भर्खरै :

आन्तरिक मूल्याङ्कनमा शैक्षिक विकृति

एसईई परीक्षा विद्यालयस्तरको राष्ट्रिय तहको परीक्षा हो । यो परीक्षा देशको लागि आवश्यक दक्ष, योग्य तथा सक्षम जनशक्ति उत्पादन गर्ने शैक्षिक आधारमध्ये पर्दछ । विश्वमा फैलिएको कोभिड–१९ का कारण चैत ६ गतेबाट सुरु हुनुपर्ने एसईई परीक्षा यो पटक नहुने भयो । लामो समय लकडाउनका कारण विद्यार्थीको मनोभावनामा नराम्रो असर परेको निहुँ राखेर काठमाडौँका ठुला निजी विद्यालय सञ्चालकहरूको दबाबमा विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने भनेर स्थगन गरिएको छ ।
यस अवस्थामा कक्षा ११ र १२ तथा कलेजसम्म अध्यापन हुने काठमाडौँ उपत्यकाका निजी विद्यालयले आफ्नै विद्यालयको कक्षा ११ मा भर्ना भए वा गराए ‘ए’ प्लसको ग्रेड नम्बर दिने भन्दै अभिभावक तथा विद्यार्थीलाई प्रलोभन देखाउन थालेको सुनिन्छ । यसका लागि कतिपय निजी विद्यालयले फोन गरेर वा विद्यालयमै बोलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारलाई दुरूपयोग गर्दै नतिजाको व्यापार व्यवसाय गर्न खोज्दै छन् ।
लामो समयको लकडाउनका कारण विद्यार्थीको मनोभावनामा नराम्रो असर परेको निहुँ राखेर काठमाडौँका ठुला निजी विद्यालय सञ्चालकहरूसमेत रहेका सांसदहरूको दबाबमा विद्यालयको आन्तरिक मूल्याङ्कनको आधारमा ग्रेड नम्बर दिने नीतिलाई सरकारले विनातयारी हचुवाको भरमा जथाभावी निर्णय गर्दा शैक्षिक विसङ्गति तथा विकृति बढ्ने देखिन्छ ।
कक्षा ११ मा विद्यालय छनौट गर्ने अधिकार विद्यार्थीको हो । यसमा कुनै पनि विद्यालयले अभिभावक तथा विद्यार्थीलाई दबाब दिनु गैरकानुनी हो । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्नु अघि काठमाडौँ उपत्यकाका निजी विद्यालयले कक्षा ११ मा भर्ना अभियानको प्रक्रिया सुरू गरिरहेका छन् । जहाँ सरकारले खारेज गरिसकेको सङ्काय प्रणालीलाई निरन्तरता दिँदै शिक्षा, विज्ञान, व्यवस्थापन, कानुन तथा मानविकीजस्ता समूहमा भर्ना खोलेका छन् ।
छापिसकेको प्रश्नपत्र खेर जाने गरी विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड नम्बर दिने नीतिका कारण एकातिर निष्पक्ष प्राप्ताङ्क मेहनती विद्यार्थीले पाउँदैनन् । अर्कोतिर विद्यार्थीमा अध्ययन गर्न नपर्ने मनोवृत्तिले भविष्यमा शैक्षिक तथा रोजगारीका क्षेत्रमा अनेकौँ व्यवधानको असर व्यहोर्नुपर्ने र देशको लागि आवश्यक दक्ष, योग्य तथा सक्षम जनशक्ति पाउन मुस्किल हुन्छ ।
यसर्थ देशको लागि आवश्यक दक्ष, योग्य तथा सक्षम जनशक्ति पाउन विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड नम्बर दिने नीतिलाई स्थगन तथा खारेज गर्नुपर्छ । सावधानी तथा सुरक्षाको प्रक्रिया अपनाएर छापिसकेको प्रश्नपत्रलाई विभिन्न पक्षमा मूल्याङ्कन गर्न मौखिक तथा अन्य विधि प्रयोग गरेर एसईई परीक्षा लिने अनिवार्य व्यवस्था गरौँ ।

One response to “आन्तरिक मूल्याङ्कनमा शैक्षिक विकृति”

  1. Ambir Tamang says:

    Yo euta paristhiti janya badhyata ho. yeslai anyatha linu hunna, center school ra ceter parne school haruko setting milchha, karobar hunchha. hall ma jasto kisimle pariksha diye ni bal hune ani gobar ganesh le ni A+ lyaune bhanda yo thikai pani hole. Ajha kunai thauma ta hall bahira miking garne, cheat choraunalai bahirabata materials bhitra pass garne bhanne sunekai ho ra pratakccha darsile dekhekai ho. SEE tapai hamile soche jasto ekdam ‘ideal’ kahile hundaina. yo euta sochai matra ho, yo barsa matra ho.

Leave a Reply

Your email address will not be published. Required fields are marked *