भर्खरै :

के नेता दाहाल र पौडेलको घैँटामा घाम लागेकै हो त !

  • वी. आर. प्रजापति

वैशाख ७ गतेको कान्तिपुर दैनिकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालको अन्तर्वार्ता र काङ्ग्रेस नेता रामचन्द्र पौडेलको कृषिसँग सम्बन्धित लेख हेर्ने अवसर पाएँ । उहाँहरू दुवैको अन्तर्वार्ता र लेखमा पस्किएका विचार र दृष्टिकोणहरू पढ्दा विगतमा आफूहरू पदमा बस्दा देश अनि जनताको हितको लागि देखिने गरी काम गर्न नसकेकोमा आत्माआलोचितको अनुभव भयो । अहिले भोकमरीको सम्भावना देखिएकोले सरकारलाई कृषि क्रान्तिको लागि सुझावहरू दिइएको देख्दा के दुवै नेताको घैँटोमा घाम लागेकै हो त ! भन्ने जिज्ञासा उब्जिएको छ ।
अन्तर्वार्ताको क्रममा अध्यक्ष दाहालले कोरोनाको महामारी फैलिएको कारण छिमेकी देश भारत, अरब देश, युरोप, अमेरिका, मलेसिया, अष्ट्रेलियालगायतका देशहरूमा बाध्यतावस रगत पसिना बगाइरहेका नेपाली दाजुभाइहरू बेरोजगार भएर भोक र रोगले आफ्नो ज्यान बचाउन जीवन सुरक्षाको लागि आफ्नै मातृभूमि फर्कदै छन् भन्दै राजनैतिक र आर्थिक सङ्कट आउनसक्ने कुरामा चिन्ता व्यक्त गरेका छन् । त्यसबेला नेपालमा गरिब जनताले काम पाउने छैनन्, खान पाउने छैनन् र दुःख पाउने हुँदा मानिसको जीवनलाई प्राथमिकता देखाओस्, नाफालाई होइन भनेर याचना गरिएको छ । सम्भावित महामारी र भोकमरीले गर्दा रोजगारविहीन भएर मातृभूमि नेपालमा फर्केर ज्यान सुरक्षित गर्न उठाएको आवाज, चित्कार सुनेर काठमाडौँलगायतका विभिन्न सहर, गाउँ–ठाउँबाट भोक र रोगबाट बच्न हप्तौँ दिनसम्म भट्भटी पोल्ने पिच बाटोमा नाङ्गो खुट्टाले भोकभोकै आ–आफ्नै घर फर्किरहेका, हिँड्दा हिँड्दै खुट्टा दुखेर, सुनेर, घाउ भएर हिँड्न नसकेकी आफ्नी श्रीमतीलाई काँधमा बोकेर हिँडिरहेका, पिठ्यूँ, काँधमा अबोध बालबच्चाहरू, गुन्टो बोकी हिँडिरहेका, लडेर हिँड्न नसकी जङ्गलको बीच बाटोमै घाइते बिरामी श्रीमान्लाई छोडेर परेकी गरीब जनताको दुःख, पीडा देखेरमात्र भावनामा डुबी याचना गरिएको हो भने त्यो गोहीको आँसु बगाउनुबाहेक केही हुनेछैन ।
नेता दाहालले याचना गर्नुभएको छ, अब हामीलाई त्यस्तो आर्थिक प्रणाली चाहिएको छ, जसले मानिसको जीवन र समाजलाई प्राथमिकता देओस्, नाफालाई होइन । उहाँले कसलाई याचना गर्नुभएको हो ? के उहाँ सत्तारुढ दलका प्रमुख जिम्मेवार नेता होइन ! व्यक्ति कम्युनिस्ट, पार्टी कम्युनिस्ट अनि व्यवस्था, शासन चाहिँ नाफामा आधारित शोषणमा आधारित प्रणाली लागू गरेर कहीँ जीवनलाई हेर्ने, समाजलाई हेर्ने व्यवस्था हुन्छ र आउँछ र ! विगतमा दुई–दुई पटक प्रधानमन्त्री भइसकेका नेतालाई के त्यो बेला घैँटोमा घाम लागेन ?
अन्तर्वार्तामा उहाँले समाजवादी व्यवस्थाको गुण र पुँजीवादी व्यवस्थाको खोट देखाउनुभएको छ र भन्नुभएको छ । हामीले देख्यौँ नि, निजीकरणको नाममा खडा गरिएका विभिन्न खालका व्यापारिक संस्थाहरूले नेपाली जनतालाई कोरोनाबाट बचाउन र कोरोनालाई नियन्त्रण गर्ने काममा मद्दत गरेनन् । जहाँ अलि सामूहिक जीवन पद्धति छ, जनतालाई बढीभन्दा बढी अधिकार दिने र उनीहरूका हितलाई प्राथमिकता दिने राष्ट्रहरू (चीन, क्युवा, प्रजग कोरिया, भियतनाम आदि) छन् त्यहाँ कोरोनाले अझै त्यति धेरै आक्रमण गर्न सकेको छैन अलि खुला अर्थतन्त्र, खुला बजार, नवउदारवाद भनेर जसले बढी भन्यो, अमेरिका, युरोपमा सबैभन्दा बढी आक्रमण भएको छ । त्यहाँ त राज्यमा अराजकता, खानपिनमा अराजकता, संस्कृति, विकास प्रणालीमा अराजकता छ । त्यही अराजकताको परिणाम कोरोनाको आक्रमण बढी भयो । तर, प्रजग कोरियामा भने अहिलेसम्म देखिएको छैन । उहाँले समाजवादी व्यवस्थाका राष्ट्रहरूको नाम नलिइकन घुमाउरो पाराले प्रशंसा गर्नुभएको छ । खुला अर्थतन्त्र, खुला बजार, नवउदारवाद भनिने अमेरिका, युरोपजस्ता देशहरूमा सबभन्दा बढी आक्रमण भएको छ । उहाँको यो विचार, अभिव्यक्ति सकारात्मक भए पनि व्यवहार नकारात्मक देखिन्छ । उहाँहरूले सिस्नु रोपेर तुल्सीको याचना गर्नुभएको छ । जुन व्यवहारमा सम्भव छैन र विज्ञानसम्मत छैन । व्यवहारमा उहाँहरूले आफ्नो शासन कालमा अमेरिका, युरोपलगायतका पुँजीवादी देशहरूले अपनाइरहेको अराजक खुला अर्थतन्त्र, खुला बजार, निजीकरण र नवउदारवादलाई नै निरन्तरता दिइरहनुभएको छ । का.रोहितले भन्नुभएको थियो, “उहाँहरू हिजो नामले कम्युनिस्ट भए पनि कामले, व्यवहारले भाइ काङ्ग्रेस थिए भने आज काङ्ग्रेसलाई माथ गरेर दाइ काङ्ग्रेस भइरहेका छन् ।”
अब लागौँ, काङ्ग्रेस नेता रामचन्द्र पौडेलको नेपालमा कृषि क्रान्ति ल्याउने लेखतर्फ । भनिन्छ, महामारी, भोकमरी, दुर्घटना, प्राकृतिक प्रकोप आदि बाजा बजाएर आउँदैन, सूचना दिएर पनि आउँदैन । यसको सामना गर्नु चुनौतीपूर्ण हुन्छ । जुन आज हामी भोगिरहेका छौँ । विश्वले भोगिरहेको छ । सम्भावित महामारी र भोकमरीको कारण नेपालमा रोजगारी र खाद्यान्न आपूर्तिमा समस्या देखिएपछि कृषि क्रान्तिको कुरा आएको छ । उहाँले नेपालको भविष्य सुनिश्चित गर्न कृषि क्रान्ति शीर्षकको लेखमा ‘महामारी भोकमरीको यस्तो परिस्थितिको सामना गर्नका लागि हामीले आफ्नै अवस्थिति आफ्नै प्रकृति र आफ्नै कौशलमा भरपर्नुको विकल्प छैन भन्नुभएको छ । त्यसका लागि उहाँले आफ्नै माटो, आफ्नै हावापानी, आफ्नै वनजङ्गल र नदीनालामा आधारित हुने कृषि क्रान्ति सुरु गरिहाल्नुपर्छ भनी आह्वान गर्नुभएको छ भने अर्कोतिर औद्योगिक विश्वबाट आयातीत विश्वव्यापीकरण, उदारीकरण र निजीकरणको लहरमा ‘माउ गए घमाउँदै, पाडा गए रमाउँदै’ भनेजस्तो हामी पनि रम्यौँ । कृषि प्रसार ठप्प र कृषि अनुसन्धान अलपत्र पार्यौं, कृषि सामग्री संस्थानलाई घाँडो मान्यौँ, कृषि औजार कारखाना ठाँडो बन्यो भनेर पछुताउ गरेको देखिन्छ । कृषिमा आत्मनिर्भर बन्न सरकारलाई तत्काल चाल्नुपर्ने कदम भनेर १६ वटा महत्वपूर्ण सुझावहरू दिनुका साथै ५ वटा सङ्कल्प र प्रण गरौँ भनी आह्वान गरिएको छ ।
हाल कोरोनाको महामारीको कारण देश र विदेशमा रहेका रोजगारी गुमेर खान नपाएर ज्यान जोगाउन आफ्नो घर, आफ्नो गाउँ, आफ्नो देश फर्कन चाहने नेपाली दाजुभाइहरूको आवाज अनि हप्तौँ दिन पैदलै खानपिन र बासको अभावमा बालबच्चाहरू बोकी हिँडिरहेका गरिब दाजुभाइहरूले पीडा भोगिरहेको समय छ । अहिले पनि समाजमा भन्ने चलन छ, बाँचुञ्‍जेल वास्ता छैन, जब मरिसक्छ तब देखावटी सहानुभूति देखाएर यस्तो औषधि गर्नुपर्ने, उस्तो औषधि गर्नुपर्ने, उहाँ लानुपर्ने त्यहाँ लानुपर्ने । नेता पौडेल धेरै पटक जिम्मेवारमन्त्री पदमा बसिसक्नुभएको व्यक्तित्व हुनुहुन्छ । उहाँ त ४-४ वर्ष सम्म (२०४८ देखि २०५२ सम्म) कृषिमन्त्री नै हुनुहुन्थ्यो । के २९ वर्ष अगाडि आफू कृषिमन्त्री भएको बेलामा यी सुझावहरू दिमागमा आएन र ! यदि आएको भए किन कार्यान्वयनमा ल्याउन सक्नुभएन ? यदि त्यसबेला यसलाई साँच्चै कार्यान्वयनमा ल्याइएको भए आज सबै नेपालीको भकारीमा अन्नको भण्डार हुन्थे, सबै युवाहरूले काम पाउँथे । विगतमा हतारमा निर्णय गरेर कृषि सामग्री संस्थान, कृषि औजार कारखाना, बाँसबारी छालाजुत्ता कारखाना, भृकुटी कागज कारखाना, हेटौँडा कपडा कारखाना, भक्तपुर इँटाटायल, ट्रलिबस आदि कौडीको मूल्यमा बेचियो । नेपाली युवाको रोजगारी खोसेर विदेशमा धपाइयो । कृषिभूमि उजाड पारेर विदेशमा रगत पसिना बगाउन जान बाध्य पारियो । अहिले फुर्सदमा पछुताएर केही हुँदैन । किनकि वाग्मतीमा धेरै पानी बगिसकेको छ । भागबन्डामा नलाग्नुस्, राजनैतिक आदर्शको पालना गर्नुहोस् । यी सुझावहरूलाई ठाउँमा पुगेपछि व्यवहारमा लागू गर्नुहोस् । यही कामना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *