भर्खरै :

गुरूपूर्णिमा कसरी मनाउने ?

 
हाम्रो हरेक दिनहरू विशेष रहने गरेका छन् । एक सांस्कृतिक र धार्मिक महत्वको देश भएकोले पनि वर्षैभरि विभिन्न चाँडपर्व मनाइँदै छ । यस्तै पर्वहरूमध्ये गुरूपूर्णिमा पनि विशेष पर्वको रूपमा मनाइने गरिन्छ । गुरूको शब्दको अर्थ खोज्दा ‘गु’को अर्थ अन्धकार र ‘रू’ को अर्थ उज्यालो हुने र यसको संयोजन गर्दा अन्धकारबाट उज्यालोतिर लैजाने व्यक्तिलाई नै गुरू भनिएको छ । वास्तवमै गुरूको महिमा वर्णन गरेर सम्भव छैन । हाम्रो समाजमा गुरूलाई उच्च स्थानमा राखेर पुजिन्छ । गुरूबाट प्राप्त ज्ञानबाट नै हरेकको जीवनले गति पाउने गर्दछ । त्यसैले त हाम्रो जीवन नै गुरूमय रहेको छ । गुरूहरूले आफ्ना शिष्यहरूको हितको लागि हरसम्भव प्रयास गरेका हुन्छन् । जुन व्यक्तिबाट हामीले शिक्षा–दिक्षा पाएका हुन्छौँ, उहाँहरूलाई हामी गुरू मानी पुज्छौँ । आमा–बुबा हाम्रो जीवनको पहिलो गुरू मानिन्छ र घरलाई पहिलो पाठशाला । यसका साथै दिदी, दाइ, साथीहरूबाट पनि हामीले धेरै कुराहरू सिकेका हुन्छौँ ।
गुरूबाटै हामीले शिक्षा प्राप्त गरेका हुन्छौँ । उज्यालोले सम्पूर्ण जगतलाई झलमल पारेको हुन्छ । सही र गलतको ज्ञान गराएको हुन्छ । मानव भइकन अरूको हकहित र भलाइको बारेमा नसोचेमा उसले जन्म लिएको सार्थक हुँदैन भन्ने धार्मिक विश्वास छ । संसारमा दुःख र पीडाहरू छन् । त्यसलाई निवारण गर्ने उपायहरू पनि हामी गुरूहरूबाटै सिक्ने गर्दछौँ । गुरूले राम्रो र नराम्रो बाटो छुटउनुका साथै पाप–धर्मको बारेमा जानकारी दिन्छन् । आफ्नो कर्तव्यबारे जानकारी गराई दक्ष र सक्षम बनाउने कार्यको श्रेय पनि गुरूलाई नै जान्छ । वास्तवमै गुरूविनाको संसार हामी कल्पनै गर्नसक्दैनौँ । जसरी छायाले हामीलाई पाइलैपिच्छे साथ दिएको हुन्छ । जसरी सूर्यले सम्पूर्ण लोकलाई प्रकाश र ताप प्रदान गर्दछ त्यसरी नै गुरूले पनि आफ्ना शिष्यहरूलाई उत्तम ज्ञान र शिक्षा दिएर उनीहरूको जीवनलाई सफल पार्ने कार्य गरिरहेका हुन्छन् । त्यस्तै गुरूहरूले हामीलाई साथ दिइरहनुभएको छ । त्यसैले हामी आफ्ना मान्य गुरूहरूलाई भित्री मनैदेखि श्रद्धा–सुमन अर्पण गर्दछौँ ।
गुरू पूर्णिमा मनाउने तौरतरिका फरक फरक छ । पहिले पहिले शिष्यहरूले गुरूहरूलाई दक्षिणा (उपहार) हरू दिएर पूजाआजा गरी गुरू पूर्णिमा मनाउने गरिन्थ्यो । गुरूदक्षिणाको कुरा गर्दा एकलव्यले आफ्नो औँला नै काटेर गुरूलाई गुरूदक्षिणा दिएको कुरा पौराणिक कथाहरूमा पढन पाइन्छ । हाल आएर यसको स्वरूपमा परिवर्तन भएको छ । कतिपय विद्यार्थीहरू यसैदिन आफ्ना गुरुहरूलाई फूलमाला, टीका लगाई गुरूबाट आशीर्वाद लिने गर्दछ । कतिपय टाढा भएकाहरू विभिन्न सञ्चारमाध्यममार्फत आफ्ना गुरुहरूलाई सम्झने गर्दछन् । समयअनुसार हाम्रो धर्म, संस्कृति र व्यवहारमा पनि परिवर्तन आइरहेको छ । गुरूले दिनुभएका ज्ञानलाई आत्मसात गर्दै गुरूपूर्णिमा पर्व मनाउनुपर्दछ । आफूले प्राप्त गरेको ज्ञानको सही सदुपयोग गरी देश र जनताको हकहितमा लाग्नुपर्दछ । सत्कर्म गरेमात्र सर्वत्र शान्ति फैलिन्छ, सत्कर्मले जगतको नै भलो गर्दछ । त्यसैले हरेक गुरूहरूले सत्कर्म, सतज्ञान र प्रगतिको पाठ पढाएका हुन्छन् । असल नागरिक निर्माणमा समाजमा रहेका हरेक व्यक्तिले उत्तिकै भूमिका निर्वाह गरेका हुन्छन् । गुरूप्रति कृतज्ञताज्ञापन गर्ने यो दिन सबैको लागि विशेष रहने गरेको छ ।
यसरी जीवनका हरेक पाइलामा हाम्रो सफलताको कामना गर्ने गुरूहरूप्रति श्रद्धा भाव व्यक्त गर्दै आफूले सिकेका ज्ञानलाई फैलाउदै जानु आजको आवश्यकता हो । आधुनिकताको तडकभडकमा नलागी सादा जीवन उच्च विचारको मार्गमा अगाडि बढ्नुपर्दछ । यसो भएमात्र हाम्रो समाजमा व्याप्त कुसंस्कारको जालो हट्दै जानेछ । मनमा भएका नराम्रा भावनालाई तिलाञ्जली दिई सबैप्रति सद्भाव, मेलमिलाप र सहकार्यका साथ देश विकासमा हातेमालो गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *