भर्खरै :

सक्वको म राजदास – ४२ पुश्कीनको निर्वासित जीवनबाट फिर्ती

  • श्रावण १०, २०७७
  • ई. राजदास श्रेष्ठ
  • साहित्य

            सन् १८२५ मा रुसमा भएको डिकाब्रिस्ट आन्दोलन दमन भए पनि झन्डै ८० वर्षपछि भएको सन् १९०५ को आन्दोलनलाई डिक्राब्रिस्टहरूले प्रचुरमात्रामा मलजल छरेर गए । यसको श्रेय महान् रुसी कवि अलेक्जेन्डर पुश्कीनलाई पनि जान्छ । किनकि, जार शासकहरूको शोषणविरुद्ध उनले धेरै कविता लेखेर रुसी जनताको स्वतन्त्रताको लागि राजनैतिक जागरण ल्याउन सहयोग गरेका थिए । राजधानी पिटर्सवर्गमा जनआन्दोलन हुँदा कवि अलेक्जेन्डर पुश्कीन त्यहाँ नभए पनि उनले लेखेका कविताका पर्चाहरू आन्दोलनकारीहरूको हातहातमा थियो । यही कारणले डिसेम्बरको जनविद्रोहको लागि जार शासकहरूले पुश्कीनमाथि पनि शड्ढा गरेका हुन् ।
            १५ वर्षको उमेरमा पुश्कीनले सामन्त शासकहरूको विरोधमा कविता रचना गर्न थालेका थिए । “जारहरूको मनोरञ्जनको लागि म लेख्दिनँ”, उनले भनेका थिए ।
            यही निर्भिक र स्वाभीमानी स्वभावका कारण पुश्कीन सामन्तवादी जारहरूको आँखाका कसि·र बनेका थिए । तर, उनी रुसी जनताका धेरै प्रिय पात्र बने । जार शासन र जनतालाई शोषण गर्ने धर्मविरोधी साहित्यिक रचनाहरूको लागि सामन्त शासकहरूले पुश्कीनलाई रुसको दक्षिण इलाकामा निर्वासनमा पठाएका थिए ।
            सन् १८२० को मे महिनामा दक्षिण रुसमा निर्वासमा आउनेबित्तिकै अलेक्जेन्डर पुश्कीन मलेरिया (औलो ज्वरो) लागेर सिकिस्त बिरामी भएपछि स्थानीय प्रशासनको स्वीकृतिमा उनी प्राकृतिक उपचारको लागि कामकाज क्षेत्रमा स्थानान्तरण भए । त्यहाँबाट पुश्कीन क्रीमिया पुगे र त्यहाँबाट पनि सन् १८२१ को सेप्टेम्बर २१ मा किशिनेभ सहर पुगे । किशिनेभ उक्राइना गणराज्यको एक प्रख्यात सहर हो । सन् १८२० सेप्टेम्बरदेखि १८२३ सम्म ३ वर्ष पुश्कीन किशिनेभमा रहे ।
            त्यसबेला १९ औँ शताब्दीको २० औँ दशकको सुरुमा युरोपियन देशहरूमा जस्तै सामन्ती शासनविरुद्ध राष्ट्रिय स्वतन्त्रताको सङ्घर्षको रहर चल्यो । स्पेनमा सन् १८२० देखि सन् १८२३ सम्म ३ वर्ष लगातार जनक्रान्ति भए तथा पोर्चुगल, इटाली र ग्रीसमा पनि सन् १८२१ मा ठुलो जनआन्दोलन भए । यस आन्दोलनका प्रमुख नेता इस्पीलान्टसँग अलेक्जेन्डर पुश्कीनको व्यक्तिगत चिनापर्ची नै थियो ।
            युरोपियन देशहरूमा भएको स्वतन्त्रता सङ्ग्रामको प्रभाव रुसमा पनि प्रत्यक्ष पर्नु स्वाभाविक थियो र त्यहाँ पनि जनआन्दोलन सुरु भयो । त्यसको प्रभाव लगत्तै उक्राइनामा पनि पर्‍यो जहाँ पुश्कीन निर्वासित जीवन बिताइरहेका थिए ।
            रुसको जार शासनविरुद्ध सशस्त्र आन्दोलन गर्ने वातावरण तयार भइरहेको स्थितिमा कवि अलेक्जेन्डर पुश्कीन निर्वासनमा बस्नुपरेको थियो । यस्ता आन्दोलनकारीहरूको समूह रुस र उक्राइनाका विभिन्न ठाउँमा भूमिगतरूपमा सञ्चालित थिए  ।
            सन् १८२०–२१ को समयमा त्यस्ता भूमिगत स·ठनमध्ये उक्राइनाको कामेन्के भन्ने सहरमा रहेको एक सशस्त्र विद्रोहीको समूहमा पुश्कीनको पनि प्रत्यक्ष संलग्नता रह्यो । दुई महिनाजति किशिनेभ सहरको एक गोप्य स·ठनमा पुश्कीन कार्यरत रहे । पुश्कीन तत्कालीन जमिनदारहरूको विरोधमा धेरै आक्रोशितरूपमा प्रकट भए ।
            तर, सशस्त्र आन्दोलनमा होमिन तयार भइरहेका डिसेम्बर आन्दोलनका क्रान्तिकारीहरूले अलेक्जेन्डर पुश्कीनजस्ता जेहेनदार कवि साहित्यकारको जीवन जोखिममा राख्न चाहेनन् । तापनि, भूमिगत स·ठनका राष्ट्रप्रेमी आन्दोलनकारीहरूसँगको सहकार्यले पुश्कीनको साहित्य रचनालाई मलजल पुर्‍याइदियो । यही देशभक्तिपूर्ण नैतिक शिक्षाले गर्दा आफ्नो निर्वासित जीवनमा धेरै उत्कृष्ट काव्यिक रचनाहरू सृजना गर्न पुश्कीन सफल भए । गरिब किसानलाई शोषण गर्ने  जारशाही र धर्मभिरुहरूको विरोधमा ‘किन्झाल’ जस्ता क्रान्तिकारी काव्य लेखे । ‘किन्झाल’ भनेको ‘छुरा’ हो । यो काव्य रचना क्रान्तिकारीहरूको रगत उम्लने खालको थियो । ‘किन्झाल’ जस्तै ‘ग्राब्रिलियाडा’ काव्यले शोषक शासकहरूविरुद्ध लड्ने क्रान्तिकारीहरूमा ठूलो हौसला र अदम्य साहस प्रदान गर्‍यो । पुश्कीनले आफ्नो निर्वासनमा ठुल–ठुला उत्कृष्ट क्रान्तिकारी काव्यका साथै धेरै रोमान्टिक काव्यहरू लेखे । यस्ता रोमान्टिक काव्यमध्ये सबभन्दा प्रख्यात र लोकप्रिय कृति हो त्यसबेलाको पुश्कीनको ‘यभ्गेनेई अनेगन’ ।
            पुश्कीनले आफ्ना साहित्यिक काव्य रचनाहरूमा मुख्यतयाः देशको स्वतन्त्रताको आवश्यकता र स्वतन्त्र जीवनको महत्वबारे प्रकाश पारेका थिए । त्यसकारण, साहित्यमार्फत उनी अझ बढी स्वतन्त्रताको लागि आन्दोलनरत डिकाब्रिस्टहरूमाझ धेरै लोकप्रिय भए । पुश्कीनका यिनै काव्य रचनाहरूबाट उनीहरूले धेरै प्रेरणा पाए । सशस्त्र विद्रोह गर्न जारशाहीविरुद्ध आन्दोलनमा उत्रँदा उनीहरूको हात–हातमा पुश्कीनद्वारा लिखित काव्यका पर्चाहरू थिए । यसैकारण, डिसेम्बर आन्दोलनमा पुश्कीनको पनि प्रत्यक्ष सहभागिता छ भनेर जार शासकहरूले पुश्कीनमाथि शङ्का गरेका थिए । पुश्कीनले आफ्नो सबभन्दा उत्कृष्ट मानिएको काव्य उपन्यास ‘यभ्गेनेई अनिगन’ सन् १८२३ को मे ९ तारिखमा लेख्न सुरु गरेका थिए । उनले त्यो उपन्यास पूरा आठ वर्ष लगाएर सन् १८३१ को अक्टोबर महिनामा लेख्न सकाएका थिए ।  यही अवधिमा उनले अन्य थुप्रै काव्य रचनाहरू श्रृजना गर्नुका साथै निरङ्कुश तानाशाही जार शासनको विरोधमा क्रान्तिकारी कदमको आवश्यकता देखाएर स्वतन्त्र सङ्ग्रामको बिगुल बजाएका थिए ।
            जार शासकहरूले आन्दोलनकारीहरूमाथि चलाएको दमन नीतिले गर्दा पुश्कीनलाई किशिनेभमा बस्न धेरै गार्‍हो भइरहेको थियो । पुश्कीनद्वारा लिखित राज्यविरोधी लेख तथा कविताहरू फेला पारेपछि राज्य संयन्त्रले पुश्कीनको जागीर खोस्यो र सन् १८२४ को जुलाईमा जारको प्रत्यक्ष हुकुममा पुश्कीनलाई ‘किशिनेभ’ सहरबाट ‘मिखाईलोभ्स्काया’ भन्ने नयाँ ठाउँमा सारिदियो । नयाँ ठाउँ ‘मिखाईलोभ्स्काया’ मा पुश्कीनले झन्डै दुई वर्ष कठोर एकान्त जीवन बिताउनुपर्‍यो । यही समय उनले स्थानीय गरिब किसानहरूसँग नजीकको सम्पर्कमा आएर उनीहरूको कष्टपूर्ण जीवनको बारेमा धेरै गीत र कथाहरू लेखे । यहीँ बस्दा उनले आफ्नो उत्कृष्ट काव्य ‘यभ्गेनेई अनेगन’ को मुख्य–मुख्य भागहरू लेखे र अन्य नयाँ–नयाँ अनगिन्ती कृतिहरू पनि श्रृजना गरे । यसैबेला पुश्कीन क्रान्तिको बारेमा, क्रान्तिको तयारीको बारेमा र क्रान्तिको लागि भइरहेको प्रगतिको बारेमा धेरै चिन्तित भएर सोच्दै थिए । सन् १८२५ को जनवरीमा मिखाईलोभ्स्कायामा उनलाई भेट्न आएका साथी पुषीनले ‘डिकाब्रिस्ट’ हरूको क्रियाकलाप र डिसेम्बर जनविद्रोहको बारेमा सबिस्तार भनेका थिए ।
दुःखद समाचार
            सेन्ट पिटर्सवर्गमा उर्लिएको जनविद्रोहलाई जार शासकहरूले ठुलो दमन गरे । डिसेम्बर आन्दोलनको दमनको घटनाले कवि पुश्कीनलाई ठुलो आघात पुर्‍यायो । जार शासकले पुश्कीनलाई आफ्नो पक्षमा उपयोग गर्न एवम् क्रान्तिको विपक्षमा लेख्न लगाउने उद्देश्यले ‘मिखाईलोभ्स्काया’ को निर्वासनबाट रुसको राजधानी सेन्ट– पिटर्सवर्गमा झिकाउने निर्णय गर्‍यो । पुश्कीनलाई जार निकोलाई प्रथमले अब सुधारिएको शासन चलाइनेछ भन्ने झूटो आश्वासन दिलाएर राजदरबार ल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *