अफ्रिकी स्वतन्त्रता सेनानी क्वामे एन्क्रुमा – ३
- आश्विन ६, २०८३
मधुकर अधिकारी/भरत प्रधान
अमेरिकामा ५ सय नेपालीमा कोरोनाको सङ्क्रमण
अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करीब ५ सय कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको पुष्टि हुन सकेको छैन । अमेरिकामा रहेका नेपाली कति सङ्क्रमित भएका छन् भन्नेबारे आधिकारिकरूपमा बताउन कसैले पनि सकेका छैनन् ।
अमेरिकामा रहेको नेपाली दूतावासले नेपालीलाई कुनै समस्या परेको खण्डमा सम्पर्क गर्न भन्दै विभिन्न टेलिफोन नम्बर दिएको छ भने दूतावासको वेबसाइटमा एउटा फर्मसमेत राखिएको छ । अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्कीले अमेरिकामा पर्यटन वा अन्य प्रयोजनका लागि भ्रमणमा आएका नेपालीलाई विषम परिस्थितिमा उत्पन्न समस्या र भिसालगायतको विषयमा सम्बोधनका लागि अमेरिकी सरकारसमक्ष आवश्यक प्रक्रियाका लागि कूटनीतिक पत्राचार गरेको बताउनुभएको छ । अमेरिका भ्रमणमा रहेका कतिपय नेपालीको भिसाको म्याद सकिएको र उनीहरूमा ‘ओभरस्टे’ हुने हो कि भन्ने आशङ्का रहेको छ ।
अमेरिकाको राज्यसभाको विधायकमा निर्वाचित ह्यारी भण्डारीले नेपालीभाषी अमेरिकीको सहयोगका लागि आफ्नो कार्यालयले विभिन्न कार्यक्रम गरेको बताउनुभयो । भण्डारी आफ्नो विभिन्न माध्यम तथा स्थानीय नेपाली समुदायसँगको परामर्शका आधारमा दैनिकरूपमा नेपालीभाषीहरू कोरोनाबाट सङ्क्रमित भएको रिपोर्ट आएको बताउनुहुन्छ । भण्डारीको कार्यालयले नेपालीभाषीका लागि बेरोजगार घोषणा गर्ने फर्म तथा व्यवसायमा आधारित कर्जा तथा कतिपय व्यक्तिको सङ्क्रमण परीक्षणका लागि सहयोग गरेको बताउनुहुन्छ । सङ्घीय जनप्रतिनिधिसँग सहकार्य गरेर नागरिकका विभिन्न समस्याको सहजीकरणका लागि काम गरिरहेको उहाँले बताउनुभयो । भण्डारीले मेरिल्यान्ड जनरल एसेम्बलीमा हेल्थ एन्ड गभर्नमेन्ट अपरेसन कमिटीको सदस्यको रूपमा काम गरिरहनुभएको छ । यसपटक मेरिल्यान्डको जनरल एसेम्बली १५८ वर्षमा पहिलोपटक तोकिएको समत्न्दा अगावै कोरोना भाइरसका कारणले अन्त्य गरिएको थियो ।
गैरआवासीय नेपाली सङ्घ
(एनआरएनए) का पूर्वअध्यक्ष तथा पेशाले चिकित्सकसमेत रहनुभएका डा. केशव पौडेल अमेरिकामा रहेका नेपालीमा मनोवैज्ञानिक सन्त्रास अत्यधिक रहेको बताउनुहुन्छ । कोरोना भाइरसको सामान्य लक्षण देखिएका ८० प्रतिशतभन्दा बढीले खानपान र सामाजिक भेटघाट कम गरी आफैँ क्वारेन्टिनमा बस्दा यसमा कुनै चिन्ता लिनुनपर्ने पौडेलको भनाइ छ । पौडेलले भन्नुभयो, “अमेरिकाभरिका बिरामीको प्रकृति र प्रवृत्ति हेर्दा १५ प्रतिशतलाई अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था आएको र पाँच प्रतिशतलाई इन्सेटिभ केयर युनिट (अति सघन कक्ष) मा भर्ना गर्नुपरेको देखिएको छ । त्यसमध्ये करिब एक दशमलव ४ प्रतिशतका बिरामीले जीवन गुमाउनुपरेको छ । पौडेलका अनुसार करिब ५ सय नेपाली कोरोना भाइरसको सङ्क्रमित भएका छन् । तीमध्ये करिब आधाभन्दा बढी अपस्ताल भर्ना नभई सेल्फ क्वारेन्टिनमा बसेका छन् । कोरोनाका कारण न्युयोर्कमा बस्दै आउनुभएका अनिल लिम्बूको गत साता निधन भएको थियो ।
नेपालीहरू अमेरिकाको न्युयोर्क, क्यालिफोर्निया, न्यूजर्सी, पेन्सलभेनिया, टेक्सासलगायतका स्थानमा बढी बसोबास गर्ने तथ्याङ्क छ । यसैगरी मेरिल्यान्ड, न्यूह्याम्पसायर, कनेक्टिकट, भर्जिनिया, नर्थ क्यारोलिना, कोलोराडो वासिङ्टन इलोनोइजमा पनि बसोबास गर्दै आएका छन् । अमेरिकाको पचासै राज्यमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने मुख्यरूपमा न्युयोर्कमा बढी देखिएको । न्ययोर्कमा मात्र करीब ४० हजार नेपाली बसोबास गर्ने गरेको अनौपचारिक तथ्याङ्क रहेको छ ।
तर, सङ्घीय सरकारले स्वास्थ्य बीमा नभएकाहरूको पनि उपचार गर्ने र राहत प्याकेजअन्तर्गतको प्रतिव्यक्ति १२ सय डलर उपलब्ध गराउने भएकाले धेरै आत्तिन नपर्ने धारणा भण्डारीको छ । भण्डारीले हरेक राज्यमा बस्ने नेपालीलाई सहयोग गर्न आफ्नो कार्यालयले राज्यपिच्छेको सम्पर्क ठेगानासहितको विवरण आफ्नो वेबसाइटमा राखेको बताउनुभएको छ ।
अमेरिकामा ३०० रजिस्टर्ड नर्स आबद्ध रहेको सान सोसाइटी अफ अमेरिकन नेप्लिजको अध्यक्ष रहनुभएकी मञ्जु सङ्ग्रौलाले दिनुभएको जानकारीअनुसार उहाँहरूसँग आबद्ध नर्सहरू सबै ‘एक्टिभ डयुटी’ मा रहेका छन् । यसैगरी एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा. सञ्जीव सापकोटाले भन्नुभयो, “हामीले अनौपचारिक तथ्याङ्क सङ्कलन गरेका छौँ, यसरी तथ्याङ्क केलाउँदा करिब ५०० कोरोना भाइरसको सङ्क्रमित हुनुभएको देखिएको छ । तीमध्ये ८० प्रतिशतभन्दा बढी घरमा नै आइसोलेसनमा बसेका छन् ।” सापकोटाका अनुसार कोरोना भाइरस पोजेटिभ देखिँदैमा जीवन अन्त्य हुन्छ भन्ने भ्रमबाट सबै मुक्त हुनुपर्छ । अमेरिकामा आफ्नो स्वास्थ्य अवस्था बारेमा जानकारी दिने विषय गोपनीयताको हक भएकाले पनि यकिन तथ्याङ्क पत्ता लगाउन कठिन हुने सापकोटाको भनाइ छ ।
नागरिक अगुवादेखि नेपाली दूतावासका प्रतिनिधि र अमेरिकाका जनप्रतिनिधिसमेत सबैले एकै स्वरमा सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको मार्गनिर्देशन अक्षरशः पालना गर्न समुदायमा अपिल गरेका छन् ।
कोरोनाको उच्च जोखिममा युरोपका नेपाली
इटाली, स्पेन, फ्रान्स, बेलायत, पोर्चुगललगायतका युरोपेली मुलुकहरूमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै युरोपमा रहेका नेपालीहरू उच्च जोखिममा परेका हुन् । कोरोनाका कारण युरोपमा मानवीय क्षति बढ्दै गएपछि त्यहाँ रहेका गैरआवासीय नेपालीमा थप सङ्कट निम्तिन सक्ने खतरा बढेको छ । कोरोनाको महामारीका कारण युरोपमा रहेका धेरै नेपाली रोजगारविहीन भएका छन् भने दैनिकी कष्टकर बन्दै गएको छ ।
कोरोना सङ्क्रमणका कारण युरोपमा मात्रै ४० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । लाखौँ मानिस प्रभावित भएका छन् । यसको महामारीबाट विश्वमै सबैभन्दा बढी मानवीय क्षति युरोपमा भएको छ । पछिल्लो समय बढी सङ्क्रमण अमेरिकामा देखिएको छ ।
यो समाचार तयार पार्दासम्म विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वभरका २०८ मुलुकमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । हालसम्म विश्वभर १२ लाख १ हजार ९६४ सङ्क्रमित भएको र ६४ हजार ७२७ को ज्यान गएको वल्र्डोमिटरर्सको तथ्याङ्कले देखाएको छ । तीमध्ये २ लाख ४६ हजार ६३८ उपचारपछि घर फर्केका छन् ।
पछिल्लो तथ्याङ्कअनुसार कोरोना भाइरसका कारण सबैभन्दा बढी इटालीका नागरिकको ज्यान गएको छ । त्यहाँ हालसम्म १५ हजार ३६२ को मत्यु भइसकेको छ भने १ लाख २४ हजार ६३२ जना सङ्क्रमित भएको तथ्याङ्क छ । २० हजार ९९६ उपचारपछि निको भई घर फर्केका छन् ।
इटालीमा कोरोनाको सङ्क्रमण र मृत्युदर भयावह देखिए पनि त्यहाँ रहेका नेपालीहरू भने सुरक्षित नै रहेको गैरआवासीय नेपाली सङ्घ इटालीका अध्यक्ष देव गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार इटालीमा १५ सयको हाराहारीमा नेपालीको बसोबास रहेको अनुमान छ । “यहाँको अवस्था हेर्दा नेपालीहरूको अवस्था चिन्ताजनक नै छ तर आत्तिइहाल्नुपर्ने अवस्था भने छैन”, गुरुङले भन्नुभयो । यहाँ रहेका सबै नेपालीसँग हामी निरन्तर सम्पर्कमा छौँ । कोरोनाको सङ्क्रमणले सङ्कटग्रस्त इटालीले गत मार्च ४ (फागुन २१ गते) देखि राष्ट्रिय सङ्कटकालको घोषणा गरेको थियो ।
गैरआवासीय नेपाली सङ्घका युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले कोरोनाका कारण सिङ्गो युरोप नै सङ्कटमा गुज्रिरहेकाले नेपालीहरू पनि उच्च जोखिममा रहेको बताउनुभयो । कोरोना सङ्क्रमणको गति यही स्थितिमा बढिरहे युरोपमा रहेका नेपालीहरूमा थप सङ्कट निम्तिन सक्ने खतरा रहेको उहाँले बताउनुभयो । कोरोनाको सङ्क्रमणबाट बच्न उच्च सावधानी र सतर्कता अपनाउन युरोपबासी नेपालीहरूलाई आग्रह गर्दै आचार्यले यो महामारीबाट बच्न र बचाउन सङ्घसमेत संस्थागतरूपमा लागि परेको बताउनुभयो । आचार्यका अनुसार कोरोनाबाट आइपर्नसक्ने सम्भावित सङ्कटलाई मध्यनजर गरेर युरोपमा रहेका नेपालीहरूको राहत र उद्धारका लागि ५० हजार युरो बराबरको आपत्कालीन कोष स्थापना गर्ने निर्णय भएको छ । कोरोनाबाट प्रभावित नेपालीहरूको तथ्याङ्क सङ्कलन गरेर समस्यामा परेका नेपालीहरूलाई उक्त कोषबाट राहत प्रदान गरिने उहाँले बताउनुभयो ।
इटालीपछि कोराना सङ्क्रमणका कारण सबैभन्दा बढीले ज्यान गुमाएको अर्को युरोपेली देश हो, स्पेन । कोरोनाका कारण स्पेनमा ११ हजार ९४७ को ज्यान गएको छ भने १ लाख २६ हजार १६८ मा सङ्क्रमण भएको तथ्याङ्क छ । तीमध्ये ३४ हजार २१९ उपचारपछि घर फर्केका छन् । पछिल्लो तथ्याङ्क हेर्दा स्पेनमा पनि कोरोना सङ्क्रमणको वृद्धिदर इटालीमा जस्तै तीव्रगतिमा बढिरहेको छ ।
स्पेनमा रहेका लोकगायक राजेन्द्र लम्सालले स्पेनको अवस्था निकै दर्दनाक रहेको प्रतिक्रिया दिनुभयो । “घरभित्रै बसेको धेरै दिन भइसक्यो, अत्यावश्यक कामबाहेक घरबाहिर निस्किएका छैनाँै, सर्वत्र कोरोनाको त्रास छ । कतिबेला के हुने हो, केही थाहा छैन”, लम्सालले भन्नुभयो । उहाँका अनुसार उद्योगधन्दा, कलकारखाना, सार्वजनिक यातायात, सहर बजार, होटेल रेस्टुरेन्ट, व्यावसायिक प्रतिष्ठानहरू ठप्प हुँदा दैनिकी कष्टकर बन्दै गएको छ ।
