युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
२२ वैशाख २०७७
प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी शर्मा ओली) को यसपल्टको खड्गो टरेकै हो त ? गएका दुई हप्ता प्रधानमन्त्री वरिपरि अनिष्टका झञ्झावात निकै कडासँग बेगबान भएको थियो । ती झञ्झावातको बेग स्वाट्टै पो त घट्यो । गएको शनिबार बेलुकादेखि नेपाल कम्युनिस्ट पार्टीका माथिल्लो तहका नेता भाँडिएर केपीलाई तिरिमिरी झ्याइँ पो पारिसकेका रहेछन् । केपीले अर्काको पार्टी फुटाएर लोभी–पापी सांसदहरूलाई आफ्नो सत्तासीन पार्टी नेपाल कम्युनिस्ट पार्टीमा स्वागत गर्ने र पूर्ण दुईतिहाइ बहुमत गराउने रणनीति लिई अध्यादेश जारी गराएका रहेछन् । त्यो अपराध गराइएको रहेछ । अन्ततः छिपाको घ्याम्पो फुट्यो, सबैखाले रङ पोखिएर छुट्टी ¤ कुनै राजनीतिको, कुनै रणनीति, कुनैको कुनै । त्यो खुट्याउन र छुट्याउन पनि सरल रेखाबाट नहुने द्विकोणात्मक, त्रिकोणात्मक र बहुकोणात्मक रेखा चाहिने । यो फर्मुला पनि सामान्य बुद्धिले नहुने चतुर बुद्धि नै चाहिने रहेछ । यो राजनीतिको खेल पर्दा बाहिर भने यही वैशाखको ८ गतेबाट सुरू भयो । त्यो पनि सबैले थाहा पाउने गरी होइन, मन्त्रिपरिषद्का सदस्यले मात्र हो त्यो पनि अकस्मात् ठाडो क्याबिनेट बैठकमा आएपछि । कत्रा विश्वासको सङ्कट ¤ दुई वटा अध्यादेश आए सुटुक्क, त्यसैगरी सुटुक्क पास भए, तत्कालै सुटुक्कै राष्ट्रपतिकहाँ पुगे र सुटुक्कै चित्तबुझ्यो राष्ट्रपतिलाई र सुटुक्कै जारी भए राष्ट्रपतिबाट । आफ्नो पक्षको राष्ट्रपति चाहिने यस्तै सुटुक्कका लागि रहेछ ।
मच्यो मच्यो – थच्यो वामदेव
अब आगो लाग्यो नेकपाभित्र ¤ सचिवालय बैठक थियो त्यही दिन त्यहीँ । बैठकमा प्रधानमन्त्री ती दुई अध्यादेशबारे नेताहरूलाई अथ्र्याउँदै थिए नेपाल टेलिभिजनले अध्यादेश जारी भएको समाचार प्रसारण गरेछ । समाचारै प्रसारण गरिसकेपछि पार्टीको सचिवालय बैठकमा छलफलको कुनै औचित्य छैन भनी कुरा टुङ्ग्याइएछ । ती अध्यादेशमध्ये एउटा थियो राजनीतिक पार्टी फुटाउन सजिलो पर्ने र अर्को थियो संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षको अनुपस्थिति वा असहमतिमा पनि निर्णय हुनसक्ने अर्थात् त्यो परिषद् बैठकमा प्रमुख प्रतिपक्षको निषेध ¤ ती दुवै अध्यादेशको व्यापक विरोध भयो । अन्ततः १२ वैशाखमा दुवै अध्यादेश फिर्ता गरियो । यही हो दृश्य राजनीति ¤ अब यसैबीच राजनीतिको नेपथ्यमा अनेक एकार्थी, बहुअर्थी नाटक मञ्चन हुनलागेछन् । अब नेकपाभित्र वा पूर्वपार्टीहरूका पृथक पृथक चुल्हाहरूमा जाउलो पाक्न थाले । पुरानामा माले नेता वामदेव गौतमको निकै समयदेखि आगो नबलेको चुल्हो पनि धुवाँउन थाल्यो भैँसेपाटीमा । वामदेवमा प्रधानमन्त्री हुने भूत चढाइदिएछन् कुन–कुन राजनीतिक शक्तिको व्यक्तिले । फलस्वरूप अब ब्युँझे वामदेव ¤ अरू चतुर नेकपाका नेताको …… परे र यसपाला पनि वामदेव मच्यो मच्यो थच्योमा परेजस्तो छ ।
आत्मआलोचना सबैबाट मुक्ति !
यही ८ वैशाखदेखिको नेकपाको राजनीतिक खेलमा तीनवटा अङ्क प्रस्तुत भएका छन् २० वैशाखसम्म । बडो रोचक खेल, अब अर्को अङ्कको मञ्चन २४ गते सचिवालय बैठकको नाममा हुनेछ । यो नयाँ नाटकका अरू अङ्कहरूको मञ्चन त्यसपछि हुन्छन् हुन्नन् अहिले नै किटानीसँग भन्न सकिन्छ भन्ने स्थिति छैन । अब त अस्ति शनिबारको सचिवालय बैठकले वामदेवलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय सुनाएर वामदेवका उम्लिएका राजनीतिको ज्वाला तह लगाइयो । कोरोनापछि प्रधानमन्त्री हुने आश्वासन वामदेवका लागि प्रतिनिधिसभा सदस्य बनाउने त्यो पनि उपयुक्त समयमा भन्नेमै ट¥यो । अब यो स्थितिमा कसरी जान्छ ओलीको राजनीति त्यसमा निर्भर हुन्छ वामदेवको राजनीतिक भविष्य भन्ने लाग्छ । राजनीतिमा त्यो पनि वामपन्थी राजनीतिमा आत्मआलोचनाले ठूलाठूला अपराधहरू पनि आत्मालोचनाबाट कतै मुक्त हुने त होइन ? भन्ने शङ्का हुन्छ । राजनीतिक अपराध वास्तवमा अन्य अपराधभन्दा सङ्गीन, त्यस्तो अपराध पनि क्षम्य हुने अवस्था आयो भने ? प्रश्न कति संवेदनशील छ ? कति कपुतहरूले आफ्नो मुलुक नै अर्को देशलाई सुम्पिएका घटना पनि छन् । तसर्थ आत्मालोचनामात्र गरेर जघन्य अपराधबाट मुक्ति मिल्ने हो भने अनर्थ हुनथाल्छ भोलि । हाम्रा यी स्वनामधन्य महानुभावहरूले आ–आफ्ना राजनीतिक कुकर्महरू, अपराधहरू आत्मालोचना गरे रे त्यसपछि मुक्त ¤ गत २० गतेको यी ठूलबडाहरूको बैठकमा पनि त्यसै भो ।
यो स्थिति त्यसै आएको होइन
२० वैशाखको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने, “सरकारबाट भएका कमी–कमजोरी म जिम्मेवारी लिन्छु, आत्मालोचना गर्छु, तपाईँहरू पनि आफ्ना कमजोरीप्रति आत्मालोचना गर्नुस् ।” अब ओली मुक्त ? त्यस्तै अर्का नेता माधव नेपालले पनि एकताबद्ध भएर अघि बढ्नु धेरै राम्रो कुरा हो, यति कुरा चाहि बुझिराख्नोस् । त्यही बहानामा दुई अध्यक्षको चोचोमोचो मिलाउने होइन भने, उनी पनि मुक्त । दोस्रा अध्यक्ष प्रचण्डले पार्र्टी एकतालाई मजबुट बनाउन हामी एकताबद्ध भएर अघि बढ्नुपर्छ । एकताको सन्देश दिन पनि स्थायी कमिटी बैठक बोलाऊँ बस् ¤ यति नै पर्याप्त ? कस्ता सशक्त वाक्य यी ? पार्टीका महासचिव विष्णु पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गरेछन् । यद्यपि, पौडेल शतांश नै ओली पक्षका हुन् । तर, यो आजको बिग्रिएको अवस्थामा परिस्करण गरी यी नेताहरूबीच बारम्बार भेटी सहमति कायम गर्न अद्वितीय भूमिका खेलेछन् । सायद यस पल्टको यो महाभारत साम्य पार्न महत्वपूर्ण काम गर्न अर्को नयाँ पात्र हुन् नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी । उनले राष्ट्रपतिहरूको बीच कुरा पनि गराइछन् । आजको स्थिति त्यसै आएको हो र ?
चिची पनि पापा पनि !
के अब साँच्चै नेकपाभित्रका मुद्दा छिनिएकै हो ? यो मुद्दामा अब पार्टीको स्थायी कमिटीको भूमिका के हुन्छ ? कि यस्तै आलोचना आत्मालोचनाकै प्रक्रियाद्वारा नै निर्णायक हुन्छ ? यो आत्मालोचना र आलोचनाबाटै सम्पूर्ण राजनीतिक मुद्दा टुङ्गिने हो भने भोलिको समाज कस्तो होला ? तसर्थ कसुरअनुसारको सजाय हुने व्यवस्था गर्नु जाती होला । यी शीर्ष नेताहरूबीचको महत्वाकाङ्क्षाका कारण नै मुलुक आजको स्थितिमा पुगेको हो । प्रमुख प्रतिपक्ष र प्रतिपक्षको राजनीतिक शक्ति वा शक्तिहरू बलिया भएका भए, राजनीति गर्न सफल भएका भए आज नेकपालाई चिची–पापा पनि हात पर्दैनथ्यो । दुवै हातमा लड्डु पर्दैनथ्यो । आज प्रमुख प्रतिपक्ष सरकारबाट अधिकतम सुविधा हस्तगत गर्ने ध्याउन्नमा मात्रै केन्द्रित छ । अरू पार्टी पनि थुपै्र छन्, के गर्दै छन् त्यो खोज्नुपर्छ । साँच्चै नेपाली काङ्ग्रेस अलि बढी बलियोमात्रै भइदिएको भए आज नेकपाका चार–पाँच जना नेताको हिजो एउटा कुरा, आज त्यसको उल्टो कुरा सुन्न बाध्य हुनुपर्दैन पक्कै पनि । तर, राजनीतिलाई सेवाको माध्यम बनाउने नेपाल मजदुर किसान पार्टीजस्ता जनताका पार्टीलाई मतदान गर्ने बेला बिर्सन्छन् हाम्रा मतदाता ।
राजनीतिलाई कमाउने उद्यमका रूपमा प्रयोग गर्ने दल वा नेतालाई हामी मतदान गर्छौँ । पछि फेरि आफँै किन त्यस्ता दल र नेतालाई मत दिइएछ भनी पश्चाताप गर्छौँ । त्यसरी कसरी होला र ? वास्तवमा राजनीतिक पार्टी राम्रो नहुनुमा हामी पनि जिम्मेवार छौँ होइन र ?
यसो घोत्लिऔँ त ?
दलहरू, राजनीतिक पार्टीहरू जनतामा जानुपर्ने तर दलहरूमा जनता आउनुपर्ने, धाउनुपर्ने उल्टो गति भो । अब हुँदा हुँदा त आफ्ना प्रतिनिधिहरूलाई आमन्त्रण ग¥यौँ सार्वजनिक समारोहहरूमा भने सकभर आउनै नखोज्ने, टार्न टार्न खोज्ने, कथं आए पनि समयमा नआउने । घिङ्न्याहा बानी परेको छ हाम्रा नेताहरूमा । नेताहरूबाट हामी जनताले सिक्नुपर्ने । नेताहरू आए, नेतृत्व आए उज्यालो आउनुपर्ने, असल चरित्र आउनुपर्ने । नेताहरू गाउँमा, टोलमा नबोलाइकनै आउनुपर्ने । आफूले निर्वाचनका बेला मत माग्दा गरेका वाचा, दिएका आश्वासन दोहो¥याउनुपर्ने । यो यो गर्छु, गराउँछु भनेको थिएँ ती सबै त गर्न सकिन सकिन तर यो यो त गर्छु, गराउँछु भन्नुपर्ने । तर, जब जनताबाट छानियो, छान्ने जनता नै बिर्सने यस्तै गैरजिम्मेवारी । राजनीतिलाई यसरी हलुकारूपमा लिएपछि जनता कसरी रिझिन्छ र ? खानेपानीको हाहाकार छ सहरका टोल टोलमा । प्रायः हात कति पर्छ भन्ने ध्याउन्नमा जनप्रतिनिधि । अनि विकास निर्माण, स्वास्थ्य, सरसफाइ, साक्षरता, शुद्ध खानेपानी, खै ? पर्वतारोहणमा आएका विकसित मुलुकका पयर्टन पनि हामीलाई असल कुरा सिकाउने, हामीबाट असल कुरा सिक्ने चलनलाई क्रियाशील एवं अनुकरणीय गराउन सके यो सुन्दर देशलाई सम्पन्न पार्न सकिन्थ्यो । तर त्यस दिशातिर खोइ आँखा गएको ? यसो घोत्लिऔँ त ?
वियोगान्तबाट संयोगान्ततिर
नेपाल कम्युनिस्ट पार्टी–नेकपा–भित्रको आगो अलि दिनमै रोकियो क्यालिफोर्नियाको भीषण आगलागीझँै र निभ्यो या निभाइयो । भूसको आगोजस्तो बाहिर निभेजस्तो तर भित्रभित्रै भुतभुतेजस्तो कि अथवा परालको जस्तो । एकपल्ट बेस्करी बल्यो अनि स्वाट्टै निभ्यो हुने हो एकिन भन्न सकिन्न । त्यो बाल्ने र निभाउनेहरू भरपर्दा छैनन् न त छन् विश्वासिला नै । फेरि नेकपाभित्र एकथरी बलेको आगो ताप्ने तर आफू भने आगो बालेर नताप्नेहरू पनि कम सङ्ख्यामा कहाँ छन् र ? आजको नेकपाभित्रको एउटा मूल मुद्दा यो पनि हो । यो आगो साँच्चै निभेको हो वा निभेजस्तो मात्र भएको हो भोलि–पर्सिसम्ममा स्पष्ट हुन्छ । पार्टी एकीकरण भएको तीन वर्ष पुग्न आँट्यो तर एकीकरण टुङ्गिएको छैन । हरेक राजनीतिक पार्टीमा स्वाभाविक धाँजा हुन्छन् । ती एकथरी नदेखिने धाँजा पनि हुन्छन् तर भित्रभित्रै काम गरिरहेका बाहिर या दृश्यमा शून्य क्यान्सर रोगजस्ता । आजको नेकपा कतिवटा कम्युनिस्ट पार्टी समेटिएर यो स्थूल काम भएको हो । त्यसको हिसाब लामो हुन्छ । एकथरी कामरेड जति त्यतै लाग्नेभयो । त्यसो हुनु नपर्ने तर भई पनि सक्यो । १६ गतेको नेकपाको त्यसको पहिलो वियोगान्तजस्तो थियो । तर अस्ति २० गतेको नाटक आश्चर्यजनकरूपमा संयोगान्तमा उल्टियो । एकप्रकार आश्चर्य हो यो ।
तातो मासु–भात र चिसो जाउलो !
आजको नेकपाभित्र छेपारो चरित्रका थुप्रै कामरेड छन् । १२ बजे खुमलटार आउँछु भन्छन् तर ११ बजे नै बालुवाटार पुगेर आब आउन्न है त्यो शिविरमा मैले नयाँ घाम ताप्न जाने निधो गरेँ हिजो पनि त्यही थिएँ पुराना मित्रले कर गरे । बेला आएपछि बाँडीचुँडी खाउँला । अब भान्छा नबदलौँ भन्ने । हो जस्तो लाग्यो । अब त्यहाँ चिसो जाउलो खान आउन्न । यतै जुम्ली मार्सी चामलको भातमा झापाली बोसो भएको खसीको लेदोसँग खाने निधो गरेँ । रौतहटको भात खान बर्दियादेखिको खसी कोटेश्वरसम्मको घिच्यावस भन्दै आश्रयस्थल परिवर्तन गरेपछि अरू अरू शिविर पानी दर्कँदा काँचो इँटाको गारोझैँ गल्र्यामगुर्लुमझँै ढले रे । आजको नेकपाको प्रतिकात्मक बिम्ब हो यो । अब पनि को कता ? को कताको फिलोसोफी कायमै छ । दक्षिणतिरबाट फेरि आगो फुकियो भने नयाँ शिविर तात्ला भन्ठानी अर्को क्वारेन्टिनमा सर्ने सम्भावना छ । अब वर्तमान सन्दर्भका अरू एकाङ्कीहरू पनि विभिन्न मण्डलाहरूमा प्रदर्शन हुनेछन् । तपाईँलाई कोरोना भाइरसको सङ्क्रमणको भय र चिन्ता छैन भने । धेरै मण्डलाहरूमा फरक फरक दर्शनका फरक फरक परिकार उपलब्ध हुनेछन् । पर्सि २६ वैशाखदेखि नयाँ बानेश्वरमा अर्को राजनीतिक अनुष्ठान प्रारम्भ हुँदै छ । जसले नेपालको राजनीतिलाई दिशा बदल्नेसम्म अवसर दिनेछ । तर कोरोनाले के भन्छ ? त्यो आजको मुख्य प्रश्न छ ।
Leave a Reply