भर्खरै :

सत्तालोलुपहरूले देशको हित गर्दैनन्

सत्ताको प्रादुर्भावदेखि नै सत्ताको निम्ति अनेक जालझेल र क्रुरताहरू हुँदै आएका छन् । उनीहरु सत्ता वा शासनलाई जनताको हितमा भन्दा आफ्नो व्यक्तिगत, पारिवारिक र गुटगत स्वार्थको निम्ति सत्ता पाउन खोज्छन् । तिनीहरू सत्ता प्राप्ति गरेर दुरुपयोग गर्छन् । नेपालको इतिहासमा त्यस्ता अवसरवादी शासकहरूको कमी कहिल्यै थिएन । राजतन्त्रकालमा राजा र राजपरिवारका सदस्यहरूलाई रिझाएर राजा र देशको सेवा गर्ने प्रतिज्ञा गरेर त्यस्ता अवसरवादीहरूले अधिकार प्राप्त गर्थे । तर, अहिले लोकतन्त्र र गणतन्त्रमा जनताको सेवा गर्ने प्रतिबद्धता जाहेर गरेर सत्ता प्राप्त गर्छन् तर व्यवहारमा आफ्नो व्यक्तिगत, गुटगत र दलगत स्वार्थ पूरा गर्न लागिपर्छन् । आफ्नो व्यक्तिगत र गुटगत स्वार्थ पूरा भएनन् भने देशभित्र मात्र होइन आफ्नै दलभित्र महाभारतको लडाइँ सुरु गर्छन् । आजको नेपालको अवस्था यस्तै हो । आदर्श, सिद्धान्त र कार्यगत मतभेदको कुरा त देखावामात्र हो । सत्तालोलुपहरूले कहिल्यै देश र जनताको हित गर्दैनन् ।
२०७४ सालको आम निर्वाचन अगाडि एउटा मोर्चा बनेर चुनाव लडेका तत्कालीन एमाले र माओवादी केन्द्रले बहुमत प्राप्त गरी सत्ता हासिल गरे । पार्टी सदस्य र समर्थकहरूको दबाबका कारण ती पार्टीका नेताहरूले पार्टी एक भएको घोषणा त गरे तर वास्तवमै एक हुनसकेनन् । त्यसको कारण कुनै सैद्धान्तिक मतभेद वा कार्यशैलीको भिन्नता होइन, बरु नेताहरूको आ–आफ्नो व्यक्तिगत महत्वाकाङ्क्षा र गुटगत स्वार्थ भएको खुलासा हुँदै गएको छ । नेकपा नामधारी पार्टीभित्र भइरहेको यो सत्तालोलुपताको लडाइँले कम्युनिस्ट विरोधीहरूलाई कम्युनिस्ट आदर्श, सिद्धान्त र पार्टीहरूमाथि हिलोछ्याप्ने अवसर मिलिरहेको छ । यथार्थतः जसरी हिजो एमाले र माओवादी केन्द्र वास्तवमा कम्युनिस्ट पार्टी थिएनन्, आज ती पार्टी मिलेर बनेको डब्बल नेकपा कम्युनिस्ट पार्टी होइन । कम्युनिष्ट नाम र सिद्धान्ततः ती पार्टीका अवसरवादी नेताहरूको आफ्नो चरित्रमाथि पर्दा हाल्ने र जनताको अगाडि जनसेवी देखिन उपयोग भइरहेको धुवाँको पर्दामात्र हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *