भर्खरै :

देवालीको बोका

देवालीको बोका

वैशाख महिनाको
अक्षय तृतीयाको दिन
बाजागाजासहित
लावा लस्करबिच
रातो टीका फूलमालाले
सजिएको छ
देवालीको बोका ।
खुसीले मख्ख छ बोका
किनभने,
आज मान्छेले उसलाई पुजेको छ
कहिल्यै नसोचेझैँ
बाजागाजाको धुनसँगै
बाटोभरि उफ्रीउफ्री
पूजास्थलतर्फ गइरहेछ
देवालीको बोका ।
बाटोमा आफूजस्तै बोकाहरू
भेट हुँदा एक आपसमा
फाइँफुइँ गर्दै घमण्डले
सिङौरी खेल्न जाइलाग्छन्
ती देवालीका बोका ।

टन्टलापुर घाममा
मूर्ति पूजासँगै केही खुवाउँदै
चिसो जलले छर्किएर पर्साउँदा
झ्याइँ झ्याइँ बाजाको तालमा
मख्ख पर्छन्
ती देवालीका बोका ।
जीउ सुम्सुम्याएर धाप मार्दै
विस्तारै खुट्टा समातेर
घाँटी अँठ्याउँदै गल्ला रेट्दा
उसको घमण्ड र बलको
कुनै सीप लाग्दैन
छट्पटिँदै तनक्क तन्किएर
अन्तिम सास फेर्छ
देवालीको बोका ।
बस !
आजभोलि
फेरि
कृत्रिम अक्षय तृतिया मान्दै छन्
केही युद्धपिपासुहरू
दक्षिण र पश्चिमको बाजा बज्दै छ
शासकहरूको दम्भ
देवालीको बोकाको जस्तै त हुने होइन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *