भर्खरै :

प्रधानमन्त्रीलाई २०७७ सालको शुभकामना !

– राजा नेपाल
प्रजातन्त्र र मानव अधिकारलाई अर्थ्याउन नेपालका ‘नाम कहलिएका’ बुद्धिजीवीहरू आफ्नै विद्वतालाई बन्धकीमा राखी युरोप र अमेरिकाबाट प्रकाशित अखबार र पुस्तकहरूका हरफहरू हुबहु अनुवाद गरी आफू संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ) का मालिकहरूको सुगारटाइलाई विभिन्न सभा, सम्मेलन र गोष्ठीहरूमा ओकल्ने बानी परेको पनि धेरै भइसक्यो । सचेत युवा, अध्ययनशील विद्यार्थी र सुझबुझ भएका मानिसले तिनीहरूका प्रवचनहरू पत्याउनै छाडे या आधारहीन भनी सुन्नै छाडे । सानै भए पनि, गरिब भए पनि आफ्नो देशप्रति अगाढ प्रेम गर्ने नेपाली जनताले प्रधानमन्त्री केपी ओलीका थुप्रै हावादारी र तथ्यहीन भाषणलाई प्रजातन्त्र र मानव अधिकारबारे ती स्वघोषित बुद्धिजीवीका विचारहरूसँग तुलना गर्न थालेका छन् ।
राजनीतिलाई अर्थोपार्जन गर्ने अखडा ठान्ने सरकारको रवैयालाई प्रमाणसहित आलोचना गरी सुधारको अपेक्षा गर्दा त्यसउपर कुनै चासो नै नदिई ‘आलोचना र विरोध गर्नु प्रजातन्त्रको गहना हो’ र ‘प्रजातन्त्रको सौन्दर्य भनेकै यही हो’ भनी बेवास्ता गर्नु एक सामन्तले पीडित किसानको पीरमर्काको मजाक उडाउँदै उपरखुट्टि लाएर बस्नुजस्तै हो । यो वर्तमान मन्त्रिपरिषद्को नकच्चरो प्रवृत्तिको पराकाष्ठ हो । सरकारी ओहदामा बसी माननीय र सम्माननीय व्यक्तिहरूले विनाअध्ययन गर्ने मन्तव्यबाजीको रचनात्मक र सकारात्मक टीकाटिप्पणी गर्दा उनीहरूको मानव अधिकार हनन भयो भनी इमानदार बौद्धिक वर्ग र सञ्चारमाध्यममाथि अङ्‍कुश लगाउनु कहाँको मानव अधिकारको रक्षा हो ?
सम्माननीय प्रधानमन्त्री र उहाँको मातहतमा सञ्चालित सरकारप्रति यो मेरो कुनै द्वेष होइन । शिक्षा क्षेत्रमा आबद्ध म एक कर्मठ, पेशाप्रति इमानदार र मेहनती व्यक्ति हुँ । जसले आफ्नो प्रत्येक महिनाको मेहनतबाट केही रकम देशको समृद्धि र विकास हुने ठूला आशा बोकी कर तिर्ने गर्छ । तथापि आफूले तिरेको कर बालुवामा पानीसरह हुँदा गहभरि आँसु बोकी पानीविनाको माछाझैँ छटपटाउने गर्छ अरूजस्तै । किनभने जब थाहा लाग्छ, जनताबाट उठेको त्यो राष्ट्रिय सम्पत्ति विकास र समृद्धिको नाउँमा भ्रष्टाचार हुन्छ, अनियमितता हुन्छ र मन्त्रीहरूको विभिन्न सेवा सुविधा र विलाशी जीवनशैलीमा खर्चिन्छ, पश्चातापको पीडाले यहीँनेर बेसरी पोल्छ । यो कुनै पानी फोका गफ किमार्थ होइन । अनेकन तथ्यहरूमध्ये मैले एउटा प्रस्तुत गर्न चाहेँ ।
‘अबको दुई वर्षपछि ती ठट्टा गर्ने मान्छे को हुन्, मजाक उडाउने मान्छे को हुन् ? खोज्दा भेटिने छैन किनभने रेल कुद्छ, मान्छे छक्क पर्नेछन् । पानीजहाजको कुरा उधुमै उडाए, प्रधानमन्त्री कार्यालयअगाडि खोइ कागजको डुङ्गा बनाएर बाल्टिनमा पानी हाली तमासा गर्नेले अर्को साल, हुनसक्छ २०७५ सालभित्र, होइन भने ७६ सालभित्र नेपालको पानीजहाजले झन्डा हलाएर कसरी सामान बोकेर हिँड्छ, मान्छे बोकेर हिँड्छ हामी देखाउँछौँ, धेरै लामो समय छैन, सञ्चारमाध्यम र भाइबहिनीहरूले रेकर्ड गरिरहेका छन् । हामी राष्ट्र बनाउन आएका हौँ’, पाठक वर्गको तीक्ष्ण स्मरणमा हाम्रा प्रधानमन्त्रीको यी वाणी ताजै होला । आज २०७७ साल भइसक्यो, सम्माननीय प्रधानमन्त्रीज्यूलाई याद दिलाउन चाहन्छु ।
गुलियो पोतिएको त्यस्ता भाषण सुन्दै गर्दा विकास र समृद्धिको सपना देख्दै मन आनन्दले भावविभोर भएर बेसरी ताली बजाएर हातै रातो बनाएका थियौँ । त्यतिखेर यो निश्छल बबुराले चालै पाउन सकेन, अब पो त दुःख छ र ! त्यसैले ती अभिव्यक्तिहरू आफू स्वयम्लाई भन्दा उहाँलाई विश्वास गर्ने गाईप्राणीजस्ता जनताप्रतिको बेइमानी हो । सायद स्वच्छ हृदयका जनतामाथिको यो विश्वासघात र धोखा कहिल्यै क्षम्य हुँदैन । नेकपाबाट सरासर बेहिसाबको छलछाममा परेका मजस्ता धेरै व्यक्तिहरूले पीडा खप्न नसकी हाम्रा प्रधानमन्त्री ओलीजीका ती भाषणका श्रव्यदृश्य युट्युबमा सबै नेपालीजनको स्मरणका लागि पुनः एकपटक अपलोड गरिएको छ । मलाई पनि लाजले मुखै छोप्न गार्‍हो हुने गरी बेजोड व्यङ्ग्य गरेको छ त्यसले । चुनावको दौरानमा आयोजित सभाहरूमा उपस्थित स्थानीयवासी र छरछिमेकलाई बेजोडको मन्तव्यका साथ देशको चौतर्फी विकास र समृद्धिका लागि ओलीलाई देशको बागडोर सुम्पिन नेकपामा भोट हाल्न आग्रह गर्नेमध्येका एक मूर्ख म पनि थिएँ ।
हामीहरू कम्युनिस्टको सही अर्थ बुझ्न नसकी रनभुल्लमा परेका छौँ । तर, पनि नेपालको प्रधानमन्त्री को भनी कुनै विदेशीले कुनै नेपाली नागरिकलाई सोधे, चाहेर पनि नचाहेर पनि जो कोहीको उत्तर एउटै हुन्छ– केपी ओली । मीठो मुस्कानसहितको गुडपाकले बेरिएको हरिताल उपहार दिने व्यक्ति भए पनि उनी देशका प्रधानमन्त्री हुन् । बरु आउँदा दिनका लागि सर्कत बनी हाललाई आहतमा रात काट्छु, सिस्नु रोप्नेले तुलसीको आस गर्नु मृगतृष्णा सम्झी चित्त बुझाउँछु ।
के पानीजहाज र रेलको त्यो कुरा हावादारी होइन ? गृहिणीहरूलाई सहज र सरल हुने गरी नेपालको प्रत्येक घरका चुलाचौकामा ग्यासको पाइप पुर्‍याइदिने अन्य यस्तै गफाडीका कुरा सोम शर्माको एकादेशको कथा भयो । तैपनि त्यत्रो विशाल जनसमुदायबीच सम्बन्धित क्षेत्रका विज्ञहरूको सरसल्लाह र अनुसन्धानविनाको बकम्फुसे कुराले प्रधानमन्त्रीजस्तो महत्वपूर्ण पदको कदलाई कहाँसम्म पुर्‍यायो भन्नेबारे ख्याल राख्नु आवश्यक छ ।
प्रधानमन्त्रीका प्रातःस्मरणीय पिताजीको गरिमामय उपस्थितिमा उनीद्वारा लिखित ‘भिजन टु एक्सन’ विमोचनको बेला उक्त पुस्तकमाथि पण्डित कहलिएका धेरैले सकारात्मक धारणा व्यक्त गर्दै उपस्थित सबैलाई सो कृतिको गहन अध्ययन गर्न आग्रह गरे र मुलुकको समृद्धि र विकासको बाधक बनी तेर्सिरहेको भ्रष्टाचार, अनियमितता, कृत्रिम अभाव र कालाबजारीमाथि अङ्‍कुश लगाई देशलाई उन्नतिको मार्गतर्फ लैजाने प्रमजीको  ‘भिजन टु एक्सन’ ले अब साँच्ची आफ्ना पार्टीका कार्यकर्ताहरूलाई त्यसतर्फ निःस्वार्थरूपले देश र जनताको सेवामा लाग्न अभिप्रेरित गर्नसक्ने विश्वासको त्यान्द्रो धेरैले बुनेका थिए । तर अफसोस ! प्रम ओलीजीबाट आफ्नै ज्येष्ठ सुपुत्रको हैसियत राख्नसक्ने बरदान प्राप्त गरेका पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले त्यत्रोविघ्न राजनीतिक एवं आर्थिक अपराध गरेपछि पनि उनको धृतराष्ट्रको भूमिका कायमै रहँदा जनता छक्क परेका छन् । कत्रो कुपुत्र मोह र यतिसारो महाभारतको गहन अध्ययन गरी अति प्रभावित भई यहाँसम्मको अनैतिकताले बेरिएको हर्कत गर्नु प्रधानमन्त्रीको पदलाई अवश्य पनि शोभनीय छैन ।  के यो कटुसत्यबारे दुई शब्द छापामा प्रकाशित भएर प्रजातन्त्र तुहिने हो ? के यो गोकुल बाँस्कोटाले प्रयोग गर्दै आएको मानव अधिकारको उल्लङ्घन हो ? आफ्नो पीडासँग देशको पीडा मिसाउने, सिमाना मिच्दा देश दुखेको बेला भकानो छोड्ने नेपालीजनलाई दिउँसै रात पार्ने काम बेलाबखत गरिरहनु कुनै पनि दृष्टिकोणले उचित छैन, हावा भरिएको बेलुनलाई अनावश्यक बाह्य दबाबले विस्फोटमात्र निम्त्याउँछ, परिणाम कदाचित सुखद हुनैसक्दैन ।
वर्तमान परिप्रेक्ष्यमा सान्दर्भिक हुनसक्ने त्यतिबेला छापामा आएको एउटा समाचार मेरो मानस्पटलमा ताजै छ । विभिन्न राजनैतिक पार्टीका नेताहरूलाई राजनीतिक सल्लाहका लागि दरबारमा राजासँगको भेटलाई त्यो बेला भन्ने गरिने प्रचलित शब्द ‘दर्शन भेट’ भएको थियो । नेमकिपाका अध्यक्ष रोहितजीले एक  ‘दर्शन भेट’ मा संसारका धेरै राजा–महाराजाहरू जनताका वास्तविक अवस्थाबाट टाढा रही प्रशंसामा मात्र बाँच्ने र रमाउने गरेका कारण निरङ्कुश राजतन्त्रविरुद्धको जनक्रान्तिमा तिनीहरूले आफ्नो राजगद्दी सदाका लागि त्याग्नु परेको र राजाका चाकडीबाज, चम्चे र आसेपासेहरूले कौडी गुमाउन नपरेको इतिहास राजा वीरेन्द्रलाई स्मरण गराउनुभएको थियो । अतएवः तत् सम्बन्धमा थप जानकारी प्राप्त गरी आफुमा रचनात्मक सुधार चाहनु हुन्छ भने त्यतिबेला प्रकाशनमा आएका अखबारहरू प्रधानमन्त्री स्वयम्ले स्वअध्ययन गर्नु भए स्वास्थ्यलाई कुनै हानी नगर्ला, अन्यथा ‘बादशाहको नयाँ लुगा’को  पात्र हुन धेरै दिन कुर्न नपर्ला । चाटुकार, ठग, जुगा प्रवृत्तिका व्यापारी र ठेकेदार कालाबजारी, भ्रष्ट सल्लाहकार र भ्रष्टाचारीहरूको चङ्‍गुलबाट उम्की देशभक्त, ज्ञानी र सजन नेपाली विद्वान, बुद्धिजीवी सम्बन्धित क्षेत्रका विशेषज्ञहरूको मार्गदर्शनुरुप इमानदारीका साथ अनावश्यक टुक्का प्रयोग नगरी स्वस्थ जीवनको कामना गर्दै मुलुकको विकास र समृद्धिका लागि बाँकी दिन सफलतापर्वूक कार्य गर्न सकून् भन्ने अपेक्षा राख्दै नव वर्ष २०७७ सालको प्रधानमन्त्रीलाई हार्दिक शुभकामना !
 २०७७।०१।१।२

Leave a Reply

Your email address will not be published. Required fields are marked *