भर्खरै :

स्वच्छ खानेपानीको व्यवस्था गरियोस् !

– भक्तपुर नगरपालिका वडा नं १० पाइपलाइनका एक स्थानीयबासी
देश सङ्घीयतामा गएको पनि वर्षौं भइसकेको छ । तर, देशमा प्रदेश र स्थानीय सरकारहरूबाट स्वायत्तता र विकेन्द्रीकरणको महसुस जनताले गर्न पाइरहेका छैनन् । संविधानले सङ्घीयता घोषणासँगै पहिलाभन्दा केही हदसम्म अधिकारहरू पनि दिएको थियो तर सङ्घीय सरकारले बिस्तारै सबै अधिकार केन्द्रीकृत गर्न खोजिरहेको स्थानीय जनताले महसुस गर्न थालेका छन् । त्यसैले नामले होइन व्यवहारले मात्र त्यसको औचित्य पुष्टि हुन्छ । नाम धनबहादुर भएर के गर्ने दैनिक एक छाक टार्न मुस्किल छ भने त्यस्तै सङ्घीयता पनि जनताले महसुस हुनेगरी शासकहरूले स्थानीय सरकारलाई अधिकार दिनुपर्ने हो तर त्यसो भइरहेको छैन किनकि हाम्रो देशमा पुँजीवादी व्यवस्था छ यसले तल्लो वर्गका जनतासम्म, गरिब निमुखा, असहायको पक्षमा काम गर्न सक्दैनन् पनि गर्दैनन् पनि । त्यसैले हाल विश्वमा कोरोनाको महामारी फैलिएको अवस्थामा सरकारले निर्णयमा सीमित हुनेबाहेक देश जनताको हितमा केही सोचेको जस्तो जनताले अनुभव गरेको छैन् ।
कुरा चैतको १८ गते भक्तपुरको पाइपलाइनका स्थानीयबासीहरूको खानेपानी समस्या हो । त्यहाँको खानेपानीको पाइपमा ढल मिसिएर आयो भनेर स्थानीय जनप्रतिनिधि जितेन्द्र मुनंकर्मीलाई बोलाएर देखाए । त्यहिबेला एउटा पत्रकार दाबी गर्ने मानिस बम्किँदै थियो जनप्रतिनिधिहरूले बेवास्ता गर्यो भनेर जबकि वडासदस्य जितेन्द्र मुनंकर्मी स्वयम् त्यहीं समस्यालाई लिएर जनतामाझ बसेर समस्या समाधानको लागि के गर्न सकिन्छ भनेर सरसल्लाहमा व्यस्त थिए । उनी काठमाडाँै उपत्यका खानेपानी लिमिटेडका कर्मचारीहरूलाई त्यहाँ भएको समस्या अवगत गराउँदै थिए । पटक–पटक समस्या समाधानको लागि पहल गर्न र के भएको निरीक्षण गर्न अनुरोध गर्दा पनि बेवास्ता भएपछि वडानिरीक्षक बोलाई वडानिरीक्षकमार्फत काउखालिका कर्मचारी चेतबहादुर ऐरलाई पनि फोन गर्न लगाए । तर, कर्मचारी आउन मानेन । भोलि खानेपानी छोड्ने बेलामा हेर्दा मात्र थाहा हुने छ अहिले पानीको लेवल कमी भएकोले पानी पनि पठाउँदैन र हेर्न मिल्दैन । त्यसपछि वडाध्यक्षमार्फत काठमाडौँ उपत्यका खानेपानी लिमिटेड भक्तपुरका कार्यालय प्रमुख सुरेन्द्र हिमालयलाई सम्पर्क गरी उक्त समस्या समाधानको लागि जानकारी गराइयो । तुरुन्त समस्या समाधान गराउने भनी कुरा भयो तर यो पाठक पत्र लेख्दासम्म समस्या समाधान भएन । धाराबाट आउने खानेपानी ढल मिसिएको कालो पानी आइरहेकै छ । यतिसम्म बेवास्ता किन ? उक्त फोहर पानीले मान्छे बिरामी भई केही भयो भने त्यसको निम्ति जिम्मेवार को ?
यदि खानेपानी वितरणको अधिकार स्थानीय सरकारलाई दिएको भए उक्त समस्या क्षणभरमा समाधान हुने थियो भन्ने धेरैलाई लाग्यो । भक्तपुर नगर अहिले हरेक दृष्टिकोणले अगाडि नै छ । तर, यो खानेपानी समस्या पनि समाधान हुने आशा गर्न सकिन्छ तर अहिले काउखालिले खानेपानीको पैसा असुल्छ त्यसमा ढलको समेत जोडेर । अनि समस्या सबै काउखालिका कर्मचारीहरूले नगरपालिकातिर तेर्साउने गर्छ । यस्तो कोरोनाको महामारीमा खानेपानी समस्या छ । गर्मी मौसमसँग खानेपानीको आवश्यकता बढी हुने तर मुहान सुक्ने हुन्छ ।
पानीको उत्सर्जन कममात्र हुनेछ । त्यसपछि काठमाडौँ उपत्यका खानेपानी लि.ले अहिले झन्झन् खानेपानी आउनेमा कटौती गरेर जनताको जनजीविकामा समस्या बढाउनेछ । खानेपानीको समस्या झन्झन् विकराल बन्दै गएको अवस्थामा कोरोनाबाट बच्न साबुनपानीले मिचिमिचि हात धुनुपर्छ भनिन्छ तर चार–पाँच दिनको एक पटक पानी आउँछ त्यो पनि ढल मिसिएको । यसले कसरी कोरोनाबाट बच्न सकिन्छ ? समयमै काठमाडाँै उपत्यका खानेपानी लिमिटेड भक्तपुर शाखाको ध्यान जाओस् । नत्र एकदिन जनता आक्रोशित भए भने त्यसको परिणाम नराम्रो हुनेछ । बेलैमा ध्यान पु¥याओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *