भर्खरै :

अमेरिकाको बन्दुक राजनीति र हत्याको सिलसिला – ११

अमेरिकी राजनीतिमा संयोगवश हत्या प्रयासबाट जोगिएका राष्ट्रपतिहरूको सङ्ख्या हालसम्म १३ जना छन् । राष्ट्रपतिलगायत धेरैजना उच्चपदस्थ व्यक्तिहरूको हत्या गर्ने प्रयास भए पनि अहिलेसम्म चार जना राष्ट्रपतिको मात्र निर्मम हत्या भएको छ भने थुप्रै उच्च सरकारी अधिकारी अथवा विभिन्न क्षेत्र वा विभाग, मन्त्रालयका प्रमुख र सरकारी कार्यकारीहरूको हत्या भइसकेको छ । अमेरिकाको १६ औँ राष्ट्रपति अब्राहम लिङ्कनको सन् १८६४ मै हत्या प्रयास गरिएको थियो । घोडामा सवार हुंँदै गर्दा उनीमाथि लक्षित गरी प्रहार गरिएको गोलीले उनले लगाइरहेको टोपीमात्र उडाउन सक्यो । एक इन्चले मात्र उनी जोगिएको विषय विभिन्न लेखनहरूमा उल्लेख भएको पाइन्छ ।
सन् १८३५ मा अमेरिकाको ७ औँ राष्ट्रपति आन्द्रु ज्याक्सनको गलामा भिरिराखेको पिस्तोलमा प्राविधिक गड्बडीका कारण टिगर दबाउँदा पनि बारुद नपड्किँदा गोली उछिट्टिन सकेन । अङ्ग्रेज नागरिक रिचार्ड लोरेन्सले राष्ट्रपतिमाथि नजिकबाटै अर्काे पिस्तोलले सोझ्याए पनि गलत निसाना लगाउँदा उनको हत्या प्रयास असफल भयो । आफ्नो विपक्षी राजनीतिक पार्टीसँग रिचार्ड लोरेन्सको कुनै लेनदेन वा सम्बन्ध नभएको कुरामा आन्द्रु ज्याक्सन विश्वास गर्थे । अराजनीतिक व्यक्ति भएका कारण विपक्षीले भाडामा लिई आफूविरुद्ध रिचार्डलाई प्रयोग गरेको बलियो सम्भावनालाई आन्द्रु ज्याक्सन शङ्का गर्दैनथे ।
थियोडोर रुज्वेल्टले दुई कार्यकालसम्म २६ औँ राष्ट्रपति भएर संरा अमेरिकाको राज्य सञ्चालन गरे । रुस र जापानबीच शान्ति सम्झौताको लागि मध्यस्थताको अहम् भूमिकाको नेतृत्व गरेबापत सन् १९०६ मा उनको यस कार्यकुशलताको कदरस्वरूप नोबेल शान्ति पुरस्कारबाट सम्मानित हुने थियोडोर रुज्वेल्ट पहिलो अमेरिकी नागरिक थिए । उनको यस कार्यले अन्तर्राष्ट्रिय कूटनीति पनि न्याय र स्थायी शान्ति बहालीको लागि आशाको प्रतीक बन्नसक्छ भन्ने सन्देश संसारभर फैलिएको विश्वास गरिन्छ । सन् १९१२, अक्टोबर १४ का दिन एउटा सानो भट्टी पसल सञ्चालन गर्ने John Flammang Schrank  (जोन फ्लेमम्याङ श्राङ्क) नामका व्यक्तिले तेस्रो राष्ट्रपतीय चुनावी अभियानको दौरानमा थियोडोर रुज्वेल्टमाथि गोली प्रहार गरेका थिए ।
भाग्यवश र आफूले लगाइरहेको ज्याकेटको गोजीमा रहेको चस्माको इस्टीलको बट्टा र उपस्थित जनमानसको चुनावी सम्बोधन गर्ने क्रममा Progressive Cause Greater Than Any Individual (प्रगतिशील लक्ष्य कुनै व्यक्ति विशेषभन्दा धेरै ठुलो हुन्छ) शीर्षकको लगभग ५० पन्नाको पट्याइराखेको लामो भाषण लेखिएको कागजको बाक्लो बिटोलाई छेड्दै गोली उनको छातीमा लागे तापनि गहिरो चोट पु¥याउन भने सकेन । शीघ्र औषधोपचारका लागि छिट्टै अस्पताल लैजाने कुरालाई इन्कार गर्दै जनसभामा उपस्थित सबैलाई सम्बोधन गर्दै उनले भने, “उपस्थित महिला तथा सज्जनवृन्द, यहाँहरूलाई स्पष्ट थाहा नहुनसक्छ अहिले भर्खरैमात्र मलाई गोली लागेको छ, मलाई सिध्याउन योभन्दा धेरै मेहेनत लाग्न सक्छ । शान्त रहन म सबैलाई आग्रह गर्दछु । ममाथि लक्षित गरी प्रहार गरिएको गोलीलाई लामो भाषणको कागजको बिटोले मुटुसम्म पुग्नबाट रोक्यो । गोली मभित्रै छ । अब सायद लामो भाषण गर्न नसकूँला तर पनि म कोसिस गर्छु ।’’ गोलीले सृजना गरेको पीडालाई किनारा लगाउंँदै छातीबाट रगत बगिरहे पनि ९० मिनेटसम्म उनले दृढ भएरै जनसभालाई सम्बोधन गरिरहे ।
वास्तविक नाम थियोडोर रुजवेल्ट (Theodore Roosevelt) भए तापनि टेडी रुजवेल्ट (Teddy Roosevelt) को नामले बढी लोकप्रिय उनी अमेरिकी राष्ट्रपति हुनुअघि सैनिक सेवामा रहँदाको पृष्ठभूमि पनि निकै सफल भएको मानिन्थ्यो । उनको उपचारमा संलग्न चिकित्सकहरूको आपसी सल्लाह र अध्ययनमुताबिक गोली निकाल्नुभन्दा भित्र रहन दिनु कम खतरा थियो । त्यसकारण मृत्यु नहुञ्जेल थियोडोर रुज्वेल्टको शरीरभित्र गोली रही नै रह्यो । आफू भ्रष्ट राजनीतिक संयन्त्रको शत्रुको रूपमा प्रस्तुत हुन मन पराउने टेडी रुजवेल्टले ६० वर्षको कम उमेरमै देह त्याग गरे ।
संरा अमेरिकामा पनि राष्ट्रपतिको उम्मेदवार बन्नका लागि ३५ वर्ष नाघेको हुनुपर्ने, सोही मुलुकमा जन्मेकै हुनुपर्ने अथवा अङ्गीकृत नागरिकले सो अवसर नपाउने र १४ वर्षसम्म सोही मुलुकमा स्थायी बसोबास गरेको हुनुपर्नेजस्ता संवैधानिक व्यवस्था गरिएको छ । सन् १९४७ देखि मात्र कुनै पनि व्यक्तिले दुईपल्टसम्म राष्ट्रपति हुन पाउने संवैधानिक व्यवस्था गरिएको छ । सिद्धान्ततः कुनै पनि व्यक्ति संरा अमरिकाको राष्ट्रपतीय चुनावमा उम्मेदवार बन्नसक्ने भनिए तापनि कुनै एक राजनीतिक पार्टीको पूर्वाधार संवैधानिक आवश्यकता भएकोले सामान्य नागरिकलाई यो प्रावधानले प्रजातान्त्रिक न्याय गरेको ठहरिँदैन ।
१९ औँ शताब्दीदेखि राष्ट्रियरूपमा प्रतिस्पर्धा गर्नसक्ने हैसियत भएका व्यक्तिलाई मात्र रिपब्लिकन र डेमोक्र्याटिक नामका यी दुई ठुला राजनीतिक पार्टीले राष्ट्रपतिको लागि समर्थन र सहयोग गर्दछन् वा राष्ट्रपतिको उम्मेदवारका रूपमा चुनावमा उठ्न टिकट दिन्छन् । संरा अमेरिकाको पँुजीवादी प्रजातन्त्रको राजनीतिमा यी दुई ठुला पार्टीको मात्र सर्वेसर्वा छ । त्यस मुलुकको यो अप्रजातान्त्रिक चाँजोपाँजोलाई दुईदलीय तानाशाही व्यवस्था पनि भन्ने गरिन्छ ।
सन् १९२९ देखि १९३३ सम्म संरा अमेरिकाको ३१ औँ राष्ट्रपति हुनुअघि खानी इन्जिनियरका अन्तर्राष्ट्रिय ख्याती हासिल गर्न सफल हर्टवर्ट हुभर असाधारण व्यक्तित्व भएका अमेरिकी नागरिक थिए । प्रथम विश्वयुद्धताका र त्यसपश्चात् युद्धले ध्वस्त भई नाजुक अवस्थामा बाँच्न बाध्य भएका युरोपका जनतालाई रासनपानी उपलब्ध गराउन अमेरिकी मिसनको नेतृत्व गरी लोक कल्याणकारी कार्यमा अहोरात्र खटी अनुपम प्रतिष्ठा हासिल गर्न सफल हर्टवर्ट हुभरलाई एक मानवतावादी सफल प्रशासक पनि भनिन्थ्यो । यी विविध कारणले हर्टवर्ट हुभरलाई संरा अमेरिकाको ३१ औँ राष्ट्रपतिसम्म बन्न सहयोग गरे । सन् १९२८ मा रेलको सफरसँगै एन्डिजको यात्रामा जाने समय जुराइएको दिन अर्जेन्टिनाका एक अराजकतावादी नागरिकले राष्ट्रपति हर्टवर्ट हुभर चढ्ने रेलको डब्बामा शक्तिशाली बम राखी उनको हत्या गर्ने योजना बनाएका थिए । यस खतरनाक षड्यन्त्रको सूचना चुहिएपछि बम जडान गर्नुअघि नै अपराधी पक्राउ प¥यो ।
फ्रान्कलिन डेलानो रुज्वेल्ट संरा अमेरिकाको ३२ औँ राष्ट्रपति थिए । त्यस मुलुकको इतिहासमा तीनपटक लगातार राष्ट्रपतिको रूपमा शासन गर्ने राजनीतिक व्यक्तित्व भएका उनी एकमात्र अमेरिकी नागरिक थिए । सन् १९३३ देखि १९४५ सम्म संरा अमेरिकाका निर्वाचित राष्ट्रपति भएर उनले १२ वर्षसम्म शासन गरे । धनाढ्य परिवारमा जन्मिएका सुसम्पन्न आमाबुबाका रुज्वेल्ट एकमात्र सन्तान थिए । राम्रो राजनीतिक वातावरणको पृष्ठभूमि भएको परिवारमा हुर्के बढेका फ्रान्कलिन डेलानो रुज्वेल्टलाई विद्यालय पठाउनुअघि आमाबुबाको निगरानीमा विषयवस्तुमा राम्रो दख्खल भएका शिक्षकको व्यवस्था गरी उनलाई घरमै दीक्षित गरिएको थियो । नाताले फ्रान्कलिन डेलानो रुज्वेल्ट संरा अमेरिकाको २६ औँ राष्ट्रपति थियोडोर रुज्वेल्टको आफ्नो काकाका छोरा थिए ।
३९ वर्षको उमेर हुँदा सन् १९२१ म उनी पोलियो रोगले नराम्ररी थला परे । विभिन्न क्रियाकलापमा सक्रिय सहभागिता जनाउन रुज्वेल्ट हिँड्डुल गर्न असमर्थ भएपछि सार्वजनिक जीवनबाट टाढा रहे । घरकै तारतम्य गरिएको पुनस्र्थापना केन्द्रको क्रियाकलापमा उनी केन्द्रित रहे । घरनजिकको हाइड पार्कमा रहेको ब्कतयच एयय िनामको पौडी पोखरीमा उनले हप्ताको तीन पटक पौडी खेल्ने गरे । नियमित पौडी व्यायामले बिस्तारै गुमेको बर्कत र तागत पुनः प्राप्त गरी वैसाखीको सहयोगले एक वर्षपछि उभिन सक्षम भए । पोलियोका बिरामीलाई खनिज मिसिएको तातोपानीमा नित्य नुहाउँदा धेरै लाभ हुने लोक कथनलाई मनन गरेर उनी जर्जिया गए, जहाँ खनिज मिसिएको तातो झरनाको पानीमा नियमित नुहाउन सुरु गरे । यस नित्य कार्यबाट शारीरिकरूपले रुज्वेल्ट धेरै लाभान्वित भए । यस स्थानलाई खरिद गरी उनले पोलियो बिरामीहरूका लागि पुनस्र्थापना केन्द्रको रूपमा विकास गरे ।
सन् १९३३, फेब्रुअरी १५ का दिन आफू राष्ट्रपति निर्वाचित भई औपचारिक समारोह हुनु १७ दिनअगाडि मियामीमा छोटो मन्तव्यपश्चात् शिकागो सहरका नगरपिता एन्टोन सेर्माक राष्ट्रपति रुज्वेल्टसँग छोटो भेटघाट गर्न नजिकिएकै बेला ज्युसेप ज्याङगारा नामका एक अराजकतावादी व्यक्तिले गोली प्रहार गरे । तर, राष्ट्रपतिलाई मृत्युले निल्न सकेन । नगरपिता भने घाइते भए । अपराधीले ती दुईमध्ये कसलाई निसाना बनाएको थियो भन्ने कुरा अझसम्म पनि गर्भमै रहेको भनिन्छ । पक्राउ परेको दस दिनपछि विद्युतीय कुर्सीमा बसाली ज्युसेप ज्याङगारालाई मृत्युदण्ड दिइयो । उच्च रक्तचापका कारण भएको मस्तिष्कघातले सन् १९४५ अप्रिल १२ का दिन फ्रान्कलिन डेलानो रुज्वेल्टको पनि निधन भयो । त्यतिबेला दोस्रो विश्वयुद्धका कारण संसारमा त्राहीमाम मच्चिरहेको थियो ।
फ्रान्कलिन डी. रुज्वेल्टको देहावसानपछि संरा अमरिकाको उपराष्ट्रपतिको रूपमा कार्यरत ह्यारी एस. ट्रुम्यानलाई ३३ औँ राष्ट्रपति घोषणा गरियो । राष्ट्रपति फ्रान्कलिन डी. रुज्वेल्टको असामयिक निधनले केही हप्ताको अति व्यस्त उपराष्ट्रपति कार्यकालमा उनीसँग ट्रुम्यानको खासै भेटघाट भएन जसको कारण परमाणु बमको विकसित अवस्थाबारे राष्ट्रपतिबाट कुनै प्रकारको सङ्क्षिप्त जानकारीसमेत ट्रुम्यानले पाउन सकेनन् । पदभार सम्हालेपछि एक पत्रकार भेटघाटमा राष्ट्रपति ह्यारी एस.ट्रुम्यानले यतिबेला चन्द्रमा, तारा र सबैखाले ग्रहहरू आफूमाथि खसिरहेको महसुस भएको बताए ।
सन् १८८४ मा ल्यामर सिसौरीको किसान परिवारमा जन्मेका ट्रुम्यानको कृषि क्रियाकलापमा निकै रुचि हुनाले १२ वर्षसम्म उनी एक सफल किसानको रूपमा उक्त गाउँमा चिरपरिचित भए । दोस्रो विश्वयुद्धको बेला हातहतियार, गोलाबारुद र तोपको बन्दोबस्त एवम् व्यवस्थापन क्षेत्रका क्याप्टेन बनेर फ्रान्स गएका ट्रुम्यानले युद्ध मैदानबाट फर्केपछि कान्सस सहरमा सिलाइ र बुनाइका लागि आवश्यक सम्पूर्ण सामग्री उपलब्ध हुने haberdashery पसल खोले । डेमोक्र्याटिक पार्टीमा सक्रिय रहेका ट्रुम्यानलाई सन् १९२२ मा ज्याक्सन काउन्टी अदालतका न्यायाधीशमा नियुक्ति गरियो । सन् १९३४ मा उनी सिनेटर बने । ६ वर्षसम्म चलेको दोस्रो विश्वयुद्धताका सिनेटयुद्ध अनुसन्धान समितिको नेतृत्व सम्हाली फजुल खर्च, अनियमिता र भ्रष्टाचारमाथि कडा नियन्त्रण गर्ने कार्यमा सक्रिय रही लगभग १५ अर्ब डलर जोगाउन उनी सफल भए ।
राष्ट्रपति छँदा ट्रुम्यानले संरा अमेरिकाको इतिहासमै सबभन्दा महत्वपूर्ण र जटिल निर्णय लिए । इटली र जर्मनले हार खाइसकेको अवस्थामा पनि आत्मसमर्पण गर्न दिइएको आकस्मिक आह्वानलाई जापानले अस्वीकार गरेपछि आफ्नो सल्लाहकारहरूसँगको गम्भीर छलफल र विचार विमर्शपश्चात् जापानको हिरोसिमा र नागासाकी सहरमाथि अणुबम प्रहार गर्न उनले आदेश दिए । तद्नुसार सन् १९४५, अगस्ट ६ मा हिरोसिमामा खसालिएको लिटल ब्वाइ (Little boy) नामको परमाणु बम नै पहिलापटक युद्धमा प्रयोग भएको अघोर विनासकारी बम थियो र अगस्ट ९ का दिन संरा अमेरिकाद्वारा फ्याट म्यान (Fat Man) नाम गरेको अर्को परमाणु बमले नागासाकी ध्वस्त पारे ।
पोर्टो रिको (Puerto Rico) संरा अमेरिकाको एक असङ्घटित राष्ट्रमण्डलीय क्षेत्र हो । त्यहाँ बसोबास गर्ने राष्ट्रवादी जनता संरा अमेरिकाबाट स्वतन्त्र हुन चाहन्थे । त्यस क्षेत्रका जनतालाई पोर्टरिखक्यान भनिन्छ । ह्वाइट हाउसको मर्मत सम्भार कार्य भइरहेकोले राष्ट्रपति फ्रान्कलिन डी.रुज्वेल्ट वेलियर हाउसमा अस्थायी बसोबास गर्दै आएको वास्तविकताबारे ग्रिसेलियो  टोरेसोला र ओस्कार कोलाजो नाम गरेका दुई राष्ट्रवादी पोर्टरिखक्यानहरूलाई राम्रो थाहा थियो । यसै अवस्थालाई अचुक अवसर ठानी पुर्खादेखिको आफ्नो रैथाने स्थानको स्वतन्त्रताको सङ्घर्षको लागि जनचेतना उकास्ने हेतुले उनको हत्या गर्न अव्यावहारिक योजना बनाइरहेका थिए । स्वतन्त्रताका लागि बलिदान दिन हरबखत तयार भएका यी दुई उग्रराष्ट्रवादीलाई आफ्नो योजना सफल भए पनि नभए पनि आफूहरू सहिद हुनसक्ने अवश्यम्भावी आत्मघाती अवस्थाबारे पूर्वज्ञान थियो । आफ्नो कार्य सफल पार्न चट्टानसरि अटल मानसिकता लिएर तिनीहरू आगोमा होमिन तयार भएका थिए । तिनीहरूले संरा अमेरिकी उच्चपदस्थ व्यक्तिहरूको हत्या गरेर दुनियाँको ध्यान आकर्षित गरी पोर्टो रिकोको स्वतन्त्रताका लागि सबैतिरबाट सहयोग र सद्भाव प्राप्त गर्नसक्ने अपरिपक्व निर्णय लिएका थिए । यस प्रकारको गैरकानुनी गतिविधि स्वतन्त्रताको लागि केन्द्रीय संरा अमेरिकी सरकारविरुद्ध एक हाँक वा धक्का हुनसक्ने गलत बुझाइमा तिनीहरू पुगेका थिए ।
विभिन्न प्रकारका हातहतियार सही ढङ्गले प्रयोग गर्ने काममा ग्रिसेलियो टोरेसोला खप्पिस थिए । पूर्व तयारीअनुसार आफ्नो मित्र ओस्कार कोलाजोलाई केही दिन बन्दुकमा गोली कसरी भर्ने, पिस्तोल कसरी चलाउनेदेखि लिएर अन्य आवश्यक सबैखाले सैद्धान्तिक, व्यावहारिक तथा प्रयोगात्मक ज्ञान, अभ्यास एवम् तालिम दिन टोरेसोला व्यस्त थिए । राष्ट्रपति ट्रुम्यानको निवास ब्लेयर हाउस यकिन गर्न रेलको यात्रासँगै न्युयोर्कबाट वासिङटन डीसीलाई गन्तव्य बनाउंँदै तिनीहरू त्यसतर्फ लागे । सन् १९५०, नोभेम्बर १ का दिन कडा सुरक्षा व्यवस्था गरिएको पेनस्लिभ्यानियामा अवस्थित ब्लेयर हाउस आसपासनिर तिनीहरू पुगे । राष्ट्रपति आफ्नो निवासको दोस्रो तलामा आराम गर्दै थिए । सुरक्षा पहरा दिइरहेका सशस्त्र प्रहरी जवानहरूलाई मृत्यु शैय्यामा नपु¥याई आफूहरूको उद्देश्य पूरा नहुने कुरामा कोलाजो र टोरेसोला विश्वस्त थिए । त्यसपछि उनले हातहतियारले सुसज्जित डोनाल्ड वर्डजेल नामको सशस्त्र प्रहरी अधिकृतको पछाडिबाट कोलाजोनजिक पुगी गोली प्रहार गर्ने प्रयास गर्दै थिए तर अनुभवको कामका कारण गोली हान्ने उनको पहिलो प्रयास असफल भयो । तर, आफ्नो कार्य जारी गर्दै गर्दा वर्डजेलले पछाडि फर्केर कोलाजोलाई देख्नेबित्तिकै उनले अर्काे प्रहार गरे । गोलीले वर्डजेलको दाहिने घँुडा नचल्ने बनाइदियो । गोली पड्केको आवाजले गोप्य सुरक्षा सेवाका सबै सशस्त्र जवानहरूलाई सतर्क बनाइदियो । सबै जवान घटना भएको स्थानतिर वेग हानिए र तिनीहरूको प्रहारले उनी घाइते परे । यसरी सुरक्षा अधिकारी र जवानहरू राष्ट्रपति निवासको मूल ढोकामा पुगी उनलाई माथि जानबाट रोक्न सफल भए ।
दृढ आत्मविश्वासका साथ टोरेसोला एक्लै भिडन्त गर्दै थिए । आफ्नो मित्रलाई बचाउन उनलाई घेरामा हाल्ने सुरक्षा प्रहरीउपर जाइलागे । अनुभवी निसानाबाज भएका कारण सशस्त्र सुरक्षा जवान र अधिकृतहरूलाई एक्लो टोरेसोलासंँगको भिडन्त सहज थिएन । उनले केही जवानहरूलाई सख्त घाइते बनाइसकेका थिए । राष्ट्रपति ट्रुम्यानको आराम कक्षको ठीक मुन्तिर निडर टोरेसोला आफ्नो बन्दुक र पिस्तोलमा गोली भर्दै भिडन्त कायमै राख्न तल्लीन थिए । गोला बारुदको कोलाहलले राष्ट्रपति निद्राबाट बिउँझिए र केको कोलाहल भनी बुझ्न भ्mयाल खोलेर बाहिर चियाउनमात्र के लागेका थिए गोली हानाहानमा व्यस्त एक प्रहरीले चिच्याउँदै शीघ्र भित्र गइहाल्न राष्ट्रपतिलाई भन्यो, अन्यथा केही क्षणमात्र विलम्ब भइदिएको भए परिणाम संरा अमेरिकाको लागि अति दुःखद हुने थियो । भनिन्थ्यो– उनको पिस्तोलमा गोली नसिधिएको भए र राष्ट्रपतिले केहीबेर झ्यालबाट हेर्दै गरेका भए पनि उग्र राष्ट्रवादीका हिमायती नामुद निसानवाज टोरेसोलाले राष्ट्रपतिलाई आफ्नो निसाना बनाउन सक्थ्यो । किनभने, टोरेसोला र राष्ट्रपतिबीच जम्मा ९÷१० मिटरको मात्र फासला थियो । टोरेसोलाको चारवटा प्रहारले लिस्लेई कोफेल्ट नाम गरेका जवान इन्तु न चिन्तु भए तर उनलाई राष्ट्रपतिको कक्षसम्म पुग्नमा रोक लगाउन पनि सफल भए । यस भिडन्तमा लिस्लेई कोफेल्टको प्रहारले टोरेसोला मारिए ।
घटनाको बारेमा प्रस्तुत गरिएका विश्लेषणात्मक रिपोर्टमा भनियो, कोलाजो बन्दुक चलाउनमा कच्चा खेलाडी भएका कारण उनले जम्मा ४० सेकेन्डमात्र भिड्न सके र एकजना सुरक्षाकर्मीलाई मात्र घायल पार्न सके । गोली हानाहानको भिडन्तमा जति पनि सुरक्षाकर्मी हताहत भए र मारिए सबै टोरेसोलाको कारणले भएको थियो । सङ्घीय अदालतले उनका मित्र ओस्कर कोलाजोलाई मृत्यदण्डको घोषणा ग¥यो । राष्ट्रपति ट्रुम्यानको हत्या प्रयासको षड्यन्त्रमा कोलाजोको धर्मपत्नी रोजाको पनि असाधारण भूमिका हुनसक्ने आशङ्कामा सङ्घीय जाँचबुझ आयोगले उनलाई थुनामा राख्यो । आठ महिनाको जेलपछि उनलाई रिहा गरियो तर आफूमाथि सङ्घीय सरकारले गरेको अन्यायको विरुद्ध अदालतको ढोका ढक्ढक्याउन रोजाको मनले मानेन । उनले आफ्नाको राष्ट्रवादी पार्टी (Nationalist Party) को कामलाई निरन्तरता दिइन् । आफ्नो श्रीमान्लाई मृत्युदण्डबाट जोगाउन एक लाख हस्ताक्षर सङ्कलन गरिन् । रोजाको एकल प्रयासले राष्ट्रपति ट्रुम्यानलाई कोलाजोको मृत्युदण्डलाई आजीवन कैदको सजायमा परिणत गराउन बाध्य पा¥यो ।
बन्दी जीवन बिताइरहँदा अस्कर कोलाजोसँग लिइएको एउटा लामो अन्तर्वार्तामा उनले आफू युवक छँदा अमेरिकी साम्राज्यवादको अत्याचारबारे उनीहरूका नेता पेद्रो अल्वीजु क्याम्पोजले दिएको लामो मन्तव्यको बेलाबखत याद आइरहने बताए । विभिन्न अनुसन्धानमा संलग्न रहिरहने अमेरिकी चिकित्सक कोर्नेलिउले पोर्टो रिकोका जनतालाई विभिन्न खोजमूलक वैज्ञानिक परीक्षणमा प्रयोग भई मारिएकाउपर कुनै दुखेसो नहुने डरलाग्दो पत्र लेखेका थिए । पोर्टो रिकोवासीलाई उनीहरूकै राष्ट्रवादी पार्टीका नेता पेद्रोले यस खतरनाक रहस्य उदाङ्ग्याएका थिए । यस खुलासाबाट ग्रिसेलियो टोरेसोला र ओस्कर कोलाजोजस्ता उग्र राष्ट्रवादीहरूलाई मानसिकरूपले आघात पारेको थियो । अमेरिकीहरू आफूमाथि वस्तुभाउलाई जस्तो गरिने अमानवीय व्यवहारबाट मुक्ति चाहन्थे । तर, सङ्घर्षका लागि तिनीहरूले अपनाएको बाटो सही थिएन ।
यस्तोखाले अराजकतावादी राजनीतिक क्रियाकलाप कालान्तरसम्म सही नहुने वास्तविकतालाई सङ्केत गर्दै आजभन्दा ३५ वर्षअघि लक्ष्मण राजद्वारा नेपालभाषामा रचित नेपालभाषा साहित्य तःमुंज्यामा प्रस्तुत गरिएको एउटा गीतको दुई पङ्क्ति स्मरण गर्नु सान्दर्भिक लाग्यो ।
क्वा लखं छेँय् मिं नसा, मी हे छाय् मानी रे ।
चर्को नारां क्रान्ति जुसा, सङ्गठन हे छाय् मानी रे ।
अर्थात् तातो पानीले नै घर जल्छ भने आगोको किन खाँचो हुन्छ र ? चर्का नाराले क्रान्ति हुन्छ भने सङ्गठन नै किन चाहिन्छ र ?
धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *