भर्खरै :

नखाउँ भने दिनभरको शिकार, खाउँ भने ?

            धेरै प्रयासपछि उसले एक ठाउँमा काम पायो । सेतीको बगरमा शीला भेट्टाएजत्तिकै भयो उसको लागि । उसलाई खुसीको सीमा रहेन । विदेश हो काम जस्तोसुकै होस् उसलाई मतलब रहेन । उसले सोच्यो अब आमाबुबाका दुःखका दिन गए । छोराले विदेशमा काम पाएको खबर सुनेर पक्कै आमाबुबा खुसी हुनेछन् ।
            काम खोज्दै हिँडेका दिन उसले सुरेस सरलाई बरोबर सम्झ्यो । ऊ कामको लागि क्याम्पसबाट कोठामा फर्कन नपाउँदै ल्यापटप अगाडि बसिसक्थ्यो । ऊ दिनरात ‘आवश्यकता’ को खोजीमा हुन्थ्यो । साथीभाई चिनेजानेका मान्छेसँग सम्पर्कमा गरिरहन्थ्यो । हिम्मत नहार्न र मेहनत गर्न सुरेश सरका शब्द शब्दले उसलाई हौसल्याइराखेको हुन्थ्यो, “हेर ! मेहनत गरे यहीँ सुन फलाउन सक्छौँ । राम्रो जागिर पाउन राम्रै पास हुनुपर्छ र धेरै मेहनत गर्नुपर्छ । अरू के कुरा गर्ने ? काठमाडौँ आएका सबैले कहाँ राम्रो काम पाएका छन् र ? पढे–लेखेका भनेर के गर्नु ? काम नपाएर होटलको गिलास माझेर बसेका पनि छन् । पिउनको काम पनि गरेर बसेका छन् । भन्न नसकेको मात्र हो । विदेशमा पनि त्यस्तै हो । ”
            उसले काम त पायो, उही आफ्नो देशमा आमाबुबाले चलाउँदै आएको होटलको काम । उसलाई अहिलेको लागि भाँडा माझ्ने काम भए पनि ठूलै लाग्यो । आमाबुबाबाट पैसा माग्दा माग्दा आफैँ लज्जित भइसकेको थियो ऊ । होटलको काम भए पनि नखाऊँ भने दिनभरिको सिकार भएको थियो । उसले आफ्नो होटलमा काम गर्ने कान्छालाई सम्झ्यो । कृष्ण अनि लालेलाई सम्झ्यो । उसको काम ग्राहकको जुठो भाँडा उठाउने र टेबुल सफा गर्ने । उसले आफ्नो काम आफ्नै होटलमा काम गर्ने कान्छा, कृष्णे र लालेको कामभन्दा केही फरक देखेन । उसले साहु र गरिवको भेदभाव सम्झ्यो । शोषण र अन्याय अत्याचार भनेको सबै ठाउँमा उस्तै हुने रहेछ । उसले आफ्नो आमाबुबाको कठोर व्यवहार र आफ्नो छुच्चो बोलीलाई पनि सम्झ्यो । विगतलाई सम्झेर उसले पश्चातापको आँसु झार्‍यो । 
            एकदिन उसको बुबाको फोन आयो । “बाबु ! सन्चै छ ? पढाई कस्तो चल्दैछ ? तिमी कामको खोजीमै छौ कि ? पायौ ?” 
            एकछिन ऊ चुप लाग्यो । बोल्न सकेन । के जवाफ दिऊ जस्तो भयो उसलाई ? आमाबुबाको मन नपरेको काम गर्दैछु भन्न अप्ठ्यारो भयो । उसले आफूलाई सम्हाल्दै बोल्यो “बुबा ! नआतिनुस् । यति ठूलो र विकसित देशमा आएको छु । ढिलो र चाँडो पाई हाल्छु नि । ”
            “ल ल । धन्धा नलिनु । हामी छौँ । पैसा पठाउनुपर्छ भने पठाउँला हरेस नखानु । तर, होटलको काम चाहिँ नगर्नु है छोरा !” विदेशमा बसेको छोराले आफ्नो होटलमा काम गर्ने कान्छा र कृष्णहरूले जस्तो दुःख पाउला भनेर चिन्तित थिए उनी ।
            “चाहिने बेलामा खबर गर्छु, मेरो चिन्ता नलिनु बुबा ।” फोन राख्दै ऊ एकक्षण गम खायो जुन काम नगर्नु भन्यो त्यही गर्नु परेकोमा । आमाबुबालाई कसरी भनुँ भयो ? उसले सोच्यो “नखाऊँ भने दिनभरीको शिकार । खाउँ भने कान्छा बाउको अनुहार ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *