भर्खरै :

सक्वको म राजदास – ४० कसरी भयो महान् रुसी कवि

            सन् १९७१ को जुलाई महिनामा मेरो केमिकल इन्जिनियरिङ्गको प्रथम वर्षको पढाइ सकिएपछि मलाई मेरो इन्स्टिच्युट ‘खार्कोभ पोलिटेक्निकल इन्स्टिच्युट’बाट एक महिनाको लागि कृष्णसागर (ब्लाय्क सी) परिसर रहेको क्रिमियामा आराम गर्न जान टिकट दिइयो । जान, आउन, बस्न, खान, पिउन सबै फ्रीमा ‘ब्लाय्क सी’ नजीक याल्टा सहरको आसपास एउटा रेस्ट हाउसमा रहने बन्दोबस्त भयो । तत्कालीन सोभियत सङ्घमा सबै विदेशी विद्यार्थीलाई वर्षको दुईपल्ट हिउँद र गर्मीको छुट्टीमा यसरी रेस्ट हाउसमा गएर आराम गर्न निःशुल्क व्यवस्था गरिएको थियो । रुसी विद्यार्थी र सर्वसाधारण रुसी जनता वर्षको एकचोटि अक्सर गर्मी महिनामा समुद्रको किनारमा गएर एक महिना जति तातोघाम–पानीमा आफ्नो शरीरलाई आराम दिने चलन छ ।
            क्रिमियाको मौसम र वातावरण याल्टा सहर नजिकको समुद्री किनारमा धेरै घमाइलो र रमाइलो थियो । सोभियत सङ्घको उक्राइन गणतन्त्रमा रहेको क्रिमिया द्वीप (पेनिनसुला) आफैमा एक सुन्दर ठाउँ थियो । यसले धेरै ठुलठुला ऐतिहासिक महत्व बोकेको छ । क्रिमियाको दक्षिण भागमा रहेको कृष्णसागरले ठुलो सामरिक महत्व बोकेको छ । दक्षिणमा टर्की, पश्चिममा बुल्गेरिया, रोमानिया, माल्डाभिया र उत्तर पूर्वमा सोभियत रुस र सोभियत उक्राइनाले घेरिएको कृष्णसागर वरिपरि धेरै युद्धहरू भए– क्रिमिया प्रायःद्वीपको स्वामित्व र कृष्णसागरस्थित विशाल सोभियत नौ सैनिक वेडाको कुरालाई लिएर सन् १९८१ मा तत्कालीन सोभियत सङ्घको विघटनपछि सोभियत रुस र सोभियत उक्राइन दुई भ्रातृ गणतन्त्रबीच ठुलो झै–झगडा र सशस्त्र युद्ध भयो ।
            दोस्रो विश्वयुद्धताका सन् १९४१ मा कृष्णसागरमा सोभियत नौ सैनिक र हिटलर जर्मनीको फौजबिच ठुलो सङ्ग्राम भएको थियो । दोस्रो विश्वयुद्धको अन्त्यतिर सन् १९४५ को फेब्रुअरी–४ तारीखदेखि ११ तारीखसम्म ब्लाय्क सी नजीक याल्टा सहरमा विश्वमा तीन शक्तिशाली राष्ट्रका प्रमुखहरूको एक ऐतिहासिक सम्मेलन भएको थियो । उक्त सम्मेलनलाई ‘याल्टा सम्मेलन’ भनिन्छ ।
            सोभियत सङ्घको आयोजनामा भएको उक्त सम्मेलनमा तत्कालीन सोभियत सङ्घका  सर्वोच्च कमान्डर जोसेफ स्तालिन, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति फ्रान्कलीन रुजवेल्ट र संयुक्त अधिराज्य बेलायतका प्रधानमन्त्री विन्स्टन चर्चिलले भाग लिएका थिए ।
            उक्त याल्टा सम्मेलनको उद्देश्य दोस्रो विश्वयुद्धको अन्तपछि युद्धबाट क्षतिग्रस्त भएको युरोपियन देशहरूको स्वतन्त्रता र युरोपको स्थायी स्वरूपको परिकल्पना थियो ।
            सन् १९७० को दशकमा सोभियत सङ्घ र संयुक्त राज्य अमेरिकाबिच शीतयुद्ध चलिरहेको भएपनि सोभियत जनजीवन र सोभियत सङ्घ विश्वमा एक शक्तिशाली देशको रूपमा अगाडि बढिरहेको थियो । सोभियत सङ्घले प्रदान गरेको निःशुल्क छात्रवृत्तिअन्तर्गत दशौँ हजार विदेशी विद्यार्थी सोभियत सङ्घमा उच्च शिक्षा हासिल गर्न आइरहेका थिए । त्यसमध्ये सन् १९६२ देखि १९७५ सम्म त्यहाँ बसेर अध्ययन  गर्नेमा म पनि एक थिएँ ।
            सन् १९७१ को समर भ्याकेसनमा ब्लाय्क सीको याल्टा नजीक रेस्ट गरिरहँदा मेरा रुसी साथी भ्यालेन्टिनासँग धेरै नजीकको सम्बन्ध थियो । हामी वैवाहिक सम्बन्धमा गाँसिने कुरा हुँदै थियो । हामीबिच थुप्रै चिट्ठीपत्रहरू आदानप्रदान भइरहेको थियो । त्यसबेला उनी सोभियत रुसको राजधानी मस्को सहरमा अध्ययन गर्दै थिइन् भने म सोभियत उक्राइनाको खार्कोभ सहरमा । कृष्णसागर वरिपरि भ्याकेसन बिताइरहँदा एउटा पत्रमा भ्यालेन्टिनाले मलाई क्रिमियाको ‘बक्छेसाराई दरबार’ हेर्न जानू, धेरै रोमान्टिक ऐतिहासिक स्थल हो भनेर लेखिन् । ‘बक्छिसाराई’ एक ऐतिहासिक सुन्दर दरबार हो । त्यहाँ रुसका महान् कवि अलेक्जेन्डर पुश्कीन पनि पुगेका थिए । उनले ‘बक्छिसाराई’ फाउन्टेन (झरना) को बारेमा एउटा कविता रचेका थिए । भ्यालेन्टिना मलाई सोभियत रुसको साहित्य, सङ्गीत, कलाको बारेमा धेरै सल्लाह, सुझाव दिँदै प्रशिक्षित गर्दै थिइन् । उनी राजनीतिको बारेमा धेरै बताउँथिन् । सोभियत राजनीतिको कुरा गर्दा भ्लादिमीर लेनिनको उनी धेरै तारिफ गर्थिन् र भन्थिन्, “लेनिन एक राजनीतिक नेतामात्र होइनन् एक असल मानिस पनि हुन् ।” लेनिनलाई मानवीय गुणले युक्त अति उत्तम पुरुष पनि उनी भन्थिन् । लेनिनपछि उनलाई मनपर्ने सोभियत नेताहरूमा आन्द्रेइ ग्रोमीको र अलेक्सी कोसीजीन थिए । ग्रोमीको र कोसीजीन गम्भीर स्वभावका नेताहरू थिए ।
            अनि, सोभियत साहित्यकारहरूमा उनलाई सबभन्दा मनपर्ने अलेक्जेन्डर पुश्कीन थिए भने उपन्यासकारमा लेभ टल्स्टोई ।
            अलेक्जेन्डर पुश्कीन उनलाई यति धेरै मनपथ्र्यो कि हाम्रो विवाहपछि प्राप्त भएको पहिलो छोराको नाम पनि उनी आफैँले चुनेकी थिइन् । ‘अलेक्जेन्डर,’ अलेक्जेन्डर ‘साशा’ भ्यालेन्टिनाले भनेजस्तै म एक दिन क्रिमियास्थित ‘बक्छिसाराई’ दरबार हेर्न जान र पुश्कीनले आफ्नो कवितामा बयान गरेको ‘बक्छीसारार्ई फान्तान्’ आँसुको झरना हेर्न गएँ ।
बक्छिसाराईके हो ?
            ‘बक्छि’ र ‘साराई’ दुई शब्दको संयोग हो । बक्छिसाराई शताब्दीमा क्रिमियामा टाटार जातिका मुस्लिमहरूले राज्य गर्दथे । टाटार भाषामा बक्छिको मतलब ‘बगैँचा’ र ‘साराई’ को मतलब ‘दरबार’ हो । त्यसरी सुन्दर बगैँचा भएको खान राजाहरूको दरबारलाई ‘बक्छि–साराइ’ भनिएको रहेछ । क्रिमियास्थित यो ‘बक्छिसाराई’ दरबार तत्कालीन युरोपमा सबभन्दा सुन्दर र विशाल दरबार कहलिन्थ्यो र रमणीय पर्यटन स्थल बनेको छ ।
            सोर्‍हौँ शताब्दीका खान बादशाह ‘शाहीब ई गीरे’ ले ‘बक्छिसाराई’ आफ्नो निवासको लागि बनाएका थिए । खान गिरे जसले सन् १५३२ देखि १५५१ सम्म क्रिमियामा राज्य गरे । उनले आफ्नो निवास बक्छि–साराई दरबार बनाएर बसेदेखि क्रिमियाको राजधानी कहलियो ‘बक्छि–साराई’ ।
            बक्छि–साराई दरबारलाई खान बादशाहहरूको ‘हारेम’ पनि भनिन्छ । यस दरबार परिसरमा एक मुस्लीम मठ (मोस्क) बनाइएको छ ।
            त्यसबाहेक एक हारेम र एक चिहान पनि थियो । हारेम भनेको खानहरूका लागि सुन्दरीहरू राख्ने कोठी हो ।
            दरबार सुन्दर बगैँचाबाट सुसज्जित थियो । त्यहाँ थुप्रै आवासीय क्वार्टरहरू थिए । दरबारको एक छेउमा एउटा सानो पानीको झरना छ । यस झरनाको एउटा मार्मिक कथा छ । जुन कथाले रुसी कवि अलेक्जेन्डर पुश्कीनको मन यति पगाल्यो कि उनले सन् १८२३ मा यस ‘फाउन्टेन अफ टियर्स’ (आँसुको झरना) बारे एक काव्य रचे । यसको आधारमा एक विश्व विख्यात बालनृत्य  पनि बनाइएको छ ।
            पुश्कीनको कविताको शीर्षक ‘फाउन्टेन अफ बक्छि–साराई (बक्छि–साराइस्की फान्टान)’ छ । यो काव्य खान बादशाह नामको दरबारमा भएको अति मार्मिक र दुखान्त घटनामा आधारित छ ।
            खान बादशाह ‘किरीम गिरे’ को दरबारभित्र पोल्यान्डबाट ल्याएकी एक सुन्दर युवती ‘मारीया’ थिइन् । बादशाह उनलाई धेरै मनपथ्र्यो र आफ्नी श्रीमती जारेमालाई छाडेर मारीयाकहाँ जान्थे । तर, मारीयालाई खान मन पर्दैनथ्यो र खानकी रानी बन्न अस्वीकार गर्थिन् । आफूलाई बेवास्ता गर्दै मारीयाप्रतिको प्रेममा पागलसरि भएको देखेर खानको जार्जियन रानी जारेमाले मारीयाको छातीमा छुरा रोपेर हत्या गर्छिन् ।
            मारीयाको हत्यामा विह्वल भएको खानले उनको नाममा आफ्नो दरबारको एक बगैँचामा एउटा सानो पानीको झरना बनाउन लगाउँछ र त्यस झरनाबाट झरिरहेको पानीलाई नै खानको प्रेमको आँसुको प्रतीक ‘फाउन्टेन अफ टियर्स’ भनियो । यही फाउन्टेन नजीक अहिले रुसी महान् कवि अलेक्जेन्डर पुश्कीनको एक अर्धकदको सालिक पनि राखिएको छ जुन ‘बक्छि–साराई फाउन्टेन’ हेर्न आउने हर व्यक्तिले देख्नसक्छन् । उक्त ‘आँसुको झरना’ को कविता लेख्ने महान् कवि अलेक्जेन्डर पुश्कीनको अर्धकदको सालिक सन् १९७१ को समर सिजनको गर्मी मौसममा मैले पनि देखेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *