अङ्ग्रेजी भाषा बोल्ने र लेख्ने मामिलामा बडो फरक हुनेरहेछ । कुरो अलि पुरानै हो । भक्तपुर घुम्न आएका केही अमेरिकी पर्यटक यतातिरको पठनपाठन र अन्य केही कुरा बुझ्न मन लागेर होला स्थानीय एक विद्यालयमा छिरे । शिक्षकहरूलाई राम्ररी अङ्ग्रेजी बोल्न नआउने हुनाले ती पर्यटकसँग बोल्न सबै हिच्किचाए । पर्यटकसँग कुराकानी गर्नकै लागि अङ्ग्रेजी विषयको शिक्षकलाई बोलाइयो । अमेरिकी पर्यटक र अङ्ग्रेजी शिक्षकबीच कुराकानी भयो तर अचम्मको कुरा एकले बोलेको अर्कोले मुस्किलले बुझ्थ्यो । गफ गर्दैगर्दा न ती अमेरिकीले बोलेको अङ्ग्रेजी शिक्षकले राम्ररी बुझ्यो, न अङ्ग्रेजी शिक्षकले बोलेको अमेरिकनले नै । अन्तमा, दुवैले कपीमा लेख्दै एक आपसमा भनाइको आदानप्रदान गरे एकजना अङ्ग्रेजी मूल भाषी र नेपालीबीच अङ्ग्रेजीभाषामा भएको कुराकानीमा देखिएको त्यो दृश्य बडो रोचक थियो ।
सन्दर्भ नेपाल–भारतबीचको सीमा विवादबारे विभिन्न टीभी च्यानलमा भएका अन्तरक्रिया कार्यक्रममा भइरहेको अङ्ग्रेजी भाषाको प्रयोगलाई जोड्न खोजिएको हो । भाषामा पोख्त नहुँदा विषयवस्तुमा जति नै दखल भए पनि प्रभावकारीरूपमा आफ्नो मत जाहेर गर्न सकिँदैन र स्रोताहरूको ध्यान पनि खिच्न सकिँदैन । अर्कोतर्फ भाषाकै कारण विपक्ष आफूमाथि हाबी हुनसक्छ । हालसालै एउटा भारतीय मिडियामा भाग लिएका नेपाली प्यानलिस्टहरूमा धेरथोर यो कमजोरी देखिन्थ्यो । प्यानलिस्टमध्ये एकजना त अङ्ग्रेजीभाषामा प्रकाशित हुने पत्रिकाको सम्पादक नै थिए । नेपाली मिडिया ‘न्यूज २४’ मा भएको बहसमा पनि त्यस्तै खालको कमजोरी भएको भान भयो । कार्यक्रम प्रस्तोता रवि लामिछानेको अङ्ग्रेजी भाषामाथिको कमान्ड पर्याप्त भएको जस्तो लाग्दैनथ्यो । जसले गर्दा स्वाभाविकरूपले प्रस्तोतालाई ‘अन्डेनाइवल फ्याक्ट’ माथि प्रतिप्रश्न गर्न गा¥हो परेको देखिन्थ्यो । यदि विषयवस्तु सँगसँगै अङ्ग्रेजी विषयमा पनि दह्रो दखल भएको भए प्रतिप्रश्न दमदार हुन्थ्यो र सत्यतथ्य बाहिर आउनसक्थ्यो । वास्तवमा उक्त कार्यक्रममा भाग लिने ‘नेपाल विज्ञ’ भनिएका भारतीय एसडी मुनीलाई राम्रो नेपाली भाषा बोल्न आउँछ । त्यसैले उक्त कार्यक्रम नेपालीमै सञ्चालन गरिएको भए पनि राम्रै हुन्थ्यो । राम्रोसँग अङ्ग्रेजी भाषामा सञ्चालन भयो भने अन्तर्राष्ट्रियरूपमै प्रचार व्यापक हुनसक्ने आफ्नो ठाउँमा छ । त्यसैले विदेशीहरू सहभागी भएका यस्ता कार्यक्रममा अङ्ग्रेजी भाषामा दखल भएका व्यक्ति कार्यक्रमका प्रस्तोता हुँदा राम्रो हुन्छ । यस्तैखाले अन्तर्राष्ट्रिय स्तरका अन्तरक्रियामा भाग लिने प्यानलिस्टहरू पनि अङ्ग्रेजी भाषामा दखल भएकै हुनुपर्छ ।
नेताहरूले विदेशी मिडियासँगको अन्तर्वार्तामा अङ्ग्रेजी भाषामा आफू पोख्त भएमा मात्र उक्त भाषामा बोल्दा राम्रो हुन्छ । अझ शीर्ष नेताहरूले यस्तो बेला दोभाषे राखेर बोल्नु नै बेस हुन्छ । हामीले हेरेका छौँ, भारतीय पत्रकारले अङ्ग्रेजीमा प्रश्न सोधेको बेलामा हाम्रा नेता वामदेवले कनीकुथी हिन्दीमा बोलेको । त्यस्तै गरी तत्कालीन उद्योगमन्त्री मातृका यादवले बोलेको अङ्ग्रेजी पनि हामीलाई सम्झना छ । यस्तो हास्यास्पद घटनाले ‘….भन्दा देख्नेलाई लाज’ हुन्छ । विश्वमा थुप्रै मुलुक छन् जहाँका शीर्ष नेताहरू संसारका जुनै पनि स्थानको भ्रमणमा जाँदा आफ्नै भाषा बोल्छन् । तर, कनीकुथी अङ्ग्रेजी भाषामा बोल्नैपर्ने र त्यसैमा गर्व गर्ने हाम्रा देशका नेताहरूको बानीले धेरै ठाँउमा लज्जित बनाएको छ । विदेशीको अगाडि आफ्नो भाषामा बोल्नुपर्दा हाम्रा नेताहरूमा हिनताबोध हुन्छ । उनीहरू विदेश भ्रमणमा हुँदा बलजफ्ती अङ्ग्रेजीमा बोल्न खोज्दा भन्न खोजेको कुरा पनि स्पष्ट हुँदैन र आफूले भन्न चाहेको मत पनि प्रस्टसित राख्न सक्दैनन् ।
यस्ता बहसमा नेपालीले बोल्ने अङ्ग्रेजी नेपाली स्रोतालाई नै चित्त नबुझेको पछिल्ला घटनाक्रमले देखाउँछ । केही दिनअगाडि एकजना नेपालीले मिचिएको भूमि सम्बन्धमा भारतलाई राम्रै अङ्ग्रेजीमा तथानाम गाली गरेको भिडियो भाइरल भएको थियो । यसबाट प्रस्ट हुन्छ कसैले राम्रो अग्रेजी बोल्दा पनि खुसी हुनुपर्ने अवस्था छ, नेपालीहरूमा । त्यसैले भन्नैपर्छ नेपालीहरूमा अङ्ग्रेजी मोह गज्जबको छ ।
नेपालीमा अङ्ग्रेजी मोह त छ तर सिकाइको तरिका नमिलेर हो कि कलेजमा पढाउने प्राध्यापकसमेत अङ्ग्रेजी बोल्नैपर्ने अवस्था आउँदा बडो गा¥हो गरी बोलिरहेका हुन्छन् । विश्वविद्यालय पढ्दै गर्दाको समयमा अङ्ग्रेजी बोल्नुपर्दाको सानो घटना यहाँ राख्छु । शिक्षकले पढाउँदा उच्चारण साह्रै फरक तरिकाले गर्नुहुन्थ्यो । कहिलेकाहीँ त यति साह्रो गल्ती हुन्थ्यो कि विद्यार्थी नहाँसेर बस्नै सक्दैनथे । विद्यार्थी हाँसेको देखेर एकपटक त शिक्षकले झर्केर भनिहाले, “तिमीहरू हाँस्नै पर्दैन, मेरो उच्चारण यस्तै हो, क्यानाडामा २ वर्ष बस्दा नसुध्रेको उच्चारण अहिले सुध्रिन्छ ?” त्यही कक्षामा एकजना विद्यार्थीले अङ्ग्रेजीमै कनीकुथी एउटा प्रश्न सोधे तर शिक्षकले बुझेनन् । यति बेला पनि शिक्षक झर्केर ‘के अङ्ग्रेजीमा सोधिरहेको, नेपालीमै भने भइहाल्छ नि ।” यस्तो छ हाम्रो अङ्ग्रेजी माध्यममा पढाइने कलेजको अवस्था ।
भाषामा पोख्त हुनको लागि सुनाइ, बोलाइ, पढाइ र लेखाइ चारै पक्ष राम्रो हुनुपर्छ । अङ्ग्रेजी भाषाको सवालमा नेपालीहरू जति लेख्न सक्छन्, त्यति बोल्न र सुन्न सक्दैनन् । त्यहीँ भएर अङ्ग्रेजी सिनेमा हेर्दा त्यसमा बोलिएका संवाद बुझ्दैनन् । त्यहीँ संवाद टीभीको तलतिर सबटाइटल आयो भने बुझ्छन् । किनभने हाम्रो अङ्ग्रेजी सुन्ने बानी छैन, स्कूलमा सुनाइबारे छुट्टै सिकाइ पनि छैन । स्कूलमा सुनाइ र बोलाइ भनेर राखिएको प्रयोगात्मक कक्षा नाममात्रको हुन्छ । स्कूलमा अङ्ग्रेजी विषयको कक्षामा अङ्ग्रेजी उच्चारणलाई बेवास्ता गरिन्छ । जसले गर्दा मूलनिवासीले बोलेको अङ्ग्रेजी भाषा बुझ्न हामीलाई कठिन हुन्छ । यस सन्दर्भमा चीनमा अङ्गे्रजी भाषा सिकाइने तरिकालाई पछ्याउँदा राम्रो हुन्छ । उनीहरूको अङ्ग्रेजी पुस्तकमा अघिल्लो पृष्ठमा जे लेखिएको हुन्छ त्यसलाई कसरी उच्चारण गर्ने भनेर पछिल्लो पृष्ठमा ‘फोनेटिक सिम्बल’ नै दिइएको हुन्छ । फलतः उच्चारण गर्दा मूल निवासीको उच्चारणसँग धेरै हदसम्म मेल खान्छ । त्यसरी नै भारतीय भाषा हामीलाई सुन्नमा धेरै सहज लाग्छ । बच्चा बेलादेखि नै नेपालीहरूले सिनेमा र टीभीमा आउने टेलिश्रृङ्खला हेर्ने बानीले गर्दा यस्तो भएको हो । तर हिन्दी भाषा बोल्नुपर्दा सजिलोजस्तो लागे पनि बोल्नुपर्दा अक्कमक्क हुन्छौँ, कारण हाम्रो सुन्ने बानीमात्र हो, बोल्ने होइन । यसै प्रसङ्गसँग मिल्ने एउटा घटना छ । साथी मधेसी मूलका एक व्यापारीसँग सुन्तला किन्न खोज्दै थिए । उनले साहुजीसँग हिन्दीमा बोल्न थाले, “ए सुन्तला कितना गुलिया है”, “कितना महँगा लगता है” यस्तै हाँसो उठ्दो हिन्दी बोलिरहेका थिए । अझ हामीले हिन्दीमा लेख्नुप¥यो भने अङ्ग्रेजीभन्दा झनै नराम्रो हुन्थ्योहोला । त्यसैगरी हामीले नेपाली जति सहजरूपमा बोल्छाँै, त्यही कुरा लेख्नु पर्दा असहज हुन्छ । मीठो बोल्ने धेरै साथीहरू लेख्न अनकनाउनु हुन्छ ।
अतः भाषा पूर्ण हुन यी चारै पक्षमा ध्यान दिनुपर्छ । यसको निम्ति विद्यालय तहदेखि नै विद्यार्थीलाई प्रशिक्षित गर्नुपर्छ । अङ्ग्रेजी भाषा सञ्चारको निम्ति अन्तर्राष्ट्रिय माध्यम भएको हुँदा विदेशी भाषा भनेर त्यसको महत्वलाई नकार्न पनि सकिँदैन । त्यसैले स्कूलदेखि नै जग बस्ने गरी अङ्ग्रेजी भाषा सिकाइमा सुधार गर्नुपर्ने देखिन्छ । कमसेकम अब आउने पुस्ता अङ्ग्रेजी भाषामा कमजोर हुन नपरोस् ।

 राजन image
 राजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *