कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
वस्तुराज ‘शीतल’
पञ्चायती व्यवस्था अन्त्य भएको दिन हो चैत २६ । यो व्यवस्था अन्त्य भएको पनि ३० वर्ष बित्यो । नेका र वामपन्थी दलहरू मिलेर २०४६ फागुन ७ गतेदेखि सुरू भएको संयुक्त जनआन्दोलन चैत २६ गते चरमोत्कर्षमा पुगेपछि पञ्चायती व्यवस्था ढलेको हो । उक्त संयुक्त जनआन्दालनको दोस्रो दिनमै भक्तपुरमा चार जना युवाले वीरगति प्राप्त गरेका थिए । पछि आन्दोलनकै क्रममा भक्तपुरकै थप दुई जनाको ज्यान गएको थियो । यसरी पञ्चायती व्यवस्था अन्त्य गर्न ज्यानको बाजी राख्ने सहिदहरूप्रति सरकारले खासै चासो राखेको देखिँदैन । वीर सहिदहरूको सम्मानसहित सहिदका परिवारका सदस्यहरूको जीवन सुनिश्चित गर्न पठन–पाठनको व्यवस्थादेखि रोजगारको अवसर दिनुपर्ने काम प्रजातान्त्रिक सरकारले मात्र होइन गणतन्त्रात्मक व्यवस्थाका कम्युनिस्ट भनिने पार्टीको नेतृत्वमा बनेको सरकारले पनि गरेन ।
२००७ सालको आन्दोलनपछि देशमा भएको अन्य ठूलठूला आन्दोलनमा २०४६ कोसंयुक्त जनआन्दोलन र ०६२÷६३ को आन्दोलन थियो । २०४६ को जनआन्दोलनले पञ्चायती व्यवस्था अन्त्य नगरेको भए सायद २०६२÷६३ को आन्दोलन सफल हुने थिएन । यसरी पञ्चायती व्यवस्था फाल्न रगतको खोलो बगाउने सहिद र आन्दोलनमा घाइते वीर योद्धाहरूलाई उहिलेको र अहिलेको सरकारले बेवास्ता गरेर सत्तासीन दलका नेता र मन्त्रीहरूले आफ्नो दायित्व भुले । २०४६ को संयुक्त जनआन्दोलनले निरङ्कुश या एकदलीय व्यवस्था अन्त्य गरेर बहुदलीय व्यवस्था स्थापना गरेको थियो । राजनीतिक तथा मौलिक अधिकार प्राप्त गर्न या बहुदलीय व्यवस्था प्राप्त गर्न उक्त आन्दोलनमा देशका किसान, मजदुर, विद्यार्थी, युवा, महिला, शिक्षक, चिकित्सक, इन्जिनियर, पेशागत कर्मचारी, साहित्यकार, कलाकार, गायक, उद्योगी, व्यवसायी आदिले सहयोग गरेका थिए, आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए । त्यस आन्दोलनमा सक्रिय सहभागिता जनाउँदा भएका सहिदका परिवार र घाइतेहरूको सूची तयार गरी सरकारले सहयोग गर्नुपथ्र्यो या राहत दिनुपथ्र्यो । अहिले पनि उक्त आन्दोलनमा सहिद भएका परिवार र अपाङ्ग भएका व्यक्तिहरूको स्थिति दयनीय छ ।
आन्दोलनबाट सरकारमा पुगेका, सरकारमा बसेका दलका नेता र मन्त्रीहरूले आन्दोलनमा सहादत प्राप्त गर्ने सहिद र घाइतेहरूको सम्मान गर्नुपथ्र्यो । उनीहरूको जीवन सुनिश्चित बनाउन सहयोग गर्नुपथ्र्यो । माओवादीले गरेको ‘जनयुद्ध’ मा भएका सहिद र माओवादीको ‘जनसेना’ भनिएका व्यक्तिहरूलाई आर्थिक सहयोग गर्न पछि नपर्ने दलकै नेतृत्वमा सरकार भए पनि पञ्चायती व्यवस्था फाल्न सहयोग गर्ने सहिदहरूलाई किन सहयोग भएन ? घाइतेहरूलाई किन राहत दिइएन ?
Leave a Reply