भर्खरै :

कोभिड–१९ मा मनोस्वास्थ्य

-प्रा.डा धनरत्न शाक्य
 कोभिड–१९को तथ्य बुझौँ
कोभिड–१९ अर्थात् कोरोना भाइरसको नयाँ प्रजाति नोवेल कोरोना भाइरसको सङ्क्रमण २०१९ डिसेम्बर ३१ मा चीनको उहान सहरमा देखापरेको छोटो समयमै विश्वका १८९ बढी मुलुकहरू प्रभावित भएको छ । सङ्क्रमित व्यक्तिहरूमध्ये करीब १–३ प्रतिशत रोगीहरूको ज्यान गएको र यसलाई विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी महामारी भनी घोषणा गरिसकेको छ । धेरै देशहरू आ–आफ्ना वस्तुगत यथार्थताबीच यो चुनौती सामना गर्दै छन् ।
आजकल आमसञ्चार, जनबोली, कुराकानीमा सर्वत्र तत्काल र निकट भविष्यमा समाधान नदेखिएको मूल विषयवस्तु कोभिड–१९ हावी भएको स्थिति छ । सामान्य रुघाखोकी, १००.४ प्रतिशत फारेनहाइटको ज्वरो र सास फेर्नमा समस्याजस्ता सामान्यदेखि कडा निमोनिया र मिर्गाैलाको खराबीजस्ता कडा लक्षणसहित शरीरको प्रतिरोध क्षमता कमजोर हुने व्यक्तिहरूको ज्यानसम्म लिनसक्ने यो महामारी अब विश्वव्यापी हिसाबले फैलिएको छ ।
कोभिड–१९को रोकथाम र व्यवस्थापनको लागि हामी सबैलाई अरू मानिससँग उपयुक्त ढङ्गले शारीरिक दूरी बनाएर, हुलहुज्जत र भेलाहरू घटाएर नगरेर सङ्क्रमण रोक्ने, हात, मुख, नाक र अरू भागहरू बेलाबेला धोएर सफा राख्ने, पर्याप्त पानी बेलाबेला पिउने, लक्षणको शङ्का लागेमा आफूलाई अरू मानिसहरूबाट टाढा राखेर व्यवस्थापन गर्ने (self quarantine र सम्बन्धित स्वास्थ्य सेवामा जाने जस्ता निर्दिस्त अभिभाराहरू छन् ।
कोभिड–१९मा देखिएका परिदृश्यप्रति सजग होऔँ ।
यस्तो समयमा अवाञ्छित तत्वहरूले अनुचित फाइदा उठाउने, कृत्रिम अभाव सिर्जना गर्ने, गलत जानकारी फैलाउने, भ्रमको खेती गर्ने सम्भावना पनि हुन्छ । हुनुपर्ने र गर्नुपर्नेभन्दा उल्टो कुरा पनि हुनजान्छ । हठात् मनस्थितिले आम मानिसलाई यस्तै लहरतिर डो¥याउनसक्छ । हामीकहाँ यस्तै परिदृश्य देख्नमा आइरहेछन् । अहिले नै अस्पतालहरूमा सानातिना रोग, स्वास्थ्य बीमा र अन्य सामान्य परीक्षण गर्ने तथा नियमित फलोअपका केशहरू र बाहिर दैनिक उपभोग, इन्धनलगायतका सामानका लागि मान्छेको लाम बढ्नु आदि यसका उदाहरण हुन् । कसैले यस्तोमा अटेर गरेर धमिलो पानीमा माछा मार्ने सोचेको भए, त्यो अभिशाप बन्नसक्छ । एक हिसाबले, जनता, नेता, व्यापारी सबै नेपालीहरूको लागि आफू सही गलत, उदार स्वार्थी, यथार्थपरक वा अन्ध वा दुनियाँको वस्तुस्थितिबाट सिकेर अघि बढ्नसक्ने वा एकोहोरो रत लगाउने केकस्तो हो भनेर प्रकट हुने बेला पनि हो यो । सरकारले यस्तो विषम घडीमा सर्वसाधारणको मर्का प्रत्यक्ष सम्बोधन हुने, आडभरोसा, संरक्षण र सुरक्षाको प्रत्याभूति हुने रणनीति, कार्यक्रम तथा व्यवस्थाहरू गरेर देखाउनुपर्ने हुन्छ । सही जानकारी उपयुक्तरूपमा सरोकारवालाहरूसम्म पु¥याउने, दैनिक उपभोग्य वस्तु, पेयजल पानी, औषधि, मास्क, साबुन, स्यानिटाइजरजस्ता अहिले आवश्यक कुराहरू सर्वसुलभ बनाउने, यसमा निगरानी, नियमन गरेर कालोबजारी रोक्ने, सङ्क्रमण घटाउन सहयोगी हुने यावत् नितिगत निर्णयहरू
(जस्तैः मानिसहरूको आवत्जावत, हुलहुज्जत, सम्पर्क, उत्सर्जन आदि बढ्ने क्रियाकलापमा रोक) व्यावहारिकरूपमा अवलम्बन गर्ने, गराउने, शङ्कास्पद केशहरूको व्यवस्थापनको व्यवस्था मिलाउने जस्ता प्रतक्ष्य जनस्वास्थ्यका कदमहरू प्रभावकारीरूपमा चाल्ने चुनौती यो बहुमतको सरकारलाई आइपरेको छ ।
धार्मिक, सांस्कृतिक र परम्परागत सामाजिक क्रियाकलापले भरिपूर्ण नेपालका विविध समुदायहरूलाई यो बेला सुझबुझपूर्वक व्यक्तिहरूको बीचमा शारीरिक सामाजिक दूरी बनाएर पनि आफ्ना संस्कृति, परम्परा, चाडपर्व र चालचलनको मर्म जगेर्ना गर्नुपर्ने विवेक जगाउने घडी आइपरेको छ । यही बेला पर्ने काठमाडौँको घोडे जात्रा, भक्तपुरको बिस्केट जात्रा र देशका ठाउँ–ठाउँका मेला, जात्रा, चाडपर्वहरूले गर्दा मानिसहरूको बीचमा सम्पर्क भई हामीकहाँ यो सङ्क्रमण फैलिनमा कारण नबनोस् भन्नेतिर सतर्क हुनैपर्छ । जनमानस हल्लाको पछि नदौडेर भरपर्दा सरकारी, विश्व स्वास्थ्य सङ्गठनजस्ता निकायको जानकारीमा भरपर्न र यसतिर सजग हुन जरुरी छ ।
कोभिड–१९मा मनलाई पनि सम्झौँ ।
कुरा त भाइरस सङ्क्रमणको हो प्रत्यक्षरूपमा त शारीरिक हो । तथापि अरू समस्या, विपद् वा महामारीको जस्तै प्रभावको पहिले महसुस हुने, असर निरन्तर र निर्णायकरूपमा पर्ने भनेको हामी मान्छेको मनमा नै हो । अहिले कोरोनाको यथार्थ असरले हुने शारीरिक अस्वस्थता र मृत्यु त छँदैछ, साथमा मनमनमा तनाव, अनिश्चय, छटपटी, बेचैनी, डर, त्रास, भय र अशान्तिको राज फैलिएको छ । यो स्थिति सामना गर्न हाम्रो मन पनि सन्तुलित, स्थिर, शान्त र स्वस्थ राख्न आवश्यक हुन्छ ।
यस्तो अन्योल, अनिश्चय, चिन्ता, तनावको समयमा तन, मन र साधनस्रोतमा केही त भार बढी पर्छ नै । मनमा केही हदसम्म छटपटी, बेचैनी वा तनाव हुनु स्वाभाविक हो । यस्तो बेला तनाव व्यवस्थापन लगायत झन् पर्याप्त, पोषक तत्व, पानी, झोलकुरा, नियमित पर्याप्त निद्रा, हल्का व्यायामजस्ता आधारभूत स्वास्थ्य आवश्यकताहरूको ख्याल राख्न आवश्यक हुन्छ ।
अरू तनाव वा विपद्मा जस्तै यसमा पनि कोही पनि मानिस अत्यधिक तनावग्रस्त हुनसक्छन् । यस्तोमा आफ्नो, परिवार, प्रियजनको स्वास्थ्य र सुरक्षाको चिन्ता, पीर, छटपटी, अनिद्रा, खानामा अरूचिलगायत आफूलाई कोरोना लागेको विचारलहरी, डर वा भ्रम हाबी हुनसक्छ । कतिपयमा उदासी, शारीरिक लक्षण तथा जाँडरक्सी, चुरोट र अरू नशालु चिजको सेवन र लत बढेर जानसक्छ । पहिले मनोरोग निको भएका व्यक्तिहरूमा फेरि ती लक्षणहरू बल्झिन वा अरूमा पनि मानसिक रोगका विभिन्न लक्षणहरू पैदा हुनसक्छन् । यस्तो अवस्थामा समयमै मानसिक स्वास्थ्यसेवामा सम्पर्क राख्नुपर्छ ।
कोभिड–१९मा मनोस्वास्थ्यको पनि ख्याल राखौँ ।
समाज र राज्यको तहमा कोरोना समस्या, यसबाट सिर्जित तनाव र जटिलताहरूको व्यवस्थापनका उपायहरू त महत्वपूर्ण छन् नै, साथमा व्यक्ति, परिवारको तहमा पनि केही कुराहरूमा ध्यान दिन आवश्यक हुने तथ्य विश्व स्वास्थ्य सङ्गठन र हाम्रो देश नेपालको चिकित्सक तथा मनोचिकित्सक सङ्घहरूले पनि औँल्याएका छन् । कोभिड–१९ महामारीको यो बेलामा हामी सबैले मनोस्वास्थ्यको लागि निम्न उपायहरू अवलम्बन गरौँ ः
१. कोरोनाको सङ्क्रमणको रोकथामको लागि आवश्यक जानकारी भरपर्दो माध्यमबाट लिऔँ र अवलम्बन गरौँ । तर यससम्बन्धी समाचार, अपडेटहरू निरन्तररूपमा अत्याधिक लिएर तनावग्रस्त भइएला भन्नेमा पनि सजग रहौँ । बालवृद्ध र पृथक हिसाबले समर्थ आफन्तहरूसँग उनीहरूले बुझ्ने ढङ्गले कुराकानी गरौँ र स्वस्थ व्यवहारको लागि प्रेरित गरौँ ।
२. कोरोनाको सङ्क्रमण रोक्न आवश्यक व्यवस्था मिलाऔँ । जस्तैः हात धुन साबुनपानी, सफा राख्न स्यानिटाइजर, मास्क, पिउने पानी आदि । हात आवश्यकताअनुसार बेलाबेला धुने, धुँदा समय (२० सेकेन्ड जति) लगाएर राम्ररी धुने तर अति नहोस्, खाली मनको सन्तोषको लागि नाममात्र हुने किसिमले, धोएको हो । भन्ने खालले धुने प्रवृत्ति भएमा सजग हुने, यो ठीक होइन । धेरै मानिसहरू एकै ठाउँमा गुम्म परेर ताजा हावा नछिर्ने, राम्रो घाम नलाग्ने ठाउँमा बस्न नपरोस् भनेर बस्ने उपयुक्त ठाउँ र भेन्टिलेसनको व्यवस्था मिलाऔँ ।
३. कोरोनाको तनावको व्यवस्थापनका लागि निर्दिष्त रूपमा यससम्बन्धी अत्याधिक समाचार र अपडेटहरूबाट टाढा रहने, फेसबुक, पत्रपत्रिकाजस्ता मेडिया र सञ्चारबाट केही समय बिराम लिने, स्वस्थ मनोरञ्जनलगायत तनाव व्यवस्थापनका अरू उपायहरू पनि अवलम्बन गर्ने । यो बेला झन् मोबाइल, इन्टरनेट, भिडियोगेम जस्ता लत लाग्ने कुरामा भुल्ने सम्भावना बढ्नसक्छ, यसतिर पनि सचेत रहौँ ।
४. भेटघाट, हूलहुज्जत तथा प्रत्यक्ष सम्पर्कले कोरोनाको सङ्क्रमणको सम्भावना बढ्ने हो । भोज, मेला, पर्व, जात्राजस्ता सामाजिक, सांस्कृतिक उत्सवहरूले यो बेला परिमार्जित रूप मागिरहेछ । यसैले, सामाजिकरूपमा प्रत्यक्ष सम्पर्क यथासम्भव कम गर्न आवश्यक छ । लक्षणको शङ्का भएमा सबैबाट टाढिएर क्वारेन्टाइनमा रहन अत्यावश्यक छ । यस्तो बेलामा पनि आफ्ना नजिकका नातागोता, परिवारजन, साथीभाइसँग टेलिफोन, मोबाइलजस्ता शारीरिकरूपमा प्रत्यक्ष भेट्नु नपर्ने माध्यमबाट आवश्यक कुराकानी र सामाजिक अन्तरक्रिया गरी सम्पर्क र सम्बन्ध भने कायम गरिराख्ने । कुराकानी सकारात्मक, हौसलापूर्ण र सहयोगात्मक बनाएर मनोबल उच्च राख्ने ।
५. यस्तो बेलामा मद्य, नसा तथा मादक पदार्थको सेवन सुरु हुने र बढ्ने अझ बढी सम्भावना हुन्छ, यसतिर सतर्क रहौँ ।
६. हरेक दिन हल्का शारीरिक व्यायाम, योग गर्ने गरौँ । प्रत्यक्ष शारीरिक स्पर्श र सम्पर्क नहुने, घरभित्र वा सीमित परिवारजनबीच हुने खालका खेलकुद, रचनात्मक क्रियाकलाप, भजनकिर्तन, ज्ञानमाला, सङ्गीत, गायन आदि उपयोगी हुन्छन् ।
७. सन्तुलित, स्वच्छ, सफा, ताजा खानाले मनमस्तिस्क, रोगसँग लड्ने बल र समग्र स्वास्थ्य ठीक हालमा राख्न सहयोग पुग्छ । बेलाबेलामा पानी पिइरहनाले शरीरमा पानीको मात्रा सन्तुलित राख्नुका साथै मुख सफा राख्न सहायता पुग्छ । यसले सङ्क्रमण न्यूनीकरणमा बल मिल्छ ।
८. नियमित समयमा र पर्याप्तरूपमा हरेक दिन सुत्ने गरौँ, निद्रा नबिथोलौँ । गहिरो सास लिने गरौँ ।
९. कुनै रोगको उपचार चलिरहेको भए सम्बन्धित चिकित्सकको सल्लाहअनुसार उपचारलाई अघि बढाउने, यस्तो बेलामा आफैँ औषधिमा परिवर्तन गर्नु राम्रो होइन । आजभोलि चिकित्सककोमा जाने विचार भएमा पहिले फोन वा मोबाइलमा बुझेरमात्र जाँदा राम्रो हुन्छ ।
१०. पहिले मानसिक रोग भएका व्यक्तिहरूले चिकित्सकको सल्लाहअनुसार साबिक दबाइ लिइरहनुपर्छ र थप समस्या नभएमा चाँडो आत्तिएर बोलाएभन्दा पहिले, अहिले नै देखाउन जानुपर्दैन । जाने विचार भएमा पहिले फोन वा मोबाइलमा सम्पर्क गरेरमात्र जाँदा राम्रो हुन्छ । पहिलेको वा अरू लक्षणहरू बसभन्दा पर पुगेमा भने समयमै मानसिक स्वास्थ्यसेवामा सम्पर्क राख्नुपर्छ ।
११. यस्तो बेलामा अत्याधिक तनाव, छटपटी, उदासी, अनिद्रालगायतका विभिन्न लक्षणहरू देखा परेमा समयमै मानसिक स्वास्थ्यसेवामा सम्पर्क राख्न सकिन्छ ।
अहिले हामी महामारी झेल्दै छौँ । अन्य ठाउँमा जस्तै यसले अझ अरू बिकराल रूप पनि लिनसक्छ । जेजस्तो भएपनि यो एकदिन साम्य हुनेछ । हामी सबैको उचित, स्वस्थकर र विवेकी पहुँचले यो कोरोना कहर काट्न हामीलाई सहज बनाउनेछ ।
(लेखक वरिष्ठ स्नायु, दुव्र्यसन तथा मनोरोग विशेषज्ञ हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *