भर्खरै :

कोभिड–१९ को महामारीबीच संरा अमेरिकी नाकाबन्दी सामना गर्दै इरान र भेनेजुयला

विजयप्रसाद/पाउलो इस्ट्राडा 
कोभिड–१९ को महामारी निकै तेज गतिमा दौडिरहेको छ । एकपछि अर्को महादेशलाई पछार्दै, महासागरहरू पार गर्दै र हरेक देशका जनतालाई भयातुर बनाउँदै कोरोना भाइरस फैलिरहेको छ । भाइरसबाट सङ्क्रमितको सङ्ख्या र मर्नेको सङ्ख्या पनि उही गतिमा बढिरहेको छ । मानिसहरू हात धोइरहेका छन् । परीक्षणहरू भइरहेका छन् । ‘सामाजिक दुरी’ एउटा नयाँ चर्चित शब्द बनिरहेको छ । यो विश्वव्यापी महामारी कति विध्वंसकारी हुने हो, कुनै टुङ्गो छैन । पक्का पनि मानिसहरू सन् १९१८–२० मा संसारमा फैलिएको स्पेनिस फ्ल्यु सम्झिरहेका छन् । त्यत्तिबेला प्रत्येक तीन जनामध्ये एक जना मानिस (५० करोड मानिस) लाई सो रोगको सङ्क्रमण भएको थियो । १५ करोड मानिसको ज्यान गएको थियो । यदि यही अनुपात आजको समयमा पनि लागू भए २ अर्ब ५० करोड मानिस कोभिड–१९ बाट सङ्क्रमित हुनेछन् र एक अर्बको एकतिहाइ मानिसले ज्यान गुमाउनेछन् । यो सङ्ख्या निकै भयानक छ ।
विश्वभरि नै महामारी फैलिरहेको बखत यसको सङ्क्रमण र मानव समाजमा त्यसको प्रभाव रोक्न सबै देशबीच हरेक तरिकाको सहकार्य हुने अपेक्षा गर्नु स्वाभाविक हो । यति भयानक आकारको मानवीय सङ्कट आइलागेको समयलाई विभिन्न देशमाथि थोपरिएको सबै अमानवीय आर्थिक र राजनीतिक नाकाबन्दी फिर्ता वा स्थगन गर्ने अवसरको रूपमा लिइनु पनि स्वाभाविक हो । क्युवा, इरान, भेनेजुयला र अन्य धेरै देशमाथि संरा अमेरिकी नेतृत्वको साम्राज्यवादी मोर्चाले थोपरेको नाकाबन्दी अन्त्य गर्ने के यो उपयुक्त समय होइन र ? हामी यही कुरा सोचिरहेका छौँ ।
औषधिको अभाव
भेनेजुयलाका विदेशमन्त्री जर्ज अरिजाले हालै ‘संरा अमेरिकाले भेनेजुयलामाथि थोपरेको अवैध र एकपक्षीय हस्तक्षेप एक प्रकारको सामूहिक सजाय’ भएको बताए । ‘सामूहिक सजाय’ शब्दावलीको प्रयोग उल्लेखनीय छ । सन् १९४९ को जेनेभा अभिसन्धिअनुसार सम्पूर्ण जनतामाथि क्षति पुग्ने कुनै पनि नीति भनेको युद्ध अपराध हो । अरिजाले संरा अमेरिकी नीतिको कारण समयमै औषधि प्राप्त गर्न कठिनाइ भइरहेको बताए ।
कागजमा संरा अमेरिकी एकपक्षीय नाकाबन्दीले औषधिजन्य आपूर्तिलाई कुनै रोकतोक नलगाउने जनाएको छ । तर, यो एउटा भ्रममात्र हो । आज न भेनेजुयला न इरानले नै सहजरूपमा औषधि किन्न सक्ने अवस्था छ । न उनीहरूले सहजरूपमा औषधि देश भित्याउन सक्ने अवस्था छ न जनस्वास्थ्य प्रणालीमा ती औषधिको प्रयोग गर्न सकिने अवस्था छ । कोभिड–१९ को समयमा ती देशविरुद्ध नाकाबन्दी भनेको जेनेभा अभिसन्धि (१९४९) को मापदण्डअनुसार युद्ध अपराधमात्र होइन, बरु संयुक्त राष्ट्र सङ्घीय अन्तर्राष्ट्रिय कानुन आयोग (१९४७) ले परिभाषा गरेअनुसार मानवताविरोधी अपराध पनि हो ।
सन् २०१७ मा संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वित्तीय बजारमा भेनेजुयलाको सहज पहुँचमा कडाइ गरे । दुई वर्षपछि संरा अमेरिकी सरकारले भेनेजुयलाको केन्द्रीय बैङ्कलाई कालोसूचीमा सूचीकृत ग¥यो । भेनेजुयलाको सरकारी निकायमाथि नाकाबन्दी थोप¥यो । भेनेजुयलाको सरकारी निकायसँग कसैले व्यापार गरे उसलाई समेत नाकाबन्दी थोपर्ने नीति पारित ग¥यो । सन् २०१७ मै संरा अमेरिकी कङ्ग्रेसले अमेरिकाविरोधीलाई नाकाबन्दीमार्फत प्रतिरोध गर्ने ऐन (सीएएटीएसए) पारित ग¥यो । सो ऐनअन्तर्गत इरान, रुस र उत्तर कोरियाविरुद्धको नाकाबन्दीमा अझ कडाइ गरियो । अर्को वर्ष, ट्रम्पले इरानविरुद्ध अर्को चरणको नाकाबन्दी थोप¥यो । त्यसले इरानी अर्थतन्त्रको घाँटी अँठ्यायो । विश्व बैङ्किङ प्रणाली र इरानसँग व्यापार गर्ने कम्पनीहरूलाई संरा अमेरिकाले दिएको दबाबका कारण विश्वलाई इरानसँग व्यापार गर्न असम्भव बनायो ।
विशेषतः संरा अमेरिकी सरकारले इरान र भेनेजुयलाको सरकारी क्षेत्रसँग कुनै पनि व्यापार गर्न नसक्ने बनायो । इरान र भेनेजुयलाका जनतालाई स्वास्थ्य सेवा सबै राज्यले नै दिने गर्दै आएको छ । त्यसको अर्थ आज ती देशहरूले परीक्षण सामग्री (टेस्ट किट) र औषधिलगायत अन्य अत्यावश्यक सामान र आपूर्ति नपाएर कठिन समय सामना गरिरहेका छन् ।
नाकाबन्दीको विरोध
भेनेजुयलाका विदेशमन्त्री अरिजाले आफ्नो सरकार आज विश्वले सामना गरिरहेको खतराप्रति सजग रहेको बताए । सरकारसँग भएका स्रोतसाधनको उचित व्यवस्थापन गर्ने अधिकार उपराष्ट्रपति डेल्सी रोड्रिग्युजलाई दिइएको छ । अरिजाले भने, “विश्व स्वास्थ्य सङ्गठनमार्फत, हामीलाई प्राप्त औषधि र सङ्क्रमित बिरामी पत्ता लगाउने सामग्रीको उपयोगबाट हामी यो नाकाबन्दी विफल बनाउने छौँ ।” विश्व स्वास्थ्य सङ्गठन आफँै पनि यतिबेला आर्थिक सङ्कटमा छ । तथापि भेनेजुयला र इरानमा त्यसले महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
निःसन्देह विश्व स्वास्थ्य सङ्गठनले नाकाबन्दीको कारण धेरै थरी चुनौती सामना गरिरहेको छ । विशेषतः सामानको आपूर्ति र ढुवानीको सन्दर्भमा उसले यस्ता समस्या सामना गर्नुपरेको छ । कठोर नाकाबन्दीको अवस्थामा ढुवानी कम्पनीहरू इरान र भेनेजुयलामा सामान ढुवानी गर्न दुई पटक विचार गर्छन् । केही विमान सेवा ती देशमा जानै छोडेका छन् । केही समुद्री जहाज कम्पनी वाशिङ्टनलाई रिसाउन दिने पक्षमा छैनन् । विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ को परीक्षण सामग्री संयुक्त अरब इमिरेट्सबाट इरान लान खोज्दा जटिलता सामना गर्नुप¥यो ।
विश्व स्वास्थ्य सङ्गठनका क्रिस्टोफ हमेलमेनले ‘हवाई उडान निषेधको कारण’ यूएईले सैनिक ढुवानी विमानबाट ती सामान इरान पु¥याएको बताए ।
त्यस्तै अरिजाले ‘चीन र क्युवाजस्ता देशका सरकारबाट भेनेजुयलाले ऐक्यबद्धता प्राप्त गरेको’ बताए । गाँठी कुरा यो हो । चीन आफैं पनि कोभिड–१९ को महामारी सामना गरिरहेको छ । तर, उसले इरान र भेनेजुयलामा परीक्षण सामग्री र औषधि पठाइरहेको छ । सक्रिय प्रतिरोधकै कारण चीनमा यो भाइरस नियन्त्रणमा आउँदै छ । फेब्रुअरीको अन्तिमतिर चीनको रेडक्रस सोसाइटीको एउटा टोली तेहरान पुगेको थियो । इरानको रेडक्रिसेन्ट सोसाइटी र विश्व स्वास्थ्य सङ्गठनका अधिकारीसँग अनुभव आदानप्रदान गर्न उनीहरू त्यहाँ गएका थिए । त्यही बेला चीनले परीक्षण सामग्री (टेस्ट किट्स) र औषधिजन्य वस्तु इरान पठाएको थियो । चिनियाँ अधिकारीहरूले अहिलेको मानवीय सङ्कटको समयमा नाकाबन्दीले कुनै असर गर्न नहुने बताएका छन् । चीनले कसैको नाकाबन्दी नमान्ने घोषणा गरेको छ ।
यसैबीच इरानीहरूले महामारीको समयमा आफ्ना जनतालाई सहयोगी हुने एउटा एपको विकास गरेका छन् । गुगलले त्यो एपलाई एप स्टोरबाट हटाउने निर्णय ग¥यो । यो पनि संरा अमेरिकी नाकाबन्दीको परिणाम हो ।
नाकाबन्दी अन्त्य गर !
औद्योगिक इन्जिनियर योलिमर मेजियस इस्कोर्चाले नाकाबन्दीले भेनेजुयलाको दैनिक जीवनमा ठूलो दबाब परिरहेको बताइन् । उनले स्वास्थ्य सेवा, शिक्षा र खानाजस्ता आधारभूत वस्तु जनतालाई सहज उपलब्ध गराउन सरकारले लगातार काम गरिरहेको बताइन् । सरकारविरोधीहरूले यस्तो अवस्थाको लागि सरकारलाई दोष दिइरहेका छन् । तर, यो खासमा भेनेजुयलामाथि साम्राज्यवादी नाकाबन्दीको परिणाम हो । गत साताबाट भेनेजुयलामा ‘नाकाबन्दी अपराध हो’ शीर्षकको नयाँ अभियान थालनी भएको उनले जानकारी दिइन् । त्यो अभियानअन्तर्गत भेनेजुयाली जनतालाई अहिलेको अवस्था आउनुमा को दोषी छ भन्ने कुरा सम्झाइनेछ । नाकाबन्दी नै अहिलेको अभावको मूल कारण हो भन्ने वास्तविकताबारे सचेत बनाउनु यो अभियानको लक्ष्य हो ।
सन् २०१९ मा न्युयोर्कस्थित संयुक्त राष्ट्र सङ्घमा केही देशहरू संरा सङ्घको बडापत्र उल्लङ्घन गर्ने संरा अमेरिकी एकपक्षीय नाकाबन्दीबारे छलफल गर्न भेला भएका थिए । त्यसको मूल लक्ष्य यस्ता नाकाबन्दीको विरोध गर्न असंलग्न आन्दोलनमार्फत एउटा औपचारिक मञ्च स्थापना गर्नु थियो । विदेशमन्त्री अरिजाले भेनेजुयला सो पहलकदमीको पक्षमा रहेको बताए । साथै उनले एकपक्षवादविरुद्ध इरानले मस्यौदा गरेको घोषणा र न्युयोर्कस्थित संरा सङ्घीय भवन जान आफ्ना अधिकारीलाई भिसा नदिएकोमा रुसी उजुरीको पनि आफ्नो देश पक्षमा रहेको बताए । “कोभिड–१९ ले ल्याएको कठिनाइ सामना गर्न यो वर्ष पनि त्यस्तै बैठक हुनेमा हामी आशावादी छौँ”, उनले भने ।
अरिजाले भनेको सो पहलकदमी अन्तरसरकारी तहमा थियो । त्यसको साथै जनस्तर र राजनीतिक सङ्गठनले थालेको अर्को पहलकदमी पनि चालू छ । सन् २०१९ को नोभेम्बरमा क्युवाको राजधानी हवानामा ८६ वटा देशको सहभागितामा साम्राज्यवादविरोधी ऐक्यबद्धता बैठक भएको थियो । बैठकले आजको विश्वमा शक्तिको अमानवीय प्रयोगको विषयमा ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । बैठकले मे २५ देखि मे ३१ सम्म सप्ताहव्यापी साम्राज्यवादी विरोधी सङ्घर्ष गर्न आह्वान गरिएको थियो । सप्ताहव्यापी कार्यक्रमको मूल लक्ष्य भनेको साम्राज्यवादबारे विश्व समुदायलाई सचेत बनाउने र कोभिड–१९ भन्दा हत्यारा चरित्रको संरा अमेरिका नेतृत्वको हत्यारा नाकाबन्दी अन्त्य गराउन दबाब दिनु थियो ।
सप्ताहव्यापी गतिविधिमा उठ्ने प्रश्न निकै सरल छन् ः मानवताको उच्च भावनाविरुद्ध केही मुठीभर देशहरूले मनपरी गर्ने अन्तर्राष्ट्रिय व्यवस्था कुन नैतिक धरातलमा उभिएको छ ? संरा अमेरिकाले पचासभन्दा बढी देशमाथि नाकाबन्दी थोपरेको छ । विशेषतः क्युवा, इरान र भेनेजुयलाविरुद्ध कडा नाकाबन्दी थोपरेको छ । संसारभर आज कोभिड–१९ को सङ्क्रमण फैलिएको छ । यस्तो परिस्थितिमा संसारको शक्ति र प्राधिकारको प्रकृतिबारे के भन्नु उपयुक्त होला ? संवेदनशील मानिसहरूले यस्ता व्यवहारको विरोध गर्नुपर्छ । नाकाबन्दीले निम्त्याउने अप्राकृतिक मृत्युविरुद्ध बोल्ने अझै कोही छ भन्ने देखिन्छ । संरा अमेरिकी पूर्वविदेश सचिव मेदेलिनी अल्ब्राइटलाई संरा अमेरिकी नाकाबन्दीको कारण इराकका ५ लाख केटाकेटी मारिएको भन्दा उनले जवाफमा ‘त्यो मृत्यु असुल गर्नुपर्ने मूल्य भएको’ बताएकी थिइन् । इराकी जनताले तिर्न चाहेको मूल्य निःसन्देह त्यो थिएन । इरानी, भेनेजुयाली र समग्र मानव जाति नै यस्तो मूल्य तिर्ने पक्षमा छैनन् । आगामी मे महिनामा हामी अझै यस्तो विसङ्गतिपूर्ण विश्व व्यवस्थाविरुद्ध प्रदर्शन गर्ने छौँ । मानवताको पक्षमा लड्ने छौँ ।

पाउलो इस्ट्राडा 


 

विजयप्रसाद


(विजयप्रसाद भारतीय इतिहासकार, सम्पादक र पत्रकार हुनुहुन्छ । उनका विभिन्न पुस्तक प्रकाशित छन् । पाउलो इस्ट्राडा  अन्तर्राष्ट्रिय जनसभाका सचिव एवम् बोलिभारियाली जनसङ्गठन अल्बाको ब्राजिल शाखाका सदस्य हुनुहुन्छ ।)
स्रोतः पिपुल्स डिस्प्याच
नेपाली अनुवादः अनिरव

Leave a Reply

Your email address will not be published. Required fields are marked *