राजनीति, सरकार र सुशासनको नारा
- श्रावण ११, २०८३
भक्तपुर, ३१ असार । नेपाल मजदुर किसान पार्टीको मुखपत्र ‘मजदुर–किसान’ पूर्णाङ्क २४ बारे नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा बुधबार अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा पार्टीका सचिव प्रेम सुवालले कार्यकर्ताहरूले पार्टी प्रकाशन अध्ययन गरी राजनैतिक र सांस्कृतिक स्तर उठाउनु जरूरी रहेको चर्चा गर्दै व्यक्तिको सम्पत्ति धेरै हुँदैमा सांस्कृतिक स्तर माथि उठ्ने होइन भन्नुभयो ।
उहाँले भन्नुभयो, “बहुदलयता तीस वर्ष सरकारमा गएका पार्टीहरूले पञ्चायतले जस्तै शासन गरे । पैसा र सामान बाँडेर, भोज खुवाएर निर्वाचन जितेका पार्टीहरू सरकारमा पुगेर देश र जनताको हित हुनेछैन ।”
मजदुर वर्गका गुरूहरू माक्र्स–एँगेल्सले पुँजीवादी चुनाव उपयोग गर्ने र पुँजीवादी सरकारमा नजाने शिक्षा दिनुभएको, तर एमाले र माओवादी तथा अहिलेको नेकपाले पुँजीवादी चुनाव जितेर पुँजीपति वर्गको सञ्चालक समिति बनी कम्युनिस्ट सिद्धान्तविपरीत काम गरिरहेको सचिव सुवालले बताउनुभयो ।
“एमसीसी अमेरिकी नेतृत्वको सैन्य गठबन्धन हो । एसियालीहरूबीच भिडाउन अमेरिकाले एमसीसी अघि बढाएको हो । यसकारण एमसीसी खारेज गर्नु आवश्यक छ”, उहाँले जोड दिनुभयो ।
नेपाल–भारत खुला सीमा भएको हुँदा भारतमा कोभिड–१९ सङ्क्रमण बढ्नु नेपालको लागि खतरा भएको चर्चा गर्दै सचिव सुवालले यो समयमा यात्रा नगर्न, शारीरिक दुरी कायम गर्न, भीडमा सकेसम्म नजान र जानुपरे मास्क लगाएरमात्र जान सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, “सन् १९४९ मा चीनमा क्रान्ति भएपछि चिनियाँ जनसेनाले तिब्बतमा विकास सुरू गरे । त्यसपछि भारतले नेपाललाई चीनको डर देखाई सन् १९५० मा नेपालको भूमि कालापानीमा भारतीय सेना भर्तीकेन्द्रमार्फत भारतीय सेनामा भर्ती भएका श्रीप्रसाद बुढाथोकीसमेतलाई कालापानीमा तैनाथ ग¥यो । अहिले भारतीय सेनामा १ लाख ४७ हजार नेपाली छन् । युवालाई भाडाको सिपाहीँ बनाउने गोर्खा भर्तीकेन्द्र अविलम्ब खारेज गर्नुपर्दछ ।”
‘कोभिड–१९ को सङ्क्रमणसँगै धेरैको रोजगारी गुम्यो, आर्थिक सङ्कट भयो, कतिपयलाई मानसिक तनाव भयो । यसले अपराधको सङ्ख्या पनि बढाउनेछ ।” उहाँले बताउनुभयो ।
प्रजग कोरिया कोभिड–१९ मुक्त देश र चीन कोभिड–१९ सङ्क्रमण रोक्ने एउटा नमुना देश भएको उल्लेख गर्दै सचिव सुवालले भन्नुभयो, “कोभिड–१९ भाइरस अमेरिकी सैनिक चीनको उहानमा गत वर्षको अक्टोबरमा खेलकुदमा भाग लिन गएको बेला चीनमा सङ्क्रमण फैलिएको थियो । यो यथार्थलाई ढाकछोप गर्न अमेरिकाले ‘उहान भाइरस’ र ‘चिनियाँ भाइरस’ जस्ता झूट आरोप लगायो ।”
वर्षाको कारण पहिरो र डुबानले ३३ जिल्लालाई प्रभावित बनाएको, ८५ को मृत्यु, ४६ बेपत्ता र ५० जना घाइते भएको उल्लेख गर्दै सचिव सुवालले पहाडमा वन विनाश हुँदा र डोजर चलाई जथाभावी सडक निर्माण गर्दा पहिरोको समस्या भोग्नुपरेकोले पहाडमा रोपवे र मैदानमा रेल सेवा सुरू गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले ‘मजदुर–किसान’ मा प्रकाशित लेख–रचनाहरू उपयोगी र सान्दर्भिक भएको बताउनुभयो ।
“चीनले कोरोना भाइरसको सफल नियन्त्रण गर्नसक्यो । राष्ट्रप्रति ट्रम्प जनताको ज्यान जोगाउनभन्दा अर्थतन्त्र उकास्नेतिर लाग्दा संरा अमेरिकाले धेरै जन–धनको क्षति व्यहोर्नुप¥यो”, उहाँले भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष उपेन्द्र सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा डकर्मी सङ्घका विष्णुराम दुमरू, सिकर्मी सङ्घका बिक्रम ढुकुछू, मजदुर सङ्घका गणेशप्रसाद सुवाल, राधेश्याम दुवाल, सूर्यनारायण फाजू र रमेश दुमरूले पनि बोल्नुभएको थियो ।
Leave a Reply