कोरोनाका कारण आक्रान्त बनेको स्पेनमा १० हजारको हाराहारीमा नेपालीको बसोबास रहेको अनुमान छ । स्पेनमा हालसम्म सात नेपालीलाई कोरोना सङ्क्रमणको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्पेनका अध्यक्ष दिनेश गुरुङले जानकारी दिनुभयो । सङ्क्रमित नेपालीहरूको त्यहाँस्थित अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । तीमध्ये एक जना नेपाली उपचारपछि घर फर्किएका छन् ।
कोरोना भाइरसबाट तेस्रो बढी प्रभावित बनेको अर्को युरोपेली मुलुक हो, फ्रान्स । त्यहाँ कोरोनाका कारण ७ हजार ५६० को मृत्यु भइसकेको छ भने ८९ हजार ९५३ मा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये १५ हजार ४३८ स्वास्थ्यलाभ गरेर घर फर्केका छन् । गत सातादेखि फ्रान्समा पनि मृत्युदर र सङ्क्रमण दर बढ्दै गएको छ ।
कोरोनाको महामारीका कारण आक्रान्त बनेको फ्रान्सको स्थिति हेर्दा नेपालीहरू पनि त्रसित रहेको पेरिसमा रहेका स्याङजाका विष्णुबहादुर सारुले बताउनुभयो । “घरभित्रै बसेको तीन साताभन्दा बढी भयो, बजार पूरै ठप्प छ”, थापाले भन्नुभयो । अत्यावश्यक कामका लागि स्वीकृति लिएरमात्रै बाहिर जान पाइन्छ । अन्यथा जरिवाना र जेलसम्मको सजाय हुन्छ ।
फ्रान्समा रहेका नेपालीहरूको अवस्था सामान्य रहेको गैरआवासीय नेपाली सङ्घ फ्रान्सका अध्यक्ष नरेन्द्र शाहीले बताउनुभयो । नेपालीहरू सुरक्षित रहे पनि जोखिम भने उच्च रहेको उहाँले बताउनुभयो । कोरोनाले निम्त्याएको सङ्कटका कारण समस्यामा परेका ३५ भन्दा बढी नेपालीलाई सङ्घले राहतस्वरूप खाद्यान्न सामग्री प्रदान गरेको शाहीले जानकारी दिनुभयो ।
फ्रान्समा करिब पाँच हजारको हाराहारीमा नेपालीहरूको बसोबास रहेको दूतावासको अनुमान छ । हालसम्म त्यहाँ रहेका नेपाली सुरक्षित रहेको फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले जानकारी दिनुभयो । नेपालीहरूलाई पर्ने समस्यामा सहयोग र सहकार्य गर्न फ्रान्स र पोर्चुगलको सरकारलाई आग्रह गरिएको र त्यहाँको सरकारले पनि सहयोग गर्ने आश्वासन दिएको राजदूत अधिकारीले बताउनुभयो । त्यस्तै जर्मनीमा हालसम्म ९६ हजार ९२ मा कोरोनाको सङ्क्रमण देखापरेको छ भने १ हजार ४ सय ४४ को मृत्यु भइसकेको छ । तीमध्ये २६ हजार ४ सय उपचारपछि घर फर्केका छन् । त्यस्तै बेल्जियममा पनि १ हजार २ सय ८३ को मृत्यु भइसकेको छ भने १८ हजार ४ सय ३१ मा सङ्क्रमण भएको पुष्टि भएको छ । ३ हजार २ सय ४७ स्वास्थ्यलाभ गरेर घर फर्केका छन् ।
युरोपमै सबैभन्दा बढी नेपालीहरूको बसोबास रहेको बेलायतमा ४१ हजार ९०३ मा कोरोनाको सङ्क्रमण देखापरेको छ । त्यहाँ ४ हजार ३ सय १३ ले ज्यान गुमाएका छन् । तीमध्ये १ सय ३५ जना उपचारपछि घर फर्केका छन् । बेलायतमा हालसम्म आठ नेपालीलाई कोरोना सङ्क्रमणको पुष्टि भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । तीमध्ये दुई नेपालीको ज्यान गएको दूतावासका उपनियोग प्रमुख शरदराज आरणले जानकारी दिनुभयो । आरणका अनुसार हाल दुई नेपालीको उपचार भइरहेको छ भने चार जना उपचारपछि घर फर्किसकेका छन् । अन्य १० नेपाली कोरोनाको आशङ्कामा क्वारेन्टिनमा रहेको उहाँले जानकारी दिनुभयो । बेलायतमा रहेका नेपालीहरूलाई उच्च सजगता र सतर्कता अपनाउन विशेष आग्रहसमेत गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार यकिन तथ्याङ्क नभए पनि बेलायतमा डेढ लाख नेपालीको बसोबास रहेको अनुमान छ ।
कोरोनाको महामारीका कारण युरोपमा रहेका नेपालीहरूको अवस्था सामान्य रहे पनि जोखिम भने उच्च रहेको नेपाल पत्रकार महासङ्घ युरोप शाखाका अध्यक्ष केजीन राईले बताउनुभयो । युरोपमा रहेका नेपालीहरूले गर्ने कामको प्रकृति हेर्दा धेरै नेपालीमा सङ्क्रमण हुनसक्ने तर नेपालीहरू खुल्न नचाहेका कारण पनि सङ्क्रमितको यकिन तथ्याङ्क बाहिर नआएको राईको भनाइ छ ।
बेलायतपछि सबैभन्दा बढी नेपालीको बसोबास रहेको मुलुक पोर्चुगलमा १० हजार ५ सय २४ मा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । पोर्चुगलमा हालसम्म २ सय ६६ जनाले ज्यान गुमाइसकेका छन् । पोर्चुगलमा तीन नेपालीमा कोरोना सङ्क्रमणको आधिकारिक पुष्टि भएको लिस्बनका लागि नेपाली अवैतनिक वाणिज्य दूत मकरबहादुर हमालले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित नेपालीको अस्पतालमा उपचार भइरहेको छ । वाणिज्य दूत हमालका अनुसार अन्य केही नेपालीहरू कोरोनाको आशङ्कामा क्वारेन्टिनमा रहेका छन् । यहाँ रहेका नेपालीलाई कोरोनाको सम्भावित सङ्क्रमणबाट बच्न र सुरक्षित रहन विशेष सजगता र सतर्कता अपनाउन आह्वान गरिएको हमालले बताउनुभयो ।
कोरोनाको महामारीबाट बच्न र समस्यामा परेका नेपालीहरूलाई सहयोग र समन्वय गर्ने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ पोर्चुगलले विशेष अभियान सञ्चालन गरेको सङ्घका अध्यक्ष तिलकप्रसाद गैरेले जानकारी दिनुभयो । सङ्घका कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको संयोजकत्वमा ‘टास्क फोर्स’ नै बनाएर समस्यामा परेका नेपालीको राहत र उद्धारका लागि परिचालन गरिएको गैरेले बताउनुभयो । यकिन तथ्याङ्क नभए पनि पोर्चुगलमा करिब २५ हजार नेपालीहरूको बसोबास रहेको अनुमान छ ।
बेल्जियममा एक नेपालीलाई कोराना सङ्क्रमण पुष्टि भएको बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले जानकारी दिनुभयो । राजदूत थापाका अनुसार बेल्जियममा नौ हजारको हारहारीमा नेपालीहरू रहेका छन् । बेल्जियमसहित नेदरल्यान्ड्स र लग्जेम्बर्गमा रहेका नेपालीहरूलाई कोरोनाको सङ्क्रमणबाट बच्नका लागि विशेष सुरक्षा, सतर्कता र उच्च सावधानी अपनाउन राजदूत थापाले आग्रह गर्नुभएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो तथ्याङ्कअनुसार सङ्क्रमितको सङ्ख्यालाई आधार मान्ने हो भने कोरोनाबाट विश्वमै सबैभन्दा बढी प्रभावित भएको देश अमेरिका बनेको छ । अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । अमेरिकामा झन्डै तीन लाखमा कोरानाको सङ्क्रमण देखापरेको छ ।
अमेरिकामा एकै दिन चारजनाको निधन
अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ््ख्या पाँच पुगेको छ ।
शनिबार अरू चारजनाको निधन भएको हो । यसरी निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु रहनुभएको छ । सबै न्युयोर्कमा बस्दै आउनुभएको थियो । निधन हुनुभएकाको परिवार र स्थानीय सङ्घसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने जानकारी मेरिल्यान्ड राज्यसभाका विधायक ह्यारी भण्डारीले बताउनुभयो ।
Leave a Reply