युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
कोरोना अर्थात् कोभिड–१९ बाट हेर्दाहेर्दै दुनिया भरमा सङ्क्रमितहरूको सङ्ख्या छब्बीस लाख र मर्नेहरूको सङ्ख्या १ लाख असी हजार नाघेको छ । यीमध्ये एक लाखभन्दा धेरै मानिसहरू युरोपका छन् । यसकारण युरोपका देशहरूबाट कोभिड–१९ को सङ्क्रमण चीनको कारणले फैलिएको हो भन्ने तथ्यहीन आवाज आउन थालेको छ । विभिन्न घोषित, अघोषित संस्थाहरूले यस प्रकारका झूटा खबरहरू फैलाइरहेका छन् र आफ्नो अज्ञानता दर्शाइरहेका छन् । जर्मनीकी चान्सलर एन्जेला मर्केलले चीनको भूमिकाको बारेमा केही पनि भनेकी छैनन् । तर, त्यहाँ झूटको खेती गर्ने पत्रिकाले जर्मनीलाई १५ लाख करोडभन्दा धेरैको नोक्सान भएको र त्यसको भर्पाइ चीनले गर्नुपर्ने एउटा खबर छाप्यो । त्यसले आफ्नो तर्फबाट जोड–घटाउ पनि गर्यो । अब यस्ता समाचारहरूलाई के संज्ञा दिने ? नेपालमा पनि यस्तै खबरहरू भेटिएमा बुझ्नुहोला यस समय खबरको अनिकाल छ । त्यससँगै सरकारको जवाफदेहीताको सामुन्ने पर्दा लगाउन यस्ता मनगढन्ते समाचारहरूलाई अगाडि ल्याइएको हो । यही सोचमा चीनलाई एउटा नयाँ दुश्मन बनाइएको छ र आफ्नो गल्ती चोख्याइँदै छ । कति देशहरूले चीनलाई आरोप लगाउँदै छन् ।
भाइरस कसरी सुरु भयो र फैलियो यसको जाँचको लागि अन्तर्राष्ट्रिय टीमको गठन होस्, यस मामिलामा स्वतन्त्र समीक्षा होस् भनी अस्ट्रेलियाकी विदेशमन्त्रीले भनिन् । अमेरिकी राष्ट्रपति यो पङ्क्तिमा सबैभन्दा अगाडि हुने नै भए । उनी त यस्ता बकवासमा विद्यावारिधी गरेरै राजनीतिमा सफलता हासिल गरेका मान्छे परे । उनले चीनसँग सम्बन्धित यस खबरमा हावा भर्ने काम गरे र गरिरहेका छन् । आफूले भनेजस्तो नगरेको झोँकमा ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई अमेरिकाले दिइरहेको बजेटमा रोक लगाए । पहिला उनले कोभिड–१९ लाई उहान वा चाइना भाइरस भन्ने गर्थे तर आजभोलि भन्न छोडेका छन् । वासि·टन पोस्टको खबरअनुसार जेनेभास्थित विश्व स्वास्थ्य सङ्गठनको कार्यालयमा अमेरिकाको रोग नियन्त्रण केन्द्र सी.डी.सी. (सेन्टर फर डिजिज कन्ट्रोल) का दर्जनौँ वैज्ञानिक, रिसर्चर, डाक्टरहरूले कोभिड–१९ माथि रिसर्च गरिरहेका थिए र ट्रम्पलाई जानकारी दिइरहेका थिए । त्यति हुँदाहँदै पनि ट्रम्पले यसलाई चानचुने ठानेर मजाक उडाइरहेका थिए । उता जापानका उपप्रधानमन्त्री तारो आसोले विश्व स्वास्थ्य सङ्गठनको नाम बदलेर ‘चिनियाँ स्वास्थ्य सङ्गठन’ बनाउनुपर्छ भनेर चीनमाथि विषवमन गरे । विश्व स्वास्थ्य सङ्गठनले महामारीको आकलन सहीरूपमा नगरेको उनको तर्क छ । जापानले चीनमा रहेका आफ्ना कम्पनीका विभिन्न फ्याक्ट्रीहरूलाई त्यहाँबाट हटाउन २ अरब डलरभन्दा धेरैको प्याकेज घोषणा गरेको छ ।
चीनका विदेश मन्त्रालयका प्रवक्ताले पनि यी देशहरूलाई गतिलो जवाफ दिएका छन् । २० अप्रिलको आफ्नो बयानमा उनले भनेका थिए– २००९ मा H1N1फ्लु अमेरिकाबाट दुनियाका २१४ देशमा फैलियो र यसबाट विश्वभरिमा २ लाख मानिसहरू मरेका थिए, के कसैले अमेरिकासँग हर्जना मागेको थियो ? एड्स अमेरिकाबाट दुनियाँमा फैलियो के कसैले अमेरिकासँग हर्जना मागेको थियो ? २००८ मा लेहमन ब्रदर्शहरू बर्बाद भएको कारणले आर्थिक मन्दी आयो, त्यसको चपेटामा परी सारा विश्वले आर्थिक क्षति बेहोर्यो, के कसैले अमेरिकासँग हर्जना मागेको थियो ? कसैले मागेको थिएन ।
चीनको पक्षमा यस्ता धेरै कुराहरू छन् जसलाई यस विवादको सन्दर्भमा हामीले ध्यान दिनुपर्छ । जस्तै ३१ डिसेम्बर २०१९ मा नै चीनले तीव्रगतिमा फैलिरहेको कुनै विषाणु छ र महामारी बन्ने खतरा छ भनी विश्व स्वास्थ्य सङ्गठनलाई भनेको थियो । ८ जनवरी २०२० मा चिनियाँ अखबार पिपुल्स डेलीले नयाँ भाइरस आएको र त्यो एकदमै खतरनाक भएको समाचार छाप्यो । १९ जनवरीमा उहानमा लकडाउन गरियो । दुनियाँभरका धेरैजसो अखबार र टी.भी. च्यानलहरूमा उहानको समाचार लेखिएको थियो, देखाइएको थियो ।
२४ जनवरीमा विश्वकै सबैभन्दा प्रतिष्ठित दुईवटा मेडिकल जर्नल, (लांसेट र न्यू इ·ल्यान्ड मेडिकल जर्नल) मा चीनका वैज्ञानिक र डाक्टरहरूको एउटा रिसर्च पेपर छापियो । यस रिसर्च पेपरमा रोगी र लक्षणहरूको व्यापक जानकारी थियो । भाइरसमा के–के कुराहरू पुराना भाइरसहरूसँग मिल्दाजुल्दा छन् त्यसको पनि जानकारी खुलस्त दिइएको थियो । के दुनियाँभरका सरकारका मेडिकल एडभाइजरहरूलाई लांसेट र न्यू इ·ल्यान्ड मेडिकल जर्नलमा छापिएको चीनका वैज्ञानिकहरूको लेखको कुनै खबर थिएन ? त्यसो भातिनीके कामका सल्लाकारहरू ? जब ब्रिटेनको हालत बिग्रिदै गयो तब मार्चको महिनामा मेडिकल जर्नललांसेटका सम्पादक रिचर्ड हर्टनले गार्डियन अखबारमा क्रोधित हुँदै दुनियाँले चीनका वैज्ञानिकहरूको आभारी हुनुपर्छ भनी अर्थपूर्ण लेख लेखे । उनले अगाडि लेखे–उनीहरूले महामारीजस्तो खतरनाक स्थितिमा पनि आफ्नो समय निकालेर विदेशी भाषामा रिसर्च पेपर लेखेर छाप्नको लागि हजारौँ मिल टाढा पठाए, ताकि दुनियाँका वैज्ञानिकहरूलाई थाहा होस् र पूर्वसतर्कता अपनाइयोस् । यसपछि पनि दुनियाँका सरकार कानमा तेल हालेर सुतिरहे । अनि चीनलाई गाली किन ?
जब इटालीबाट पनि रोगले आतङ्क मच्चाइरहेको खबर आउन थालेको थियो, तब त्यहाँका वैज्ञानिकहरूले पनि खतराको जानकारी दिन सुरु गरेका थिए । २९ जनवरीमा ट्रम्पका व्यापारिक सल्लाहकारले कोरोनाको कारणले लाखौँ मानिसको जनधनको क्षति हुन सक्छन् भनी सार्वजनिकरूपमै बोलेकै थिए । यता अमेरिकी राष्ट्रपति फेब्रुअरीमा भारतको अहमदाबादमा थिए तर उनको भाषण वा हाउभाउमा कोभिड–१९ को खतरालाई लिएर कुनै सतर्कता थिएन । के उनका व्यापारिक सल्लाहकारले बुझेको कुरा उनले बुझ्न सकेका थिएनन् ? फेब्रुअरीमा ह्वाइट हाउसका प्रवक्ताले भाइरसको कारण अमेरिकालाई कुनै हानी नहुने बताएका थिए । यो त लापरबाहीको पराकाष्ठा थियो । घमण्डले पनि घमण्ड गर्न छोड्ने घमण्ड थियो । घमण्ड कोरोनाबाट पराजित भएर जब उनीहरूले आफ्नो सही अवस्थालाई नियाले, तब उनीहरूको दोषारोपणको ना·ो नाच सुरु भयो । अब नाच्नेलाई भन्दा हेर्नेलाई लाज हुँदै छ । जब अर्थ व्यवस्था तहसनहस भएर करोडौँ मानिसहरूको भोकमरी र बेरोजगारीको सीमा नाघ्यो, करिब पौने दुई लाखभन्दा धेरै मृत्युको मुखमा पुगिसके, तब बल्ल आएर तिनको घैँटामा घाम लागेको छ । अब बल्ल आएर सरकारहरू सचेत भएका छन् । तर, यिनीहरूको दिमागमा घाम कहिले लाग्ने हो, अत्तोपत्तो छैन ।
अब उनीहरूलाई अर्को समस्याको सामना गर्दा दाँतबाट पसिना आउने डर छ । त्यो हो जनताको प्रश्नका सामना गर्नुपर्ने समस्या । उनीहरूलाई जनताले जनवरी, फेब्रुअरी र आधा मार्चसम्म के गरिरहेका थियौँ भनी सोध्लान् भन्ने डर छ । यसै जवाफदेहीका सवालहरूबाट उम्किनका लागि धेरैजसो देशहरूको साझा दुश्मन अचानक, अनायास चीन बनेको छ । तर, फरक–फरक देशका फरकफरक दुश्मन पनि छन् कतै श्वेत दुश्मन छन् त कतै अश्वेत दुश्मन छन्, कतै हिन्दू दुश्मन छन् त कतै मुसलमान दुश्मन छन्, तिनका स्वघोषित दुश्मनहरूको एउटामात्रै काम हो, उनीहरूलाई जवाफदेहीको सवाललाई पन्छाउन भरसक मद्दत गर्ने ।
कोरोना भाइरसलाई आधार बनाएर चीनलाई हमला गरिरहेका अमेरिकी ट्रम्प र युरोपका केही नेताका बयानलाई मात्र एक आधारमा बुझ्न सकिन्छ । महामारीको विरुद्ध लड्नमा जुन उनीहरूको असफलता दुनियाँको सामुन्ने आएको छ, आफ्ना जनताको सामुन्ने आएको छ, त्यसलाई लुकाउनको लागि चीनलाई कठघरामा उभ्याउने ! यसरी उनीहरू आफैमाथि सुन पानी छर्किन चाहन्छन् । आफ्नो कुकर्मलाई चोख्याउन चाहन्छन् ।
एकछिनलाई मानौँ, कोरोनाको जानकारी दिन चीनले विलम्ब गर्यो । त्यसो भए, जब जानकारी भयो, त्यसपछि तयारी कस्तो गरे ? यसको जवाफ कसले दिन्छ ? उनका जनताले यसको जवाफ त माग्ने छन्, त्यही भएर उनीहरूले एउटा बलिको बोको खोजिरहेका छन् । यो बलिको बोको विश्व स्वास्थ्य सङ्गठन हुनसक्छ वा यो बलिको बोको चीन हुनसक्छ । जब यो महामारी फैलिइसकेको छ र यसलाई रोक्नको लागि बन्दाबन्दी, क्वारेन्टिन, भौतिक दुरी आदि उपायहरू अपनाइएको छ, यी उपायलाई ट्रम्पले स्वयं किन स्वीकारिरहेका छैनन् ? उनले त ट्वीट गरी–गरी लकडाउनको आदेश पालना गर्नुपर्दैन भनी ज्ञान बाँडिरहेका छन् । जुन ज्ञानले उनैलाई अज्ञानी भनेर उपहास गरिरहेको छ । यसको मतलब यही हुन्छ, जब उनलाई समस्याको जानकारी थियो, उनले तयारी गरेनन्, जब तयारी गर्न खोजे ढिला भइसकेको थियो र महामारीले नाकको भरमा पछार्यो । सँगसँगै असफलताको तीतो स्वाद पनि चटायो । त्यही तीतो स्वाद उनको जिब्रोमा बसेको छ, दिमागमा पुगेको छ । अब गरून् पनि के ? अमेरिकी राष्ट्रपतिले त अझै अब हुनै लागेको चुनावी मैदानमा पनि जवाफ दिनुपर्छ । चीनसँग त यिनीहरूको धक्का मुक्का पहिलेदेखि नै छ, त्यसैको फाइदा उठाएर आफ्नो साख जोगाउने ट्रम्पको असफल प्रयासले उनलाई झन गहिरो खाल्टोमा फसाउने पक्का देखिन्छ ।
Leave a Reply