भर्खरै :

कोरोनाबारेको भ्रमले समस्या निम्त्याउँदै

–आरोही श्रेष्ठ
कोरोना भाइरस अत्यन्तै सङ्क्रामक भाइरस भएकोमा कुनै विवाद छैन । तर, कोरोना भाइरस र त्यसको सङ्क्रमणबारे धेरै भ्रामक प्रचारहरू भइरहेका छन् र तिनले मानिसहरूलाई सचेत पार्नुको साटो बढी त्रसित पारिरहेका छन् । सत्यतथ्यको भन्दा भ्रामक प्रचारमा बढी विश्वास गर्नेहरूका कारण अरुलाई मात्र होइन स्वयम् डाक्टर, नर्सलगायत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूलाई समेत ठूलो अप्थ्यारो भएको छ ।
बिरामी भई अस्पताल आउने सबै मानिस कोरोना भाइरस सङ्क्रमित हुने गर्दैनन्, तर बिरामीको लक्षण नै केही नहेरी कतिपय स्वास्थ्य केन्द्र र अस्पतालहरूले बिरामी फर्काइरहेका छन् । उचित उपचार नपाउँदा मृत्युवरण गरेका मानिसहरूको कोरोना टेस्ट गर्दा नेगेटिभ आएको सर्वविदित्तै छ । पीपीई लगाएर सावधानीपूर्वक बिरामीको उपचार गर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई कोरोना भाइरसलगायत अन्य सङ्क्रमण हुने सम्भावना हुँदैन । कोरोनाको त्रास फैलिरहेको आजको अवस्थामा अस्पताल गएर बिरामीको सेवा गर्छु भन्ने अरुको घरमा डेरा बस्ने धेरै स्वास्थ्यकर्मी कोठाबाट निकालिएको समाचार त सुनिसकेकै छौँ । सङ्क्रमण बढ्दै गएमा कतिजना प्रतिबद्ध डाक्टर र नर्सहरूको दाम्पत्य जीवन सम्बन्धसमेत विच्छेद हुने हो अहिल्यै अनुमान गर्न कठिन छ । तर, उनीहरूको साहस र समर्पणका लागि सम्मान गर्नुपर्ने अधिकांश स्वास्थ्यकर्मीहरूमाथि ठूलो मानसिक दबाब आफ्नै भन्नेहरूबाट छ । तिमी आफू त मर्छौ मर्छौ हामीलाई समेत मार्न घर अस्पताल गरिरहेका छौ भन्ने आरोप उनीहरूले सहिराख्नुपरेको छ ।
यसै प्रसङ्गमा पोखराको ठुलीबिडी टोलमा बिरामी लिन गएको एम्बुलेन्सले अवरोध सामना गर्नुपरेको समाचार आएको छ । बिरामी बोक्ने एम्बुलेन्सले भाइरस फैलाउँदै जाने तर्क स्थानीयको थियो । एम्बुलेन्स चालकले त्यसो होइन हामी एकजना बिरामी ओसार्नेबित्तिकै गाडी सफा गर्ने र स्यानिटाइजरले सङ्क्रमणमुक्त गर्छौँ भन्दा पनि मानेनन् । प्रहरीको हस्तक्षेप हुने देखिएपछि मात्र ती भ्रमित र त्रसित मानिसहरू पछाडि सरे । कतिपय भ्रामक प्रचारमा सङ्क्रमित बोकेको एम्बुलेन्सले बाटाभरि भाइरस छर्दै जाने देखाएकोले जुनसुकै बिरामी बोक्दा पनि उस्तै स्थिति हुने भ्रम बसेको छ । सामाजिक सञ्जाल र युट्युवहरूमा जुनखाले भ्रामक प्रचारको लहर छ त्यसलाई सेन्सर गर्न ढिलो भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *