भर्खरै :

स्वास्थ्यकर्मीप्रति सम्मान गरौँ

कोभिड–१९ को महामारीले संसारलाई दिनानुदिन अँठ्याइरहेको छ । चीनबाट युरोप हुँदै संसारका अधिकांश देश आज कोभिड–१९ बाट प्रभावित छन् । शुक्रबारको पछिल्लो तथ्याङ्कअनुसार कोभिड–१९ को कारण निधन हुनेको सङ्ख्या चीनमा भन्दा इटालीमा बढेको छ । युरोपका अन्य देशहरू पनि भाइरसबाट नराम्ररी थला परेका छन् । महामारीले भयावह आकार लिएपछि संरा अमेरिकाले पनि विभिन्न सहरमा ‘लक डाउन’ गरेको छ । मध्यपूर्व, पश्चिम एसिया, दक्षिण पूर्वी एसिया र दक्षिण एसियामा कोभिड–१९ को जोखिम उच्च रहेको छ ।
प्रधानमन्त्री केपी ओलीले शुक्रबार विद्युत्तीय वक्तव्यमार्फत कोभिड–१९ प्रतिरोधको लागि केही महत्वपूर्ण निर्णय सार्वजनिक गर्नुभयो । लामो दुरीका यातायात सेवा बन्द गर्नुका साथै विदेशबाट नेपाल आउने विमानसेवा पनि बन्द गरिएको छ । अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको छ । अत्यावश्यक सेवा क्षेत्रबाहेकका कर्मचारी र कामदारलाई बिदामा बस्न र घरबाटै काम गर्न सरकारले आह्वान गरेको छ । उहाँले स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न सरकारले महत्वपूर्ण निर्णय गरेको बताउनुभयो । सिङ्गो मानव जातिको लागि चुनौती बनेको महामारीबाट आफ्ना नागरिकको रक्षा गर्नु हरेक देशको सरकारको प्रथम कर्तव्य हो । यस्तो परिस्थितिमा सरकारले नागरिकको हितमा चाल्ने कदममा जनताबाट सहयोग हुन आवश्यक छ । सानोभन्दा सानो कमजोरी र गल्तीले पनि धेरै ठूलो क्षति हुनसक्ने सम्भावना हुन्छ । महामारीले भोलि पछुताउनुभन्दा आज सबैले एकजुट भएर प्रतिरोध गर्ने सङ्कल्प जरूरी छ । यो कुनै सरकारविरोधी राजनीतिक सङ्घर्षको मुद्दा होइन । सरकारले जिम्मेवारीपूर्वक र विज्ञानसम्मत सूचना जनताबीच सम्प्रेषण गर्नुपर्छ र नागरिकले पनि इमानदारीपूर्वक पालनामा जोड दिनुपर्छ ।
कोभिड–१९ भाइरसको सङ्क्रमणबारे सरकारको शुक्रबारको निर्णयले अहिलेको अवस्था गम्भीर अवस्था भएको सङ्केत गर्छ । अब महामारीलाई हचुवा र हलुकारूपमा लिने गल्ती नगरौँ । सङ्क्रमण भित्रिन र फैलिन नदिन राज्यका निकायले गर्नुपर्ने काममा कुनै कमजोरी नगरोस् र नागरिकले पनि व्यक्तिगत र समूहगत तहमा गर्नुपर्ने सबै काम इमानदारीका साथ पालना गरौँ । हामी एउटै डुङ्गामा बसेका छौँ । कोही एक जनाको सानो कमजोरी पनि हामी सबैजना डुब्नसक्ने र अकल्पनीय वियोगको सम्भावनालाई हलुकारूपमा नलिऔँ । एक जनाको सानो कमजोरीले पनि समुदाय, देश र सिङ्गो प्रभावित बनाउन सक्ने प्राणघातक भाइरसको प्रतिरोधमा सबै एकजुट हुनुको कुनै विकल्प छैन ।
सरकारले अत्यावश्यक सामानको आवश्यकताभन्दा बढी भण्डारण नगर्न भनेको छ । यसले बजारमा सामानको अभाव भई कालोबजारी हुने र मूल्य बढ्ने सम्भावना हुन्छ । तसर्थ प्रत्येक नागरिकले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्छ । विशेषतः ज्येष्ठ नागरिक, बालबालिका, दीर्घरोगीहरूको स्याहारमा विशेष ध्यान दिनुपर्छ । स्वास्थ्यकर्मी नै यस्तो सङ्कटमा युद्धको अग्रमोर्चामा लड्ने सिपाहीँ हुन् । तसर्थ स्वास्थ्यकर्मीलाई उनीहरूको कर्तव्य निर्वाहको निम्ति उत्साहित गरी सम्मान गरौँ । व्यक्तिगत स्वार्थलाई भन्दा सामूहिक स्वार्थलाई ध्यान दिन सके सद्भावको अवस्था कायम रहनेछ ।
विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको सूचनाअनुसार आफ्नो स्वास्थ्यलाई ख्याल राखौँ । समय–समयमा हात साबुन पानीले धोआँै, हातमा लगाउने स्यानिटाइजरको प्रयोग गरौँ, सकेसम्म घर बाहिर नडुलांैँ, भीडभाडमा नजाऔँ र भीडभाड नगरौँ । मास्कको प्रयोग गरौँ । सरसफाइमा ध्यान दिऔँ । आधिकारिक सूचना र समाचारमा अद्यावधि रहौँ । साझा दुश्मनविरूद्ध संयुक्त प्रतिरोध गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *