भर्खरै :

रहनुभएन प्रद्युम्न प्रजापति

भक्तपुर, २१ असार । भक्तपुर नगरपालिकाको साविक वडा नं १२ मा लामो समय वडाध्यक्ष रहनुभएका प्रद्युम्न प्रजापतिको ७२ वर्षको उमेरमा शनिबार राति निधन भयो । छाती दुखेको उपचार गर्न असार १८ गते सानेपास्थित स्टार अस्पताल भर्ना हुनुभएका उहाँको शनिबार राति ११ः४५ बजे निधन भएको परिवार स्रोतले बतायो ।
प्रजापतिको आइतबार बिहान पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरियो । उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायत नेमकिपाका कार्यकर्ता र वडावासी पशुपति आर्यघात पुग्नुभएको थियो ।
दिवङ्गत प्रजापति विसं २०३९, २०४३ र २०४९ गरी तीन पटक स्थानीय निकायको निर्वाचनमा भक्तपुर नगरपालिका वडा नं १२ बाट वडाध्यक्ष निर्वाचितहुनुभएको थियो । उहाँले लामो समय नेमकिपा वडा नं १२ को अध्यक्ष भई पार्टी गतिविधिको नेतृत्व गर्नुभयो । नेपाल मजदुर किसान पार्टीका गतिविधिमा सक्रियतापूर्वकसहभागी बन्नुहुने प्रजापतिले तराईका विभिन्न जिल्लामा पार्टी सङ्गठन विस्तारमा मद्दत गर्दै आउनुभएको थियो । उहाँ विसं २०५६ सालको संसदीय निर्वाचनमा सिरहा जिल्लाबाट नेपाल मजदुर किसान पार्टीको तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो ।
प्रजापतिको जन्म विसं २००५ भाद्र १२ गते पिता समरबहादुर प्रजापति र माता आशमाया प्रजापतिको कोखबाट भक्तपुरको तालाक्वमा भएको थियो । उहाँको श्रीमती सहित दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *