भर्खरै :

आशङ्कितको कोरोना परीक्षण किन गरिँदैन ?

–सुरजसिंह
विश्व स्वास्थ्य सङ्गठनले पटक–पटक जोड दिएर ट्रेस एन्ड टेस्ट (कोरोना भाइरस सङ्क्रमितसँग सम्पर्कमा आएकाहरूको पहिचान गर्ने र परीक्षण) गर्न भनेको छ । विश्व स्वास्थ्य सङ्गठनले सकेसम्म धेरै परीक्षण गर्न पनि सुझाव दिएको छ । दक्षिण कोरिया र चीनले यही नीति अवलम्बन गर्दा त्यहाँ कोराना भाइरसको सङ्क्रमणलाई सुरूवाती चरणमै नियन्त्रणमा लिन सफलता हासिल भइरहेको छ । तर, नेपालमा भने सङ्क्रमितको सम्पर्कमा आएकाहरूको पहिचान गर्न कागजी पहलबाहेक केही पनि भइरहेको पाइएको छैन । सङ्क्रमित भएका व्यक्तिसँग नजिक भएकाहरू आफैँ सम्पर्कमा आए पनि यहाँ लक्षण नदेखिएसम्म परीक्षण नै नगरिने नीति अख्तियार गरेको पाइन्छ ।
अझै पनि विज्ञहरू कोरोना भाइरसबारे धेरै विषयहरूमा अनजान छन् । यद्यपि, यस भाइरसको सङ्क्रमणको सुरूवाती केन्द्रबिन्दु बनेको चीनलगायत विभिन्न देशहरूमा गरिएको अध्ययनले के देखाएको छ भने ३० देखि ५० प्रतिशत कोरोना भाइरसका सङ्क्रमितमा यसका लक्षणहरू नै देखिदैन । यसरी लक्षण नदेखिएका कोरोना सङ्क्रमितहरू नै भाइरसको फैलावटमा बढी जिम्मेवार हुने गरेका छन् । लकडाउनलाई उपयोग गर्दै सरकारले परीक्षणको दायरालाई फराकिलो बनाउनुपर्ने हो । तर, सरकार यसमा नराम्ररी चुकिरहेको छ ।
सङ्क्रमितहरूसँगै यात्रा गरेर आएकाहरू स्वयम् स्वास्थ्य संस्था र अस्पतालमात्र होइन, कोरोना सङ्क्रमणको चर्चा सुरू भएदेखि सबैको ध्यान आकर्षित गरिरहेको शुक्रराज ट्रोपिकल तथा सरूवा रोग अस्पताल र जनस्वास्थ्य प्रयोगशाला पुग्दा पनि कोरोना परीक्षण गर्न दिइएको छैन । कारण के हो ? आशङ्कितको कोरोना परीक्षण किन गरिँदैन ? कतै खर्च कम गर्ने बहानामा सङ्क्रमण देशव्यापी बनाएर हजारौँ गुणा बढी खर्च र कमिसनको निम्ति खेल त भइरहेको होइन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *