भर्खरै :

मानवता मर्दैन कहिल्यै समाजवादी क्युवाको उदाहरणीय काम

हवाना, १७ मार्च । कोभिड–१९ को सङ्क्रमण संसारभर फैलिरहेको बखत सबै देश आफ्नो भूमिमा कोही पनि विदेशी भित्याउन चाहिरहेका छैनन् । अझ भाइरसबाट सङ्क्रमित कोही मानिसलाई आफ्नो देश भित्याउनु त यतिबेला अकल्पनीयजस्तो बनेको छ ।
तर, समाजवादी देश क्युवाले भने यस्तो प्रतिकूल परिस्थितिबीच मानवीय सहयोग बन्द गरेको छैन । ‘एमएस ब्रमेर’ नामको पानीजहाजमा यात्रा गरिरहेका यात्रुहरूमध्ये पाँच जनामा कोभिड–१९ को सङ्क्रमण फेला परेपछि कुनै पनि देशले उक्त पानीजहाजलाई आफ्नो बन्दरगाहमा रोक्न अनुमति दिएनन् । ६ सय यात्रु भएको जहाज कहाँ रोक्ने कुनै मेलोमेसो नपाएर बीचमा अलपत्र परेको थियो ।
यस्तो विषम परिस्थितिमा क्युवाले सो जहाजलाई आफ्नो बन्दरगाहमा आउन अनुमति दियो । क्युवाको विदेशमन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “परिस्थितिको आकस्मिकता र बिरामी मानिसको जीवनमा आइपरेको खतरालाई ध्यानमा राखेर क्युवा सरकारले सो जहाजलाई आफ्नो बन्दरगाहमा रोक्न अनुमति दिने निर्णय गरेको छ ।”
जहाजका यात्रुहरूलाई क्युवाबाट हवाई मार्ग हुँदै आफ्नो देश पठाइने छ । यात्रुहरूमध्ये अधिकांश बेलायती नागरिक छन् । क्युवा सरकारले भन्यो, “यो समय ऐक्यबद्धताको समय हो । स्वास्थ्यलाई मानवअधिकारको रूपमा बुझ्ने समय हो । साझा चुनौती सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य गर्ने समय हो । क्रान्ति र क्युवाली जनताको  मानवतावादी अभ्यासको अन्तर्निहित मूल्य मान्यतालाई बलियो बनाउने समय हो ।” यसैबीच क्युवाले कोभिड –१९ सङ्क्रमितहरूको उपचारको लािग उपयोगी औषधिसहित दक्ष चिकित्सकहरूको एक टोली भेनेजुयलामा पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *