शुभलाभमा आधारित हतियार उद्योगका सञ्चालक, ठूला घरजग्गा दलाली, व्यापारी र पुँजीपतिहरूको हरेक चार वर्षमा फेरिने अमेरिकी सरकारसँगको सम्बन्ध र उठबस जुनसुकै परिवेश, मौसम र राजनीतिक परिस्थितिमा अविभाज्य हुन्छ । तिनीहरूको साथ र सहयोगविना बलिया र ठूला मानिएका डेमोक्रेटिक र रिपब्लिकन पार्टीहरूले चुनाउमा खर्च गरिने अपार धनरासी सजिलैसँग जुटाउनै सक्दैनन् । संरा अमेरिकाको विद्यालय, कलेज, विश्वविद्यालय, नाइट क्लव, जुवाकोठी (Casino) वा ठूलठूला व्यापारिक भवन (shopping complex) मा घटिरहने गोली काण्डको अविरल श्रृङ्खलाले जतिसुकै राजनेता, सर्वसाधारण नागरिक, शिक्षक र बालबालिकाहरूको अनाहकमा हरेक वर्ष हजारौँको ज्यान लिइरहे पनि ती हतियार उत्पादन गर्ने साना कारखाना र ठूला उद्योगहरूको सञ्चालनमा कुनै पनि अमेरिकी सरकारले कदापि बन्देज लगाउन सक्दैन । यिनलाई अमेरिकी नागरिकको सुरक्षा, अमनचैन र शान्ति सुव्यवस्थाभन्दा पनि ती ठूला व्यापारी र पुँजीपतिहरूको हित र कल्याण गर्ने काम कारबाही बढी प्रिय हुन्छ, नुनको सोझो भनेकै यही नै हो, दलाली गर्नु भनेको पनि यही हो । यसबाट ती ठूला पार्टीहरूको सरकार, सत्ता र शक्तिको अधिकतम प्यास मृगतृष्णा हुन पाउँदैन किनभने पानीले भन्दा पनि कोकाकोला र पेप्सीजस्ता अखाद्य पेय पदार्थले पनि उनीहरूको राजनीतिक तिर्खा मेटाइरहेको हुन्छ ।

विभिन्न अमेरिकी ब्राण्डका बन्दुकको प्रदर्शन तथा खुला बिक्री वितरणमा मानिसको भीड
संरा अमेरिकामा घटिरहने अप्रिय गोलीकाण्ड र तिनले निम्त्याउने भयावह परिणामको दोषी न बन्दुक न पिस्तोल हो, न त हातहतियार उत्पादन गर्ने उद्योग नै दोषी हो । बल्कि ती हतियारको दुरूपयोग गर्ने व्यक्तिहरू नै यसका दोषी हुन् भनी ती पुँजीपति र अमेरिकी सरकार कुतर्क गर्छन् । त्यसैले बेलाबखत अमेरिकी समाजमा शान्तिसँग जीवन यापन गर्न पाउने अधिकारको माग गर्दै ती हातहतियार उत्पादन गर्ने उद्योगहरूको विरुद्ध पीडित अमेरिकी जनताले गर्ने आन्दोलन बीचैमा टुहिन्छ किनभने पोखरीमा ढुङ्गा हान्दा आउने छालजस्ता ती आन्दोलनले सुनामीको रूप लिन नसकेसम्म ती हतियार उत्पादन गर्ने कारखाना सञ्चालनमाथिको खारेजीको माग एकादेशको कथा बन्दै जान्छ, गोलीकाण्डबाट हुने हत्याको सिलसिलाले निरन्तरता पाउँदै गर्छ । सत्य कुरो यही हो– पुँजीवादी व्यवस्थामा सर्वसाधारण नागरिक र गरिबको समस्या र व्यथाभन्दा ठूला पुँजीपति, विचौलिया, व्यापारी र पैसावालहरूको स्वार्थको रक्षा हुन्छ र मागको पनि बेफिकर सुनुवाइ हुन्छ ।
प्रजातान्त्रिक भनिने पुँजीवादी मुलुकहरूको सरकार भनेकै धनाढ्यहरूको पकडमा हुने गर्छ । अन्यथा ‘कोरोनाको कारण एक लाख अमेरिकी जनताको ज्यान गए पनि त्यसलाई गम्भीरढङ्गले लिन नहुने’ गैरजिम्मवारी अभिव्यक्ति संरा अमेरिकी राष्ट्रपतिजस्तो व्यक्तिबाट आउने थिएन । कोभिड–१९ सङ्क्रमणसँग सामना गर्ने भनी छुट्याएको अरबौँ डलरको राष्ट्रिय सम्पत्तिले गरिब अमेरिकी जनताभन्दा धनीहरू लाभान्वित भएको सत्य समाचारबारे थप कोट्याउन नपर्ला । संरा अमेरिकामा कोरोना रोगव्याधिको कारण सृजित बन्दाबन्दीको उहानमा दुई लाख पचास हजारभन्दा बढी हातहतियार बिक्री भइसकेको वास्तविकता अमेरिकी सञ्चारमाध्यमहरूले पुष्टि गरिसकेका छन् । यस वर्षको मार्च महिनाको बन्दुकको यो कारोबार गत वर्षको सोही महिनाको भन्दा ८५ प्रतिशतले वृद्धि हो ।
आफ्नो सुरक्षाको लागि भनी हतियार किन्ने ग्राहकहरूको अप्रत्याशित भीडभाडका कारण यस वर्ष तिनीहरूको सही व्यक्तिगत विवरण नियमानुसार राख्न नसकिएको भनी बिक्रेताहरूको लाचारपनका कारण अमेरिकाको राष्ट्रिय अपराध पीडित सर्वेक्षण NCVS -National Crime Victimization Survey र सङ्घीय अनुसन्धान ब्युरो FBI -Federal Bureau of Investigation हरूले आफूहरूसँग त्यसको सही तथ्याङ्क नभएको कुरा खुलाइसकेका छन् । हातहतियार नियन्त्रण अभियानमा कार्यरत अमेरिकन नागरिकहरूले यसलाई शुभ सङ्केतको रूपमा लिइरहेका छैनन् । सन् २०१४ देखि २०१८ अथवा चार वर्षमा भए गरेका कहालीलाग्दो हत्याहिंसालाई आधार मानी संरा अमेरिकामा विद्यमान रोग नियन्त्रण केन्द्रहरू – CDC -Centres for Disease Control ले उपलब्ध गराएको तथ्याङ्कनुसार हरेक दिन करिब ३१३ जना निर्दाेष अमेरिकी नागरिकहरू गोली हानाहानको निसाना बन्छन् । त्यसमध्ये १०३ जनाको मृत्यु हुन्छ र २१० जना गम्भीर घाइते हुन्छन् । संसारको सबैभन्दा शक्तिशाली, धनी र शान्ति सुव्यवस्था कायम भएको प्रजातान्त्रिक मुलुक भनिने संरा अमेरिकाको आन्तरिक वास्तविकता यही नै हो र सबैभन्दा धेरै हातहतियार उत्पादन गरी विश्वको विभिन्न कुनाकाप्चामा आम विनाशकारी हतियारदेखि बम वर्षक लडाकु हवाईजहाजको अनुचित्त ढङ्गले सबैभन्दा बढी निर्यात गर्ने देश पनि अमेरिका नै हो । हातहतियारको बिक्रीले अमेरिकन अर्थतन्त्रमा महत्वपूर्ण अर्थ राख्छ । सउदी अरवियाजस्तो देशलाई थर्काएर भए पनि आफ्नो हतियार किन्न बाध्य पार्छ । तर, संसारमा यसैले बढी रक्तपात निम्याउँछ । भनिन्छ– संरा अमेरिकाले हतियारको व्यापारमा कमी ल्याउँछ भने रुस, फ्रान्स, जर्मन, बेलायत, चीन, इजरायललगायत अन्य मुलुकहरूलाई पनि त्यसो गर्न करै लाग्छ । परिणामस्वरूप संसारमा शान्ति कायम गर्न मन्दिर, चर्च, गुम्बा र मस्जिद गई कसैले ईश्वरसँग पुकार्नु पर्दैन, अनाहकमा अग्निकुण्ड बनाई कोटिहोम, जज्ञ गर्ने र पूजापाठको खाँचै हुँदैन ।
संरा अमेरिकी शैक्षिक संस्थाहरूमा भएका केही दुःखद नरसंहारका घटनाहरू ः
संरा अमेरिकाको विभिन्न राज्यका शिक्षा नीतिअनुसार शैक्षिक व्यवस्थामा कहीँकतै भिन्नता भए तापनि सामान्यतया तलदेखि माथिल्लो तहसम्मका शिक्षण संस्थाहरू निम्नानुसार वर्गीकरण गरिएका हुन्छन् ः
१.Nursery School – जसलाई Child Care/Day Care पनि भनिन्छ ।
२. Kindergarten School
३.Elementary School (जसलाई Grade School/Grammar School पनि भनिन्छ ।
४.Middle School
५. Junior High School
६ High School (Secondary School)
७. Community School
८.College/Uniuversity
बाथ स्कूल दिज्यास्ट्र (Bath School Disaster)
सन् १८२७ मे १८ मा संरा अमेरिकाको मिचिगन राज्यको Bath Downtown मा अवस्थित Bath
Consolidated Elementary School मा भएको विध्वंसात्मक श्रृङ्खलाबद्ध बम विस्फोटनले गरेका आम नरसंहारलाई संरा अमेरिकाको इतिहासमा शैक्षिक संस्थाको हाताभित्र भएको सबभन्दा खतरनाक र भयावह हत्याकाण्ड हो, जसलाई बाथ स्कूल दिज्यास्ट्र Bath School Disaster/ Bath School Massacre भनिन्छ ।

(संरा अमेरिकामा सिमकार्ड किन्ने भन्दा पनि सहजढङ्गले हातहतियारको खरिद बिक्री हँदै )
Bath Consolidated School नामको यस Elemenrary तहमा अध्ययनरत लगभग २०० जना बालबालिकालाई नै समाप्त पार्ने मनसायले गरिएको अमानवीय हत्याकाण्ड थियो । त्यसै विद्यालय बोर्डको कोषाध्यक्ष Andrew Philip Kehoe (आन्द्रु फिलिप केहो) नाम गरेको ५५ वर्षीय व्यक्तिबाट गरिएको यस बम विस्फोटनमा परी कक्षा २ देखि ६ मा अध्ययनरत ७ देखि १२ वर्षका ३७ जना छात्रछात्रा, दुई शिक्षक, पाँच वयस्क व्यक्तिहरू मारिएका थिए । दोस्रो विस्फोटनले विद्यालय भवन ध्वस्त गरिसकेपछि आन्दु्र फिलिपले बन्दुकको प्रयोगद्वारा विद्यालय नजिकैको आफ्नो गाडीमा लुकाइराखेको वारुद विस्फोट गरी आत्महत्या गरे । बौद्धिक व्यक्ति भए पनि कृषिकार्यमा ठूलै दिलचस्पी राखी अन्य कृषकले भन्दा बेग्लै र आधुनिक तरिकाले खेती गर्न सिपालु केहो बेहिसाब वृद्धि हुँदै गरेको विद्यालय सम्पत्ति कर तिर्न नसकेपछि ८० एकड जमिन धितोमा राखिएको थियो । त्यस क्षेत्रमा भएका सुन्दर घरहरूमध्येका एउटा उनैको घरलगायत धेरै कुरा गुमाउन पर्दाको पीडा, इमानदार, असल, बौद्धिक र सहयोगी व्यक्तित्वका धनी भएर पनि स्थानीय चुनाउमा नराम्ररी पराजित हुनुको हिनताबोध र अर्थाभावका कारण दीर्घरोगबाट गलेर थला परेकी आफ्नो जीवनसङ्गिनी नेइली (Neillie) लाई ओषधोपचार गर्न नसक्दाको छट्पटि र स्वार्थ समाजको नियतिले आन्द्रु फिलिप केहोलाई उठ्नै नसक्ने गरी बेसरी गाँजेको थियो ।
Michigan Engineering College बाट Electrical Engineering मा स्नातक गरेका उनी त्यसै क्षेत्रका रैथाने थिए । आफ्नो मृत्युपरान्त रोगले जीर्ण र ईश्वरको लागि प्रिय हुन नसकेकी आफ्नो अर्धाङ्गिीनीले पलपल नितान्त एक्लै मृत्युको याचना गर्दै छिनछिनमा मर्न नपरून् भन्ने मनसायले बम र बारुदले विद्यालय भवन ध्वस्त पार्नुअघि उनले Neillie को हत्या गरेका थिए । यो मायाप्रेमको विचित्र लीला हो या यो पुँजीवादको एउटा दुःखद पातो । यस हत्याकाण्डपश्चात् गरिएको अनुसन्धानमा फेला पारिएका थप गोलाबारुद लगायत Electrical Engineering सङ्कायमा स्नातक गरेका आन्द्रु फिलिप केहोले आफ्नो खेतको काँडेतारमा सबैका लागि मनन गर्न झुन्ड्याएर गएको काठको फ्ल्याकमा राम्रो र स्पष्ट अक्षरमा कोरिएको “मानिस अपराधी भएर जन्मिदैन, बरु बनाइन्छ” (Criminals are made but born) भन्ने मार्मिक सन्देशले अगतिलो राज्य व्यवस्थाका कारण समाजमा विद्यमान छक्कापञ्जाबाट जो कोही पनि सीधासाधा नागरिक शिकार हुने भएकोले यसबारे गम्भीर भएर सोच्न सबैलाई सचेत गरेको छ । यस्ता हिंसा पुँजीवादको एउटा दुःखद सामाजिक पातो नै हो भन्नेतर्फ यो बलियो सङ्केत हो ।
संरा अमेरिकी राज्यColorado को Littleton स्थित Columbine High School (कोलम्बाइन हाइस्कूल) मा अध्ययनरत १८ वर्षीय Eric David Harris (एरिक डेविड ह्यारिश) र १७ वर्षीय Dylan Bennet Klebold (डाइलन बेनेथ क्लेबोल्ड) नाम गरेका दई मिल्ने युवक एउटै कक्षाका साथीहरू थिए । ह्यारिसका पिता अमेरिकी हवाई सेनाको विमान चालक थिए भने युद्ध, सैनिकीकरण र हिंसालाई घृणा गर्ने शान्तिका पक्षपाती परिवारमा हुर्केका क्लेबोल्डका पिता मार्टिन लुथरका हिमायती प्रोटेस्टेन थिए । कम्प्युटर अध्ययनमा विशेष रुचि भएका कारण विद्यालयमा यिनीहरूलाई सो विषयमा अबल मान्दथे । मुल्याहा र छाडा विद्यार्थीहरूको जिस्काउने, हैरानी गर्ने र कुटपिट गर्ने नराम्रो आचरणले क्लेबोल्ड र ह्यारिस हैरान भइसकेका थिए, विद्यालय प्रशासनले यसतर्फ कुनै चासो नदेखाएकोमा उनीहरू दुःखी थिए ।
सन् १९९९ अप्रिल २० का दिन बिहान ११ः१० बजेतिर दई छुट्टाछुट्टै कारमा आएका यी विद्यार्थीहरूले झोलामा लुकाई ल्याएको एउटा २० पाउन्डकोे प्रोपेन बम (propane bomb) चमेना गृहमा सुरक्षित ठाउँमा राखी गाडीको छेवैमा बसी उक्त Improvised Explosive Device (IED) बम विस्फोटको केही बेर प्रतिक्षा तर निर्धारित थोरै मिनेटको समयानुसार बम विस्फोट नभएपछि विद्यालयको प्राङ्गणमा अनि पुस्तकालयमा पसी जथाभावी गोली चलाए । यस हत्याकाण्डमा १२ विद्यार्थी, एक जना शिक्षक मारिएका थिए भने २० जना सख्त घाइते भएका थिए । भनिन्छ–अल्पसङ्ख्यक, खेलाडी र क्रिश्चियन र आफूलाई दादागिरी गर्नेहरूलाई यस हत्याकाण्डमा निशाना बनाइएको थियो । आम नरसंहारपछि एरिक डेविड ह्यारिश र डाइलन बेनेथ क्लेबोल्ड आ–आफ्नो बन्दुक आफँैतिर सोझ्याई आत्महत्या गरे । कसैले यी दुई व्यक्तिहरू कालो पोशाक लगाई हुलदङ्गा र अशान्ति मचाइ हिँड्ने ट्रेन्चकोट माफिया
(Trenchcoat Mafia) ले चिनिने आवारा, लोफर र गुण्डाहरूको समूहसँग पनि आबद्ध थिए भनेर पनि शङ्का व्यक्त गरे । तर, पछि अनुसन्धानले यसलाई पुष्टि गर्न सकेन ।
केही अमेरिकन विश्लेषकहरूले आफूहरूलाई अनाहकमा दुःख दिने र विनाकारण बल प्रयोग गरी अपमान गर्नेहरूसँग बदलाको आशयले गरिएको हृदयविदारक घटना हो भनी व्याख्या गरे तापनि यो निन्दनीय हिंसा हो र अपराधै हो । संसारको कुनै पनि कुनामा हुने गरेका घटनामाथि सस्तो टीकाटिप्पणी गरी आधारभूत मानव अधिकारको हनन भएको हल्ला मच्चाउने संरा अमेरिकी सरकारले आफ्नो मुलुकमा भइरहने यस्ता आम नरसंहारलाई के भन्ने ? आफ्नो आङ्गनमा भँैसी नदेख्ने, अर्का जिउमा जुम्रा देख्ने !
Leave a Reply