भर्खरै :

विशेष बाजा बजाई गरिने बोडेको पस्ता थाय्गु जात्रा 

-प्रेम के. निडर
     नेपाल संस्कृतिप्रधान देश हो । नेपालीहरूको संस्कार संस्कृतिअनुसार जात्रापर्वहरू धेरै छन् । धार्मिक हिसाबले मनाउने भए पनि जात्रापर्वको महत्व आफ्नै ठाउँमा छ ।
            जात्रापर्वहरू धेरैजसो नेवार समुदायले मनाउने गरेको पाइन्छ । जात्रापर्व नेवार जातिको मौलिक संस्कृति भन्न सकिन्छ । जहाँ–जहाँ नेवार समुदायको बस्ती छ त्यहाँ–त्यहाँ आ–आफ्नै प्रकारले जात्रा पर्व मनाइरहेको देख्न सकिन्छ । नेवार समुदायले प्राचीनकालदेखि मनाउँदै आइरहेको जात्रापर्व छोड्न सकेको देख्दैन । कतै देवीदेवताको खः कुबिया (रथ बोकेर) त कतै रथ तानेर मनाइरहेको देखिन्छ । त्यस्तो जात्रा पर्व मनाउनेमा कुनै न कुनै ऐतिहासिक किंवदन्ती रहेको देखिन्छ ।
            रथ बोकेर (खः कुबिया) मनाउने जात्रापर्वमा सात गाउँले जात्रा, बिस्केट जात्रा, बनेपाको चन्देश्वरी जात्रा, पनौतीको इन्द्रेश्वर र उन्मत्त भैरवको जात्रा, देवपतनको भुवनेश्वरीको जात्रा, साँखुको बज्रयोगिनी जात्रा, हाँडीगाउँको गहना खोज्ने जात्रा र थिमीको बालकुमारी जात्रा, बोडेको महालक्ष्मी र नीलबाराहीको जात्रा, लुभुको महालक्ष्मी जात्रा हुन् । अन्य नेवार बस्तीहरूमा पनि आ–आफ्नो बस्तीको मुख्य देवताहरूको खत बोकेर जात्रा पर्व मनाउँदै आएको देखिन्छ । प्राचीनकालदेखि चलाउँदै आएका यी जात्रा पर्वहरू हालसम्म चलाउँदै आएको देखिन्छ । यस्तै ऐतिहासिक संस्कार संस्कृतिलाई जीवन्त दिने काम भक्तपुर जिल्लाको थिमी नगरपालिका वडा नं ८ र ९ मा पर्ने बोडेवासीहरूले गर्दै आएको देखिन्छ ।
            बोडे एक ऐतिहासिक र सांस्कृतिक महत्व भएको प्राचीन सहर हो । बोडेको ऐतिहासिक र सांस्कृतिक जात्रापर्व र त्यहाँका ऐतिहासिक गण नाचले पनि प्रस्ट पार्दछ । बिस्केट जात्रा, दसैँको दसमीमा गरिने खड्ग जात्रा, भदौ पूर्णिमाको दिन गरिने गणेशको खः बोकी गरिने जात्रा, गाईजात्राको बेला  राँगोको खुट्टा फाल्ने जात्रा र अर्को ऐतिहासिक नीलबाराही गण नाच बोडेको प्रमुख जात्रापर्वहरूमा पर्दछ । यी जात्रापर्वमध्ये बिस्केट जात्राको बेला गरिने पस्ता थायेगु (तीनमुखे बाजा बजाएर गरिने जात्रा) जात्रा पनि एक हो । बिस्केट जात्राको जिब्रो छेड्ने जात्रा र नीलबाराही गण नाचसँग सम्बद्ध यो जात्राको आफ्नै किंवदन्ती छ ।
            नयाँ वर्षको पहिलो दिन अर्थात् प्रत्येक वर्षको वैशाख १ गते नयाँ वर्ष हर्ष र उल्लासका साथ मनाइन्छ । बिस्केट जात्राको रमाइलो बेलामा गरिने यस पस्ता थायेगु जात्राको किंवदन्तीअनुसार बोडेका मानिसहरू पहिले नीलबाराहीको जङ्गलको पश्चिमपट्टि रहेको शङ्खकोट भन्ने ठाउँमा बस्ने गर्दथे । त्यतिबेला नै कोटको रूपमा विकास भएको शङ्खकोटका मानिसहरू खेतमा काम गर्न जाँदा नीलबाराहीका सङ्गिनी भूतप्रेत पनि खेतमा आई काममा सघाउने गर्दथे र खाजा खाएर फर्कने गर्थे । तर, ती नीलबाराहीका सङ्गिनीहरू रिसाएको बेलामा आफ्नो सक्कली रूप देखाएर तर्साउने गर्दथे । त्यसरी बरोबर तर्साउन आउने गरेकोले शङ्खकोटका बासिन्दाहरूले त्यहाँबाट अलि परको समथर जग्गामा आई बस्ती बसालेका थिए । समथर जग्गामा बस्ती बसालेको त्यस बस्तीलाई बुँदे भन्ने गरेको र बुँदेलाई पछि बोडे भन्ने गरेको जनधारणा छ ।
            नीलबाराहीका सङ्गिनीहरूले बोडेका मानिसहरूलाई बरोबर तर्साउन थालेपछि बोडेका मानिसहरूले हैरान भएर भीमदत्त आचार्य भन्ने तान्त्रिकलाई अनुरोध गरे । भीमदत्त आचार्यले बोडेभरि कोही पस्न नसक्ने गरी तारण हालेर बोडेका मानिसहरूलाई पनि घरबाट बाहिर ननिस्कन आदेश जारी गरे । एकदिन नदीको किनार भएर आएका नीलबाराहीका सङ्गिनी त्यस तारणमा परे । त्यस तारणमा परेको पिसाचलाई समातेर केरकार गर्दा नीलबाराहीका सङ्गिनी परेको खुलासा भयो । रिसले चुर भएका बोडेका मानिसहरूले त्यस पिसाचलाई समातेर त्यसको कपाल काटी लामो सइरोले जिब्रो छेडी सजाय दिए । भाग्ने डरले खुटटामा घुँघरु लगाई महादीप बोक्न लगाई बोडेको गल्ली–गल्लीमा घुमाएको भनाइ छ । किंवदन्तीअनुसार भीमदत्तले एकदिन नीलबाराहीका सङ्गिनीलाई दुःख दिएकोले नीलबाराही रिसाएको सपना देखेछ । सपनामा नीलबाराही रिसाएकोले नीलबाराहीको रिस शान्त पार्न भीमदत्तले नीलबाराही गण नाचको विशेष बाजा र प्वङा बजाएर क्षमापूजा गरेको थियो । जसलाई पस्ता थायेगु भन्ने गरिन्छ । पस्ता भनेको पछुताउ अर्थात् प्रायश्चित हो भने थायेगु भनेको बाजा बजाउने हो । नीलबाराही गण नाचको विशेष नाच खः त्यलिगु जात्रामा मात्र बजाउने तीनमुखे बाजा र प्वङा (एक किसिमको बाँसुरी जस्तो लामो बाजा हो । यो देवी देवताको शुभकार्यमा मात्र बजाउने गरिन्छ ।) बजाएर प्रायश्चित स्वरूप क्षमापूजा गर्ने गरिन्छ । जसलाई पस्ता थायेगु जात्रा भनेर प्रसिद्ध छ । महालक्ष्मी मन्दिरको अगाडि गरिने त्यस पस्ता थायेगु क्षमापूजा सकिएपछि भीमदत्तले जनतालाई भूतप्रेत र पिसाचहरूबाट बचाउन, देशमा महामारी, अनिकाल, अनावृष्टि र अतिवृष्टिबाट जोगाउन महालक्ष्मी मन्दिरको पहिलो छानाको गजुरबाट मन्दिरभित्रको मूर्तिको छिफलसम्म कपडाको तारण (दिःपता) राखेर पूजा चलाएर गएको थियो । जुन परम्परा यद्यपि चल्दै छ ।
            पस्ता थायेगु कार्यक्रममा गरिने पूजा विधि तान्त्रिक विधि विधानअनुसार हुने गर्दछ । नीलबाराहीको रिस शान्त पार्न भनेर गरिने त्यस पस्ता थायेगु कार्यक्रममा गरिने पूजा किन महालक्ष्मीको मन्दिरमा गरियो भन्ने कुरामा संस्कृतिविज्ञ पञ्चकृष्ण दली भन्नुहुन्छ, “महालक्ष्मी देवीहरूका महादेवी हुन् । ब्रम्हयणी, रुद्रायणी, वैष्णवी, नीलबाराही, कुमारी, चामुण्डा, इन्द्रायणी, भैरवी र बसुन्धरा यी देवीहरूको संयुक्त रूप हो । त्यसकारण नीलबाराहीको मन्दिरमा नगइकन महालक्ष्मी मन्दिरमा क्षमापूजा गरेको हो ।”
            पस्ता गुठीका मानिसहरूले सञ्चालन गर्ने उक्त पूजा कार्यक्रममा विशेष आकर्षण भनेको मुख्य गुरुको आदेशमा सहायकको चः चच ह भनी मूल मन्त्र उच्चारणमा तीनमुखे बाजा तीन पटक बजाउने र प्वङा (प्वाल नभएको बाँसुरी जस्तो एक किसिमको सङ्गीत साधन हो । यो देवी देवताको लागि गरिने शुभकार्यमा मात्र बजाउने गरिन्छ ।) फुकी नृत्यनाथको आराधनापछि नीलबाराही गण नाचको विशेष नाच खः त्यलिगु नाच (इलाका कब्जा गर्ने नाच) मा बजाउनुपर्ने बाजाको सबै ताल र प्वङाको शुरताल बजाउने गरिन्छ । खः त्यलिगु नाच अथवा इलाका कब्जा गर्ने नाच नीलबाराही गण नाचको प्रमुख विशेषता झल्काउने नाच भएकोले यो १२ वर्षमा एकचोटि नचाउने गर्दछ । पस्ता थायेगु कार्यक्रममा १२ वर्षे विशेष नाचको मात्र बाजा बजाउने भएकोले कोही कोही यो बाजा र प्वङाको शुरताल बिर्सने डरले प्रत्येक वर्ष त्यसलाई सम्झना दिलाउन गरेको कार्यक्रम भन्नेहरू पनि छन् ।
            पस्ता थायेगु कार्यक्रममा भिन्दुवा थरका मान्छेहरू मुख्य गुरु, था थरका प्वङा गुरु र ध्वों, चन्द्यो, गःसी र बखुं थरका प्वङा फुक्ने समूह रहने गर्दछ भने दली, खपे र नोको थरका मानिसहरूले नीलबाराही गणका देवी देवताहरूको मन्त्र गीत गाउने परम्परा छ । उनीहरूलाई गाइने पनि भन्ने चलन छ । भिन्दुवा थरका मानिसहरू भीमदत्तका पुर्खाहरू भएकाले भीमदत्तपछि उक्त पस्ता थायेगु कार्यक्रममा भिन्दुवाहरूमात्र मुख्य गुरु भई सञ्चालन गर्दै आएको जनधारणा छ । तर, कति जना भिन्दुवाहरू मुख्य गुरु भई सञ्चालन गरेर गइसके भन्ने कुरा थाहा नभए पनि तुइलाल भिन्दुवा, हर्कनसिं भिन्दुवा, देव्रे भिन्दवाको मृत्युपछि हाल बाबुकाजी भिन्दुवा मुख्य गुरु भएर सञ्चालन गर्दै आएको छ ।
            पस्ता थायेगु जात्रा बोडेको बिस्केट जात्राको जिब्रो छेड्ने जात्रापछिको दोस्रो ऐतिहासिक  जात्रा हो । बोडेको मुख्य देवता महालक्ष्मी हो । बोडेको बिस्केट जात्रामा महालक्ष्मी देवीको मुख्य भूमिका हुन्छ । पस्ता थायेगु कार्यक्रमको मध्यतिर सबै बाजागाजाका साथ महालक्ष्मी गुठीको पालोवालाको घरबाट महालक्ष्मीको मूर्ति लिएर आएपछि मन्दिरमा विराजमान गरिन्छ । त्यस दिन महालक्ष्मी खुसी पार्न विभिन्न बाजागाजा र भजनमण्डलहरू आई भजन गर्ने र कोही चिराग बत्ती बाल्ने, कोही मन्दिरको वरिपरि बत्ती बाल्ने काम पनि गरिन्छ । त्यस दिन बोडेका र बोडे बाहिरबाट आएका महिलाहरू विभिन्न वस्त्र लगाई महालक्ष्मी मन्दिर घुम्ने गरिन्छ ।
            यसरी घुमे मनको इच्छा पूरा हुने र सुख समृद्धि मिल्छ भन्ने भनाइ छ । महालक्ष्मी स्थानमा पस्ता थायेगु अन्त गरेपछि त्यो समूह सबै बोडेको लाछी टोलस्थित कालिका माईको खः मा विराजमानका लिकामाई दर्शन र बिदाइपछि बोडेको खांसी टोलमा रहेको नीलबाराही मन्दिरमा गई कार्यक्रम सिध्याउने गरिन्छ र त्यसपछि बोडेको विधिवत जात्रा शुभारम्भ हुन्छ भन्ने भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *