भर्खरै :

कोभिड–१९ को महामारी–पुँजीवादी व्यवस्थाको असफलता

            कोभिड–१९ को सङ्‍क्रमणले आज विश्व आक्रान्त छ । विश्वमा वैशाख १४ सम्म सङ्‍क्रमित सङ्ख्या २८,५५,६९४, निको भएका ८,१५,८७७ र मृत्यु भएका १,९८,५२३ जना छन् । धेरैजसो देशहरूमा लकडाउन गरिएको छ । चीनले छोटो समयमै कोभिड–१९ लाई नियन्त्रण गर्न सकेको र कोभिड–१९ बाट सङ्‍क्रमित विभिन्न देशहरूमा चिकित्सक टोली र संरा अमेरिकालगायत विभिन्न देशमा आवश्यक सामग्रीहरू पठाएर सहयोग गरिरहेकोमा संसारमा चीनको वाहवाही छ । प्रजग कोरिया कोभिड–१९ बाट मुक्त भएको घोषणा, भियतनामले संरा अमेरिकालाई ४ लाख ५० हजार थान पीपीई र अन्य सामग्री सहयोग गरेको आदि गतिविधिले संसारमा ठूलो प्रशंसा भइरहेको छ ।
            कोभिड–१९ को लकडाउन र आर्थिक महामन्दीपछि भोका–नाङ्गा, शोषित–पीडित, हेला गरिएका, अन्याय–अत्याचारमा परेका सिमान्तकृत, श्रमिक, मजदुर, किसान आदिले ठूल–ठूला विद्रोह गर्ने र पुँजीवादको ठाउँमा पर्यावरण र मानिसको सुरक्षा हुने व्यवस्था राख्नेछन् भनी घर–घर, टोल–टोल, बुद्धिजीवी, अभियन्ताहरूमा चर्चा–परिचर्चा छ । पर्यावरण र मानिसको सुरक्षा हुने व्यवस्था वैज्ञानिक समाजवाद–साम्यवादसँग नजिक छ ।
            संरा अमेरिका र युरोप कोभिड–१९ महामारीबाट जनतालाई बचाउन नसक्नु त्यहाँको पुँजीवादी व्यवस्था नै हो ।
            कोभिड–१९ को महामारीबाट पुँजीवादभन्दा वैज्ञानिक समाजवाद सर्वश्रेष्ठ छ भन्ने निम्न कुराहरूले प्रमाणित गर्छन् :
१. राज्य सत्ता भन्नु नै एक वर्गले अर्को वर्गलाई दबाउनु हो । सर्वहाराको अधिनायकत्व भन्नु नै भोका नाङ्गा, हेला गरिएका, रङ्गङ्भेद गरिएका, शोषित–पीडित, अन्याय–अत्याचारमा परेका सिमान्तकृत, श्रमिक, मजदुर, किसान  आदिको हित हुने ऐन–कानुन बनाउनु हो । यसको ठीक उल्टो, पुँजीवादमा पुँजीपतिहरूको हित हुने ऐन–कानुन बन्छ ।
२. वैज्ञानिक समाजवाद–साम्यवादमा राज्यकै अगुवाइमा गाँस–बास, लत्ता–कपडा, शिक्षा, स्वाथ्य आदि आधारभूत आवश्यकतालाई निःशुल्क गर्ने प्राथमिकता दिन्छ । यसको विपरीत, पुँजीवादमा पुँजीपतिहरूलाई मात्र फाइदा हुने गाँस–बाँस, लत्ता–कपडा, शिक्षा, स्वास्थ्य आदि आधारभूत आवश्यकताहरूलाई निजीकरण गर्छ ।
३. समाजवादमा सामूहिकतावादलाई जोड दिन्छ भने पुँजीवादमा व्यक्तिवादलाई जोड दिन्छ ।
४. संरा अमेरिकाभन्दा सामाजिक न्याय भएका बेलायतजस्ता पुँजीवादी देशहरूले आधारभूत आवश्यकताहरू गाँस–बास, लत्ता–कपडा, शिक्षा, स्वास्थ्यहरूमा सुविधा कटौती गर्दै निजीकरण गर्दै छन् ।
५. पुँजीवादमा पुँजीपति वर्ग, मध्यम र निम्‍न वर्गले गाँस–बास, लत्ता–कपडा, शिक्षा, स्वास्थ्य आदि आधारभूत आवश्यकता आफैँ व्यवस्था गर्छन् । तर, बहुसङ्ख्यक सिमान्तकृत,  श्रमिक, मजदुर, किसान आदि आधारभूत आवश्यकताको समस्यामा पर्छन् ।
            गत चैत २८ गतेको न्यूज फटाफट नेपालको एउटा कार्यक्रममा एक जना टिप्पणीकारले कोराना भाइरसको महाव्याधिपछि संरा अमेरिका र युरोपको अर्थतन्त्र मात्र हैन पुँजीवाद ढल्दै छ, अर्कै विश्व व्यवस्था आउँदै छ भनेर आफूलाई धेरैजना मित्र र फेसबुकमा कमेन्ट गर्नेहरूले अमेरिकाको विरोध र चीनको समर्थन गरेको र यस्तो जाबो सङ्‍क्रमणले केही हुनेवाला छैन भन्ने आरोप लगाइरहेका छन् भनी आफू कसैको विरोध र समर्थनमा नरहेको र वस्तुस्थितिको मूल्याङ्कन गरी के हुँदै छ भन्न खोजिएको मात्र हो, कसैको सद्भावले कुनै व्यवस्था ढल्ने र टिकाउ हुने होइन, यो कार्यक्रम पूरै हेरेरमात्र कमेन्ट गर्नुहोला भनी बताए । उनले संरा अमेरिका कोरोना भाइरसको महामारीपछि ध्वस्त नहुने जिकिर गरे । उनले अमेरिकामा घर भाडा तिर्न नसकेर, बैङ्क व्यालेन्स नभएर र एउटा पाउरोटीको निम्ति झिनाझपटी गर्ने अवस्थाबाट घरेलु हिंसा र निराशाबाट मर्नेहरू धेरै हुन्छन् भनेका थिए । उनले संरा अमेरिकाजस्ता देशहरूले अर्थतन्त्रको ठूल–ठूला प्याकेजहरू घोषणा गरेका छन्, त्यसका परिणामहरू के हुँदै छन् कसैलाई थाहा नभएको र अमेरिकाले मात्र ३ त्रिलियन डलर खर्च गर्ने घोषणा गरेको बताए । उनले अहिलेको बन्दाबन्दी लम्बियो भने भारत, पाकिस्तान, बङ्गलादेशजस्ता अल्पविकसित मुलुकहरूमा भोकमरी बढ्नेछन् भने ।
            उनले कोभिड–१९ को महामारीबाट युरोप थला परिसकेको, संसारका विभिन्न देशहरूको अर्थतन्त्रमा नराम्रो असर पारेको हुनाले चिनियाँ व्यापार थप हुने र चिकित्सकीय सामानहरू बेचेर चीन सुपरपावर हुने कुरा बताए ।
            टिप्पणीकारले इतिहासलाई कोट्याउँदै १३४० बाट एसियाको एउटा देश मङ्गोलियाबाट सुरु भएको रोगको महामारी युरोप पुगेर संसारभरिमा एकतिहाइ मान्छे मरेका थिए, यो रोगको नाम एट्सिम थियो र मुसामा पाइने उपियाँको किटाणुबाट उक्त रोग फैलिएको थियो भनी बताए ।
            उनले उक्त रोग फैलिरहँदा युरोपमा दास युग थियो, दासविद्रोह भयो, श्रमको मूल्य महँगो भयो, तिनीहरू दास नभएर स्वतन्त्र मान्छेजस्तै भए, माछा–मासु खान थालेपछि तिनीहरूको शारीरिक जीवनमा ठूलो कायापलट भयो भनी बताएका थिए ।
            पुण्यप्रसाद प्रसाइँले उक्त रोगको महामारीपछि युरोपलगायत अन्य देशहरूमा ठूल–ठूला विद्रोहहरू भए, त्यहाँको अर्थतन्त्र र व्यवस्था ढले र त्यसको ठाउँमा अर्कै नयाँ अर्थतन्त्र र व्यवस्थाले लिए भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *