भर्खरै :

सङ्कटमा पर्यटन उद्योग

होटल एसोसिएसन नेपालको तथ्याङ्क भन्छ – नेपालमा होटल क्षेत्रमा मात्र करिब रु. १५ खर्ब ९५ अर्ब लगानी रहेको छ । यसमा प्रत्यक्ष र अप्रत्यक्षरूपमा सात लाखभन्दा बढी जनशक्ति रोजगारका रूपमा आश्रित छन् । होटलले मात्र नेपालमा भित्रिने वैदेशिक मुद्रामध्ये करिब २५ प्रतिशत आम्दानी गर्ने गरेको छ । त्यस्तै नेपालको कुल गार्हस्थ उत्पादनमा होटल क्षेत्रको मात्र योगदान पाँचदेखि सात प्रतिशतसम्म रहेको छ । तर, यति समृद्ध क्षेत्रले अहिले दिनप्रतिदिन घाटा व्यहोरिरहेको छ भने जनशक्ति कामविहीन भएर बसेका छन् ।
प्रत्येक महिना यस क्षेत्रले कम्तीमा पनि रु. एक अर्ब ८० करोड घाटा व्यहोर्दै छ । यो क्षति होटल क्षेत्रको मात्र हो र यससँग जोडिएर आउने अन्य पर्यटकीय संरचनाहरू हवाई उड्डयन, सडक यातायात, ट्रेकिङ, घरबास (होमस्टे) आदि अरू धेरैको अलग्गै छ । चैतयता चार महिना भयो देशको समग्र पर्यटन क्षेत्र सबै ठप्प छ । एकजना विदेशी पर्यटकले नेपाल प्रवेश गर्दा उनीबाट कम्तीमा पनि ११ जना नेपालीले रोजगारी पाउँछन् । पर्यटक नेपाल भित्रिएपछि दिनुपर्ने सबै सेवामा हुने संलग्नताको तथ्याङ्क हो यो, यद्यपि यो छोटै समयको रोजगारी हुनसक्छ । पर्यटकका लागि हुने हवाईदेखि सडक यातायात हँुदै ट्राभल एजेन्सीदेखि अरू धेरै क्षेत्र यसमा संलग्न हुन्छन् । पर्यटन क्षेत्रको यो पूरै ‘साइकल’ चार महिना यतादेखि ठप्पै छ ।
संसार यतिखेरको यो महामारीमा नफसेको भए हाम्रो लागि भने यो समय यसरी देशले पर्यटन क्षेत्रबाट भएको क्षतिको हिसाब किताब गर्ने समय होइन । हामीमाथि पनि अहिलेको प्राकृतिक विपत्ति नपरिदिएको भए आज हाम्रा सञ्चारमाध्यमहरूले यो महिनामा यति पर्यटक भित्रिए र राज्यलाई यति आय भयो भनेर समाचार बनाउने बेला हो । हामीले यस वर्ष (सन् २०२०) लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने तयारी सबै पूरा गरिसकेका थियौँ र यस वर्ष नेपाल भित्याउने २० लाख पर्यटकमध्ये छ महिनामा यति जना आए भनेर हिसाब गरिरहेका हुन्थ्यौँ । अनि कुन कुन क्षेत्रमा कति पर्यटक भित्रिएका छन् र ती अलग अलग क्षेत्र र स्थान विशेषले यसबाट के कति आर्थिक आर्जन गर्नसके भन्ने हिसाब किताब गरेका हुन्थ्यौँ । सन् २०२० को आधा वर्ष यसै खेर गइसकेको छ र अरू आउने दिन पनि त्यति सुनिश्चित छैन । यसरी हेर्दा देशको पर्यटन क्षेत्रलाई दोहोरो मार परेको छ । किनभने यस क्षेत्रले २० लाख पर्यटकको स्वागत सत्कारका लागि ऋणधन गरेर ठुलो संरचनागत लगानी गरेको थियो । तर प्रतिफल लिने बेलामा मुलुकको सिङ्गो पर्यटन क्षेत्र नै बैङ्कको ऋण कसरी तिर्ने भन्ने समस्यामा परेको छ । सन् २०२० को आगमनसँगै नेपाल कम्तीमा २० लाख पर्यटकलाई स्वागत गर्ने अन्तिम तयारीमा थियो । पाहुनाको स्वागतार्थ सरकार र निजी क्षेत्रले आवश्यक पर्यटकीय संरचना तथा सेवा क्षेत्रमा अरबौँ रुपैयाँ लगानी पनि गरेको थियो । कोभिड–१९ को महामारी यसरी संसारमै र यहाँसम्म आइपुग्ला भन्ने कसैलाई रत्तिभर लागेको थिएन ।
नसोचेको विपत्तिले हामीले वर्षौँदेखि गरेको लगानीको प्रतिफल लिने बेलामा नेपाल भ्रमण वर्षका सबै कार्यक्रमहरू नै रद्द गर्नुपर्ने बाध्यता ल्याइदियो । यो कोरोना जीवाणु महामारीका बाछिटा हामीकहाँ देखिएसँगै संसारभर नै यसको त्रास छायो र यसबाट बच्न यात्रा प्रतिबन्धहरू नै लाग्न थाले । त्यसबाट हामी पनि प्रभावित भयौँ । त्यसपछि त नेपालमा पर्यटक आउने कुरै भएन । सन् २०२० पर्यटनमय हुने हाम्रो वर्षौँको तयारी यसै खेर गयो । निजी क्षेत्रले ऋण धन गरेर विस्तार गरेका होटललगायत सेवा क्षेत्रका संरचना पनि यस वर्षलाई निरर्थक भए ।
गएको डिसेम्बरको अन्त्यतिरबाट कसुर भएको महामारीले विश्वमा पर्यटन क्षेत्रलाई सबैभन्दा बढी असर गरेको छ । विश्वका ट्राभल म्यागेजिनहरूले लेखेका छन् “सयौँ वर्षको इतिहासमा संसारका विश्व प्रसिद्ध पर्यटकीय स्थल तथा क्षेत्रहरू यसरी एकैपटक सबै बन्द भएको सायद यो नै पहिलो घटना हो, प्राकृतिक प्रकोपहरू विश्वका कतिपय स्थान या क्षेत्र विशेषमा आउने गरेको भए पनि निश्चित क्षेत्रमात्र प्रभावित हुन्छ । तर यो महामारीले त विश्वलाई नै एकैपटक ठप्प पारिदिएको छ, कामधन्दा नै बन्द गरेर सबैलाई एकै ठाउँँमा बस्न बाध्य बनाइदिएको छ ।” ती अखबारहरूको धारणा छ ।
यो महामारीले संसारको धेरै क्षेत्रलाई नराम्ररी प्रभावित पारिदिएकोले विश्वको अर्थतन्त्र आगामी कैयौँ वर्ष उठ्न नसक्ने गरी थला परेको छ । महामारीको आज छ महिना पुगिसक्दा पनि यसको नियन्त्रणको कुनै स्पष्ट आधार देखिएको छैन । जसका कारण अझै यसले विश्वलाई कुन रूपमा प्रभावित पार्ने हो भन्ने स्पष्ट खाका नै बाहिर आउन सकेको छैन । यो अन्योलसँगै विश्वको अर्थतन्त्रका सामुन्ने अझै दुःखका दिन आउनसक्ने देखिँदै छ ।
अर्थतन्त्रका धेरै अवयव र आयामहरूमध्ये कुनै पनि देशको एक दरिलो खम्बा पर्यटन हो । यसले आर्थिक विकासका लागि सघाउनेमात्र नभएर सांस्कृतिक आदानप्रदानका माध्यमबाट विश्व व्यवस्थालाई नै एक प्रकारले ‘भेन्टिलेट’ गर्ने काम गर्दछ । तर यसैको अभावमा अहिले विश्व उकुसमुकुसको अवस्थामा छ । एक देशबाट अर्काेमा त के देशकै एक ठाउँबाट अर्काे ठाउँमा पनि जान सक्ने अवस्था छैन । जसका कारण सिङ्गो पर्यटन क्षेत्र नै स्थिर भएर बसेको छ ।
नेपाली अर्थ व्यवस्थामा पनि पर्यटन क्षेत्रले महत्वपूर्ण स्थान ओगट्छ । नेपालमा विभिन्न मुलुकबाट बर्सेनि आउने लाखौँ पर्यटक वैदेशिक मुद्रा आर्जनको एक महत्वपूर्ण माध्यम बन्दै आइरहेको छ । नेपालको पर्यटन क्षेत्रले मात्र अर्थतन्त्रको कुल रोजगारीमध्ये कम्तीमा पनि २० प्रतिशत योगदान पु¥याउँदै आएको छ भने कुल ग्रार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान उल्लेखनीय छ । पर्यटन क्षेत्र उत्पादन गतिविधिसँग सम्बन्धित उद्योग भएकोले यहाँ आउने विदेशी नागरिकलाई यसले वस्तु तथा सेवा उत्पादन गरी बिक्री गरेर अर्थोपार्जन गर्न सहयोग गर्छ ।
नेपाली अर्थतन्त्रलाई उकास्न सकिने हाम्रा आफ्नै मुख्य तीन आधार कृषि, पर्यटन र जलस्रोतमध्येको एउटा महत्वपूर्ण आधार पर्यटन नै हो भन्न सकिन्छ । पछिल्ला केही वर्षहरूमा नेपाली दक्ष तथा अदक्ष मानव संसाधनको बहिर्गमन बढ्दो छ । जसका कारण यहाँ कृषि र जलस्रोतको विकास र विस्तारमा बाधा उत्पन्न भइरहेको देखिन्छ । त्यसैले पनि पर्यटन क्षेत्रको विस्तार र विकासबाट नै नेपालको समृद्धिको सुनिश्चितता गर्न सकिन्छ भन्ने प्रशस्त आधारहरू छन् ।
विश्व अहिले कोरोना महामारीबाट जुधिरहेकै भए पनि यसबाट बच्ने खास सुरक्षित मापदण्ड अपनाएर आफ्नो पेशा, व्यवसाय र रोजगारीहरूलाई विस्तारै सामान्यतर्फ फर्काउने प्रयत्नमा लागेको देखिन्छ । भारतमा पनि नयाँ दिल्ली, मुम्बई, बैङ्गलोरलगायतका मुख्य सहरका होटल रेष्टुरेन्टहरू सरकारले अनुमति दिए बमोजिम बढीमा ५० प्रतिशत क्षमतामा सञ्चालनमा आएका छन् । त्यसैले नेपालमा पनि आर्थिक क्रियाकलापलाई चलायमान बनाउन, व्यवसायलाई क्रियाशील बनाई यसमा आश्रित तथा कार्यरत जनशक्तिलाई केही सान्त्वना दिन तथा अहिलेको उकुसमुकुसको यो अवस्थालाई सहजतातर्फ उन्मुख गराउन पनि सामाजिक दुरी कायम गर्दै आवश्यक सुरक्षा मापदण्ड अपनाएर पर्यटन क्षेत्रलाई अब सञ्चालनमा ल्याउनुपर्ने व्यवसायीहरूको माग छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *