भर्खरै :

द सोलिडारिटी– साम्राज्यवादविरोधी पत्रिका 

  • जेष्ठ २४, २०७७
  • राजन फेलू
  • विचार

            The Solidarity अङ्क ८ पढिसकेपछि अमेरिकी साम्राज्यवाद र पुँजीवादी प्रणालीले विश्वमा मच्चाएको आतङ्क र विध्वंसको बारेमा अझ धेरै छर्लङ्ग भएँ । पुँजीवादका विकृत तथा विनासकारी पक्षहरूका बारेमा धेरै पढेका र सुनेका छौँ तर आज आफ्नै आँखाअगाडि टड्कारो उदाहरण बनी प्रस्तुत भइरहेको छ । अमेरिकी साम्राज्यवादी, पुँजीवादी र महत्वाकाङ्क्षी प्रवृत्तिले विश्वले आज कोभिड– १९ जस्तो महामारीबाट ग्रसित हुनुपरेको छ । बरु समाजवादी देशहरूले यस्तो अवस्थामा कुनै स्वार्थ नराखी विभिन्न अप्ठ्यारोहरू सामना गर्दै समाजवादको जीत भएको र अब समाजवादको विकल्प नरहेको भनी प्रमाणित गरिदिएको छ ।
            आफूलाई संसारमा प्रजातन्त्र र मानव अधिकारको पक्षमा वकालत गर्ने भनाउँदो साम्राज्यवादी संरा अमेरिकाले आज आफ्नै नागरिकको मानव अधिकार रक्षा गर्न नसकेर जनताको विरोध प्रदर्शनको सामना गरिरहेको छ । हात्तीको देखाउने दाँत र चपाउने दाँत फरक हुन्छ भनेजस्तै संरा अमेरिकाले पनि बाहिर प्रजातन्त्र र मानवअधिकारको मुकुण्डो लगाएर भित्र–भित्र साम्राज्यवाद र पुँजीवादको नीतिअनुरूप विभिन्न देशमा द्वन्द्व मच्चाएर आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आइरहेको छ । यही दौरानमा इराकका सद्दाम हुसेन र लिवियाका कर्णेल गद्दाफिको पनि हत्या गरेरै छोड्यो । यसबाट स्पष्ट हुन्छ कि संरा अमेरिका संसारकै ठुलो अपराधी हो ।
            सपनाको देश भनेर हिड्ने संरा अमेरिकामा निम्न तथा श्रमिक वर्गलाई कतिसम्मको शोषण गर्दै आएको छ भन्ने कुरा संसारलाई थाहा छ । करोडौँको सङ्ख्यामा बेरोजगारी भएको संरा अमेरिकामा कामदार वर्गको अवस्था दिनानुदिन नाजुक बन्दै गएको छ । मजदुरहरू स्वास्थ्य सुविधा, स्वास्थ्य बीमा र भत्ता आदिबाट वञ्चित हुनुपरेको पीडा एकातिर छ भने अर्कोतिर दशकौँदेखि उनीहरूको ज्याला र तलव बढेको अवस्था छैन । श्रमिकहरूलाई आफ्नो दैनिक गुजारा चलाउन पनि मुस्किल छ र ऋण लिएर कोठा भाडा तिर्ने र औषधि उपचार गरिरहेका छन् जबकि ऋणको ब्याज भने दिनहुुँजसो वृद्धि हुँदै छ । के यही हो त सपनाको देश ?
            संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफूलाई नाफामात्र हुने भए जे पनि गर्न तयार छन् । नाफा नहुने भए उनलाई आफ्नो नागरिकको स्वास्थ्यको पनि केही मतलब छैन । यस्तो कोभिड– १९ जस्तो महामारीमा पनि विकसित मुलुकमा नै आवश्यक मात्रामा स्वास्थ्य सामग्री र औषधि उपचारको अभावको कारण हजारौँ नागरिकको ज्यान जानुको मुख्य कारण ट्रम्प प्रशासनको नाफामुखी पुँजीवादी व्यवस्था नै हो । आफूले के बोलेँ भन्ने कुराको पनि हेक्का नराखी मानसिक सन्तुलन गुमेको जस्तो गरी बोल्ने ट्रम्प विभिन्न देशलाई विभिन्न आरोप लगाउन पनि पछि हटेनन् । आफ्नै देशको सैनिक प्रयोगशालामा कोरोना भाइरस उत्पादन गरी सुरक्षाको कमीको कारण देखाएर त्यो प्रयोगशाला बन्द गर्न लगाई संसारमा यस्तो महामारी फैलाउने ट्रम्पले उल्टै ‘चाइना भाइरस’, ‘उहान भाइरस’ भनी चीनलाई दोषारोपण गर्न छोडेका छैनन् । आफूले भनेको जस्तो भएन भनेर विश्व स्वास्थ्य सङ्गठनबाट पनि बाहिरियो । यसरी नाफामात्र हेरेर मानव जगतकै स्वास्थ्यमाथि खेलबाड गरी अमानवीय काम गर्ने पनि मानव अधिकारवादी हुन्छ ?
            संरा अमेरिकाको अहिलेको मुख्य उद्देश्य भनेको चीनलाई जसरी भए पनि कमजोर बनाउनु हो । यसैअनुरूप कोभिड– १९ को महामारी फैलाइयो तर यो युद्धमा अमेरिकाले नराम्रोसँग हार व्यहोर्नुपर्यो । अर्को अर्थमा भन्ने हो भने यो पुँजीवादमाथि समाजवादको विजय हो । त्यसरी नै चीनमाथि नै निशाना बनाई अमेरिकाले नेपालमा अर्को अस्त्र फालेको छ त्यो हो एमसीसी । ओली दाहाल सरकारले यसलाई जसरी भए पनि पास गर्ने कुचेष्टा गर्दै छ । चुनाव जित्नको लागि राखिएको नाममात्रको कम्युनिस्ट पार्टीका नेता तथा मन्त्रीहरूलाई अमेरिकाले अर्को गोर्वाचेभ बनाउन खोज्दै छ । त्यसैगरी चीनमा अशान्ति मच्चाउन दलाई लामालाई अमेरिकाले नै शरण दिई आफ्नो गोटी बनाइरहेको छ । त्यसैले सबै सचेत जनताले अमेरिकी साम्राज्यवादको विरुद्ध आवाज उठाउनैपर्छ ।
            पुँजीवादी र समाजवादी देशहरूको शासन प्रणाली र भिन्नताबारे यस कोभिड– १९ को महामारीको बेला विश्वका सम्पूर्ण जनताले नजिकबाट नियालिरहेका छन् । दशकौँदेखिको अमेरिकी नाकाबन्दी भए पनि क्युवाले संसारको विभिन्न देशमा आफ्नो स्वास्थ्यकर्मी तथा चिकित्सक पठाएर निःस्वार्थ सेवाका साथ स्वयम्सेविकाको रूपमा पठाइरहेकोे छ । समाजवादी देश प्रजग कोरिया कोरोनामुक्त देश हुन सफल भएको छ । त्यसैगरी कोभिड– १९जस्तो महामारीलाई जितेर विश्वका विभिन्न देशहरूमा स्वास्थ्य सामग्रीका साथसाथै चीनका विशेषज्ञ चिकित्सकहरू यो महामारीसँगको युद्ध मैदानमा छन् । यी दृष्टान्तबाट यो स्पष्ट हुन्छ कि समाजवाद भनेको मानव र मानव सभ्यता जोगाउने नयाँ युग हो । जनताको गाँस, बास तथा कपासको साथसाथै शिक्षा–स्वास्थ्यलाई प्राथमिकतामा राखी जनतालाई विभिन्न महामारी तथा सङ्कटबाट बचाई सुरक्षित राख्नु नै समाजवादको सुन्दर पक्ष हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *