कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
प्रधान
नेपालको नयाँ पुस्ता दुई भागमा विभाजित छ । एउटा पक्ष अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद तथा सबै किसिमका प्रतिक्रियावादको विरोधमा सङ्घर्षरत छ । समाजमा आमूल परिवर्तन गर्ने उद्देश्य लिएर तिनीहरू रातदिन आ–आफ्नो स्थानबाट कर्तव्य निर्वाहमा समर्पित छन् । यो काममा तिनीहरू आफ्नो पद र पैसाको निम्ति नभई निःस्वार्थरूपले देश र जनताको सेवामा प्रेरित भएर लाग्दैछन् ।
हो, तिनीहरूमध्ये कोही वर्गीय र पेशागत सङ्गठनमा सङ्गठित छन् भने कोही शिक्षा र साहित्य क्षेत्रमा समर्पणको भावनाबाट तन, मन र धनले लागेका छन् । केही पत्रकार र बुद्धिजिवी फाँटमा कार्यरत छन् । तिनीहरूको प्रेरणाको स्रोत एसिया, अफ्रिका, ल्याटिन अमेरिकी देशहरू र जनताका सम्राज्यवादविरोधी र समाजवादको स्थापनाको उद्देश्यबाट जीवन–मरणको सङ्घर्ष गरिरहेका व्यापक कामदार जनता, महिला, युवा–विद्यार्थी हुन् । यो दबाउन नसकिने साहस हो । उनीहरू समाजवाद र साम्यवादी सिद्धान्तबाट शिक्षित छन् ।
२१ औँ शताब्दीको यो एक आशा र विश्वासको उपज हो र यो परिस्थितिलाई आजको विज्ञान, प्रविधि र संसारलाई जोड्दै गएको सञ्चारले सघाएको हो ।
नेपालको अर्को वा नकारात्मक नयाँ पुस्ता छ । त्यो पुस्ता सा¥है स्वार्थी, आफैँ खाऊँ, आफैँ लाऊँ, अरूको हामीलाई के मतलब जस्ता अत्यन्त व्यक्तिवादी ढङ्गका विचार र व्यवहारबाट परिचालित छ । नयाँ पुस्तालाई बरबाद पार्ने उद्देश्य लिएर देशी र विदेशी प्रतिक्रियावादीहरू ‘खाओ–पिओ, मोज उडाओ’ भन्दै ‘म र हामीबाहेक अरू कोही छैन’ भन्ने पूरै आफैँप्रति केन्द्रित मानसिकताको प्रचार गर्दै लागूऔषधको प्रयोग, गीत र सङ्गीतको नाममा हो–हल्ला र दङ्गा–फसाद गर्ने जमातहरू तयार गर्दैछन् । तिनीहरू आधुनिक सञ्जालहरू पनि प्रयोग गर्दै छन् र समाजका बदनाम गुण्डा, काला–बजारी, हुलदङ्गा र जुवातासका गुमास्ताहरूबाट घच्घच्याइएका छन् । सत्तामा पुगेका हरेक पक्षसँग होमा हो मिलाई दही चिउरे र पिपलपातेहरूको संरक्षणमा तिनीहरू परिचालित छन् । त्यो स्वार्थी पुस्ता केही विद्यालय र महाविद्यालयबाट शिक्षित छन्, तर गलत ढङ्गले । सारमा तिनीहरू समयमा कक्षामा नपुग्ने, शिक्षकहरूलाई समेत हातपात गर्न पछि नपर्ने, अनुशासन तोड्नु नै आफ्नो बहादुरी सम्झने भोजभतेरमा हो–हल्ला गर्ने, समाजको कुनै सदाचार र आचरणलाई नमान्ने ढङ्गले मातेर हिँडेका छन् ।
समाजको यो नकारात्मक पक्ष आजको स्थानीय निकायदेखि सङ्घीय स्तरको भ्रष्टाचारी प्रवृत्तिबाट उत्साहित भएका छन् । ‘स्थानीय तहका प्रत्येक कार्यक्रममा भ्रष्टाचार, शिक्षा, स्वास्थ्य, खानेपानी आयोजना, किताब खरिद, छात्रवृत्ति वितरणमा समेत जनप्रतिनिधिले कमिसन लिएको महालेखाको निष्कर्ष ।’ ‘स्थानीय तहमा मरिसकेको मान्छेको नामकट्टी नगरी त्यसबापतको भत्ता आफैँ लिने, समयमा भत्ता नदिएर यस्तो पैसा व्यक्तिगत प्रयोजनमा अन्यत्र लगानी गर्नेजस्ता समस्या विकराल छ । (नयाँ पत्रिका २० फागुन २०७६)
स्थानीय तहका जनप्रतिनिधि र प्रदेश जनप्रतिनिधिहरू निर्वाचनमा आफूले गरेको २० लाखदेखि ५ करोडसम्मको खर्च उठाउनेबारे चिन्ता गर्दैछन् । सङ्घीय सांसदहरू अर्काे निर्वाचन जित्न र पुरानो निर्वाचन खर्चउपर गर्न योजनाको नक्कली हिसाब–किताबमा बनाउँदैछन् ।
यस्तो किन ? हिजो ३० वर्षसम्म पञ्चायतबाट पीडित र व्यवस्थाविरुद्ध सङ्घर्ष गरेका राजनैतिक कार्यकर्ताको ‘गरेर देखाउने’ जोश थियो । उनीहरू जनताप्रति आफ्नो उत्तरदायित्वको अनुभव गर्थे । नयाँ पुस्ताका जनप्रतिनिधिमा उत्तरदायित्वको भावना शतांश पनि छैन । समस्या यहीँबाट सुरु भयो । तर, माथिबाट संरक्षित बिग्रेभत्केका युवा जमात भोलि समाजको निम्ति ठूलो समस्या हुनेछ । यसमा दोषी सरकार नै हुने पक्का छ ।
Leave a Reply