भर्खरै :

सिमानाको कुरा


– नरेश खत्री
केही सिमानाको कुरा गरौँ । सारा संसार कोरोना भाइरसको महामारीबारे कुरा गरिरहेको बेला सिमानाको कुरा अलिक अनौठो सुनिएला । पश्चिम नेपालको महाकालीको कुरा ।
डेढ महिना जति अगाडि मध्यपश्चिम र सुदूरपश्चिम नेपालको भ्रमणको मौका पारेर सुदूरपश्चिम नेपालको महाकाली नदीमा निर्मित टनकपुर बाँध, शारदा बाँध, सिमानाका केही गाउँबस्ती र महाकालीपारिका गाउँहरू चाँदनी–दोधाराको भ्रमण गरेका थियौँ ।
सिमानाको कुरा गर्दा कहिले हाम्रो मन कटक्क खान्छ त कहिले रीसले आगो हुन्छ । हाम्रो देश तीनतिरबाट मिचेको मिचेकै छ । गायक विनोद विकको गीत पङ्क्ति छ –
हामी त खुम्चँदै आइसक्यौँ, अब त सोच्नै पर्ने भो
उठौं न नेपाली दाजुभाइ, सहेर कति बस्ने हो ?
दुखेको महाकाली नदी
कार्यक्रम विशेषले सुदूरपश्चिम पुगेको बेला फागुन २३ गते हामीले शारदा बाँध, टनकपुर बाँध र महाकाली नदीपारिका गाउँहरू चाँदनी र दोधारा (हाल महाकाली नगरपालिका) भ्रमण गर्‍यौँ । महाकाली नदीको मुहान लिम्पियाधुरा र कालापानी नेपालको हो भन्ने विषयमा देशभरी आन्दोलन भइरहेको बेला हामी महाकाली नदी टेकिरहेका थियौँ । उद्गमस्थल लिम्पियाधुराबाट दुखेको महाकाली दक्षिणपश्चिम नेपालको कञ्चनपुरसम्म बग्दा पनि दुखिरहन्छ । त्यही दुखाइलाई नजिकबाट महसुस गर्न महाकालीमा बाँध बनेर दुखेका शारदा र टनकपुर बाँध हेर्न गएका थियौँ ।
टनकपुरको ननिको घाउ
टनकपुर बाँध नजिकै ब्रह्मदेव बजार छ । हामी पुगेलगत्तै त्यहाँ सिमसिम पानी पर्न थाल्यो । त्यहाँ तीन महिनाको लागि ठूलो मेला लाग्दै थियो । बजारका कुनै – कुनै पसलहरू रङरोगन पनि भइरहेका थिए ।
टनकपुर बाँध हेरिसकेपछि हामी त्यहाँको सीमा प्रहरी चौकी गएर एकछिन प्रहरीहरूसँग छलफल गर्‍यौँ । सीमा प्रहरी चौकीमा २३ जना प्रहरीको दरबन्दी रहेछ । त्यसको अलिक माथि सशस्त्रको ३०–३५ जनाको क्याम्प पनि रहेछ । केही वर्ष यता भारत धेरै वर नेपालतिर मिच्दै आइरहेको हामीले देख्यौँ । केही वर्षअगाडि त्यहाँ पुग्दा हामीले गाडी पार्किङ गरेको ठाउँमा अहिले भारतीय एसएसबीको क्याम्प राखेको देख्यौँ । यस विषयमा हामीले हाम्रो सीमा प्रहरीसमक्ष जिज्ञासा राख्यौं । त्यहाँका सई हामीलाई भन्दै थिए – सरकारले नै पहल नचालेपछि के गर्ने ? उनले बीच – बीचमा आफ्नो असन्तोष पोखिरहेका थिए । भारतीय एसएसबीले नेपालीलाई आफ्नो घरमा टीन छाउन दिएन, आधा बजार उसको भन्छ, सिद्धबाबा मन्दिर उसको हो भन्छ, हाम्रो देशका मन्त्रीहरू केही गर्दैनन् । साँच्चै सिमानामा विदेशीको हेपाइ सहेर काम गर्ने नेपालीहरूलाई कति रिस उठ्दो हो । सीमा प्रहरी चौकी पनि २०७३ सालमा स्थापना भएको थियो, त्योभन्दा अगाडि प्रहरी चौकी पनि भाडा बसेको थियो । कठै ! हाम्रो देशको सीमा सुरक्षा ।
टनकपुर बाँधको नजिकै सिमानामा रहेको ब्रह्मदेव बजारमा प्रसिद्ध सिद्धबाबाको मन्दिर छ । त्यहाँ होली पूर्णिमाको दिनदेखि तीन महिनासम्म मेला लाग्छ । बजारका नेपालीहरूको प्रमुख आम्दानीको स्रोत नै त्यो मेला रहेछ । तीन महिना कमाएर वर्षभरि खान्छौँ – एक स्थानीयले भने । मेला भर्न सीमापारि भारतका विभिन्न भागहरूबाट दैनिक सयौँ मानिस आउँछन् । त्यसैले भारतीय शासकहरू नेपालको सिद्धबाबा मन्दिरलाई आफ्नो भागमा पार्न खोज्दै छन्, बजारको आधा भाग उसको दाबी गर्दै छ, त्यहाँ बाटो बनाउने नगरपालिकाको ८५ लाखको ठेक्का नै भारतीय पक्षको अवरोधको कारण रद्द भएको रहेछ । नेपालको सीमा रक्षाको लागि पहल गरेर सीमा नियमित गरे हामीलाई काम गर्न सजिलो हुन्थ्यो – एक प्रहरी अधिकारीले हामीलाई भने ।
यही थियो हामीले प्रत्यक्ष देखेको पश्चिम नेपालको महाकाली नदीमा बनेको टनकपुर बाँधको कुरा । त्यसपछि हामी गयौँ – शारदा बाँधमा ।
शारदा बाँधको ढोका
शारदा बाँधको लामो इतिहास छ । यो राणाकालमै बनेको थियो । सन् १९२० मा भारतको इस्ट इन्डिया कम्पनी र नेपालका राणा शासकबीच सम्झौता भएर कञ्चनपुरको गड्डाचौकी नजिक महाकाली नदीमा बाँध बनाइएको थियो । त्यसैलाई शारदा बाँध भनियो । त्यो बाँध नेपालको सिमाना नदीमा बनेको भए पनि त्यहाँ हामीलाई प्रवेशको लागि भारतको अनुमति चाहिन्छ । त्यहाँ हामीलाई फोटो खिच्न निषेध गरिएको छ । केही वर्षअगाडि त्यहाँ फोटो खिचेका कारण एक साथीलाई भारतीय सुरक्षाकर्मीले  गाली गर्दै क्यामेरा खोसेको याद थियो । त्यसैले हामीले त्यहाँ हाम्रो क्यामेरा निकालेनौँ । कस्तो विडम्वना ! हाम्रो देशमा एउटा फोटो खिच्न हामी कुनै अर्को देशसँग डराइरहेछौँ ।
गर्मी याममा महाकाली नदीमा बाढी आउँछ । त्यसैले शारदा बाँधको ढोका खोल्दा नेपालका बस्तीहरू डुबानमा पर्छन् । बाँध बनाएर भारततिर सबै पानी लगिएको छ, नेपालतिर सानो ढल जतिको पानीमात्र आउँछ । त्यसरी भारततिर ठूलो मात्रामा पानी लगिएको हुनाले महाकाली नदीमा बाढी आउँदा भारत शारदा बाँधको ढोका खोल्न हतारिन्छ । आखिर साँचो उसैसँग हो – जुन बेला खोले पनि भयो जुन बेला बन्द गरे पनि भयो । नदी नेपालको भए पनि भूमि नेपालको भए पनि उसलाई के मतलब ? बाँधका ढोकाहरू खोलिँदा कञ्चनपुरको भीमदत्त नगरपालिकाका धेरै बस्ती र महाकाली नगरपालिकाका चाँदनी र दोधारा पूरै डुबानमा पर्छन् । त्यसैले शारदा बाँधको ढोका नेपालीका लागि धोका हो ।
त्यही शारदा बाँधभन्दा केहीमाथि महाकाली नदीमै भारतले बनाएको अर्को बाँध हो – टनकपुर बाँध । २०४८ सालमा तत्कालीन प्रम गिरिजाप्रसाद कोइरालाले भारत गएर टनकपुर सन्धि गरेपछि नेपालमा धेरै विरोध र आन्दोलन भएको थियो । पछि २०५३ सालमा काङ्ग्रेसकै प्रम शेरबहादुर देउवाले एमालेसँग मिलेर महाकाली सन्धिमा हस्ताक्षर गरेका थिए । त्यो बेला महाकाली सन्धि खारेज गर भन्दै काठमाडौँमा ठूलाठूला जुलुसहरू भएको स्मरण ताजै छ । महाकाली सन्धिको विरुद्ध विद्यालय विद्यालयमा कक्षाहरू सञ्चालन भएका थिए, हामी पनि सहभागी भएका थियौँ । त्यो बेला अहिलेकै हाम्रा प्रम ओलीले महाकाली सन्धिले नेपाल झिलिमिली हुने, पश्चिमबाट सूर्य उदाउने र स्याटलाइटबाट बिजुली बेचेर नेपाल धनी हुने गफ दिएको पनि याद छ, हिजैजस्तो लाग्छ, आज २३ वर्ष भइसकेछ ।
भारतीय अतिक्रमण
सुगौली सन्धिले ‘सिमाना नदी’ भनेको महाकाली नदीलाई महाकाली सन्धिले ‘महाकाली नदीको अधिकांश भाग दुई मुलुकको सीमा नदी भएको’ उल्लेख गर्नु भारतीय अतिक्रमण हो भने त्यस्तो सन्धि गर्ने नेपालका शासकहरू देशघाती हुन् । नेपाल र भारतबीच महाकाली सन्धि भएको २४ वर्ष भए पनि सन्धिअनुसार नेपालले पाउनुपर्ने क्षतिपूर्ति, पानी, बिजुली र अन्य भौतिक संरचनाहरू केही पाएको छैन, दोधारा र चाँदनीलाई सिंचाइका लागि पानी पाउनुपर्ने विषयमा लामो समयदेखि माग गर्दै आए पनि त्यहाँका जनताले पानी पाएका छैनन् । पानी सबै बगेर भारततिर गइरहेको छ । नेपाल भागमा सुक्खा बगर परेको छ ।
बनवासा र टनकपुर आसपासका सिमाना क्षेत्रमा नेपालतिर सीमा अतिक्रमण बढ्दै गइरहेको बारे स्थानीयसँग कुराकानी गर्दै हामी महाकालीपारिका गाउँहरू चाँदनीदोधारातिर लाग्यौं ।
चाँदनी दोधारा
१५०० मिटर लामो चाँदनी–दोधारा झोलुङ्गे पुल एउटा पर्यटकीय आकर्षणको ठाउँ पनि हो । त्यो पुल तरेर महाकालीपारि गएपछि सुन्दर महाकाली नगरपालिकामा पुगिन्छ । साबिकको चाँदनी गाविस र दोधारा दुई गाविस गाँसेर महाकाली नगरपालिका बनेको छ । पुलपारि एउटा सानो बजार छ । बजारमा अटो स्टेसन पनि छ । हामी दुई वटा अटो लिएर चाँदनी दोधारा भ्रमण गर्दै सिमानासम्म पुग्यौं । अटोको भाडा प्रतिव्यक्ति एकसय रुपैयाँ थियो । अटो चालकले हामीलाई गाउँ घुमाउँदै सिमानामा पुर्‍यायो । सिमानामा जोगबुढा नदी छ ।

 
           अटोलाई जोगबुढा नदीमा रोकेर झोलुङ्गे पुर तरेर हामी महाकाली नगरपालिका – १० वडा स्थित कुतियाकवर क्षेत्रमा पैदल घुम्यौँ । त्यहाँको दशगजा क्षेत्र हेर्‍यौँ, स्थानीय जनतासँग कुराकानी गर्‍यौँ । सिमानाका समस्या उही, अतिक्रमण उही, जङ्गेपिलरहरू वरवर सरिरहने, सिमानाका नेपालीको समस्या उही – बेलुका सुत्दा नेपाली, बिहान उठ्दा भारतीय । नाउँ नेपालमा, गाउँ भारतमा ।
 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *