भर्खरै :

बाढी पहिरोको क्षति न्यूनीकरण गर्न तयारी थालौँ

म्यानमारको एउटा खानीमा पहिरो खस्दा एक सत्न्दा बढी मानिसको निधन भयो । जापान पनि अहिले बाढीको चपेटामा छ । बाढीले कम्तीमा बा¥ह जना जापानीको निधन भएको छ । ढल निकासको उचित बन्दोबस्त नहुँदा भारतका केही सहर वर्षाको पानीले डुबानमा परेका छन् । अर्को छिमेकी देश चीनमा पनि बाढीको कारण केही प्रान्तका मानव बस्ती प्रभावित बनेको छ । नेपालमा पनि अघिल्लो महिना ढकनी नभएको ढलमा खस्दा एक जना सवारी चालकको निधन भयो । एसियाली देशहरूमा विशेष गरी हरेक वर्ष वर्षायाममा बाढी पहिरोले जनजीवन प्रभावित हुने गर्छ ।
नेपालमा असारदेखि भदौसम्मको चार महिना अधिक वर्षा हुन्छ । यतिबेला अविरल वर्षाको कारण हुने दुर्घटनाले धनजनको क्षति हुने गरेको छ । मानिसले प्रकृतिमाथि अझै जित हासिल गर्न सकेको छैन । त्यसकारण कतिपय प्राकृतिक विपत्ति मानिसको वशभन्दा बाहिर छन् भने कतिपय त्यस्ता प्रकोप निम्तिनुमा मानिसको व्यवहार पनि जिम्मेवार छ । बाढी पहिरोबाट धेरै क्षति हुनुमा विकासको नाममा पहाडहरू फोड्दै जथाभावी बाटो बनाउनु, नदीजन्य स्रोतको मनपरी दोहन गर्नु, वन फडानी हुनुलगायत प्रमुख कारण रहेका छन् । आफ्नो स्वार्थको लागि गर्ने यस्ता विनाशकारी व्यवहारकै कारण अनेक थरी प्राकृतिक प्रकोपले मानिसको जीवन प्रभावित छ ।
कतिपय प्राकृतिक प्रकोप रोक्नु मानिसको वशको कुरा नभए पनि त्यसले पार्ने क्षति न्यूनीकरण गर्ने क्षमता मानिसमा छ । बाढीपहिरो रोक्नु मानिसको क्षमताभन्दा बाहिरको कुरो भए पनि त्यसले समाजमा पु¥याउने क्षति न्यूनीकरण गर्न मानिस सक्षम छन् । आफ्नो नागरिकको जीवन र सम्पत्तिको रक्षाको जिम्मेवारी लिएको सरकारले यसमा अग्रसरता लिनुपर्छ । बाढीपहिरो आएपछि मात्र उद्धार गर्ने सोचमा सरकारी संयन्त्र बन्नुहुन्न । नेपालका अधिकांश भूभागका मानिस हरेक वर्ष बाढीपहिरोको समस्याले पिरोलिने गरेका छन् । त्यसकारण सरकारले अहिले नै उद्धार कार्यको लागि आवश्यक सामग्री र पूर्वाधारको तयारी थाल्न जरूरी छ ।
नेपालका तराई क्षेत्र हरेक वर्ष डुबानमा पर्नुमा भारतले सीमा क्षेत्रमा बनाएका अवैधानिक बाँध र तटबन्ध दोषी छन् । भारतले एकतर्फी बनाएका ती बाँध र तटबन्ध नभत्काएसम्म तराईका गाउँ र बस्ती डुबानबाट कदापि मुक्त हुनसक्दैन । सरकार बाढी आउला, गाउँ डुब्ला, अनि राहत बोकेर केही गैरसरकारी संस्था र पार्टीका जनवर्गीय सङ्गठनलाई परिचालन गरौँला भनेर बस्ने होइन । बरू, सरकारले कूटनीतिक पहल गरेर भारतले बनाएका बाँध र तटबन्ध भत्काउन र खोल्न पहल गर्नुपर्छ । नेपाल सरकारले आफ्ना नागरिकका घर र बस्ती डुबेको टुलुटुलु हेर्दै बस्छ भने जनता स्वयम् त्यस्ता बाँध र तटबन्ध भत्काउनतिर लाग्नेछन् । सप्तरी जिल्लाको तिलाठीका किसानहरूले सिमानामा भारतले बनाएका तटबन्धहरू भत्काएको त्यसैको उदाहरण हो ।
सरकारले विशेषतः पहाडी क्षेत्रमा जथाभावी खनेका बाटोमा पहिरोले पु¥याउन सक्ने सम्भावित क्षतिबारे सजगता अपनाउन जरूरी छ । त्यसरी जथाभावी सडक बनाउने अवस्थाको अन्त्य गर्नुपर्छ । देश त्यसै पनि कोरोना सङ्क्रमणले पिरोलिएको छ । त्यसमाथि बाढीपहिरोले थप दुःख दिँदा जनता अझ समस्यामा पर्नेछन् । तसर्थ, बाढी पहिरोको कारण हुने क्षति न्युनीकरण गर्न सरकारले आफूअन्तर्गतका सबै संयन्त्र परिचालन गर्नु जरूरी छ ।
सहरी क्षेत्रमा ढल निकासको उचित सम्भार गर्न सके सम्भावित दुर्घटनाबाट जनतालाई जोगाउन सकिनेछ । ढलमा ढकनी राख्ने, खाल्डाखुल्डी पुर्ने, चिप्लो सडकमा यात्रुलाई सावधान बनाउने, पानी जम्ने ठाउँमा उचित निकास आदि बन्दोबस्त गर्दा मानिसको जीवन र सम्पत्तिको समेत रक्षा गर्न सकिनेछ । यतातिर तीनै तहका सरकारले ध्यान दिन ढिलाइ गर्नुहुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *