस्लिमोफोविया (मुस्लिमहरूलाई घृणा गर्ने रोग) लाई धान्न सक्दैन । विश्वको दोस्रो ठूलो मुसलमान जनसङ्ख्या भएर पनि भारत कथित विश्वव्यापी जिहादबाट मुक्त छ, कारण भारत धर्मनिरपेक्ष हुनु हो । त्यसलाई परिवर्तन गर्नु भनेको भारतको एकताका लागि खतरा हो र त्यसले समग्र दक्षिण एसिया क्षेत्रमै अस्थिरता निम्त्याउने छ ।
शाहीन बाग खालका विरोधहरू मुस्लिम, तल्लो जाति र धर्मनिरपेक्ष भारतीयहरूको बृहत् गठबन्धनको रूपमा विकास भइरहेको छ । यदि बेरोजगार र किसानहरू पनि जोडिने हो भने यो गठबन्धन अझै ठूलो हुनसक्नेछ । तर, यसको स्वरूप शालिन र शैली अहिंसात्मक छ । यो नै भाजपाको रणनीतिको निम्ति खतरा बनेको छ । त्यसैले भाजपा–आरएसएसले त्यो विरोध प्रदर्शनमाथि क्रूर दस्ता प्रयोग गरी आक्रमण गरेको हो र दोहोरो हिंसा भएको देखाएर हिंसालाई मध्यनजर गरी न्यायालयबाट ती विरोध प्रदर्शनमाथि रोक लगाउन दिने अभिष्ट पनि हो । त्यस्तो आदेश नदिने न्यायाधीशलाई रातारात सरुवा गरिएको पनि देखियो ।
भारत यसरी आज गम्भीर चौराहामा उभिएको छ । प्रजातान्त्रिक, निरपेक्षतावाद र न्यायिक भारतजस्तो भारतको संविधानद्वारा निश्रित विचार आज खतरामा छ । के हामी (भारतीयहरू) आजको आर्थिक विकास र सैनिक शक्तिसम्म ल्याइपु¥याएको विचारधाराको जगमा अडिग रहन सकौंला ? वा हामी विधायिकी चलखेलको माध्यमले विचारधारा परिवर्तन गर्न लगाएर कथित हिन्दू राष्ट्रमा झुक्दै जानेछौँ ?
अघिल्लो विचारधाराले हाम्रो शान्तिपूर्ण विकास र मित्रवत् वातावरणको निरन्तरतालाई सुनिश्चित गर्नेछ र आर्थिक र सामाजिक न्याय पनि कायम राख्ने छ भने पछिल्लोले हामीलाई कथित उपल्लो जातिकाहरूको दबदबा भएको, पितृसतात्मक, लैङ्किक र जातीय असमानतासहितको एउटा हिन्दू राष्ट्र दिनेछ र आजको आधुनिक स्वतन्त्रतासित पटक्कै मेल नखाने पुरातन संस्कारसँगै कहिल्यै निको नहुने धार्मिक र सामाजिक द्वन्द्व पनि दिने छ ।
पुस्तौंसम्मलाई असर पार्ने यति महत्वपूर्ण छनोट हामी कसरी गर्छौं ? भाजपालाई सजिलो बहुमत दिएर हामी २०२४ सम्ममा कैयाँै विभेदकारी र निरङ्कुश कानुनहरू बनेको देख्दै जानुपर्ने अवस्थामा छौँ । विपक्षी पार्टीहरूको असक्षमताका कारण विपक्षीहरूको एकताबाट एउटा विश्वसनीय विकल्प दिन नसकेकोमा आज सबैजसो सचेत भारतीय पछुतो मानिरहेका छन् ।
गान्धीको नैतिक आदर्श भएको देशमा हिंसात्मक विरोध प्रदर्शनसमेत लोकप्रिय विकल्प बन्न सकेको छैन । त्यसबाहेक हिंसात्मक विरोध प्रदर्शनले प्रतिहिंसा पनि निम्त्याउँछ । सबैभन्दा महत्वपूर्ण कुरा त्यस्तो स्थिति हिन्दुत्वका नेता र वर्तमान सरकारलाई त्यो नै कुनै पनि न्यायोचित आन्दोलनलाई निर्ममतापूर्वक दबाउने निहुँ बनेको छ । दुःखका साथ भन्नैपर्छ भर्खरैका घटनाहरूले अझै कठिनतम समय आउने सङ्केत गरेका छन् ।

(लेखक भारतीय सेनाका अवकाश प्राप्त ब्रिगेडियर जनरल हुनुका साथै विद्यावारिधि प्राप्त तथा संरा अमेरिकामा अन्तर्राष्ट्रिय व्यवसाय रणनीति र व्यवस्थापनका प्राध्यापक रहेका छन् ।्)
(The Ideological Strategy Behind the Delhi Riots)
The Wire, 6 March 2020
अनुवाद ः प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *