भर्खरै :

कोभिड–१९ सँग चोर पुलिसको खेल

-राजेश भोयद्यो
विश्व कोभिड–१९ को भूमरीमा परेको अवस्था सर्वज्ञात छ । विश्वका अधिकांश राष्ट्रहरूमा कडारूपमा लकडाउन जारी गरेको छ । संरा अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनीजस्ता विश्व शक्ति राष्ट्र आज यसको चपेटामा परेका छन् । कोभिड–१९ को हालसम्म कुनै निश्चित उपचार विधि प्रमाणित नभएको र खोप खोजेको अवस्थामा रहेको समयमा आफू संयमित हुँदै सरकारको लकडाउन पालना नै एकमात्र उपयुक्त औषधि हो ।
नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी, नगरपालिकालगायतका स्थानीय निकायले दिनकै कैयौँ पटक कोरोना (कोभिड–१९) का बारे जनचेतनामूलक सूचना माइकिङ् गर्दै आएको तथा विविध सञ्चारमाध्यमले बारम्बार सूचित गर्दागर्दै पनि बुझ पचाएर हामी कोरोना भाइरससँग लुकामारी खेल्दै छौँ । अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन गरेको बारम्बारको आग्रह हामी कुनै राजनैतिक बन्दजस्तै अटेर गर्दै उल्लङ्घन गर्दैै आएका छौँ । के यो आफू, आफ्नो परिवार, टोल छिमेक, समाज र देशकै लागि दिँदै गरेको धोका होइन ?
नेपालमा कोरोनाको सङ्‍क्रमण दोस्रो चरणमा प्रवेश भएको छ । यसको अर्थ आयातीत सङ्‍क्रमणबाट परिवारमा सरेको छ । अब यसरी विदेशबाट आफूमा, आफूबाट परिवार र परिवारबाट समाजमा सरे तेस्रो चरण प्रवेश गर्दछ र त्यसपश्चात्को भयावह स्थितिको अनुमान हामी गर्नैसक्तैनौँ । त्यसपश्चात् चौथो चरण प्रवेश गर्न खासै समय पक्कै लाग्दैन ।
यसरी हाम्रो देश चौथो चरणमा प्रवेश गरेको खण्डमा हामी हाम्रो देश समाज कुन अवस्थामा डोरिने हो, अन्दाज गर्नैसक्दैनौँ । हामी अहिले यस्तो अवस्थामा कमाउने धन्दा गर्‍यौँ भने त्यो कमाएको पैसा र जोहो गरेको रासनपानीको केही काम नहुने पक्का छ । विश्वशक्ति राष्ट्रलाई घुँडा टेकाएको यस अवस्थामा हाम्रो राष्ट्रले पनि पार लगाउन भरपुर मिहिनेत गरेको यस लकडाउन हामीले पनि आफू र आफ्नो प्रियजन, परिवार, समाजका लागि इमानदारिताका साथ पालना गर्नुको विकल्प छैन । प्रहरीले घरभित्र बस्न अनुरोध गर्न आउँदा लुक्ने र जानेबित्तिकै आँगन, चोकमा जम्मा भई फेरि गफ गरी, ठट्टा गर्नु भनेको आफू र आफ्नो परिवारको मृत्युसँग लुकामारी खेलेसरह हो ।
आज विश्वको २०९ देशहरूमा फैलिँदै विश्व महामारीको रूपधारण गरेको यस भाइरसले ९ लाखभन्दा बढीमा सङ्‍क्रमण पुष्टि र १ लाख बढीले मृत्युवरण गरेको अवस्था छ । यस्तो विषम परिस्थिति हाम्रो देशमा छिर्न नदिने एउटामात्र उत्तम विकल्प भनेको घरैमा बस्ने हो । यस रोगको कारण मृत्युवरण भएमा अन्य मृत्युभन्दा झन् पीडादायक हुन्छ भन्ने कुरा इटालीको अवस्थाबाट प्रस्ट छ । मृतकको राम्रोसँग अन्तिमसंस्कार समेत गर्न नसक्ने अवस्था सृजना हुन्छ ।
नेपालको छिमेकी मित्र राष्ट्र चीनको उहानबाट सुरू भई युरोप, अमेरिकाको भ्रमणपश्चात् अर्को मित्रराष्ट्र भारतबाट अब नेपाल भित्रिने पक्का छ । नेपालको तीनतिर रहेको खुला सीमानाका अबको चुनौती बनेको छ । नेपालले गरेको सीमा शिल्ड खुला सीमानाकाका कारण सोचेजस्तो सुरक्षित पक्कै छैन । भारतबाट नेपाल छिर्ने हजारौँ बाटाहरू खुलारूपमा रहेका छन् । खेत, ज·ल, ससाना खोलाहरूबाट स्थानीय गाउँको बाटोबाट नेपाल पस्न अहिलेको जस्तो सीमा शिल्डले छेक्न सक्ने अवस्था छैन । अतः भारतमा यस रोगले महामारी रूप लिएको खण्डमा सीमासँग जोडिएका प्रान्त राज्यबाट माइती, ससुराली, धर्म संस्कृति, साथीभाइको नाउँमा भारतीयहरू सीमा नाकाका गाउँ–गाउँ हुँदै काठमाडौँसम्म आइपुग्ने पक्का छ । हामीले खटाउने सुरक्षा व्यवस्था मुख्य नाकामा मात्र छन् । गाउँ–गाउँ, खेत, ज·लहरूमा पुग्न असम्भवप्रायः छ । अतः सीमा क्षेत्रका गाउँबस्तीहरूका व्यक्तिहरूले स्वतःस्फूर्तरूपमा जनचेतनामार्फत सुरक्षाका उपायहरू अपनाएमा मात्र यस भाइरसबाट हुने सङ्‍क्रमण रोक्न सक्षम हुन्छौँ ।
इलाम, पशुपतिनगर, मेचीनगर विराटनगर, राजविराज, जनकपुर, मलंगवा, गौर, वीरगञ्ज, सिद्धार्थनगर, लमही, नेपालगञ्ज, धनगढी, टीकापुर, गुलरिया, पुनर्वास, टनकपुर, महाकाली नदीलगायतका सीमा नजिकका गाउँहरूको स्थानीय जनता आफू यस रोगबारे चेतनशील हुनु जरुरी छ । यी सम्पूर्ण स्थानमा तारजाली लगाई नाका शिल्ड गर्ने यो सही समय हो र कोभिड– १९ को भारतबाट रोक्ने दीर्घकालीन र सर्वोत्तम उपाय हो । अब नेपाल सरकारले सीमानाका तारबारसहित शिल्डको गर्न विलम्ब गर्नु आफ्नो नागरिकको जीवन रक्षामा खेलबाड गर्नु हो ।
काठमाडौँ उपत्यकाको भक्तपुर नेपालकै शिक्षितहरूको जिल्लाको रूपमा चिनिन्छ । अझ एक घर एक स्‍नातक रहेको भक्तपुर नगरपालिकाका हामी बासिन्दाले आफ्नो चेतनास्तर उच्च रहेको प्रमाणित गर्ने बेला आएको छ । आज आफ्नो परिवार, नजिकका छिमेकी तथा टोलवासीलाई यो युद्ध घरभित्रै रहेर जित्न र हामी योद्धाहरू घरभित्रै बस्न सम्झाऔँ । आफ्नो घर परिवारमा आफ्नो बात नलागे अन्य छिमेकीमा मात्र भए पनि सचेत गरौँ । कोरोनासँग लुकीछिपी गर्नु मृत्युसँग लुकीछिपी गर्नु हो । एउटा सानो गल्तीले परिवारै सखाप हुनसक्ने हुँदा यस्तो गल्ती नगरौँ र गर्न नदिऔँ । घरभित्रै रहौँ, आफू सुरक्षित होऔँ र अरूलाई पनि सुरक्षित बनाऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *