भर्खरै :

नयाँ वर्षको स्वागतमा सलहेस फूल

लालबहादुर भुजेल
वर्षभरिका चाडवाड, रीतिरिवाज, परम्परा, भेषभूषा, दुःख–सुख, विधि–व्यवहारको शिलशिलामा नयाँ वर्षको स्वागत र अघिल्लो वर्षको बिदाइ अनायासै आएजस्तो लाग्छ । यसरी रमाउँदै, घमाउँदै समस्याहरूको निपटारा गर्दा गर्दै आफू बुढो भएको पत्तै पाउँदैनौँ । यो त मानिस, पशुपक्षी, कीट–पत·हरूको जीवनचक्रको अकाट्य नियम हो ।
            विश्वव्यापी रूपमा नोवेल कोरोना भाइरसको भयावहको कारण भौतिक उन्नतिको चरमोत्कर्षमा पुगेको मानबमस्तिष्कलाई प्रकोपमाथि विजय पाउनुपर्ने आजको अवस्था छ । हालसम्म संसारभरि सङ्‍क्रमित भई मर्नेको सङ्ख्या एकलाख नाघेको र सङ्‍क्रमितको सङ्ख्या एकचौथाइ करोड पुगिसकेको छ । तीव्ररूपमा सङ्‍क्रमण बढेसँगै सर्वत्र हाहाकार  भई मानव जगत, जीवजन्तु, उद्योग–व्यवसाय, कामकाज, भेला जमघट, कार्यक्रम, विकास–निर्माण, शैक्षिक, धार्मिक, सामाजिक, सङ्घ–संस्था, सरकारी-गैरसरकारी कार्यालयहरू, (स्वास्थ्य संस्था, सुरक्षा निकाय, बैङ्क, खाद्यान्न, तरकारी, औषधि पसल, सञ्चारमाध्यम बाहेक) चैत ११ देखि नेपालभर सरकारी ‘लकडाउन’ उर्दीपश्चात ठप्प छन् । इतिहासमा विश्व समुदायले विकराल अनुभूतिको स्वाद चाखेको यो पहिलो घटना भने होइन ।
            यो सङ्‍कटकालीनमा पनि मजदुर दैनिक र श्रमिक साप्ताहिक भने अरु केही पत्रिका र सञ्चारमाध्यमजस्तै बेरोकटोक पाठकसामु आएको देखियो ।
नयाँवर्ष
            विक्रम संवत्अनुसार प्रत्येक वर्षको वैशाख १ गतेबाट नयाँ वर्षको शुभारम्भ भएको मानिन्छ । हुन त, विक्रम संवत् बाहेक शङ्खधर साख्वाको नाममा प्रचलित नेपाल संवत् पनि चलन–चल्तिमा छ । त्यस्तै ईस्वी संवत् युरोप, अमेरिकालगायत संसारका धेरै  राष्ट्रहरूमा प्रयोगमा देखिन्छ । सबै संवत्का आ–आफ्नै मूल्य–मान्यता र महत्व छन् । इतिहास मानव, प्राणी जगत, वनस्पति आदिको पौराणिककालदेखिका सकारात्मक र नकारात्मक स्मरणयोग्य दस्तावेज हो । यो कालखण्डका घटना, दृश्य–परिदृश्य, तिथिमिति राखेर इतिहास लेखनमा सरलीकरण गर्ने सामग्री हो । बिक्रमादित्यले चलाएको संवत् नै विक्रम संवत् हो । उनको नेपालसँगको सांस्कृतिक सम्बन्ध गाढा हुनुमा नेपालस्थित साँखु बज्रयोगिनी मन्दिरमा अवस्थित शिरलाई नै बिक्रमादित्यको शिर मान्नेहरू पनि छन् । भारतको मध्यप्रदेश प्रान्तको राजधानी ‘भोपाल’ नजिकै रहेको ठाउँमा तत्कालीन राजा नरेश ओजका पूर्ववर्ती प्रशासकको रूपमा बिक्रमादित्य चयन गरिएका थिए । कतिपयले त उनलाई उज्जैन नरेशको रूपमा पनि बखान गरेका छन् ।
            नेपालमा हालैका वर्षमा विदेशीको सिको गर्ने प्रवृत्ति धेरै बढे पनि विक्रम संवत्प्रति नेपालीमा अपनत्वको भावना हुनुका केही कारणहरू छन् । जस्तैः विक्रम संवत्मा रहेको समयमापनको मापदण्ड, संस्कार चालनचलन, धर्म–संस्कृति, भेषभूषा, परम्परा तथा ज्योतिविज्ञानसँगको सामीप्यता, वैज्ञानिक र व्यवहारिक भएकोले विक्रम संवत्को आकर्षण र निरन्तरता भएको देखिन्छ ।
वर्षमा एक दिन फुल्ने फूल सलहेस
            सप्तरी जिल्लाको खड्ग नगरपालिका– ४ स्थित कल्याणपुरको सलहेस फूलबारीमा एउटा पीपलको रुखमा सलहेस फुल फलेको हेर्ने मानिसको घुइचो लाग्ने गरेको छ । लाहान नगरपालिका सहिदचोकदेखि ३ कि.मि. पश्चिममा, लाहान– ११ र २२ मा पर्ने हारमको बोटमा वैशाख १ गते एक दिनमात्र फुल्ने यो फूल विशेष प्रकारको छ ।
            वैशाख १ गते नव वर्षकै दिन मिथिलावासी वनस्पति तथा जीव–जन्तुको संरक्षण गर्ने र मिथिलामा सरसफाइ गरी मनाउन गर्छन् । वर्षको एकपटक त्यही दिन सलहेस फूल  फुलेर प्रकृतिले पनि नव वर्षको शुभकामना सन्देश प्रवाह गरेको अनुभूति हुन्छ ।
            त्यो एकदिनमात्र फुल्ने अद्‍भुतत सलहेस फूल लोकगाथा र आस्थासँग जोडिएको छ । सलहेसलाई जयवद्र्धन पनि भनिन्छ । कतिपय मैथिली लोकगाथाका अध्ययनकर्ता एवं इतिहासकारहरूले सलहेसलाई पाचौँ–छैटौँ शताब्दी ताकाको भने पनि अर्का विद्वान महेन्द्र मलगियाले विभिन्न तर्कको आधारमा सातौँ–आठौँ शताब्दीको भनेका छन् । मलगिया तराईमा एक हेपिएको दलित जात ‘दुसाध’का मधेस र पहाडको साँधमा रहेको राज्य तिरहुत (मिथिला) का राजा थिए । सिराहा जिल्लाको सदरमुकाम सिरहा नगरपालिकामा रहेको महिसौथा गढमा यिनको राजधानी थियो ।
            स्थानीयको भनाइअनुसार, सलहेस फूल एकदिन अगाडि कोपिलाको अवस्थामा जङ्गलको मध्यमागको रुखको बीच भागमा सेतो माला झुण्ड्याएजस्तो अनौठो मनमोहक र विचित्रको चित्ताकर्षक फूल वैशाख १ गतेमात्र फुल्छ । त्यो फूल फुलेको हेर्न भारततिरबाट पनि हजारौँ मानिस त्यहाँ आउने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *