भर्खरै :

सीमा पोस्टमाथि फेरि भारतीय समूहको आक्रमण

झापा, ४ साउन । झापाको दक्षिणी भारतीय सीमावर्ती क्षेत्रस्थित गौरीगञ्ज गाउँपालिका– ५ स्थित डाँगीटोलामा रहेको सशस्त्र प्रहरीको पोस्टमाथि भारतीय अज्ञात समूहले आक्रमण गर्दा दुई प्रहरी जवान घाइते भएका छन् ।
नेपाल–भारत सीमा क्षेत्रको सशस्त्र प्रहरी पोष्टमाथि शनिबार राति ९ः१५ मिनेट समयमा करिब ४० र ५० जनाको सङ्ख्यामा आएका घरेलु हतियारधारीको एक समूहले आक्रमण गर्दा दुई प्रहरी जवान घाइते भएका हुन् । घाइते ती प्रहरी जवानको शरीरमा चोटपटक लागेको बताइएको छ ।
डाँगीटोलास्थित पिलर नं १५२ को करिब ३०० मिटर पूर्वमा रहेको अस्थायी सशस्त्र प्रहरी पोस्टमाथि एक्कासि आक्रमण गर्न थालेपछि स्थितिलाई नियन्त्रण लिन प्रहरीले चार राउन्ड हवाई फायर गर्नुपरेको सीमा सशस्त्र प्रहरी बल गौरीगङ्जका प्रहरी निरीक्षक साइमन श्रेष्ठले बताउनुभयो ।
झडपमा आक्रमणकारीले भाला, खुकुरी, रड, दाउलगायतका घरेलु हातहतियार प्रयोग गरेका थिए ।
हवाईफायरपछि आक्रमणकारी तितरबितर भएका र भारततर्फ नै भागेको प्रहरीले जनाएको छ । भारतीय तस्करले नेपालतर्फ मालसामान लान नपाएको झोँकमा प्रहरीमाथि आक्रमण गरेको हुनसक्ने प्रहरीको अनुमान छ । लामो समयसम्म लकडाउनका कारण सीमा क्षेत्रमा सशस्त्र प्रहरीले कडारूपमा गस्ती तीव्र बनाउँदै आएपछि तस्करीले नेपालतर्फ सामान ढुवानी गर्न पाएका छैनन् । यसअघि झापा गाउँपालिकास्थित सीमा क्षेत्रमा भारतीय समूहले त्यसरी नै आक्रमण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *