भर्खरै :

सिजो कविताः सङ्क्षिप्त चर्चा

            कोरियाली शैलीमा रचना गरिने कोरियाली साहित्यको परम्परागत कविता हो सिजो । जापानी शैलीमा लेखिने हाइकु, ताङ्काभन्दा खुलेर व्यक्त र गाउन सकिने सिजो विधालाई सूत्रबद्ध हिसाबले अवलम्बन गर्दै आकर्षक, मर्मस्पर्शी, पठनीय एवं चिन्तनीय बनाएर सबैसामु प्रस्तुत गर्ने काम लर्तरो होइन । अझ, शब्द विन्यास गरी समय–सापेक्ष घटनाक्रम, देश–काल परिस्थितिमुताविक कवि-लेखकलाई चिमोट्ने ‘गुदी’ खुराकहरूलाई सबैको सामु उजागर गर्ने तौरतरिका आफैँमा सरल, ओजपूर्ण भइकन पनि कठिन र जटिल कार्य हो । यो ६ हरफरमा लघु कविता आकारमा परम्परागत रचिने प्रचलन विद्यमान भए पनि विश्वव्यापीरूपमा मूलतः ३ हरफमा रचना गरिने चलन–चल्ति रहेको पाइन्छ ।
ऐतिहासिक पृष्ठभूमि :
            सर्वप्रथम सिजो कविताको सृजना छिमेकी मुलुक चीनबाट भएको पाइन्छ । राजा युरिकोले विवाह बन्धनमा बाँधिएको दुईजना दिदी–बहिनीबीच एकआपसमा मनोमालिन्य, झैझगडा भई एउटीले चटक्कै छोडेर हिँडेपछि उनी अत्यन्त मर्माहत भई राजाले विछोड बिर्सन दुई वटा चराका प्रणय गीत रचना गरेपछि यो विधाको उत्पति भएको भनिन्छ । सन् १४४६ पश्चात् कोरियाली हाङ्गुएल अक्षरको विकासपछि नै सिजोको श्रीगणेश भएको मानिन्छ । सन् १९७० को दशकमा ‘लामो खालको सिजो’ र ‘बाल सिजो’ विकास भई परिष्कृत र परिमार्जितरूपमा सिजो लेखनको विकासक्रम भएको पाइन्छ ।
            सन् २००८ मा नेपालमा भित्रिएको भनिएको यो विधामा हालसम्म जम्मा ५ जनाले एकल र सहलेखन गरी कृतिको रूपमा आफूलाई सिजोपाठकसामु उभ्याएको पाइन्छ । सिजो कविताको अङ्ग्रेजी भर्सनमा पुष्कर लोहनी, प्रा. रामकुमार पाँडे तथा लालबहादुर भुजेल गरी ३ जनाको मात्र कृति प्रकाशित भएको देखिन्छ ।
कोरियामा सिजोको महत्व :
            सन् १५९२ मा जापानले कोरियालाई उपनिवेशको चपेटामा ३६ वर्ष पारेको देखिन्छ । यसअघिको ‘सिजो’ कविता लयात्मक र गेयात्मक भएको पाइन्छ । थोरै शब्दमा धेरै कुरा गर्न सामथ्र्य हुने यस विधाको छुट्टै गरिमा, पहिचान, मूल्य–मान्यता र विशेषता छ । सन् १९०८ को परम्परागत शैलीका र त्यसपश्चात् सृजित सिजोलाई आधुनिक मान्न थालियो । सन् १९०४ मा छापिएपछि यसलाई पुनर्जीवित भएको ठान्न थालियो । सन् १९६० को लामो अन्तरालपछि सिजोले विकास विस्तारमा अग्रगामी छलाङ मार्‍यो । यो विधामा प्रतिबिम्बित हुने विषयवस्तुको सीमा व्यापक हुँदै छ । सिजोमा समेटिने विषयवस्तुमा प्रेम–प्रणय, वातावरण, राजनैतिक परिवेश, जीवन–जगत, विकृति, प्रकृति, सुख–दुःख, सङ्गीत, दर्शन, व्यङ्ग्य, गुनासो, आक्रोस, अराजकता, भवितव्य, घटना–दुर्घटना, संस्कृति, पहिचान, कुुरीति, अन्धविश्वास, राष्ट्र–राष्ट्रियता, देशप्रेम, चेलिबेटी बेचबिखन, आत्मनिर्भरता, छुवाछूत, भेषभूषा आदि छन् ।
सिजो कविता कसरी लेखिन्छ ?
– यो पहिलो, दोस्रो र अन्तिम गरी ३ हरफमा लेखिन्छ ।
– प्रत्येक हरफमा ३, ४ वा ५ अक्षरको ४ खण्ड हुन्छ ।
– प्रत्येक हरफमा चार शब्द हुन्छ ।
– विभिन्न कोरियाली सिजो साहित्यकारहरूले प्रदत्त नमुनाअनुसार,
पहिलो हरफमा ३–४–३–४. १४
दोस्रो हरफमा ३–४–३–४ . १४   ४३ अक्षर
तेस्रो हरफमा ३–५–४–३ . १५
पहिलो हरफमा ३–४–४–४. १५
दोस्रो हरफमा ३–४–४–४. १५      ४५ अक्षर
तेस्रो हरफमा ३–५–४–३. १५
            यसरी विद्वान सिजोकारहरूले विभिन्न चरणमा ४३ देखि ४५ अक्षरसम्मले एउटा सिजो कविता पूरा हुनसक्छ भनी उल्लेख गरेको पाइन्छ । त्यसैले सिजो रचना गर्ने सिलसिलामा जो कोही, यस विधाप्रति रुचि राख्ने साधकले, यिनैमाथि उल्लेखित सूत्रलाई अनुशरण गर्दै पाठकहरूलाई पठनीय, चित्ताकर्षक र हृदयस्पर्शी सिजो कविता रचना गर्नसक्छ ।
            हाइकू, ताङ्कामा जस्तै अक्षर गणना गरी सङ्ख्यात्मक हिसाबले मिलाएर सिजो रचना गर्न सरल र सहज छैन । विज्ञहरूको सिजो–सूत्रलाई संरचनागतरूपमा अवलम्बन नगरी आफूखुसी सूत्रपात गरी सीमा, मापदण्ड र साधनाविना रचना गर्दा खास सिजो नबनी अराजकतातिर मोडिने र स्तरहीन हुने डर हुन्छ । सिजो कविता ३ हरफ वा ६ हरफको पनि हुनसक्छ, तीन हरफलाई नै एउटाको दुईवटा बनाएर ।
            विभिन्न विशेषज्ञहरूको सिजो लेखनबारेको फरक धारणालाई मतैक्य गर्दै वि.सं. २०७४ मा प्रकाशित मेरो सिजो पुस्तक ‘कुहिरोको पहाड’ मा प्रकाशित केही सिजो कविताहरू प्रस्तुत गर्न चाहन्छु :
विचरा चेलीलाई, झुक्याएर सीमापार
स्वदेशी अवसर, वैदेशिक रोजगार
मानव, बेचबिखन, कालरात्री कतार !
चटारो रोपाइँको, चैतेधान देशैभरि
प्राण हुन् धर्तीमाता, स्वाभिमानी सबैथरी
किसान खेत–बारीमा, रमाउँदै लेबरी !
हरियो तरकारी उकास्दै छ घरबारी
पुख्र्यौली खेतीबारी सुधारेर रोजगारी
उब्जन्छ यही देशमा हीरा–मोती सुपारी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *