भर्खरै :

श्रमिक नेपालीलाई नेपाल छिर्न किन रोक ?

– झनकबहादुर
सरकार जनताको अभिभावक हो । तर, वर्तमान सरकारले यो भनाइलाई असत्य सावित गरिदिएको छ । आफ्नो देशमा प्रशस्त रोजगारीको बन्दोबस्त भएका जनता विदेशमा श्रम गर्न जानुपर्ने अवस्था आउने थिएन । प्रसङ्ग लकडाउनको कारण स्वदेश फिर्ता भएका नेपालीहरूको हो । भारत सरकारले २१ दिन लकडाउन घोषणा गर्दा भारतमा गएर काम गर्ने नेपालीहरू २ देखि ६ दिनसम्म हिँडेर नेपाल फर्कनुपरेको बाध्यता छ । तर, नेपाल सरकारले कोभिड–१९ सङ्क्रमण हुने डरले ती नेपालीहरूलाई स्वदेशमा प्रवेश नगराई सीमापारि नै रोकिराखेको छ । यो अमानवीय कार्य हो । हिजो भारतीय अपराधी, गुप्तचर र नक्कली नागरिकहरूलाई नेपाल प्रवेशमा कडाइ नगर्ने सरकारले आज आफ्नो स्वदेशमा रोजगारी नपाएर हात–मुख जोर्न विदेशिएका नेपालीहरूलाई स्वदेश फिर्ता नगर्नुल यो सरकार कामदार जनताप्रति उत्तरदायी नभएको स्पष्ट गर्छ ।
“उहानबाट नेपालीहरू फिर्ता ल्याउन हुतिहारा सरकार” भनी चिच्याउने नेपाली काङ्ग्रेस भारतबाट फिर्ता भएको नेपाली नागरिकलाई रोक्दा चुपचाप छ । नेपाली काङ्ग्रेसकै चर्को विरोधका कारण चीनमा सुरक्षित नेपालीहरूलाई नेपाल सरकारले विमानबाट आफ्नै खर्चमा फर्र्काएको थियो । चीन सरकारले आफै सुरक्षितसाथ राख्ने वचन दिँदा पनि नेपालले चीनबाट नेपालीहरू फर्काउनु गलत थियो । यस कदमले चीनलाई एक्ल्याउने संरा अमेरिका र भारतको चाललाई नेपाल सरकारले समर्थन गरेको ठहर्छ । तर, नेपालको सिमानामा पुगिसकेका नेपालीलाई सरकारले खाने, बस्ने बन्दोबस्त गर्नुको सट्टा नेपाल सरकारले नाकामै छेकेर संवैधानिक अधिकारविपरीत कदम चाल्यो ।
यो अवस्था धनगढीपारि गौरीफान्टा, नेपालगञ्जपारि रूपैदिया, भैरहवापारि सुनौलीको पनि हो । सीमापारिमात्र होइन भारतको राजधानी दिल्ली (जहाँ नेपालको राजदूतावास छ) सम्म पुगेका लकडाउनका कारण त्यही ट्रेनबाट झारिएका नेपाली कामदार बेहाल छन्, भोकै रहेका छन् । खुला आकासमुनि रहेका छन् । नेपालको राजदूतावासमा खबर पुगे पनि सरकार कानमा तेल हालेर बसेको छ । अब सोचौँ, नेपाल सरकार कति सक्षम छ ? आफ्नो नागरिकको सुरक्षा, गाँस–बासको व्यवस्था गर्ने जिम्मेवारी के नेपाल सरकारको होइन ? यदि क्वारेन्टिनमा राख्नुपर्ने हो भने नेपाल वा भारतमा व्यवस्थापन गर्ने जिम्मा नेपाल सरकारले लिनुपर्दैन ? नेकपाको सरकार असक्षम र असफल सरकारको रूपमा प्रस्तुत भइरहेको छ । अतः देशमा भ्रष्टाचार नियन्त्रण हुुनुपर्छ, नेपाली जनताको सुरक्षा हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *