भर्खरै :

लक डाउनमा के गर्ने ?

– कमलराज गोसाई
“बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड” भन्ने उखान हाम्रो निम्ति पुरानो भइसकेको छ । तर हामीमध्ये कति जनाले यो भनाइलाई व्यवहारमा उतारेका छौं भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । नोभिड कोरोनाबाट बच्न भीड–भाडबाट बच्नुपर्छ भनी सरकारले अनेक माध्यमबाट सूचना प्रवाह गरिरहेको बेला के हामी भीड–भाडबाट टाढा हुनसकेका छौं ? घरमा बस्ने प्रयास गरेका छौं ? एउटा प्रश्न उठ्ला, घरमा त बस्ने, तर के गर्ने ? हो, बुझ्नेलाई इसारा काफी छ । त्यसैले नोभिड कोरोनाको सङ्क्रमणबाट बच्ने र आफू र आफ्नो परिवारलाई समय दिने अचुक उपाय यहां प्रस्तुत गर्दै छु –
अपुष्ट समाचार र हल्लाबाट टाढा होऔं
अहिले विभिन्न सञ्चारमाध्यमबाट गलत समाचारहरू सम्प्रेषण भइरहेका छन् । यसले गर्दा नजानिकन हाम्रो मनस्थितिमा नराम्रो असर पर्ने हुंदा सकेसम्म आधिकारिक समाचारहरूमात्र हेरौं र सुन्ने गरौं । यसको लागि दिनमा एक–दुई पटकमात्र आधिकारिक सूचना हासिल गरी आफ्नो मनलाई शान्त बनाऔं ।
किताब पढौं
दैनिक जीवन व्यस्त हुने हुंदा यदि मसंग समय भएको भए म यो किताब पढ्थें, त्यो पढ्थें, किताब पढ्ने त फुर्सद नै हुंदैन भन्ने गर्छौं । यस्तो मनोवाद वा दुखेसो हामीले अनेकपटक गरिसक्यौं होला । यहीं बेला कार्यालय बन्द छ, समय छ, घरमा बसेको बेलामा आफूले विगतमा किनेको र दराजमा थन्काएका किताबहरू निकालौं र दिनमा केही घण्टा भए पनि पढौं । किताब नभए नजिकको स्टेसनरीमा गएर किताब खरीद गरी समयको सदुपयोग गरौं । बाल किताबहरू आफ्नो छोरा–छोरीलाई पढ्न दिऔं ।
प्रशिक्षित हाऔं
इन्टरनेट सेवाले गर्दा जीवन निकै नै सरल र सहज भएको छ । अहिले समय भएको बेला तपाईंले धेरै अगाडिदेखि सिक्न चाहेको सीप यु–ट्युवबाट सिक्ने प्रयास गरौं । चित्रकला, निबन्ध–कविता–कथा लेखन, वाक्कला, नकृत्त्वकला, गायन, सङ्गीत, फोटोग्राफी इत्यादिसंग सम्बन्धित प्रशिक्षण लिएर यो समयको सदुपयोगसंगै आफ्नो क्षमता पनि वृद्धि गर्ने सही समय यही हो । आफूमात्रै नभई बाल–बच्चालाई पनि प्रशिक्षणमा सहभागी गराऔं ।
भाषा सिकौं
जति धेरै भाषा सिक्यो उति जीवन सफलताउन्मुख हुन्छ त्यसैले चिनियां, स्पेनिस, जापानीज, अङ्ग्रेजी, नेपाली, संस्कृत, नेवारी, फ्रेन्च आदि भाषाको प्रशिक्षण लिन चाहछौं भने यो पनि युट्युव र इन्टरनेटबाट सिक्न सकिन्छ । आजकल हाम्रा छोराछोरीहरू नेपालभाषा वा नेपाली भाषामा कमजोर छन् । यी भाषाहरू सिकाऔं । सिकाइ बालमैत्री बनाऔं र नानीहरूलाई रमाइ–रमाइ भाषा सिकाउने प्रयास गरौं ।
सरसफाइ
एकचोटि आफ्नो कोठा र घर नियालेर हेरौं । तपाईंको÷हाम्रोे कोठा र घर सायद सरसफाइको पर्खाइमा होला । त्यसैले सबै सदस्यहरू मिलेर रमाइ–रमाइ सर–सफाइमा लागौं । छोरा–छोरीहरूलाई पनि यो कार्यमा सहभागी गराऔं । उनीहरूलाई आफ्नो कार्य आफैंले गर्नुपर्छ भन्ने भावना जगाऔं । आफ्नो कोठा र घर सफा राख्न सकिन्छ, सफा राख्न कति समय लाग्छ अनुभव गराऔं । घर र कोठामा कुनै चीज बिग्रेको भए समयलाई सदुपयोग गरी मर्मत गरौं ।
ध्यान र व्यायाम गरौं
बिहान उठ्नेबित्तिकै १० मिनेटदेखि आधा घण्टासम्म ध्यान गरौं । यसले हाम्रो शारीरिक तथा मानसिक अवस्था चुस्त राख्छ भने १५ मिनेटदेखि आधा घण्टासम्म शारीरिक व्यायाम गर्दा शरिर स्वस्थ हुनुको साथै मानसिकरूपमा हामीलाई स्वस्थ बनाउन मद्दत गर्छ । त्यसैले देनिकरूपमा ध्यान र व्यायाम गरौं ।
दैनिकी वा जर्नल लेखौं
घरमा बस्दा तपाईं–हामीलाई अनुभव भइरहेको छ, हाम्रो खुशीको दिन, दुःखी भएको दिन वा पल, सफलताको लागि गर्नुभएको गतिविधि÷रणनीति, जीवनको लक्ष्य, हामीलाई बुबा–आमाले कस्तो व्यवहार गरोस् भन्ने चाहन्छौं, किन असफल भइरहेका छौं, कोरोनाबाट बच्न तपाईंले अपनाइरहेको गतिविधि दैनिकीको रूपमा कापीमा लेखौं । यसले हाम्रो लेखन शैली बढ्नुको साथै यो लेखन भविष्यको एउटा गतिलो अभिलेख बन्ने छ ।
यसरी कोभिडबाट बच्न घरमा बसिरहंदाको समयको सदुपयोग गर्नसके काठको टुक्रा खुर्पाको बींड होइन श्रीखण्ड प्रमाणित हुनेछ । नेपाली जनतामा नोभेल कोराना – १९ देखिएको अवस्थामा थप सङ्क्रमितको सङ्ख्या बढ्न नदिन अपरिहार्य समयबाहेकको स्थितिमा घरभित्रै बसी स्वस्थ व्यवहार देखाई आफू र आफ्नालाई स्वस्थ राख्न आ–आफ्नो ठाउंबाट प्रयास गर्नु आजको आवश्यकता हो । घरभित्र बस्दा श्रृजनशील भएर समय कटाउनु अझ बुद्धिमानी हुनेछ ।

(लेखक त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *