भर्खरै :

परिवर्तन नेता फेरेर होइन, व्यवस्था फेरेर आउने हो

विश्व कोरोना महामारीको कारण थलिएको छ । मानिसहरूमा त्रास व्याप्त छ । घरबाट बाहिर निस्किन पनि डरलाग्दो स्थिति छ । दिनानुदिन बढ्दै गएको सङ्क्रमित र मृत्यु भएकाहरूको खबरले मनस्थितिमा नराम्रो प्रभाव पारिरहेको छ । तर, सत्ताको लुछाचुँडीमा मस्तमनुवाहरूलाई यो पिरले पटक्कै छोएको छैन । बन्दाबन्दीको कारण हातमुख जोर्न नसकेकाहरूको पीडा बुझ्नु यिनीहरूको चासो नै छैन । नैतिक वा अनैतिक जसरी भए पनि आफ्नो हितमा राजनीतिक समीकरण बनाएर आफू सत्तामा जुगाझैँ टाँसिरहने र त्यसैको दुरूपयोग गरी देशको दोहन गर्ने काममा रातदिन खटिरहेकाहरूलाई फुर्सद पनि छैन । उनीहरु गरिब मजदुर किसानहरूका बारेमा कतिखेर सोचून् ? समय पनि त हुनुप¥यो नि । यिनीहरू महामारीको बेला देशको भयावह स्थितिबाट आँखा तर्काएर राजनीतिको नाङ्गो नाच देखाउन लागेका छन् । यही काममा तल्लीन उनीहरूलाई सास फेर्नेसम्म फुसर्द छैन । आफ्नो दुनो सोझ्याउन यिनीहरूले जसरी कम्मर कसेका छन् त्यसरी नै देश बनाउन कम्मर कसेका भए आजसम्म देशको कायापलट हुने थियो ।
“पार्टी एकता ऐतिहासिक कदम हो, अब नेपाली जनताका दुःखका दिन गए”, भन्दै भाषण गरेकाहरूको भनाइ हावादारीमात्र रहेछ भन्ने प्रस्ट हुँदै छ । अवसरवादी सोचले गाँजेर अरू केही पनि नदेख्नेहरूले म फलानो पदमा पुगे भने यो गर्छु र त्यो गर्छु भन्दै फलाकेको सुन्दा त अझ पारो तात्छ । अघिल्लो निर्वाचनमा ‘वाम एकता’ भन्दै कुर्लिएकाहरूले अब जनतालाई के भनी झुक्याउने हुन् पत्तो छैन । यिनीहरूमा नैतिकता छैन । ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने उखान पनि यिनीहरूको आजकलको हर्कत हेर्दा बेतुकको लाग्न थालेको छ । आखिर जनताको भोटले कुर्सीमा बसेको ‘जनप्रतिनिधि’ ले जनतालाई नै यस्तो विश्वासघात कसरी गर्नसक्छ ? जन्म दिने आमालाई कुलङ्गार सन्तानले दुःख दिएजस्तै भोट दिएर नेताको रूपमा जन्म दिएका जनतालाई यिनीहरूले पलपल मर्न बाध्य पारिरहेका छन् ।
यता केही दिनदेखि प्रधानमन्त्रीको राजिनामाको कुरा उठाइएको छ । के राजिनामाले समस्या समाधान गर्ला ? अझ नैतिकताको आधारमा रे ¤ आफूसँग नभएको कुराको आधारमा उनले राजिनामा कसरी देलान् ? अनि अर्को प्रधानमन्त्री बन्नसक्ने नैतिकवान नेता को छ ? यिनीहरू त एउटै ड्याङका मुला न परे । सबैको चरित्र उस्तै, सबैको व्यवहार उस्तै । अब अर्को उस्तै नेतालाई कुर्सीमा विराजमान गराएर केही फरक हुन्छ ? उखान टुक्का सुन्न नपाइएला अरू त काटिकुटी त्यस्तै त हो । चुनावका बेलामा ५ वर्षमा यो यो गर्छु भनी वाचा गरेका प्रधानमन्त्रीलाई नै अहिले पदबाट गलहत्याएर उनलाई माफी किन दिने ? पछि, ‘मैले गर्न खोज्या थेँ गर्न दिएनन्’ भनेर उखानटुक्का भट्याउने बहाना किन दिने ? उनले राजिनामा दिएर राम्रो नेता सत्तासीन हुने भए त ठिक्कै हो, अनुहारमात्रै फरक तर व्यवहार उस्तै भएका अरू जति फेरे पनि देशले राहतको सास फेर्ला र ?
ओली प्रधानमन्त्री बनेको २ वर्ष ३ महिना नाघेको छ । उनलाई अझै ढाइ वर्ष जनताले झेलेमा उनको पाइन प्रस्ट हुन्छ । बरु अहिले उनले राजिनामा दिए भने आजसम्मको कर्तुतबाट मुक्त हुनेछन् । अनि उनले राजिनामा दिंदैमा हुने पो के हो र ¤ उनकै चरित्र भएको अर्को आउने हो । पानीजहाज र रेल, हरेक भान्साको चुल्होमा ग्याँस पाइप जडान, हावाबाट बिजुली, बेरोजगारलाई रोजगार अनि समृद्ध नेपालजस्ता सपना उनले बाँडे । ती सपनाहरू सुरुसम्म भएका छैनन् । पानीजहाज कार्यालय खोलेका उनीहरूले भोलिपल्टदेखि नै कार्यालयमा भोटे ताल्चा मारे । आफ्ना आसेपासेलाई तलब भने खुवाइरहेकै छन् । ‘काम पाइनस् बुहारी मासका गेडा गन’ भनेझैँ ती कर्मचारीहरूलाई त मज्जै छ । हुन त हामी नेपालीहरूको छिट्टै भुल्ने बानी छ । तर, यसपालिको चटक यति व्यापक थियो कि भुल्न सकिएकै छैन ।
चुनावताका ओलीले बोलेका कुराहरू पूरा हुन नसके पनि उनको केही लछारपाटो लाग्ला जस्तो त छैन । उनका कार्यकर्ताहरू कार्यकर्ता कम भक्त ज्यादा छन् । कार्यकर्तामा आलोचनात्मक चेत नहँुदा नै उनीहरूले यस्तो काम गर्ने हौसला पाइरहेका छन् । उनीहरूले जनतासामु गरेका वाचाहरू नाकले टेकेर भए पनि पूरा गर्नुपर्छ । केपी ओलीले बोलेका कुरा यो कार्यकालमा पूरा गर्न नसके उनलाई मात्र होइन उनको दललाई नै जनताले सजाय गर्नुपर्छ । यति गर्न सकेमा कुर्सीलाई सिनोझैँ ठानेर लुछाचुँडी गर्ने गिद्धहरू पनि आफैँ हराउने छन् । अनि जनताको भावनानुसार काम हुनेछ । एकजुट भई सकारात्मक आलोचनासहित सरकारका कामको बारेमा जनताले चासो दिएमा नेपालको मुहार छिट्टै फेरिनेमा दुईमत छैन ।
वास्तवमा, समस्या प्रधानमन्त्रीमा मात्र छैन । समस्या छ, यो व्यवस्थामै । प्रधानमन्त्री मन्त्री साथै कर्मचारीतन्त्र त यो व्यवस्थालाई मलजल गर्ने मालीहरूमात्र हुन् । यो व्यवस्थामा चाहे जोसुकै सत्तासीन भए पनि खासै फरक पर्दैन । अलिक राम्रा नेता आएमा केही सतही परिवर्तन होला तर आन्तर्य यस्तै हुन्छ । परिवर्तन नेता फेरेर होइन, व्यवस्था फेरेर आउने हो । तसर्थ हामीले चाहेजस्तो देश समाजवादी व्यवस्थामा मात्र हुन्छ । देश एउटाले मात्र बदल्न सक्दैन । त्यसलाई बदल्न जनता एकजुट हुनुपर्छ । सम्पूर्ण जनता एकजुट भएर यो व्यवस्था नउखेलेसम्म हामीले आजको जस्तो राजनीतिक दाउपेच हेरिरहनुपर्छ, सुनिरहनुपर्छ र भोगिरहनुपर्छ । तपाईँ कहिले राम्रो देश देख्न चाहनुहुन्छ, तपाईँकै हातमा छ । आफूले दिनरात काम गरेर धनको जोहो गरी सन्तानको भविष्य बनाउनतिर लाग्नेहरूले त्यस्तै दुःख गरी देशको व्यवस्था फेर्न सकेमा सन्तानको भविष्यमात्र होइन, आफ्नो बुढेसकाल पनि रमाइलोसँग कट्नेछ । सबै मिलेर देशमा आमूल परिवर्तन ल्याउनुको विकल्प छैन । आजैबाट सङ्कल्प गरी विकल्प खोजौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *