पढाइको राजनीति – २
- असार ६, २०८३
वीरे !! साथीहरू उसलाई वीरे भन्थे । काठमाडौँ छिर्दा उसको नाम वीरबहादुर थियो । काठमाडौँमा अङ्ग्रेजीमा पढाइ हुने कुरा सुनेर वीरबहादुर भित्रभित्रै डराएको थियो । उसले बल्लतल्ल काठमाडौँको चावहिलस्थित व्रोकलेन कलेजमा भर्ना पायो । कलेजमा नेपालीमै पढाइ हुँदा ऊ असाध्यै खुसी भयो । भोलि बिहानै गाउँको मिल्ने साथी दानवीरलाई सबै कुरा बताउँदै उसले काठमाडौँ आउन उक्सायो । काठमाडौँ पसेपछि वीरेले प्रायः अङ्गे्रजी पप ¥याप गीत सुन्न थाल्यो । उसले गीत न खासै बुझ्दैन्नथ्यो । तैपनि अङ्ग्रेजी गीत सुनेकोमा उसको मन प्रफुल्ल हुन्थ्यो । प्रफुल्ल भएको मन सम्हाल्न वीरे अङ्ग्रेजी गीतहरू ठुलो आवाज बनाई खुट्टा हल्लाउँदै एक हातले टेवल ठटाउँदै गीतको तालमा झुमिरहन्थ्यो ।
स्नातक अध्ययनको क्रममा वीरेको सम्पर्क राजनीतिक गतिविधिमा संलग्नहरूको समूहसँग भयो । ऊ पनि विस्तारै राजनीतिमा सक्रिय हुन थाल्यो । रानीपोखरीसँग जोडिएको त्रि–चन्द्र कलेजमा सत्तासीन कम्युनिस्ट पार्टीको विद्यार्थी सङ्गठनको ‘क्रान्तिकारी’ नेताको नामले ऊ परिचित बन्यो । वीरे नयाँ भर्ना हुने विद्यार्थीसँग गफ गर्ने, उनीहरूको विद्यार्थी परिचयपत्र बनाउने, भर्ना र परीक्षा फर्म भर्ने जस्ता ‘क्रान्तिकारी’ काम गथ्र्यो । आफ्नो मोबाइल नम्बर सबैलाई बाँड्दै हिँड्थ्यो वीरे । “केही प¥यो भने फोन गर्नु है !” सबैलाई यस्तै भन्दै हिँड्थ्यो । यो उसको थेगो नै थियो । कलेज बिदा ‘हुने’ कि ‘नहुने’ ? बिदा भए कहिले खुल्ने ? परीक्षा कहिले हुने ? यी यस्ता कुरा सोध्ने वीरेको मोबाइलको घण्टी लगातार बजिरहन्थ्यो । वीरेको पार्टी कम्युनिस्ट भए पनि उसले कम्युनिस्टको असली अर्थ, चरित्र र काम भने कहिल्यै बुझेन । सायद वीरेभन्दा अघिकाले उसलाई बुझाएनन् । तिनीहरूलाई पनि उनीहरूभन्दा अघिकाले नबुझाएर होला ।
कलेजमा स्ववियु चुनावको चहलपहल बन्दै थियो । वीरे र उसका साथीहरू कलेजमा फूटबल, भलिबल, बास्केटबल, टेबलटेनिस र चेसजस्ता खेलकुद प्रतियोगिता चलाउन व्यस्त भए । केही विद्यार्थी सङ्गठनहरू “हाम्रो सङ्गठनमा संलग्न हुनेलाई छात्रवृत्तिको व्यवस्था पनि छ” भन्दै फारम भराउँदै थिए । कोही भने आफ्नो गाउँ र जिल्लाको नाता गाँसेर चिनजान गर्दै हात मिलाउँदै “भोट चाहिँ हाम्रो सङ्गठनलाई है” भनी चुनावको प्रचार गर्दै थिए ।
विपक्षी सङ्गठनका लक्ष्मणजस्ता क्रान्तिकारीहरू भने चुनावमा आफ्ना उद्देश्यबारे विद्यार्थीलाई बुझाउन स–साना समूह बनाई पर्चा वितरण, व्यानर टाँस्ने र कलेज हातामा कोणसभा गर्ने तयारीमा थिए । तर, वीरेका साथीहरूले उनीहरूको स्पिकर र माइक खोसिदिए, व्यानरसमेत टाँस्न दिएनन् । मानौँ त्योे कलेज वीरेको बाउको पुख्र्यौली सम्पत्ति हो ¤¤ “धेरै रोइलो नगरे हुन्छ, यहाँ भाषण गरेर होइन, भोट किनेर चुनाव जितिन्छ, धेरै क्रान्तिकारी नबने हुन्छ” वीरेका साथीहरू धम्कीको शैलीमा कस्सिदै बोल्दै थिए ।
स्ववियु चुनाव नजिकिंदै थियो । कलेज वरिपरिका सबै पसलमा वीरेको नाम लिएर जसले जति खाए पनि पैसा लाग्दैनथ्यो । बागबजार, ठमेल र दरबारमार्गका कैंयौँ रेष्टुराँहरू रातिको लागि वीरेको नाममा बुकिङ्ग थिए । कलेजमा चियापान, रिचार्ज कार्ड वितरण र रात्री रासलिलाजस्ता तयारी मिलाउन वीरेले बाबुको डोजर, गाउँको १० कान्ला जग्गा, कलेज परिसरको चन्दा र पार्टीको पैसासमेत प्रयोग गरेको थियो । कलेज कुनै डान्सवारभन्दा कम थिएन । स्पोर्टस् हलमा डिजे पार्टी चलिरहन्थ्यो, सयौँ विद्यार्थीहरू टाउको हल्लाउँदै मस्त झुमेर नाच्थे । डान्स पार्टी, रङ्गरोगन, चियापान र हेल्प डेक्सहरू राखेर वीरेहरूले कलेजलाई दुलही झैँ सिङ्गारेको थियो ।
कलेजको यस्तो हविगत देखेर लक्ष्मणहरू भने छक्क परे । चुनाव हो कि दशैँ–तिहारमा लाग्ने व्यापार उत्सव !! “न चुनावी कार्यक्रम छ न त भावी एजेन्डाहरूको छलफल नै । जता हे¥यो खेलकुद, नाचगान र भोजभतेरमात्रै देखिन्छ । कोही चुनावी बहस गर्न लाग्दा वीरेका ‘उग्रवादी मोर्चा’ का केटाहरू ठोक–ठाक गर्न आइहाल्ने र सँगै अर्को झुन्डले धम्की दिन सुरु गरिहाल्ने”, लक्ष्मणले गुनासो पोख्थ्यो । लक्ष्मणको अल्पमत वीरेको सामु केवल मूकदर्शक बन्योे । सबै नयाँ विद्यार्थीहरू चुनावको रमझममा बाबुआमाका सपनाहरूलाई डिजेको तालसँगै नचाउँदै थिए ।
चुनावको नतिजामा वीरेले अत्यधिक बहुमतले स्ववियु अध्यक्ष जित्यो । तर, वीरेको त्यो उत्सव धेरै महिना टिकेन । वीरेका साथीहरू वीरेको बाटो पछ्याउँदै पछ्याउँदै विद्यार्थीको परिचय पत्र बनाउने, भर्ना र परीक्षा फर्म भरिदिने र आगामी चुनाव जित्ने पूर्ण तयारीमा लागे । अब वीरे कलेजमा लगाउने रङ्ग, नयाँभवन, लाईब्रेरीमा थपिने किताब र बगैँचा व्यवस्थापनजस्ता कामबाट चुनावको लगानी उठाउन थाल्यो । त्यसैले होला, करोडौँ खर्च गरेर बनाएको कलेजको नयाँ भवन सानो कुचुक्क परेको बाँसको कटेराझैँ देखिन्थ्यो । त्यो नयाँ भवन केही समयपछि विद्यार्थीहरूको गाँजा खाने अड्डा बन्यो । बाहिर कतै गाजा खाए प्रहरीले समात्ने डर हुन्थ्यो । कजेजभित्र प्रहरी पस्न पाउँदैन, त्यसकारण नयाँ भवनको गाजापानमा कुनै डर हुँदैन्नथ्यो केटाहरूलाई । क्रमशः गाँजा खानेहरूको अड्डा बन्दै थियो वीरेको कलेज । कक्षा कोठाका पङ्खा, टेवल डेक्स र बत्तीहरू कहिल्यै मर्मत गरिएनन् । पढाउनै नआई घरै बसेर तलब खाने कैयौँ शिक्षकहरूलाई कुनै कारबाही भएन बरु राजनीतिक बलले असक्षम शिक्षक धमाधम नियुक्त हुँदै गए । विद्यार्थीहरू भने यस्ता क्रियाकलाप देखेर रिसाउँदै वीरेसँग गुनासो गर्थे । तर, वीरेको अङ्गालोले उनीहरूको जोस एकाएक सेलाउँथ्यो । कलेजको ‘सफा पिउने पानीको धारो’ नाम मात्रको पिउने पानी भएकोले हातखुट्टा र मुख धुनमात्रै प्रयोग हुन्थ्यो ।
एक दिन वीरेका साथीहरूले स्टोर रुममा आगो लगाइदिए । स्टोरभित्रका सामान सबै खरानी भए । अनि वीरेहरूले ती सामानको धेरै रकम बराबरको बिल बनाई कुस्त पैसा कुम्ल्याए । वीरेका साथीहरू बिहान झिसमिसेदेखि साँझ अबेरसम्म कलेज परिसरमा बसी विपक्षी सङ्गठनले व्यानर र पोस्टर नटाँसून् भनी ढुकिरहन्थे । उनीहरूको खाना, खाजा, ग्याँस र कोठा भाडाजस्ता सबै कुराको वीरेले बन्दोबस्त गरिदिन्थ्यो । किनकि वीरेको ‘कारखाना’ त्यसबेला मुनाफामा चल्थ्यो । कलेजमा कुम्ल्याएको पैसा उसले केही व्यवसायमा पनि लगाएको थियो ।
आजभोलि वीरेको नाम ‘डेविड’ भएको छ । उसले काठमाडौँमा घर र कार पनि किनेको छ । वीरे कलेजलाई ससुराली घर बनाई फरक–फरक विषयमा भर्ना भइरहन्छ । वीरेले स्ववियुको दोस्रो कार्यकाल पनि जित्यो । तर, उसका धरै साथीहरू परीक्षामा फेल भई कोही गाउँतिर त कोही खाडीतिर उडे । वीरेको कलेज आज जीर्ण बनेको छ । त्यहाँका विद्यार्थीहरू भूकम्प आउने डरले घण्टाघरपट्टिको भवनमा जान पनि डराउँछन् ।
सुन्दै छु, आउँदो चुनावमा वीरे गृह जिल्लाबाट सांसद पदमा उठ्ने तयारीमा छ । अर्कोतिर लक्ष्मण र उसका साथीहरू ‘वीरे सांसद, मन्त्री हुँदै प्रधानमन्त्रीसमेत बन्न सक्ने’ अड्कल गर्दै देशको राजनीतिको विडम्बना देखेर वाक्क छन् ।
भाइ देशकाे असलि रूपकाे अध्ययन गरेले लेखेकाे लेखले धेरै यथाथर्ता समेटेकाे छ । वास्तविक यही हाे त्यसैले अध्ययन अनुसन्धान र गहन विचार गरेर यस्ता समय सान्दर्भिक लेखहरू, रचनाहरू श्रृजना गर्दै जानु देशकाे एउटा दरीलाे खम्बा भएर रहनु शुभकामना छ भाइ ।