भर्खरै :

नयाँ वास्तविकता कि पुरानो वास्तविकता

कोभिड–१९ को महामारी संसारभर फैलिरहेको बेलामा म डेनमार्कको कोपनहेगन सहरमा थिएँ । त्यहाँको अतिथि कलाकार आवास बसाइको म अन्तिम महिनामा थिएँ । फेब्रुअरी महिनामा मेरो सुडान फर्किने योजना थियो । तर, कोभिड–१९ को महामारीको कारण डेनमार्क सरकारले सबै विदेशी उडान स्थगित गर्‍यो । म सुडान फर्किन पाइनँ । मेरो डेनमार्क बसाइ लम्बियो । विपत्‍को समयमा डेनमार्क बसाइले मलाई ‘पहिलो विश्व’ ले कसरी महामारीसँग लड्यो भन्‍ने कुरा प्रत्यक्ष भोग्‍ने मौका मिल्यो ।
मेरो वरपरका अन्य सबै मानिसजस्तै म पनि आत्तिएँ । अब के हुने होला भन्‍ने अनिश्‍चयले मलाई पनि चिन्तिन बनायो । तर, सरकारले जनजीवनमाथि जारी गरेका निषेध नै विश्वभरको निम्ति ‘नयाँ वास्तविकता’ (न्यु नर्मल) हुने भनी अमेरिकी र युरोपेली विज्ञहरूले लेखेका लेखहरू मलाई रोचक लाग्यो ।
रिसानी माफ पाऊँ ! तर, आज जे कुरालाई तपाईँहरू ‘नयाँ वास्तविकता’ भनिरहनुभएको छ, संसारभरका खैरा र काला मानिसको लागि यो ‘पुरानो वास्तविकता’ हो । हामीमध्ये धेरैको लागि निषेध, दमन र विमुखता समग्र जीवनकै हिस्सा बन्दै आएको छ ।
जहाँ यात्रा गर्न चाहनुभएको थियो, यात्रा गर्न पाउनुभएन । हेर्नोस्, हामीमध्ये बहुमत जनताले पनि हामीले चाहेका ठाउँमा यात्रा गर्न पाएका छैनौँ किनभने हामीसँग त्यसरी मन परेको ठाउँमा यात्रा गर्ने आर्थिक क्षमता छैन । अनि हामीमध्ये निकै थोरै मानिस जोसँग यात्रा गर्ने क्षमता छ, उनीहरूलाई यात्रा गर्ने कुनै छुट छैन । त्यसकारण यात्रा गर्न आजजस्तो निषेध तपाईँहरूले भोगिरहनुभएको छ, त्यो हाम्रो लागि कुनै नयाँ कुरा होइन ।
हामी थोपरिएका निषेधहरूबाट पार पाउन हामीले कागजपत्रका ठेली आवेदन भर्नुपर्छ । ती आवेदनमा हरेक कुरा सोधिएको हुन्छ । हाम्रो परिवारको सदस्य सङ्ख्या, हालसालै सङ्‍क्रमणको ‘जोखिम क्षेत्र’ मा भ्रमण गरेको अभिलेख, सङ्‍क्रमणको सम्भावना भएका मानिससँग भेटेको र कुनै ‘आतङ्कवादी गतिविधि’ मा सामेल भएका घटनाबारे ती फारममा प्रश्नको वर्षा गरिएको हुन्छ । हामीले विभिन्‍न प्रमाणपत्रबाट आफूलाई पहेँलो ज्वरोजस्ता कुनै रोग नलागेको पुष्टि गर्नुपर्छ । त्यस्ता प्रमाणपत्र हामीसँग नभएमा हामी विमानस्थलबाटै क्‍वारेन्टिनमा जानुको कुनै विकल्प हुँदैन ।
भिसा आवेदन प्रक्रियाभरि हामीले (सामाजिक) दुरी कायम राख्नुपर्छ । हामीले हाम्रा सबै कागजपत्र अनलाइन बुझाउनुपर्छ, बैङ्ककै अर्कै क्यासियरलाई हामीले शुल्क बुझाउनुपर्छ  र दुतावासबाहिर चर्को घाममा कुरेर बस्नुपर्छ । किन ? किनभने राजदूतावासका कर्मचारीको सुरक्षाको लागि ।
यति दुःख गरेपछि सौभाग्यवश हामीले भिसा परिहाले पनि आफू जान लागेको देशमा हामीभित्र पस्‍ने ग्यारेन्टी नहुनसक्छ । त्यो देशमा पुगेपछि विमानस्थलमा काला र खैरा मानिसको लागि थप केरकार गर्न अलगै सानो कोठामा लगिन्छ । केरकारको क्रममा सुरक्षा अधिकारीलाई हाम्रो कुरा मन नपरे हामीलाई फिर्ता पठाउन पनि सक्छ । यो महामारीको समयमा धेरै मानिसले विदेश बसाइ छोट्याएर घर फर्किने विमान चढिहालेका मनग्य उदाहरण छन् । तर, खैरा र काला रङ्गका मानिसको निम्ति यस्ता घटना त धेरै अघिबाट हुँदै आएको हो । तपाईँहरू यसलाई ‘उद्धार’ भन्‍नुहुन्छ, हामी यसलाई ‘फिर्ता पठाएको’ भन्छौँ ।
केही काला वा खैरा मानिस डुङ्गामा आफ्नो गन्तव्य जाने प्रयत्न गर्छन् । धेरै चोटि उनीहरूलाई बन्दरगाहबाट नै फर्काइन्छ । त्यसरी नै कोभिड–१९ सङ्‍क्रमणको भयले पश्चिमा देशका नागरिक सवार पानीजहाजलाई धेरै देशले आफ्नो क्षेत्रमा पस्न पनि दिइएन । अहिले त्यस्ता घटना ‘अस्वीकार्य’ बनेको छ । जबकि हामीले यो समस्या धेरै अघिदेखि भोग्दै आएका छौँ ।
पश्चिमा देशमा लामो समय घर बस्दा आफ्ना केटाकेटी शिक्षाबाट वञ्चित हुनुपरेकोमा निकै चिन्ता गरिएको छ । तर, गरिबीको कारण कयौँ खैरा र काला केटाकेटीहरू आफ्नो घर नजिकैको विद्यालयमा पनि जान सक्दैनन् अथवा विश्वविद्यालय तहमा पुगेर पढाइ छोड्न बाध्य छन् । मेरो सहरमा पनि एउटा विश्वविद्यालय छ । त्यो विश्वविद्यालयमा शङ्कास्पद राजनीतिक गतिविधि भएको भन्दै सरकारले नै बन्द गर्न निर्देशन दिने गर्छ । धेरैतिर सेवा उद्योग र व्यापार बन्द गरिएको भन्दै कोकोहोलो मच्चाइएको पनि सुनियो । अचानक पश्चिमाहरू चमेनागृह, सौन्दर्य पसल, स्पा, व्यायामशाला, सिनेमा आदि बिनाजीवन बिताउन बाध्य भएका छन् । उनीहरूको लागि यस्तो जीवन कष्टकर बनेको छ । तर, संसारका धेरै खैरा र काला मानिसको निम्ति त्यस्तो जीवन नै आम जीवन हो ।
अर्कोतिर आजभोलि विश्व व्यवस्थामा परिवर्तन आएको र चीनले पश्चिमलाई पछार्ने विषयमा व्यापक चर्चा परिचर्चा भइरहेको सुन्छु । यो अवस्थाबारे हामी पनि सजग छौँ । विदेशी दमन जुनसुकै देशको भए पनि ठीक होइन ।
तर, यस्ता कुरा गरेर हामीलाई हाम्रो भाग्य हाम्रो हातमा नभएको बरू परको शक्तिको हातमा तिमीहरूको भविष्य भएको भनेर हामीलाई निरूत्साहित र शक्तिहीन बनाउन खोजिएको छ ।
यतिबेला महाव्याधिको कारण सरकारी निगरानी, प्रहरी दमन, आपत्काल र सरकारको ‘बढ्दो शक्ति’ ले सबैलाई चिन्तित बनाएको छ । तर, काला र खैरा मानिसहरू सरकारी निगरानी र राज्यमा असीमित शक्तिबाट मनग्यरूपमा अभ्यस्त छन् । उनीहरूले धेरै लामो समयदेखि अधिनायकवादी शासन भोग्दै आएका छन् । उनीहरूमध्ये धेरैले त आपत्कालमै आफ्नो पूरा जीवन व्यतीत गरेका छन् ।
अहिलेको महाव्याधिले त वास्तवमा ‘पहिलो विश्व’ लाई अधिनायकवादको स्वाद चखाएको छ र पक्कै त्यसको प्रतिरोधमा उतारेको छ । मैलै धेरै मानिस, समूह र स·ठनहरू एकआपसलाई हौसला दिन भविष्यप्रतिको आशावादी गीत गाएको, सँगै प्रार्थना गरेको, जीवन बलिदान गर्ने सहिदप्रति श्रद्धा व्यक्त गरेको देखेँ ।
भविष्यको अनिश्चयले मानिसलाई त्रसितमात्र बनाएको छैन, बरु आशावादी पनि बनाएको छ । विश्वलाई हेर्ने फरक  कोणहरू उजागर भइरहेका छन् । राजनीतिक व्यवस्था, अर्थतन्त्रमाथि पुनर्विचार भइरहेको छ । मानिसहरूबीच ती विषयमा विचार आदानप्रदान भइरहेको छ । सामाजिक सञ्जालमा बहसहरू भइरहेका छन् । के हुनुपथ्र्यो र के हुनुपर्ने भन्‍ने विषयमा असङ्ख्य विश्लेषण मानिसहरूले पढिरहेका छन् ।
यस्ता सबै खालका दृश्यहरू खैरा र काला जातिका मानिसहरूले विभिन्‍न देशमा भएका प्रतिरोध आन्दोलनको क्रममा भोगेका छौँ । सुडानमा पनि गत वर्ष जनआन्दोलन भएको थियो । हामीले आन्दोलनको क्रममा यस्तै सामाजिक अन्तरक्रिया देखेका छौँ । दस वर्षअघि अरब क्रान्तिको बेला पनि हामीले त्यो अवस्था भोगेका हौँ ।
मलाई आज पनि एउटा कुराको डर छ । एक वर्षअघि र एक दसकअघि पनि मलाई यही डरले पिरोलेको थियो । हुरी सेलाइसकेपछि सबै कुरा उस्तै रहने हो कि ! उही ‘पुरानो वास्तविकता’ मै हामी फर्किन्छौँ कि !
मलाई जहाँसम्म लाग्छ, खैरा र काला मानिसहरू अब पछाडि फर्किने पक्षमा छैनन् । तर, धेरै पश्चिमाहरू फेरि पनि आफ्नो व्यापारको चिन्ता गर्दै जसै लकडाउनको अवस्था अन्त्य हुन्छ, अहिलेका सपना सबै मिल्काएर पछाडि फर्किन्छन् कि ! अहिले ‘पुरानो वास्तविकता’ मा परिवर्तनको सन्दर्भमा भइरहेका सबै बहस र छलफल उनीहरूले बिर्सिने पो हुन् कि !
मलाई लाग्छ, अहिलेको अवस्थालाई हामीले एउटा चेतावनीको रूपमा लिनुपर्छ । परिवर्तनप्रतिको हाम्रो प्रतिबद्धता जारी राख्नुपर्छ । यसमा हामी सबै एकसाथ हुनुपर्छ भन्‍ने कुरा हामीले भुल्नुहुन्‍न । विश्वव्यापी राजनीतिक र आर्थिक प्रणालीमा परिवर्तनको खाँचो छ । हामीले सामाजिक न्याय, समानता र ऐक्यबद्धतामा लगानी बढाउन जरूरी छ ।
हामीले स्थापना गर्न चाहेको ‘नयाँ वास्तविकता’ यही हो ।
लेखक सुडानका राजनीतिक व्यङ्ग्य चित्रकार र सांस्कृतिक अभियन्ता हुनुहुन्छ ।
स्रोत  : अल जजिरा
नेपाली अनुवाद  : सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *