भर्खरै :

नेता गौतममा राजनीतिक नैतिकता खोइ ?

नेकपाभित्र रहेका नेताहरूमा वामदेव गौतम सबभन्दा बढी बदनाम भएका नेतामा पर्छ । पद र पैसालाई नै राजनीतिको उद्देश्य ठान्ने नेता गौतम सरकारले ल्याएको दुई अध्यादेशपछि चर्चाका पात्र बनेका छन् । प्रधानमन्त्री केपी ओलीले प्रम बनाउने प्रस्ताव राख्नु र उपयुक्त समयमा निर्वाचन गरेर प्रतिनिधिसभा सदस्य बनाउन पहल गर्ने सचिवालयको निर्णयले उनी चर्चामा आएका हुन् । नेकपाका नेता गौतमले प्रम बन्न पाउने गरी राष्ट्रियसभा सदस्य बन्ने अभिलाषा राखेकै हुन् । निर्वाचित अरु सांसदलाई राजीनामा गराएर उक्त क्षेत्रबाट आफू उम्मेदवार भई सांसद बन्ने प्रयास पनि उनले गरेकै हुन् । नैतिकतालाई थाती राखेर अराजनीतिक गतिविधिमा क्रियाशील नेता गौतमको उक्त क्रियाकलापको आफ्नै दल र अन्यत्रबाट व्यापक विरोध भएपछि त्यसबेला उनको चर्चा सेलाएको थियो या इच्छा अधुरो भएको थियो । तर, फेरि मन्त्री बन्ने लालसाले उनी चर्चामा आए ।
निर्वाचित सांसदको ठाउँमा फेरि निर्वाचित गराएर प्रतिनिधिसभा सदस्य बनाउने काम ठीक छैन भनी असहमति जनाइसकेको उक्त कदमलाई फेरि सही ठानेर नेकपाले केको आधारमा उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाएर मन्त्री बनाउने योजना बुनेको हो ? नेता गौतममा राजनीतिक नैतिकता खोइ ? राजनीतिक नैतिकता छोडेर पद लोभी बनेपछि के नेता गौतमको भएको इज्जत र प्रतिष्ठामा आँच पुग्दैन ? निर्वाचनमा हारेको व्यक्ति यस अवधिमै प्रम बन्नुपर्ने ? उपप्रम बन्नुपर्ने ? नेता गौतमलाई प्रम बनाउनैपर्ने पार्टी र स्वयम् गौतमको चाहना किन भयो ? राजनीतिक नैतिकता छोडेर मन्त्री बनेर के इज्जत बढ्छ ?
प्रम बन्नैपर्ने हो भने अर्काे निर्वाचनसम्म पर्खेर बस्ने धैर्यता किन हुँदैन ? अर्काे पटक नेकपाको बहुमत नपाउने सोचेर नेता गौतमले अहिले हठात् गरेका हुन् ? एउटै निर्वाचनको अवधिमा पालैपालो प्रम बन्ने र बनाउने उद्देश्य के नेकपाको हो ? पार्टीभित्र राम्रो काम गरेर, असल नेता बनेर जनताको विश्वास जित्ने काम नेता गौतमले गरे के सही हुँदैन ? पाँच वर्षसम्म सरकारको नेतृत्व केपी ओलीलाई दिने पार्टीले सहमति जनाएपछि आफ्नो निर्णय आर्फँै उल्लङ्घन गर्ने पार्टीको कस्तो चरित्र ? निर्वाचनमा हारेका नेतालाई बीचमा निर्वाचन गराएर नेता गौतमलाई सांसद बनाउने सोच अत्यन्त सङ्कीर्ण छ । सङ्कीर्ण सोच र विचारका नेताले न देशको भलो गर्छन् न जनताको सेवा नै गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *