भर्खरै :

रोकिएको सपना

            तिम्रो आगमनको लागि धेरै लागिपरे । धेरै दिमाग खियाएर विशेष तयारी गर्दै पर्खी बसेँ । तिमी आएपछि यसो गरौँला उसो गरौँला भन्दै सपना बुन्दै मनमनै रमाइ रहेँ। तिम्रो आगमनले मेरी आमाको नाम अझ संसारमा फैलिने छ र मेरी आमालाई हेर्ने धेरै आँखाहरू आउने छन् भनी । आमासँग रहेका, लुकेका धेरै–धेरै कुराबारे जानकारी दिउँला, लोभलाग्दा प्राकृतिक खानी देखाउला संसारमा नपाइने मिष्ठान्न भोजन, मनमोहक दृश्य, कला, संस्कृति देखाएर तिमो मनलाई तृप्त बनाउला भन्ने मेरा सबै सपना आज कुन मोडमा आएर खडा भयो । यो तिम्रो र मेरो मात्र चाहनाले आएको होइन । तिम्रा पनि कति सपना होलान्, के के गर्ने, खाने र हेर्ने तर विडम्वना आज यो परिस्थितिमा आएर रोकिएको छ ।
            तिमीलाई स्वागत गर्न तयारी गरेर बसेका मेरा पसले दाइ जसले खाइनखाइ जोडेका पैसाले तिम्रा आँखालाई लोभ्याउन, तिमीलाई मन पर्ने सामानले आफ्नो पसल सजाएर बसेका उनकोे व्यथा कसले बुझ्ने ? तिम्रो स्वागतमा आफूसँग भएका केही सम्पति रित्यााइसकेर र त्यसैको कमाइले जीविका चलाउला र आफू अनि परिवारको सपना पूरा गरौँला भनी साँचेका सपना आज कोरोना भाइरसको सङ्‍क्रमणबाट बच्न कोठामा सीमित भएको छ केबल बन्द कोठामा । तिम्रो स्वागतका लागि पुर्न निर्माण गरी तयारी अवस्थामा रहेका पुरातात्िवक तथा सांस्कृतिक मठ मन्दिरहरू समेत तिम्रो पर्खाइमा आँखा बिछ्याइबसेका छन । यी सम्पदा तिमीसँगको भेटपछि पूर्ण स्वरूप धारण गर्न पर्खिबसेका छन् ।
            समयभन्दा बलवान केही छैन भन्ने कुरा हामीले स्पष्ट अनुभव गर्याैं । मान्छेका वा भनांै विभिन्न वैज्ञानिकहरूको आविष्कारले संसार यहाँ पुगिए पनि आजको परिस्थितिमा समय नै बलवान भएर खडा भएको छ । नत्र बुद्धिमान वैज्ञानिकहरू, डाक्टरहरू, ठूलठूला तहमा पुगेका नेता मन्त्रीहरू मृत्युको मुखमा पर्ने थिएनन् । मानव निर्मित विभिन्न यश आराम सुविधा सबै आज बन्द कोठाभित्र सीमित छ । आजको यस परिस्थितिमा सबै सुख सुविधाभन्दा आफ्नो ज्यान बचाउन धनीदेखि गरिबसम्म बन्द कोठाभित्र सीमित भएर बस्नु परेको छ । आफ्ना इच्छा र आकाञ्क्ष या सीमित पर्खालभित्र बिनाअपराध सिमित भएर कैदीझँै जीवनयापन गर्नुपरिरहेको छ ।
            आशाका किरण अझै बाँकी छ नै किन कि कोरोना उद्गमस्थल चीनमा नियन्त्रणमा आई जनजीवन समान्य भएको समाचार प्राप्त भइसकेकोले हाम्रो आमालाई संसारमा चिनाउने र अतिथि देव भवको भावना छर्ने सपना केही समयका लागि रोकिएको मात्र हो । संसारमा छाएको छाँया हाम्रो देश नेपालबाट पनि हट्नेछ र अपूरा कार्य पूरा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *