भर्खरै :

मेरो जापानी सहयात्री

            “हत्तेरिका भाइ !! ओर्लिने ??”
            ड्राइभर अप्रकट वामपन्थी थिए । “भारत नै नेपाली विकासको बाधक हो” भनेर उनले बाटोभरि दलिलहरू दिइरहेका थिए । त्यो पनि नेपाली यातायात व्यवस्थाका कमीकमजोरीबाट । कुनै शिक्षकसँग बसिरहेझैँ भान भइरहेको थियो । बेलाबेला म जिज्ञासाहरू राखिरहेको थिएँ । आफूसँग विचार मिल्नेहरू भेटिँदा हजारौँ माइलको यात्रा पनि छोटो हुन्छ । ड्राइभर दाइ यस्तै केही महसुस गरिरहेका छन् भन्ने मलाई थाहा थियो । कोटेश्वरमा गाडीहरू ठप्प भएको देखेपछि बसबाट झर्ने मन बनाएँ । यसकारण ड्राइभर दाइले किञ्चित दुखेसो पोखेका थिए ।
            “कतिबेर कुर्ने ?” मैले भनेँ ।
            “कस्तो कुरा मिलिरहेको थियो !!” उनले खसखस पोखे ।
            “बाँकी कुरा अर्को भेटमा गरौँला नि दादा !” सस्नेह यति भन्दै निस्कने तर्खर गरेँ । उनले करकाप गरेनन् ।
            मेरो पछिपछि ऊ पनि बसबाट ओर्लियो । मेरो जापानी सहयात्री ! साधारण रुकस्याक बोकेको । कालो टिसर्ट र कालै ट्रयाक लगाएको । खुट्टामा ट्रेकिङ जुत्ता । सायद जापानी नै । आखिर ऊ जुत्ताकै व्यापारी थियो !
            अलि लामा पाइला चालेर ऊ मनिर आयो । मलाई एकटक हेरिरह्यो । शिष्टतावश म मुसुक्क हाँसेँ। हाउभाउ हेर्दा केही भन्न चाहिरहेझैँ लाग्यो मसँग । मैले ‘अङ्ग्रेजी बोल्छौ’ भनी सोधेँ । उसले “थ” को मात्रा भरेर “ठमेल” भन्न खोज्यो । सुरुमा त मैले बुझ्नै सकिनँ ।
            “हेडिङ टु ठमेल ?” मैले सोधेँ । उसले सुनेन सायद ।
            मैले अलि सङ्केत दिने शैलीमा भनेँ, “ठायम्येल ? रात्नाफार्क ?” उसले बुझ्यो । ऊ ठमेल जाँदै थियो र कुन बाटो जाने, सोधिरहेको थियो । ‘म पनि त्यतै जाँदै छु, पछिपछि आऊ’ भनी मान्छेको हुल छल्दै हिँडिरहेँ । मलाई भेटाउन उसलाई हम्मेहम्मे पर्‍यो । मैले पाइला छोट्याएँ ।
            तीनकुने पुग्दा बाटो एकदम साफ थियो । गाडीको नामनिसान थिएन । बीचको मैदान हरियोपरियो देखिन्थ्यो । बाटामा प्रहरीहरू छ्याप्छ्याप्ती फैलिएका थिए । सडकको पल्लो किनारमा सुकिला पोशाकमा विद्यार्थी, कर्मचारीहरू ठाँटिएर स्वागतका लागि उभिएका थिए । चिनियाँ राष्ट्रपति जो आउँदै थिए ! सी चिनफिङ चीन फर्केपछि थाहा भयो यी तामझाम क्षणिक र कृत्रिम रहेछन् । मोदी आउँदा सडक धोएझैँ सडकमाथि बिछ्याइएको बाक्लो कालोपत्रे चाहिँ वास्तविक रहेछ !
            जापानी नगरकोटमा एक दिन बिताएर फर्केको थियो । कोठा ठमेलमा लिएको थियो । मेरो दाँजोमा हिँड्दा असिनपसिन भए पनि रमाइरहेको थियो । कम्तीमा सबिन राईको जस्तो उसको हाँसोले यसै भन्थ्यो । उसले नेपालमा खाना सस्तो र मीठो रहेको बतायो । झोलाबाट स्याउ निकालेर एउटा मलाई दियो र अर्को आफूले खायो । उसले “नेपालमा स्याउ निकै सस्तो रहेछ” भनी टिप्पणी गर्‍यो । “नेपालीहरू प्लास्टिकभरि स्याउ किन्छन्, त्यति रकममा जापानमा एकदुई दाना स्याउमात्र आउँछ” रे ! मैले भनेँ, “तिमीले खाएको स्याउ चिनियाँ हो । यहाँ चीन र भारतको स्याउ पाइन्छ । नेपालको स्याउ खायौ भने पल्किन्छौ । निकै मीठो हुन्छ !” आश्चर्यमा उसले विस्फारित नयनले हेर्‍यो । “चिनियाँ सामान कहाँ छैन र ?” उसले थप्यो ।
            “त्यहीँ त कुनै बेला जापान शक्तिशाली थियो । १८६० को दशकमै औद्योगिक क्रान्ति भएको देश ! त्यत्रो विशाल देश चीनमाथि समेत जापानले ठाउँ–ठाउँ कब्जा गरेको थियो । ५०।६० वर्षमा चीनले नै उछिन्यो जापानलाई !” उसले स्वाभाविकरूपमा मात्र सुनिरह्यो । उसले बारम्बार पोलैपिच्छे बाँधिएका नेपाली र चिनियाँ राष्ट्रपतिका तस्वीर हेरिरहेको थियो । “देश जति आत्मनिर्भर र स्वाभिमानी हुन्छ, त्यहाँका नेता र जनता पनि उति नै सम्माननीय हुन्छन् । सी चिनफिङको कति ठूलो सम्मान छ विश्वमा । हामी पनि उनलाई सम्मान गर्छौँ । साधनस्रोत सम्पन्न भएरमात्र नहुँदोरहेछ । चिनियाँहरूले एउटा बलियो नेता पाउन धेरै समय कुर्नुपर्‍यो । … जापानको राजनीति त अमेरिकाकै छायाँजस्तो छ !” कुनै विद्यार्थीले झैँ उसले सकारमा मुन्टो हल्लायो । उसलाई देखेर मलाई दया लाग्यो ।
            नेपाल आउने पहिलो जापानी इकाइ कावागुची नाउँका बौद्ध भिक्षु थिए । उनी नेपालको बाटो हुँदै तिब्बतको जासुसी गर्न आएको आशङ्का पनि गरिन्छ । जेहोस्, उनले त्यसबेलाको नेपाली दरबारको जुन चित्रण गरेका छन् त्यसबाट उनको राजनीतिक सूक्ष्मदर्शिता प्रस्ट हुन्छ । उनले “नेपालमा श्री ५ भन्दा श्री ३ शक्तिशाली छन्”, “बेलायती राजनीतिको प्रभाव यहाँ गहिरो छ” लगायत ठुला प्रसङ्गलाई दरबारको सानो कोठा नियालेर नै पत्ता लगाउँछन् । एक भिक्षुको त्यस्तो राजनीतिक चेतना गजबको मान्नुपर्छ । तर, मेरो जापानी सहयात्रीले जुत्ता बनाउने, बेच्ने, श्रीमती र छोरो पाल्नेबाहेक अरू विषयमा ध्यान दिन पाएजस्तो लागेन ।
            “कुन ठाउँका हौ ?”
            “जापान !”
            “बुझेँ । कुन सहर ?”
            उसले कुनै सहरको नाम बतायो । मैले सोधेँ, “ओकिनावाभन्दा कता पर्छ ?”
            “ओकिनावा जापानको दक्षिणमा पर्छ । मेरो सहर उत्तरमा पर्छ ।”
            “तिमीलाई थाहा छ÷छैन, ओकिनावामा एउटी बजै बस्थिन् । अमेरिकी सैन्य आधार शिविरको विरोध गरिरहन्थिन् । आफ्ना सन्तान युद्धमा फँसेको देख्न चाहन्नथिन् । अमेरिकी सेनाले त्यहाँ मिसाइलहरू राखेको छ । २००० किलोमिटर वरपर प्रहार गर्नसक्ने मिसाइल । पेकिङ, प्योङयाङ, हङकङ, ताइवान सबै त्यस दूरीभित्र पर्छन् । … तिम्रो सरकार अमेरिकाले भनेअनुसार गर्छ । परराष्ट्र नीति तिमीहरूको हातमा छैन ।” उसले केही भनेन ।
            बानेश्वरनिर ऊ टक्क अडियो र मलाई रोक्दै मेरो हात समात्यो । संसद भवनअगाडि एउटा ठुलो एलईडी पर्दा राखिएको थियो । त्यहाँ चिनियाँ ग्रेट वाल, लुम्बिनी, ह्वाइट प्यागोडा, सगरमाथा आदिका तस्वीर लहरै देखाइएको थियो । यत्तिकैमा एक प्रहरी दाजु आइहाले र हामीलाई नअडिन भने । विदेशी अतिथिको सुरक्षाको मामिला थियो ! हामीले चौबाटो पार गर्‍यौँ । अलि अगाडि आर्मी शैलीको कपाल काटेका सिभिल ड्रेसवाल दुईजनाले मेरो सहयात्रीलाई समाते । “जापानी हुन् र मसँगै छन्,” मैले यति भनेपछि उसलाई छोडिदिएँ ।
            “अझै कति बाटो छ ?” उसले हैरान भएर सोध्यो ।
            “आधा ।”
            “हामीले राष्ट्रपतिलाई देख्न पाइन्न ?” उसको इसारा चिनियाँ राष्ट्रपतितिर थियो । मैले उसलाई बाटोपारि लगेँ । त्यहाँ उभिन छुट थियो । सरकारी कर्मचारीहरू फुटपाथमा लामबद्ध थिए । कोही ‘ढिलो भयो’ भन्दै पेटीमा बसिरहेका थिए । प्रहरीको साइरन बज्यो कि उनीहरू उठिहाल्थे । सबैका हातहातमा नेपाल र चीनका झन्डाहरू थिए । कोही पानी पिइरहेका थिए त कोही हाइ काढिरहेका थिए । मलाई उच्चाट लाग्यो । जापानीलाई ‘हिँड्दै पनि गरौँ’ भनेँ ।
            “हि इस वेरी पावफुल !” (उनी निकै शक्तिशाली छन्) उसले चिनियाँ राष्ट्रपतिको कुरा कोट्यायो ।
            “तिम्रो देश पनि त शक्तिशाली थियो ।” “अब छैन । हाम्रा मान्छेहरू सबै काममा लागेका हुन्छन् । काम गर्दागर्दा मर्छन् । राम्रो नेता छैन । ‘लाइख हिम !’”
            इतिहासको विडम्बना ! कुनै बेला जापानी शासकहरू चिनियाँ जनतालाई कुकुर जत्तिको पनि गन्दैनथे । ‘सामुराइ सेना’ ले चिनियाँ र कोरियालीहरूलाई कति मारे, कति बलात्कार गरे र कति लुटपाट गरे, कुनै लेखाजोखा छैन । तर, उही देशको मेरो सहयात्री चिनियाँ नेतालाई हेर्न चाहन्थ्यो ! उनलाई ‘आदर्श’ भन्दै थियो ! किन ? म घोत्लिएँ । हिरोसिमा र नागासाकीमा अमेरिकी बम खसेपछि अमेरिकीहरूले पनि जापानमा ती सबै कुकर्म गरे जुन जापानी फासीवादी सैनिकहरूले छिमेकी देशमा गरेका थिए । अमेरिकी बमले लाखौँ निर्दोष जापानीहरू एकै चिहान भए । अमेरिकीहरूले जापानी बस्ती र खेतहरू जलाइदिए । गाउँ र सहरमा लुटपाट मच्चाए । जमिन खोसे । असङ्ख्य आइमाई र केटीहरूलाई बलात्कार गरे । अन्ततः नाममात्रका सरकारहरू बनाएर जापानलाई आफ्नो कानुनी दास तुल्याए ।
            “नेताहरू जनताले बनाउने हुन् । जनता राजनीतिकरूपमा सचेत भए, जनताबीचबाटै राम्रा नेता निस्किन्छन् । हाम्रो देशको समस्या पनि त्यही हो । हामीले यहाँ अझै धेरै काम गर्न बाँकी छ ।” मैले भनेँ ।
            “हो ! मैले एउटा कुरा बुझेँ ।” भद्रकालीबाट सिंहदरबारतिर हेर्दै ऊ बोल्यो ।
            “के ?”
            “जापानीहरूले राजनीति गर्नुपर्छ । देशको लागि । चीनजस्तै बन्न ।” आफैसँग बोलेझैँ उसले भन्यो । आर्थिक र प्राविधिकरूपमा अब्बल ठानिने जापानको यस नागरिकले जापानीजनको भूल महसुस गर्‍यो । राजनीतिक पराधीनताले उसको सम्पन्न देशलाई मेरो गरिब देशको बराबरीमा ल्याइदिएको थियो ।
            “कुनै बेला ‘चीन र जापानको साझा शत्रु अमेरिकी साम्राज्यवाद हो’ भनी हाकाहाकी बोल्ने कम्युनिस्ट नेताहरू थिए जापानमा । अमेरिकाविरोधी आन्दोलन पनि बलियो थियो । आफ्नै जनताविरुद्ध विभिन्न जालझेल र हत्याकाण्ड गरेर जापानी सरकारले अमेरिकालाई खुसी पार्‍यो । जापानी शासक र जापानी जनताका स्वार्थहरू विपरीत छन् । शासकहरू पैसा कमाउन चाहन्छन् । जनता शान्ति चाहन्छन् । जापानी जनताले राजनीति नगरेका होइनन् । तर, त्यसमा बहुमत जनताको संलग्नता बढाउँदै लग्नुपर्छ । त्यसो गर्‍यौ भने एसिया पनि अमेरिकी युद्धको भयबाट मुक्त हुँदै जानेछ ।” बिरानो देशमा आफ्नो ‘कुरुक्षेत्र’ देखेर जापानी एकातिर चकित परिरहेको थियो भने अर्कोतिर खुसी पनि थियो ।
            वीर अस्पताल पुग्दा साँझ परिसकेको थियो । फुटपाथमा मान्छेहरूको घुइँचो थियो । केही हृष्टपुष्ट र हँसिला चिनियाँ मजदुरहरू खुलामञ्चका टेन्टबाट निस्केर आफ्ना मोबाइलहरू महाङ्कालतर्फ सोझ्याइरहेका थिए । उनीहरूको उन्मुक्त हाँसोमा स्वतन्त्रता फुलेको थियो । जापानीले चुकचुकाउँदा आँखाले ती चिनियाँहरूलाई हेरिरह्यो । केही बेरमा सडकमा काला गाडीहरू हुइँकिन थाले । सी कुन गाडीमा गए, हामीले पत्तै पाउन सकेनौँ । उनी सुरक्षित थिए, हामी यतिमै खुसी थियौँ ।
            महाबौद्ध हुँदै ठमेलतिर लाग्नुअघि जापानी सहयात्रीले मेरो हात ‘धन्यवाद’ को भाकामा बलियो गरी समात्यो । उसका आँखामा तीव्र अठोट खेलिरहेको थियो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *