भर्खरै :

सामुदायिक विद्यालयहरूलाई पूर्वाधारसम्पन्न बनाउनतिर किन नलाग्ने ?

निभा श्रेष्ठ
शिक्षा क्षेत्रको निजीकरणसँगै व्यापारीकरण भइरहेकोमा धेरैले असन्तुष्टि जाहेर गरेका छन् । तर, उनीहरूमध्ये धेरैले आफ्ना छोराछोरीहरूलाई निजी जिद्याालयहरूमा पढाइरहेका छन् । त्यसमा उनीहरू सामाजिक प्रतिष्ठा, पारिवारिक दबाब, साथीभाइको करकाप आदिलाई कारण देखाउने गर्छन् । हुन पनि हिजोआज विद्यार्थीसित बढीभन्दा बढी शुल्क लिने निजी विद्यालयहरूको भौतिक प्रगति दिनप्रतिदिन बढ्दै गएको छ भने विद्यार्थीसित किञ्चित शुल्क पनि उठाउन नपाउने भनिएका सामुदायिक विद्यालयहरू केही अपवादलाई छाडेर गएगुज्रेको वा अव्यवस्थित अवस्थामा पुगेका छन् । कतिपय सामुदायिक विद्यालयको भवन राम्रो हुँदा पनि बजेटको अभावमा जरुरी फर्निचरसमेत व्यवस्था गर्न नसकेका देखिएको छ, अन्य शिक्षण सामग्री त टाढाको कुरा भो । शुल्कलाई शुल्क नभनी चन्दा–सहयोग भनी रकम उठाएका केही विद्यालयहरूले पनि जरुरी फर्निचर, मसलन्द, अतिथि सत्कार खर्च र आवश्यक निजी शिक्षकको समेत बन्दोबस्त गर्न सकेका छन् । त्यस्ता विद्यालयहरूको शैक्षिक प्रगति र प्रतिष्ठा पनि बढेको देखिएको छ । त्यसो हो भने सामुदायिक विद्यालयहरूलाई पूर्वाधारसम्पन्न बनाउनतिर किन नलाग्ने ?
विद्यालय त विद्यालय नै हो सरकार, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूले चाहने हो भने सामुदायिक विद्यालयलाई पनि निजीभन्दा राम्रो ढङ्गले सञ्चालन गर्न अवश्य सकिन्छ । त्यसमा सक्षम अभिभावकहरूले चन्दा र सहयोग अवश्य गर्नेछन् । झन् अहिले त विद्यालयको जिम्मा स्थानीय तहको सरकारलाई आइसकेको अवस्थामा सामुदायिक विद्यालयलाई व्यवस्थित र आवश्यक पूर्वाधार र सामग्रीसम्पन्न बनाउनमा खासै कठिनाइ नहोला । सामाजिक प्रतिष्ठा, पारिवारिक दबाब, साथीभाइको करकापमा परेका सक्षम अभिभावकले आफ्ना छोराछोरी निजी विद्यालयमा यथावत् पढाइराखून् त्यसमा अहिलेलाई केही नगरौं । दुई किसिमको शिक्षा हुनुुहुँदैन र शिक्षा राज्यको जिम्मा हुनुपर्छ भनी वकालत गरेर आएकाहरूले यतातिर ध्यान दिने हो कि ? आफ्ना केटाकेटीलाई सामुदायिक विद्यालयमै पढाउने आँट गर्ने हो कि ? 

Leave a Reply

Your email address will not be published. Required fields are marked *