भर्खरै :

लेनिन कथा – ५

 
माक्र्सको मार्गमा
 मरिया प्रिलेजायेभा
(विश्वका सम्पूर्ण कामदार जनताका महान् गुरु भ्लादीमिर इल्यीच लेनिनको समग्र जीवन चरित्रको झाँकी प्रस्तुत गर्ने गहकिलो एवं प्रेरणादायी पुस्तक ‘लेनिन कथा’ लेनिनको विषयमा गहिरो अध्ययन गरेकी सोभियत लेखिका मरिया प्रिलेजायेभाले सन् १९७१ को फेबु्रअरी महिनामा प्रकाशित गरेकी थिइन् ।
गत अङ्कमा हामीले चरित्र निर्माणकोे कलिलो उमेरमा लेनिनले परिवारमा अकस्मात् आइपरेका के कस्ता कहर काट्नुप¥यो भनी थाहा पायौँ ।)
भविष्य निर्धारण
कोकुश्किनोमा शरद्मा ठिहि¥याउने जाडो हुन्थ्यो । तुषारोमय तुफान प्रायः आइरहन्थ्यो । घरभित्र पनि हावाबाट बच्ने कुनै उपाय थिएन । रातमा चिम्नीभित्र हावा पसेर सुसाउँथ्यो । जीवन अतिशय एक्लोपन र उदासीले भरिएको थियो ।
शरद्भरि भोलोद्याले पढिरहे । चेर्नीशेभ्स्की उनका प्रिय लेखक बने । उनको क्रान्तिकारीताबाट भोलोद्या औधी प्रभावित थियो । चेर्नीशेभ्स्कीबाट उनले रुसको वास्तविक स्थिति थाहा पाए । सत्ताजति जार, उद्योगपति र जमिनदारहरूको हातमा थियो । मजदुर र किसानलाई जीवन धान्न पनि धौ–धौ थियो । चेर्नीशेभ्स्कीले उनलाई रुसी जीवनका असमानताहरूसँग परिचित गराए । सङ्घर्ष र क्रान्तिका लागि पे्ररित गरे । कस्ता अमूल्य पानाहरू ¤ भोलोद्याले त्यो शरद्मा उनलाई कतिचोटि पढे त्यसको लेखाजोखा थिएन ।
भोलोद्या सोचविचार गरिरहन्थे । जीवनबारे उनको आफ्नै सपना र योजना थियो । जीवनको लक्ष्य पनि स्पष्ट भइसकेको थियो । लक्ष्य थियो – क्रान्तिकारी सङ्घर्ष, जार र पुँजीपतिहरूविरुद्ध सङ्घर्ष, आम जनताको सुख र स्वतन्त्रताको निम्ति सङ्घर्ष । उनी आफ्नो सारा जीवन यसै सङ्घर्षको निम्ति अर्पण गर्न चाहन्थे ।
क्रान्तिकारी सङ्घर्ष । यो नै जीवनको एकमात्र मूल लक्ष्य थियो तर निर्वाहका लागि केही काम पनि त गर्नुपथ्र्यो । यसको लागि विश्वविद्यालयको पढाइ सिध्याउन, डिग्री पाउन जरुरी थियो ।
वसन्तमा भोलोद्याले कजान विश्वविद्यालयमा अर्जीपत्र पठाए । तर, त्यो स्वीकार भएन । गर्मी यामको अन्त्यमा आमा मरिया अलेक्सान्द्रोभ्नाले शिक्षामन्त्रीको नाममा एक अर्जीपत्र पठाउनुभयो । त्यो पनि मञ्जुर भएन । भोलोद्याले एकचोटि फेरि मन्त्रीकहाँ अर्जीपत्र पठाए तर यसपालि पनि असफलता नै हातप¥यो ।
अब घरै बसेर विश्वविद्यालयको परीक्षाको तयारी गर्नुसिवाय अर्को उपाय थिएन । भूतपूर्व विद्यार्थी भ्लादीमिर उल्यानोभले विधि सङ्कायको चार वर्षको कोर्स डेढ वर्षमा स्वअध्ययन गरे र परीक्षा दिन पिटर्सबर्ग गए ।
प्रश्न निकै कठिन थिए । सेतै फुलेका बूढा प्रोफेसरले ध्यानपूर्वक उत्तर सुन्दै थिए । केही उठेका गाला र चिउँडो, अलि भित्र गढेका आँखा भएको युवकलाई विषयवस्तुको राम्रो ज्ञान थियो । प्रोफेसरहरूले विचारविमर्श गरे । उल्यानोभले विश्वविद्यालयबाट सबैभन्दा धेरै अङ्क पाउने अधिकार राख्छन् भन्ने निचोड निस्कियो ।
भ्लादीमिर उल्यानोभ आफ्नो सफलतामा अत्यन्त हर्षित थिए । उनले पिटर्सबर्ग सहर त्यति चिनेका थिएनन् । कहिलेकाहीँ फुर्सदको बेला बहिनी ओल्यासँग नेभ्स्की प्रोस्पेक्टतिर जान्थे, सहर घुम्थे । ओल्या पिटर्सबर्गको कन्या क्याम्पसमा पढ्थिन् ।
परीक्षापछि उनी ओल्यालाई भेट्न गए । उनले आफ्नो खुसी ओल्यासँग बाँड्न चाहन्थे । मिहिनेत बेकारमा गरिएको त थिएन । छिट्टै उनी पिटर्सबर्ग आउने सोचमा थिए । सबैभन्दा महत्वपूर्ण काम – क्रान्तिकारी सङ्घर्ष सुरु गर्नु ।
बहिनीको कोठामा पुग्दा उनी सिकिस्त हालतमा बिस्तरामा छटपटिइरहेकी थिइन् । उनकोे कपाल खज्मजिएको थियो र ओठ सुकेका थिए । उनी छिनछिनमा केही न केही समात्ने कोसिस गरिरहेकी थिइन्, उनका ओठ सल्बलाइरहेका थिए ।
“आमा ! आमा ! मलाई बचाउनुुस् ।”
भ्लादीमिर इल्यीचले उनको हात आफ्नो हातमा लिए । तर, उनले दाइलाई चिन्न सकिनन् र झट्का दिएर हात पछाडि तानिन् । उनले तुरुन्तै बहिनीलाई अस्पताल लगे र आमालाई पत्र पनि पठाए ।
मरिया अलेक्सान्द्रोभ्ना पिटर्सबर्ग पुग्दा ओल्याको हालत धेरै बिग्रिइसकेको थियो । १८९१ मे ८ तारिखका दिन उनले संसार छोडिन् । चार वर्षपहिले यसै दिन साशालाई फाँसी दिइएको थियो ।
शवपेटिकाको पछिपछि भ्लादीमिर इल्यीच आमालाई थामेर हिँडिरहेका थिए । आमाको मुहार पहेँलिएको र निरस थियो, ओठ जोडले टोकिएको थियो र आँखा सुन्निएका र सुकेका थिए ।
लास गाड्ने ठाउँमा अर्को खाल्डो खनियो । ओल्याका साथीले चिहानलाई फूलले ढाकिदिए ।
ओल्याको अन्तिम संस्कार सकेर भ्लादीमिर इल्यीच आमासँग समारा फर्किए । यसबेला उल्यानोभ परिवार यसै नगरमा बस्थ्यो ।
समारामा बिताएका वर्षहरू भ्लादीमिर इल्यीचको जीवनमा महत्वपूर्ण थिए । त्यहीँ उनले विश्वविद्यालयको परीक्षाको तयारी गरेका थिए । माक्र्सको विचारलाई नजिकबाट गहिरो अध्ययन गरेका थिए ।
महान् जर्मन विद्वान तथा क्रान्तिकारी कार्ल माक्र्स विश्व प्रसिद्ध पुस्तक ‘पुँजी’ का लेखक र ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’ का सहलेखक थिए । ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’ उनले फ्रेडरिक एँगेल्ससँग मिलेर लेखेका थिए । अन्ततः मजदुर वर्ग पुँजीपतिहरूमाथि विजयी हुनेछ र सत्ता आफ्नो हातमा लिएर धर्तीमा एउटा नौलो कम्युनिस्ट समाजको स्थापना गर्नेछ भनी माक्र्सले प्रमाणित गरेका थिए । भ्लादीमिर इल्यीच माक्र्सबाट खुब प्रभावित थिए । माक्र्सका विचारले उनको मन र मस्तिष्क दुवै हल्लाइदिएका थिए । अब उनीसामु भविष्यको बाटो एकदम स्पष्ट थियो । बाटो सदाका लागि रोजिएको थियो ।
माक्र्सको विचार अनुसरण गर्नेलाई माक्र्सवादी भनिन्थ्यो । यसरी भ्लादीमिर इल्यीच पनि माक्र्सवादी भए । उनले समाराको माक्र्सवादी अध्ययन मण्डलीका गतिविधिहरूमा भाग लिन र माक्र्सका विचारको प्रचार–प्रसार गर्नथाले । त्यसबेला पुलिसबाट बच्न माक्र्सका विचारको प्रचार गुप्त तवरबाट मात्र गर्न सकिन्थ्यो ।
परीक्षापछि भ्लादीमिर इल्यीचले समारामा वकालत सुरु गरे । अनेक पटक मजदुर, किसान र गरिबहरूको पक्षबाट पैरवी गरे ।
उनी काम र अध्ययनमै डुबिरहन्थे । तर, समारा छोडेर कुनै ठूलो औद्योगिक सहर, अझ पिटर्सबर्गमा बस्ने उनको मनको चाहना थियो । उनी पिटर्सबर्ग पहिल्यै जाने थिए तर आमालाई एक्लै छोडी कसरी जाने ? आमा ओल्याको सम्झनामा धेरै उदास रहनुहुन्थ्यो । भ्लादीमिर इल्यीचले चासो र स्नेहमिश्रित व्यवहारले आमाको मन भुलाउने भरसक कोसिस गर्थे ।
आखिरीमा, १८९३ को शरद्ताका उल्यानोभ परिवारले सहर छोड्यो । मित्या विश्वविद्यालयमा भर्ना हुने बेला भएको थियो । मरिया अलेक्सान्द्रोभ्ना मस्को आएर मित्या र मन्याशासित बस्न थाल्नुभयो ।
अन्युताको बिहे भएको थियो । उनका श्रीमान् मार्क तिमोफेइभिच यलिजारोभ पिटर्सबर्गमा पढ्दाका साशाका साथी थिए । त्यसबेलादेखि अन्युतासँग मित्रता थियो । दुःखकष्टको बेला त्यो मित्रता प्रगाढ बन्यो । अन्युता, मार्क र उल्यानोभ परिवार एकै ठाउँमा बस्थे । तसर्थ मस्कोमा पनि सँगै बस्न थाले ।
यता ऊर्जा र क्रान्तिकारी उत्साहले युक्त भ्लादीमिर इल्यीच भने पिटर्सबर्गमा बस्न चाहन्थे । यसकारण उनी एक्लै पिटर्सबर्ग गए ।
नेभापारि
साँझको समय थियो । पिटर्सबर्गका सडकमा बत्तीको मधुरो प्रकाश थियो । एकाध यात्रुहरू आफ्ना गन्तव्यतर्फ गइरहेका थिए ।
भ्लादीमिर इल्यीच घोडागाडीमा बसेका थिए । घोडागाडी थर्किँदै र उफ्रिँदै गइरहेको थियो । पर्दाले ढाकिएकोले झ्याल बाहिरको केही देखिन्नथ्यो । धेरै टाढा जानु थियो, नेभापारि, मजदुरहरूको बस्तीमा ।
घोडागाडीमा भ्लादीमिर इल्यीचको पछि–पछि कालो चस्मा लगाएको होचो मानिस चढेको थियो । भ्लादीमिर इल्यीचले उसलाई गाडा चढेदेखि नै ख्याल गरेका थिए । केही पढिरहेको शैलीमा ऊ पत्रिकाले मुख ढाकेर बसिरहेको थियो । वास्तवमा उसको नजर भ्लादीमिर इल्यीचमाथि थियो । उनलाई ऊ पुलिसको सुराकी हो भनी बुझ्न बेर लागेन ।
भ्लादीमिर इल्यीच ढोकानिर गई बसे अनि आफ्नो कोटको कलर उठाई कसरी यसबाट जोगिने हो, सोच्न थाले । उनले निदाएको बहाना गरे । वास्तवमा उनी सिसामा सास फुकीफुकी बरफ पगाल्ने ताकमा थिए । अनिमात्र ओर्लिनुपर्ने ठाउँ देख्न सकिन्थ्यो । उनले सुराकीलाई छक्याउन सकिने बिसौनी चिन्थे । उनले कर्के आँखाले सिसामा जमेको बरफमा बनेका ससाना प्वालबाट बाटो हेरिरहेका थिए । जानुपर्ने केही पर थियो । तर, अघिल्लो बिसौनीमा ओर्लिनु थियो । गाडा रोकियो ।
“कोही ओर्लिने हुनुहुन्छ ?” खलासीले सोध्यो । सबै चुपचाप थिए । भ्लादीमिर इल्यीच पनि चुप थिए ।
गाडा हिँड्नासाथ भ्लादीमिर इल्यीच जुरुक्क उठे र घोडागाडीबाट हामफाले । त्यसपछि फटाफट सामुन्नेको गोरेटोतिर लागे । त्यहाँबाट अर्को गल्लीमा पुग्न सकिन्थ्यो । पछाडिबाट हडबडीमा घन्टी बजाइएको सुनियो ।
घोडागाडी रोकियो । भ्लादीमिर इल्यीच गोरेटो पार गरी गल्लीभित्र पसिसकेका थिए । सुराकी गाडाबाट झ¥यो तर त्यतिञ्जेल अबेला भइसकेको थियो । उसले यताउता हे¥यो, कोही देखेन । भ्लादीमिर इल्यीच गोरेटोबाट अर्को गल्लीमा निश्चिन्त भई निस्किसकेका थिए र त्यहाँबाट उनी बस्तीतिर लम्के ।
मण्डलीको बैठक नेभापारि रहेको मेकानिकल फ्याक्ट्रीको मर्मत मजदुर तन बाबुश्किनको घरमा हुँदै थियो । नेभापारि धेरै कारखाना र फ्याक्ट्रीहरू थिए । झिसमिसेअघि नै फ्याक्ट्रीका हरन बज्न थाल्थे । मजदुरहरू मुख नधोई काममा निस्कन्थे र रात परेपछि मात्र घर फर्कन्थे । कहिल्यै घाम देख्न पाउन्नथे । जीवनै अँध्यारो थियो, सधैँभरि यसैगरी बसिरहन सकिन्नथ्यो ।
मजदुरहरू पुलिसका आँखा छलेर बाबुश्किनको घरमा जम्मा हुन्थे र आफ्नो स्थितिको बारेमा विचार–विमर्श गर्थे ।
त्यो साँझ उनीहरूले त्यहाँ निकोलाई पेत्रोभिचलाई पर्खिरहेका थिए । पेत्रोभिचले त्यहाँ भाषण गर्नुपर्ने थियो । निकोलाई पेत्रोभिच भनेको भ्लादीमिर इल्यीच नै थिए ।
उनी मजदुर बस्तीमा किन आए त ?
किनभने उनी मजदुरहरूलाई माक्र्सको विचार र सिद्धान्त बताउन चाहन्थे । माक्र्सले भनेका थिए ः “मजदुर समाजको पुनःनिर्माण गर्नसक्ने शक्ति हो । मजदुरहरूले चाहे भने र उद्योगपति र जारको विरोधमा उभिए भने कसैले उनीहरूलाई दबाउन सक्दैन । त्यसैले मजदुरहरूलाई सङ्गठित गर्नु छ, लक्ष्य तय गर्नु छ र लक्ष्यतिर लम्कनु छ । मजदुरहरूको एउटै लक्ष्य हुनसक्छ – सत्ता हातमा लिने र कामदार वर्गको राज्य स्थापना गर्ने ।”
त्यो सबैभन्दा गजबको राज्य हुनेछ । त्यहाँ सम्पूर्ण समाज न्यायमा आधारित हुनेछ । माक्र्सले यसलाई कम्युनिस्ट समाज भनेका थिए ।
पहिलो पुस्तक
त्यसबेला पिटर्सबर्गमा नेभापारिको तन बाबुश्किनको मण्डलीबाहेक मजदुरहरूका अनेक माक्र्सवादी मण्डलीहरू थिए । क्रान्तिकारी माक्र्सवादीहरूसँग सम्पर्क स्थापित गर्ने मूल उद्देश्य लिएर भ्लादीमिर इल्यीच पिटर्सबर्ग आएका थिए ।
‘साथीहरू,’ भ्लादीमिर इल्यीचले भने, “हामीले माक्र्सको विचारलाई सारा मजदुरमाझ प्रचार गर्नु छ, मजदुरहरूसँग एकबद्ध हुनु छ, र क्रान्तिको तयारी पनि गर्नु छ ।”
यसैगरी क्रान्तिकारी सङ्गठनको स्थापना भयो । त्यसलाई पछि “मजदुर वर्गको मुक्तिको निम्ति सङ्घर्ष गर्ने लीग” भन्न थालियो । पहिले सङ्घर्ष लीग पिटर्सबर्गमा मात्र थियो । पछि अन्य सहरमा पनि स्थापना गरियो ।
भ्लादीमिर इल्यीचको काम यी मण्डलीको नेतृत्व गर्नुमात्र थिएन । उनी दिनमा, साँझमा र कहिलेकाहीँ रातभरि पनि लेखिरहन्थे । उनले जुन किताब लेखिरहेका थिए, त्यो पुँजीपतिहरूका लागि एकदम खतरनाक थियो । पुँजीवादी सत्ताविरुद्ध सही र सङ्गठितरूपले कसरी सङ्घर्ष गर्न सकिन्छ, त्यस किताबले सिकाउने थियो ।
चाँडै भ्लादीमिर इल्यीचको पुस्तक निस्किँदै थियो र माक्र्सवादी साथीहरूले त्यसलाई गुप्तरूपमा छाप्ने थिए र मजदुर मण्डलीहरूमा बाँडिने थियो ।
रात छिप्पिइसकेको थियो । सामुन्नेको घरको बत्ती निभिसकेको थियो । भ्लादीमिर इल्यीचले कलम राखे र उभिएर आङ ताने । कोठा सानो थियो तैपनि उनलाई कोठाभित्र हिँडडुल गर्न मनपथ्र्याे ।
“बाटो एउटै छ, रुसी मजदुरहरू खुला राजनीतिक सङ्घर्षको सीधा बाटोमा लम्किने छन् । ती सङ्घर्षले कम्युनिस्ट क्रान्तिको विजयतर्फ लैजाने छन् ।” यसबेला उनी यही सोचिरहेका थिए । त्यो कुरा उनले पुस्तकमा पनि लेखेका थिए । उनको पुस्तकले रुसी मजदुरहरूलाई कम्युनिस्ट क्रान्ति सफल पार्न आह्वान गथ्र्याे । आजसम्म कहिल्यै कसैले रुसी मजदुरहरूलाई यति साहसिलो आह्वान गरेको थिएन ।
त्यसबेला भ्लादीमिर इल्यीचको उमेरमात्र चौबीस वर्षको थियो । उनी लक्का जवान थिए तर धेरैथोक बुझेका थिए । रुसी मजदुरहरूले क्रान्ति गरेरै छोड्नेछन्, उनको अटल विश्वास थियो ।
चार पर्चाहरू
पुलिसहरू घर–घर गई विद्रोहीहरूलाई पक्रिरहेका थिए । हातपछाडि बाँधेर थानामा लगिरहेका थिए ।
“साहुको गोदाम तोडफोड गरेको थिइस् ? हिँड् जेलमा ।”
“म्यानेजरको कार्यालयमा आगो लगाएको थिइस् ? हिँड् जेलमा ।”
छिट्टै आफ्नो पनि पालो आउनेछ भनी बाबुश्किनले प्रतीक्षा गरिरहेको थियो । आधा रातमा कसैले विशेष तरिकाले ढोका ढक्ढक्याइरहेको आवाज आयो ।
उनी भ्लादीमिर इल्यीच थिए । बरफको कारण निधार सेताम्मे थियो । आँखीभौँमा समेत बरफ जमेको थियो । ओभरकोट उतारेर चिसोले जमेका हात माड्दै र कोठाभित्र हिँड्दै उनले सोध्न लागे । “त्यसो भए बताउनुस्, सुरु कसरी भयो ? मजदुरहरूले के–के भोग्नुप¥यो ?”
बाबुश्किन भ्लादीमिर इल्यीचको सामुन्ने आफ्नो मन खोली कुरा गर्न चाहन्थे । कारखानामा भएको विद्रोह, गोदाममा गरिएको तोडफोड र म्यानेजरको कार्यालयमा लगाइएको आगो, सबै सम्झना ताजै थिए । गोदाममा तोडफोड र कार्यालयमा आगजनी गरेकोले नै पुलिसले मजदुरहरूलाई गिरफ्तार गरिरहेको थियो ।
“हुँदैन, सचेत मजदुरहरूले आगजनी, तोडफोडको सहाराले सङ्घर्ष गर्नुहुँदैन,” भ्लादीमिर इल्यीचले भने । “यस विषयमा पर्चा निकाल्नुपर्छ ।”
दुवैजना कुर्सीमा बसे अनि सानो आवाजमा पर्चामा के लेख्ने हो भनी विचार–विमर्श गर्न थाले । सङ्घर्षको समय आएको थियो । स्वयं आफूले बाहेक अरू कसैले पनि मजदुरहरूलाई दासत्वबाट मुक्त पार्नसक्दैनथ्यो । तर, सङ्घर्ष अराजक किसिमले होइन, सङ्गठित तरिकाबाट गर्नुपथ्र्यो ।
रात छिप्पिइसकेको थियो । बाबुश्किनको नजर तीव्रगतिमा चलिरहेको भ्लादीमिर इल्यिचको कलम माथि थियो । अचानक उनको टाउको कुर्सीमा ठोक्किनबाट बँच्यो ।
अनुवाद ः माधव अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *